Friday 30 January 2015

सुवास घिसिङको नेपाल साइनो

नेपाल र भारतबीच १९५० मा भएको सन्धीका आधारमा दार्जिलिङ नेपालको अधिनस्थ हुने तर्क गर्ने पहिलो व्यक्ति पनि घिसिड नै थिए । त्यसकारण ग्रेटर नेपाल अवधारणाका गुरु नै घिसिङ मानिन्छन् । 

 

-पर्शुराम काफ्ले-


भारतको पश्चिम वंगाल अधिनस्थ दार्जिलिङमा नेपालीभाषीहरुको बेग्लै राज्य गोर्खाल्याण्डका लागि भएको पहिलो हिंसात्मक आन्दोलनका नेता सुवास घिसिङको विहीवार निधन भएको छ । नयाँ दिल्लीको गंगाराम अस्पतालमा पाँचदिन देखि उपचारका क्रममा ७९ बर्षमा उनको निधन भएको हो । सन् ८०को दशकमा उनले गोर्खाल्याण्ड आन्दोलन चर्काए, सन् १९८६ मा वंगाल अधिनस्थ दार्जिलिङ गोर्खा पर्वत्य परिषद्मा सम्झौता गरे । त्यसपछि दुईदशक दार्जिलिङको प्रशासन सम्हालेर सन् २००८ मा उनी बाहिरिए । त्यसपछि राजनीतिकरुपमा निस्कृय रहेका उनी यो संसारबाट अस्ताए ।



GHISING
२२ जुन १९३६ मा दार्जिलिङको मञ्जु चिया वगानमा जन्मेका उनी नै भारतमा नेपालीभाषीहरुको बेग्लै राज्य हुनुपर्ने एजेन्डामा राजनीति थालेका पहिलो राजनेता थिए । पूर्व गोर्खा सैनिक र शिक्षक हुँदै राजनीतिमा हान्निएका घिसिङ्ले ५ अप्रिल १९८०मा गठन गरेको  गोर्खा नेशनल लिवरेसन फ्रन्टले १९८६–८८सम्म गोर्खाल्याण्ड आन्दोलन चर्काउँदा  १२ सय नेपालीभाषीको मृत्यु भएको थियो । आन्दोलनपछि पश्चिम वंगाल सरकारसँग भएको सहमति अनुसार  गोर्खा पर्वत्य पषिद् गठन गरेर घिसिङ्ले दार्जिलिङ्का प्रशासकका रुपमा दुई दशकजति शासन चलाएका थिए । परिषद् राज्यका रुपमा नभए पश्चिम वंगाल अन्तर्गतको एउटा सामान्य प्रशासकीय युनिट मात्र थियो । दुईदशकसम्म प्रशासनको बागडोर सम्हालेपछि दार्जिलिङमा फेरि गोर्खाल्याण्ड राज्य हुनुपर्ने आन्दोलन उठ्यो । पछिल्लो कालखण्डमा उनी भ्रष्टाचारमा तानिएपछि उनकै कार्यकर्ता विमल गुरुङको समूहले २००७ मा गोर्खाल्याण्ड राज्य माग्दै आन्दोलन चर्काएपछि घिसिङ २००८मा दार्जिलिङबाट जबर्जस्ती विस्थापित हुनुपरेको थियो । गुरुङ हाल गोर्खा टेरिटोरियल एड्मिनिस्ट्रेसनका प्रमुख छन् । नेपाली भाषालाई भारतीय संविधानको आठौँ अनुशुचीमा राख्न पनि गोर्खाल्याण्ड आन्दोलनकै देन थियो ।

