Friday, 15 March 2013

‘ठूलाबडा’नै ‘अपराधी’ ढुंगेलको बचाउ गर्दै (देवेन्द्र पौडेल र लीलबहादुर थापाको विज्ञप्तिसहित)

काठमाडौं, चैत्र २ (नेपाल डोर) । सर्बोच्च अदालतले सर्बस्वसहित जन्मकैदको फैसला तोकेका र हाल भागिभागी हिँडेका ओखलढुंगाका पूर्वसभासद बालकृष्ण ढुंगेललाई समात्ने हिम्मत प्रहरी प्रशासनले गर्न सकेन । निवर्तमान प्रधानमन्त्री डा. बाबुराम भट्टराईका निकटस्थ भएको फाइदा उठाएका ढुंगेल बाबुरामसँगै हेलिकोप्टर चढेर ओखलढुंगा गए, प्रहरीकै अगाडि छाती खोलेर भाषण गरे र अहिले काठमाडौंमा सतर्कसाथ हिँडिरहेका छन् । ओखलढुंगाका उज्ज्नकुमार श्रेष्ठको हत्यामा संलग्न भएको अदालती पुष्टिलाई मिथ्या सावित गर्न खोज्दै एमाओवादी र पूर्ववर्ती सरकारले ढुंगेललाई समात्ने हिम्मत गरेन । ढुंगेलमाथि कारबाहीको माग गर्दै अहिले राजधानीमा विरोध प्रदर्शन हुन थालेकोमा एमाओवादीको किरात र नेवा राज्यसमितिले कडा विज्ञप्ति निकालेको छ । र,  एमाओवादीले चेतावनी दिएको छ, ढुंगेलमाथि कारबाही भए आन्दोलन हुन्छ ।
एमाओवादीको नेवा राज्यसमितिका संयोजक देवेन्द्र पौडेल र किरात राज्यसमिति संयोजक लीलाबहादुर थापाले चैत २ गते विज्ञप्ति निकालेर बालकष्णको नाङ्गो बचाउ गरेका छन् । पौडेल निवर्तमान सरकारका सल्लाहकार हुन् र एमाओवादीमा बौद्धिक भनेर चिनिएका नेता पनि । पौडेल र थापाको विज्ञप्ति हेर्दा लाग्छ, ढुंगेल निर्दोश हुन्, उनको विरोध गर्नेहरु अपराधी र गलत हुन् । हेरौँ दुनियाँ हसाउने गरी उनीहरुले निकालेको विज्ञप्तिको पूर्ण अंश ।
‘केही दिन यता हाम्रो पार्टीको नेता तथा पूर्व सभासद कमरेड बालकृष्ण ढुंगेलकाविरुद्ध कतिपय तथाकथित मानवअधिकारवादी संघ–संस्था र आकुपाई बालुवाटार लगायतका कथित संस्थाहरूले पर्चा पोष्टरीङ गरी अपारधी घोषित गर्न अत्यन्तै निच र घृणित कार्य गर्दै आएको विषयप्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ । खास गरी पूर्व सभासद बालकृष्ण ढुंगेललाई हत्यारा सावित गर्न गरिएका यस प्रकारको नैतिकहिन र घृणित क्रियाकलापप्रति हाम्रो पार्टी घोर भत्र्सना गर्दछ र यस प्रकारका कार्य तुरुन्त रोक्न सम्बन्धित पक्षसँग जोडदार माग गर्दछ ।

यतिबेला मुलुक गम्भिर संक्रमणकालबाट गुज्रिरहेको छ । मुलुकमा यस प्रकारको संक्रमणकालको अन्त्य गरी स्थायी सरकार र संविधान निर्माण गर्न विभिन्न राजनीतिक दलहरूको बीचमा अग्रगामी निकासको लागि नयाँ सहमित निर्माण समेत भइसकेको छ । मुलुकले चुनावी नयाँ सरकार पाएको छ । शान्ति प्रक्रियाको अन्तिम चरणमा प्रवेश गरी ‘सत्य निरुपण तथा मेलमिलाप आयोग’को गठनसमेत भइसकेको आजको अवस्थामा विगत द्वन्द्वकालका कतिपय राजनीतिक घटनाहरूलाई व्यक्ति विशेषमा केन्द्रित गरी आरोपित गर्दै निचतापूर्ण हरकत गर्ने प्रयत्न गरिएको छ । मुलुकमा बन्दै गएको आमसहमति, संविधानसभाको निर्वाचनको वातावरणलाई समेत उल्टाउने वदनियतपूर्ण यो कसरतले वास्तवमा देशलाई अराजकता तिर लैजाने बाहेक कसैलाई फाइदा पुग्दैन । जनताको न्याय, समानता, संघीयता र जनताको संविधान निर्माणको अधिकारलाई कुल्चने धृष्टताबाहेक यो अरु हुनै सक्दैन । तसर्थ हाम्रो पार्टी किराँत राज्य तथा नेवाः राज्यको तर्फबाट यस प्रकारको जनविरोधी क्रियाकलापको घोर निन्दा गर्दछौं । राजनीतिक मुद्दालाई राजनीतिक रुपले समाधान गर्न हामी सदैव तत्पर छौं । यदि घटनाको अनुचित र उत्तेजक प्रचार गरेर कसैले अभियान नै चलाउँछ भने त्यस्ता कार्यलाई तुरुन्त रोक्न सम्बद्ध पक्षलाई ध्यानाकर्षण गराउन चाहन्छौं । अन्यथा कडा कदम चाल्न बाध्य हुनेछौं ।
२०६९ चैत २ गते


देवेन्द्र पौडेल ‘सुनिल’
संयोजक    नेवाः राज्य समिति
लीलबहादुर थापा   
संयोजक
किराँत राज्य समिति   
एकीकृत ने.क.पा. (माओवादी)   

No comments:

Post a Comment

Book Discussion “Seventy Years of Nepal-China Relations: A Model for Civilizational Friendship”

Kathmandu: The Nepal Institute for International Cooperation and Engagement (NIICE) organized a high-level seminar on the book discussion ti...