घिसिङ्ले शुरुमा दार्जिलिङको तीनवटा हैसियतबारे कुरा उठाएको उनीसँग नजिकबाट संगत गरेका ग्रेटर नेपाल नेश्नलिस्ट फ्रन्टका अध्यक्ष फणीन्द्र नेपाल सम्झना गर्छन् । दार्जिलिङलाई भारतको संविधानअन्तर्गत राख्नुपर्ने, सन् १९५० को सन्धीको धारा ८ अनुसार नेपालको अधिनमा राख्नुपर्ने वा उपरोक्त दुवै अवस्था नहुँदा स्वतन्त्र मुलुकको हैसियतमा रहनुपर्ने तीनवटा विकल्पमाथि उनले प्रशस्त तर्क गरेका थिए । पञ्चायतका बेला नेपाल आएका बेला उनले राजा वीरेन्द्रलाई विन्तिपत्र लेखेर त्यहाँका नेपालीलाई आफ्नो रैती ठान्न र दार्जिलिडलाई नेपाल अधिनस्थ राख्न माग गरेका थिए । दरवारले भेट नदिएको र उनलाई अपेक्षित रेसपोन्स नगरेपछि उनले तत्कालीन भारतीय प्रधानमन्त्री पीवी नरसिंह रावलाई पत्र लेखेर भारत अधिनस्थ बनाउन माग गरेका थिए । नेपाल र भारतबीच १९५० मा भएको सन्धीका आधारमा दार्जिलिङ नेपालको अधिनस्थ हुने तर्क गर्ने पहिलो व्यक्ति पनि घिसिड नै थिए । त्यसकारण ग्रेटर नेपाल अवधारणाका गुरु नै घिसिङ मानिन्छन् । ‘पचासको सन्धीको धारा ८ अनुसार सुगौली सन्धी रद्द भयो । ग्रेटर नेपालको कुरा गर्ने उहाँ नै पहिलो व्यक्ति हुनुहुन्थ्यो । मैले उहाँलाई गुरु मानेको छु’ मोर्चा अध्यक्ष नेपालले भने ।
२०५२ सालमा उनी नेपाल आउन खोजेका थिए । तर भारतको दबाबमा नेपाल सरकारले सुरक्षा दिन नस्क्ने भनेपछि उनले भ्रमण रद्द गरे । त्यसपछि उनी कहिल्यै नेपाल आएनन् । दुई दशक प्रशासन हाँकेको दार्जिलिङमा उनी विस्थापित भएको तीनबर्ष पछि सन् २०११ मा फर्केका थिए ।
पछिल्लोपटक राजनीतिमा उनी सक्रिय थिएनन् । सिलिगुडीमा बस्दै आएका उनी नयाँ दिल्लीमा केही समयदेखि उपचाररत थिए । उनी यौनउपन्यास निलो चोलीका लेखक हुन् । उनले सुवासको नामबाट सो उपन्यास लेखेका थिए ।
उनको निधनपछि दार्जिलिङमा शोक छाएको छ । दार्जिलिङका प्रशासक विमल गुरुङले घिसिङको निधनले आफू स्तब्ध भएको भन्दै स्थानीयले उनलाई सधैँ सम्झिरहने बताएका छन् ।

Thursday 22 January 2015

मुक्तकमैया र मुसहर वस्तीमा जे देखियो

 राजनीतिमा हैन, संरक्षणमा चासो

पर्शुराम काफ्ले
....................................

याँ संविधानको ‘नैतिक डेडलाईन’ले राजधानी काठमाडौं तातिएको बेला पश्चिम, मध्यपश्चिम र सुदुरपश्चिमका बिपन्न मुक्त कमैया, मुसहर र बोटेबस्तीमा यसको राप र ताप भेटिएन । पुस १५देखि २०सम्म नवलपरासीको अमलटारी, बर्दियाको डल्ला, दाङको लमही, कैलालीको लालमटिया र कञ्चनपुरको खल्लागोठ पुग्दा स्थानीयले राजनीतिका बारेमा बोल्न वा सरोकार राख्न चाहेनन् । उनीहरुले आफ्ना विकासे समस्या, जंगल र वन्यजन्तु संरक्षणसँगै जीवनमा आएको परिवर्तनका कथा र सपना सुनाए । चितवन, बर्दिया निकुञ्ज आसपासका स्थानीय थारुहरुको जीवनमा एक डेढ दशकमा आएको परिवर्तन र कञ्चनपुरको खल्लागोठमा मुक्त कमैयाले गरीवीलाई दाऊमा राखेर जंगल र बन्यजन्तु जोगाएको कथा रोचक र मार्मिक छ ।  
००००००००००
चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रको नवलपरासी खण्डमा स्थानीय थारु समुदायले सञ्चालन गरेको अमलटारी मध्यवर्ती होमस्टे प्रायः भरिभराऊ छ । २१ वटा होमस्टेको व्यवस्थापन धनीराम गुराऊले गरेका छन् । यहाँको होमस्टेको आफ्नै कथा छ । २०७० जेठ ५ गते शुरु गरेर अहिलेसम्म होमस्टेबाट स्थानीयले १४ हजार आन्तरिक पर्यटक र ७४ लाख रुपियाँ कमाएका छन् । सरकारको तराई भूपरिधि कार्यक्रम (ताल)ले यसका लागि आर्थिक सहयोग र सञ्चालनका लागि तालिम दिएको छ । यहाँको होमस्टे समुदायले नै चलाउँछ, आम्दानी पनि समुदायले संकलन गर्छ र फाइदा सबैलाई बराबरी बाँड्छ । प्रति परिवारले औसतमा २५ हजार रुपियाँसम्म आम्दानी गरेका छन् ।
होमस्टेमा एउटा बेग्लै सांस्कृतिक हल छ जहाँ हरेक साँझ सांस्कृतिक कार्यक्रम देखाइन्छ । स्थानीयले थारु, बोटे संस्कृति झल्काउने गीत र नृत्यले आगन्तुकलाई मनोरञ्जन दिन्छन् । होमस्टेको गज्जबको नियम के छ भने बस्ने घर रोज्ने अधिकार पाहुनालाई छैन । व्यवस्थापकले जहाँ राख्छन्, त्यहीँ बस्नुपर्छ र त्यही घरमा पाकेको स्थानीय परिकार खानुपर्छ । यसका लागि प्रतिकोठा पाँच सय रुपियाँ र सादा÷मासुखानाको क्रमशः एकसय र दुईसय रुपियाँ तिर्नुपर्छ । त्यसबाहेकको खाजाको बेग्लै शुल्क छ । 
अमल्टारीमा आठवटा पोखरीमा माछापालन गरिएको छ ।  चारवटा पोखरी बोटे र चावटा मुसहरले सञ्चालन गरिरहेका छन् । बोटे समुदायले सहकारी मार्फत् र  मुसहरले समुदायमार्फत माछापालन गरेका छन् । यहाँ बोटेका ६२, मुसहरका ५८ घर छन् । पहिला घरवार नभएका बोटे र मुसहरले घर बनाएका छन् । समाजसँग घुलमिल भएका छन् र छोराछोरीलाई स्कूल पठाउन थालेका छन् । गाउँमै सञ्चालित माझी प्राबिमा बोटे र मुसहर समुदायका बालवालिका पढिरहेका छन् । १२ बर्षअघिदेखि शुरु भएको माछापालनमात्र नभएर हाँस र कुखुरापालन पनि फस्टाएको छ । 
सामुदायिक वन पनि जोगिएको छ । पहिला उजाड थियो । करिब ३५ वटा गैँडा र  ३ वटा वाघको संरक्षण भएको छ । होमस्टेमार्फत् जंगलतिरको निर्भरता हटेको छ । होमस्टेले नै बजारसम्म उनीहरुको पहुँच पु¥याएको छ । अब स्थानीय थारु, मुसहर र बोटेहरु हाँस कुखुरा, माछापालन, धान मकै, बेसार खेतीमा सक्रिय छन् । मुसहर जातिमा डेढ दशकयता आएको परिवर्तनबाट स्थानीय दंग छन् । ताल कार्यक्रमका प्रमुख देवेशमणि त्रिपाठीको शब्दमा स्थानीयहरुको प्रगति विदेशीको अनुदानमुक्त समाजनिर्माण अभियान हो ।
०००००००
पूर्व पश्चिम राजमार्गबाट १८ किलोमिटर दक्षिणको वस्तीका १११ घर धुरीमा ६०० जनाको थारु परिवार बसेको छ । उनीहरुले २२ वटा होमस्टे चलाइरहेका छन् । बर्दियाको खाता कोरिडोरस्थित डल्ला क्षेत्र हो यो ।
बर्दिया निकुन्ज जाने आन्तरिक र वाह्य पर्यटक डल्ला क्षेत्रमा जान्छन् । बाहिरबाट मानिसहरुको आवतजावतले यहाँ आम्दानी बढेको छ, बन्यजन्तु जोगिएका छन् र स्थानीयमा जागरण आउको छ । शिव सामुदायिक बनका अध्यक्ष मंगल थारुकै अनुभव रोचक छ । उनी पहिला मुक्त कमैयाँ थिए ।  होमस्टे सञ्चालन र वन्यजन्तु संरक्षणमा लागेपछि उनले अंग्रेजी सिके, अरुलाई पनि सिक्न प्रेरित गरे । स्थानीय महिलामा पहिला भाषाको समस्या थियो । अहिले स्थानीय थारु महिला विहानै पुग्ने पाहुनालाई अंग्रेजीमा स्वागत गर्छन्–  गुड मर्निङ सर÷म्याडम ।  मंगलले डल्ला क्षेत्रमै पंक्तिकारसँग भने, ‘होमस्टेबाट गुजारा पनि राम्रैसँग भएकोछ, जंगल जोगिएको छ । हाम्रा पुर्खाले छाडेर गएका संस्कृति, रीतिरिवाज संरक्षण गरेका छौँ । गाउँमा ८ कक्षासम्म बोर्डिङ स्कूल चलाएका छौँ । यो सबै यहाँको वन, वन्यजन्तु र हामीलाई जागरण ल्याइदिने सरकारी कार्यक्रमको देन हो ।’
००००००००
कैलालीको देउकीस्थित बनमा लालमटियामा मानिसहरु गिद्ध संरक्षण अभियानमा छन् । त्यसका लागि उनीहरुले २०६५ साल कात्तिक २२ गते पशु बृद्धाश्रम स्थापना गरेका छन् । देउखुरी उपत्यकाका गाईहरु पहिलाजस्तो जथाभावि मर्नुपरेको छैन । मरेका वस्तुको सिनो पनि जथाभावि सड्न पाउँदैन । वन संरक्षणसँगै वन्यजन्तु पुनः आउन थालेका छन् । शुरुमा बन्यजन्तु शुरुमा चित्तलमात्र थियो, अहिले हुँडार, हात्ति, काग, स्याल, चितुवा, मयुर, वनकुखुरा छन् । पहिला सुकेका पाँचवटा मुहान पलाएको छ । त्यसवाहेक दुईवटा मुहान थपिएको छ ।
गिद्धले असोजदेखि जेठसम्मको ९ महिनामा फुलपार्ने, ओथारा बसेर बच्चा कोरल्ने र उडाउनेसम्मको काम सक्छ । हरेक बर्ष जेठको अन्तिमतिर गिद्धले बच्चालाई उडाइसक्छ ।
००००००
कञ्चनपुरको जनहित महाकाली सामुदायिक बनका अधिकांश उपभोक्ता मुक्त कमैया छन् । उनीहरुकै नेतृत्व छ । उनीहरु विजयसालको संरक्षणमा सक्रिय छन् । यो वहमूल्य काठ हो ।  बाणी गाविस २, खल्लागोठमा पुग्दा मुक्त कमैया परिवारका अगुवाहरु सफलताका कथा सुनाउँदै थिए ।
उनीहरुको वनमा चरिचरन निषेधित र आगलागी नियन्त्रीत छ । वन मासिनुको प्रमुख कारणहरु यिनै हुन् । देशभरिका २० हजार सामुदायिक बनमध्ये चरिचरन नियन्त्रीत गरिएको एक मात्र वन यही हो । वनका अध्यक्ष तुलसीराम चौधरीका अनुसार यो वन २०७० चैत ८ गते घोषणा भयो । यसका लागि स्थानीय अगुवाहरुको १० बर्ष मेहनत लाग्यो ।
पहिला मासिँदै गएर ६०बोट बाँकी रहेकोमा अहिले विजयसालको संख्या बढेको छ । ६ सात फिट अग्लो भएको छ । वन जोगाउँदै गएपछि वनमा पाटेवाघ आएको छ । दुईवटा निलगाई खाएको पत्ता लाग्यो ।
पहिला हरेक घरमा १हजारदेखि १२००सम्म गौरीगाई (स्थानीय जातका) लगाइन्थ्यो, अहिले उन्नत जातका थोरै गाई पालन गर्न थालिएको छ । अहिले खेतीपाती ट्याक्टर लगाएर हुन थालेको छ ।
२०५७ साउन २ गते सरकारले मुक्त  कमैया घोषणा गरेपछि चारसय मुक्त कमैया घर खल्लागोठ आए । सडक छेउमा चारचार कठ्ठा र गाउँमा पाँच पाँच कठ्ठा जमिन सरकारी जमिन उनीहरुलाई मिल्यो । सबै जमिन सार्वजनिक वनक्षेत्रबाट दिइएको थियो । शुरुमा स्थानीयले र वन कार्यालयले उनीहरुको बसोबासस्थलको विरोध गरे ।
साउनको बर्षात्मा जमिन्दारको घरबाट निस्किएका उनीहरु शुरुमा टेन्ट हालेर बसे ।  सरकारी बनमाक्षेत्रमा राखिएका कमैयाले बन मास्लान् भन्ने त्रासदी सबैको थियो । तर त्यस्तो भएन । मुक्त कमैयाले बन मासेनन्, बरु जोगाउने अभियानमा नेतृत्वदायी भूमिका खेले । अहिले उनीहरुले बचाएको वन देशभरकै नमूना छ ।
तुलसीरामका अनुसार शुरुमा त्यो ठाउँमा कञ्चनपुरको शुक्लाफाँटा आरक्ष विस्थापित थिए । मुक्त कमैयालाई व्यवस्थित गरेपछि उनीहरुलाई अन्तै सारियो । प्राप्त भएको ६० हेक्टर जमिनमध्ये आधामा उनीहरुले प्रतिघर १५ वटाका दरले बाँस रोपे । यहाँ जम्मा ६०० घर परिवार छन् । यीमध्ये मुक्त कमैयाका मात्रै ५६८ घर छन् । पुनस्र्थापित माओवादी लडाकुका ८ परिवार पनि यहाँ छन् । उनीहरु पनि पूर्वकमैया परिवारका हुन् ।
उनीहरुको जनसंख्या करिब २५सय छ । कञ्चनपुरका १९ गाविसबाट मुक्त भएका कमैयाको पहिलो समूह यही हो । उनीहरुलाई पर्याप्त जमिन छैन । तर बन फाँडेर जमिन विस्तार गर्ने सपना उनीहरुले देखेनन् । बाहिर मजदुरी गरेर परिवार पाले । अवैतनिक काम गरेर भए पनि वन संरक्षणमा उनीहरु लागे । उनीहरुलाई घर बनाउन सरकारले प्रतिघर ३५ क्युविक फिट काठ दिने घोषणा गरे पनि दिएन । तर अहिले उनीहरुको गुनासो छैन ।
मुक्त कमैयाका आफ्नै गुनासा छन् । उनीहरु तरकारी उत्पादन गर्छन् तर नजिकको बजारसम्म पुग्ने माध्यम छैन । बल्लतल्ल अत्तरिया, धनगढी, नेपालगञ्ज पु¥याउँदा भनेको भाऊमा विक्दैन । गरेको ज्याला पनि उठ्तैन । उनीहरुले लगाएको अर्गानिक तरकारी आलु काउली, रायो, धनिया, रेला, लसुनका तुलनामा भारतबाट आउने तरकारी सस्तो हुन्छ । भारतबाट एकाविहानै  बनबासा नाका हुँदै तरकारी धनगढी बजारमा आउँछ । भारतीय सब्जी सस्तोमा पाइन्छ, स्थानीय उत्पादन कुहिएरै जानुको विकल्प छैन ।
मुक्त कमैया परिवारका युवाले हेयर कटिंग, बाँस र बेतका फर्निचरको तालिम, डकर्मी, वायरिंग, मोटर मर्मन गर्ने, बिजुलीका काम गर्ने तालिम लिएका छन् । तर सिपको सदुपयोग छैन । करिब १०० जना स्थानीय युवा विदेशमा छन् । यो देशैभरिको समस्या हो । देशमै रोजगारी नपाएकोमा अन्तजस्तै त्यहाँ पनि पीडा छ । तर उनीहरुको धेरै गुनासो छैन ।
मुक्त कमैया शिविरभित्र वालकल्याण निमावि छ । आठजना शिक्षकमध्ये चारजनाको तलब निजि श्रोतबाट दिनुपर्छ । सामुदायिक वनको आम्दानीबाट उनीहरुलाई खुवाउनु परेको छ , सरकारले एउटा पनि स्थायी दरवन्दी दिएको छैन । यसमा उनीहरुको ठूलो गुनासो छ ।
चुरेबाट पाँच किलोमिटर दक्षिणमा रहेको खल्लागोठमा मुक्त कमैयाको अगुवाईमा तालतलैया, सौन्दर्य र जंगली जनावरको संरक्षण भइरहेको छ । शुक्लाफाँटामा बन्यजत्नु हेर्न आउने पर्यटक त्यहाँ कम्तिमा एक रात रोकिए आम्दानी गर्न सकिन्छ कि भन्ने स्थानीयलाई लागेको छ । त्यसका लागि उनीहरु होमस्टे चलाउन चाहन्छन् ।
स्थानीय मुक्त कमैया त्यो क्षेत्रलाई चरा अनुसन्धान केन्द्र स्थापना भएको हेर्न चाहन्छन् । त्यसका लागि पहल गरिदिन उनीहरुले आग्रह गरे । स्थानीय समाजसेवी महेशदत्त जोशीका अनुसार सिस्ने क्षेत्रमा सीमसार र घाँसे मैदान छ । १२ मास पानी रहन्छ । धेरै प्रजातिका चराको बसोबासस्थल छ ।

Wednesday 21 January 2015

गिरिजाबाबुले भन्नुभयो म राजसंस्थालाई एड्जस्ट गर्छु

]
नेपाली कांग्रेसका पुराना नेता कुमुद लोहनीले कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालासँग लामो समय निकट रहेर काम गरेका छन् । विराटनगरका स्थापित लोहनी परिवार र कोइराला परिवारबीच अत्यन्त प्रिय सम्बन्ध छ ।  जसका कारण कुमुदले आफ्नो राजनीतिक, व्यवस्थापकीय, बौद्धिक क्षमता प्रयोग गर्ने स्थान प्राप्त गरे । गिरिजाप्रसाद प्रधानमन्त्री हुँदा नेपाल रोजिन एण्ड टर्पिन्टाइन कम्पनीका कार्यकारी अध्यक्ष, टिम्बर कर्पोरेसनका अध्यक्ष भएका उनी २०२६ सालदेखि नेपाली कांग्रेसमा सक्रिय रहँदै आएका छन् । हाल कांग्रेस महासमिति सदस्य रहेका लोहनीले विपी, गिरिजाप्रसाद र पूर्वराजा ज्ञानेन्द्रसँगको भेटवार्तावारे यसरी वेलिविस्तार लगाए ः
२०४९ सालमा भट्टेडाँडामा पाकिस्तान एयरलाइन्स दुर्घटना भएको दिन म नेपाल रोजिन एण्ड टर्पिन्टाइन कम्पनीको महाप्रवन्धक भएँ । गिरिजाबाबु, दीर्घराज कोइरालाजीले मलाई अवसर दिनुभएको हो । त्यसअघि मलाई उद्योग, वातावरणसमबन्धी रिपोर्ट लेख्न प्रधानमन्त्रीले जिम्मा दिनुभएको थियो । रिपोर्ट बुझाउन सिंहदरवार जाँदा बाटैमा मलाई दीर्घराज कोइराला र उद्योगी मोहनगोपाल खेतानले बधाई दिएपछि मात्र नियुक्ती पाएको थाहा भयो ।
मलाई नियुक्ती गर्नासाथ नोना कोइरालाले विरोध गर्नुभएछ । त्यही कारण मैले २० दिनसम्म गिरिजाबाबुलाई भेट्न पाइँन । एकदिन वालुवाटारमा गिरिजाबाबुका ड्राइभरलाई शिखर चुरोटको पन्नीमा सानो चिठी लेखेर दिएँ ।
‘आदरणीय गिरिजादाजु । मैले धेरैपटक तपाईँकहाँ धाएँ । भेट पाउन सकिँन । अबिलम्ब भेट पाउँ ।
आज्ञाकारी कुमुद लोहनी ।’
गिरिजाबाबुले बोलाउनुभयो । त्यसपछि मलाई उहाँकहाँ रोकटोक भएन । मेरो दुई बर्षको कार्यकाल थियो । गिरिजाबाबुले अर्को दुई बर्षलाई थपिदिनुभयो । २०५१ सालमा  मेरो कारण सुनसरीबाट एमाले हारेको भन्ने एमालेलाई थाहा थियो ।  एमाले आउनासाथ मैले विराटनगरमा गिरिजाबाबुलाई भनेँ, अब म छाडिदिन्छु । गिरिजाबाबुले भन्नुभयो, ‘तिमी मेरो दाहिने हात हो भन्ने कुरा थाहा छ, त्यसकारण मनमोहनजीले तिमीलाई राख्नुनुहन्न ।  तिमीलाई हटाएपछि मलाई संसदमा बोल्ने बाटो हुन्छ , नछाड ।’ मैले उहाँको कुरा मानेँ । तर मलाई हटाएपछि उहाँले एक शब्द पनि बोल्नुभएन ।
सचिव दीपेन्द्र पुरुष ढकालजीले बोलाएपछि म काठमाडौं आएँ । वनमन्त्री सलिम मियाँ अन्सारीजीको घरमा गएँ । उहाँले भन्नुभयो, ‘मलाई सहयोग गर्नुप¥यो ।’ मैले भनेँ, ‘म पैसा बुझाएर जीएम भएको होइन । म त्यसो गर्दिन ।’
०००००००००००
२०५७ सालमा टिम्बर कर्पोरेसनको अध्यक्ष हुँदा एकजना मित्रले मलाई भन्नुभयो, ‘एकजना फ्रेन्च आएको छ । अपर कर्णालीका बिषयमा कुरा गर्नुप¥यो ।’ सेल्भिन लेभेथ भन्ने फ्रेन्च, अब्दुल्लाह लिड नामका चिनियाँ मुसलमानसहित चारपाँचजना मलाई भेट्न आए । नेपाल विद्युत प्राधिकरणले अपर कर्णालीको लाइसेन्स लिएको थियो । उनीहरुको प्रस्ताब थियो– लाइसेन्स दिनुप¥यो । हामी लगानी गर्छौँ ।सात बर्षमा र्निाण सक्छौँ । बुट अन्तर्गत ३५ बर्षपछि सरकारलाई बुझाएँछौँ । तत्कालै ३० प्रतिशत निशुल्क शेयर दिन्छौँ । मुक्तकमैयाको बसोबासको व्यवस्था गरिदिन्छौँ । रिफरेस्टेशन गरिदिन्छौँ । ३५ बर्षपछि हामीले आर्जन गर्ने नाफाको पचास प्रतिशत भन्दा बढी नेपालमा मानवीय परियोजनामा लगानी गर्छौँ ।’ उनीहरुको पृष्ठभूमि प्रस्ताब ठीक लाग्यो । म गिरिजाबाबुकहाँ गएर कुरा गरेँ । उहाँ कन्भिन्स हुनुभयो ।  तर उहाँले भन्नुभयो, ‘जस्तोपायो त्यो विदेशीलाई म कसरी भेटुँ । ’ मैले भनेँ, ‘तपाईँ गरिब देशको प्रधानमन्त्री हो । अर्बौँ रुपियाँ लगानी गर्छौँ भनेर आउनेहरुलाई एयरपोर्टदेखि वालुवाटारसम्म रातो कार्पेट विच्छ्याएर स्वागत गर्नुपर्छ ।’ त्यतिबेला अमेरिकाका राष्टपति विल क्लिन्टन भारत भ्रमणमा जाँदा अमेरिकामा लगानी गर्न व्यवसायीलाई भनिरहेका थिए । यो दृष्टान्त प्रस्तुृत गरेपछि उहाँ भेट्न राजी हुनुभयो । उहाँ भारत भ्रमणमा जानुभन्दा अगाडिको कुरा हो ।  दलवलसहित १६ वटा गाडीमा लगानीकर्ताहरु वालुवाटार पुगे । १५ मिनेटमै फाइनल भयो । सरकारले फास्ट ट्रयाकमा राखेर लाइसेन्स दिइयो । मैले गिरिजाबाुलाई ठट्टा गरेँ, तपाईँ भारत जाने बेलामा बाजपेयीजीले माग्नुहोला नि ।’ उहाँ पछिसमम पनि भन्नुहुन्थ्यो, ‘यो काम सफल भए देशलाई साँच्चै नै फाइदा हुन्थ्यो । गिरिजाबाबु भारत भ्रमण हुनुभन्दा एक दिन अगाडि यो कुरा टुंगियो । यही निर्णय गराउन राती १२ बजेसम्म सिंहदरवारको कार्यालय खुल्ला भयो । जलस्रोतमन्त्री खुमबहादुर खड्का हुनुहुन्थ्यो ।
विजय गच्छदार जलस्रोतमन्त्री हुनुभयो । उहाँले लाइसेन्स रद्द गराउनुभयो । त्यतिबेलासम्म माओवादीले जलविद्युत क्षेत्रलाई तारो बनाएको थियो । फ्रेन्चले भने, ‘कि सुरक्षा देऊ, हैन भने सर्भे गर्ने समय एक बर्ष बढाइदेऊ ।’ सरकारले लाइसेन्स आफैँ होल्ड ग¥यो । मोलमोलाईमा समय खर्च भयो । जनआन्दोलनपछि भारतीय कम्पनी जीएमआरले पायो । फ्रेन्चलाई काम गर्न दिएको भए ढिलोमा पनि २०६७ सम्म परियोजना बन्थ्यो । देश अन्धकारमा बस्नुपर्ने थिएन ।
०००००
म रोजिन कम्पनीमै भएका बेला प्रधानमन्त्री गिरिजाबाबु र प्रधानसेनापति गडुल शमशेर राणाबीच सम्बन्ध बिग्रेको थियो । प्रधानसेनापतिसँग बोलचाल थिएन, सेनाको बजेट रोकिएको थियो । राजा वीरेन्द्रले चारपटक गिरिजाबाबुलाई ‘प्रधानसेनापतिको कुरा सुन्दिनुस्’ भन्नुभएको थियो । हवस् सरकार भन्ने तर गिरिजाबाबुले गडुलशमशेरको कुरै नसुन्ने । २०५० सालको बाढी आएलगत्तै मैले पिताजीलाई लिएर गिरिजाबाबुकहाँ गएँ । मेरो पिताजी चन्द्रिकाप्रसाद लोहनी गिरिजाबाबुका साथी । पिताजीले सेनापतिसँग सम्बन्ध बनाउनुस् भनेर डेढघण्टा सम्झाउँदा गिरिजाबु टसमस हुनुभएन । फर्किँदा बाटोमा पिताजीले भन्नुभयो, ‘गिरिजा बौलायो । पहिला पनि सेनालाई यस्तै गरेर २०१७ साल आयो । अब फेरि सेनासँग समबन्ध विगारेर गिरिजाले १७ साल भित्र्याउनेभयो ।’
बाढीले धेरै क्षति भयो, पुल भत्किए । मलाई गिरिजाबाबुकहाँबाट फोन आयो, ‘पुल भत्किएको छ । रासनपानी स्टक गरेर राख्नुपर्नेभयो ।’ चिफसाप गडुल शमशेरले पनि फोन गर्नुभयो । उहाँसँग मेरो सम्बन्ध राम्रो थियो, अहिले पनि छ । मैले भियतनाम युद्धको बृत्तचित्र हेरेको थिएँ । पुल भत्किएको साँढे तीन घण्टामा अमेरिकाले पुल बनाइदिएको भिडियोले मलाई छोयो  । मैले चिफसापलाई सोधेँ, ‘यस्तो प्रविधि मगाउन सकिएला ?’ गडुल शमशेरले भन्नुभयो, ‘तपाईँका पीएमले हामीलाई विश्वासै गर्दैनन् । पीएमले भन्ने हो भने पाँचदिनमा मगाउन सक्छु ।’
मैले गिरिजाबाबुसँग कुरा गर्ने उपयुक्त समय यही हो गएँ । प्रधानसेनापतिलाई पनि जानकारी दिएँ । मैले भनेँ, ‘तपाईँ रक्षामन्त्री । तपाईँ मातहतको सेनालाई जहिले पनि दरवारको, उसको, अर्काको भन्ने ? सेनालाई कहिले विश्वासमा लिनुहुन्छ ?’ गिरिजाबाबुको एउटै कुरा छ, ‘त्यो चिफ ठीक छैन । ’ मैले भनेँ, गडुल शमशेर भनेको मै हुँ सम्झिनुस् । भेट्नुप¥यो ।’ साँझ पाँच बजे चिफसाप र म वालुवाटार गयौँ । गिरिजाबुसँग उहाँहरुको छोटो कुरा भयो । अमेरिकाबाट हर्कुलिस भन्ने प्लेनमा पाँचै दिनमा बेलीब्रिज आयो । त्यही बीचमा मसालका कार्यकर्ताले गिरिजाबाबुलाई ढुंगा हानेछन्, रेस्क्यु गर्न प्रधानसेनापति आपैmँ जानुभयो । त्यसपति त गिरिजाबाबु प्रभावित भइहाल्नुभयो नि । त्यतिबेला रक्षासचिव फेरिए । सेनापतिसँग सम्बन्ध सहज नहुनाको कारण रक्षासचिवको भूमिका रहेछ भन्ने पत्ता लाग्यो । त्यसपछि  दुवैजना एक अर्काका अत्यन्तै नजिक भए ।
प्रधानमन्त्रीसँग सम्बन्ध सुधारको कहानी प्रधानसेनापति गडुल शमशेरले राजा वीरेन्द्रलाई भन्नुभएको रहेछ । मेरो काका सिपी लोहनीको नाम लिएपछि त राजाले भेट्न बोलाऊ भन्नुभएको रहेछ । प्रधानसेनापतिको नातिको पास्नीमा राजा र गिरिजाबाबु बोलाइएको थियो । मलाई पनि निम्ता थियो तर गईँन ।  त्यहाँ राजा वीरेन्द्रले राम्रो ग¥यौ भनिदिए भने त गिरिजाबाबुलाई अर्को अर्थ लाग्ने हुन्छ । मैले जान नसकेकोमा चिफसापसँग माफी मागेँ । तर राजासँग भेट्छु भन्दाभन्दै दरवार हत्याकाण्ड भयो ।
००००००००
गिरिजाबाबु मेरो घरमा पनि आइरहनुहुन्थ्यो । एकदिन उहाँ आउँदा मकहाँ वालयोगी गोपालवाला पनि हुनुहुन्थ्यो ।  गिरिजाबाबुले भारत जाँदाको कहानी बताउनुभयो । इन्डियामा गिरिजाबाबुलाई प्रधानमन्त्री अटल  विहारी बाजपेयीजीले भनेछन्–गिरिजाबाबु आपके पास तो मुस्लिम भी ज्यादा बढ्गया । क्रिश्चियन भी बहुत बढ्गया है । आप लोग तो रोक नही पा रहे हो ।’ गिरिजाबाबुले भन्नुभएछ, ‘देखिए बाजपेयीजी, हम ने ऐसा नियम बनादिया है कि जहाँ मन्दिर हो, उसके चार किलोमिटरका रेडियस पर कोही मस्जिद भी नही बनापाएगा, चर्च भी नही । आप जान्ते हो कि नेपाल मन्दिर ही मन्दिरसे सजा हुवा देश हे । अगर यी नियम लागू होगया हो तो मदरसा ही नही बनेगा । बाजपेयीले भन्नुभएछ–आरे ये चीज तो आप लोगो से हमको सिक्ना पडेगा ।’ तर गिरिजाबाबुले नै हिन्दु राष्ट्र चौपट पारिदिनुभयो । मलाई थाहा छ कि हिन्दु राष्ट्र, राजसंस्था जानु, संघीयता घोषणा गर्नु र स्वायत्त मधेश प्रदेशका पक्षमा सम्झौना गर्ने गिरिजाबाबुको चाहना थिएन । गिरिजाबाबुको सिनायल अवस्था थियो । उहाँको मस्तिष्कले पूरै अक्सिजन लिन सक्थेन । उहाँकहाँ वरिपरि बस्ने तत्वहरुले उहाँलाई उचालेर सबै कुरा लागू गरिदिए । म भेट्न जाँदा गिरिजाबाबु यो कुरा महसुस गर्नुहुन्थ्यो ।
००००००००
विपी कोइराला र मेरो पिताजीको नजिकको सम्बन्ध थियो । एकदिन मलाई बिपीले भन्नुभयो, ‘तिमी मसँग बसेर राजनीति सिक, उच्च शिक्षा हासिल गर । बुबालाई म चिठी लेखिदिन्छु ।’ तर म उहाँसँग बस्न सकिँन ।
बिपीले एकदिन भन्नुभयो–तिमी गिरिजासँग धेरै नजिक नहुनु । उसले तिमीजस्ता युवालाई बम हान्न सिकाउँछ, प्लेन हाइज्याक गर्न सिकाउँछ । त्यो कामका लागि हामीले पूर्व आर्मी पालेकै छौँ नि । नेपालमा प्रजातन्त्र आएपछि  ढुंगामुढा हान्नेले देश चलाउन सक्दैन । देश चलाउन कुशल ईन्जिनियर चाहिन्छ, प्रशासक चाहिन्छ । त्यो बाटोमा लाग ।’
जनमतसंग्रह घोषणा भएको दिन कीर्तिनिधि बिष्टले बिपीलाई खान बोलाउनुभएछ । कीर्तिबाबु मेरो भान्दाजु हुनुहुन्छ तर उहाँले भन्नुभएन । जनमतसंग्रह घोषणा भएको भोलिपल्ट म विपीकहाँ जाँदा उहाँले भन्नुभएको हो । जनमतसंग्रह घोषणाको भोलिपल्ट चावहिलमा विपीकहाँ भीड थियो । तर बिपीले मलाई बोलाएर  ४० मिनेट जति कुरा गर्नुायो । एकसे एक भीआईपीहरु बाहिर कुरिरहेका छन् । मलाई बिपीले कोठाभित्र लगेर ४० मिनेट राख्दा बाहिर मप्रतिको धारणा बेग्लै बनेको थियो । तर विपीले मसँग पारिवारिक कुराकानी गर्नुभयो । कीर्तिबाबुकहाँ फलानो वाइन खाएँ, छोरी ज्वाईँ, छोरा यस्ता रहेछन् । कीर्तिबाबु विद्धान,राष्ट्रबादी रहेछन् भन्नुभयो । म घर फर्केर कीर्तिबाबुलाई फोन गरेर भनेँ, दाजु हिजो त हाम्रै नेतालाई खुवाउनुभएछ नि ।’ ‘कसले भन्यो ?’ उहाँले सोध्नुभयो । मैले भनेँ, ‘जसले खायो, उनैले भनेको ।’
अमेरिका जानुअघि बिपीले मलाई बोलाउनुभयो । उहाँ खाटमा पल्टिनुयो, म कुर्शी तानेर बसेँ ।  ‘म तिमीलाई आज राजनीति सिकाउँछु,’  विपीले भन्नुभयो, ‘हेर, मैले जानेरै हार स्वीकार गरेको छु । राजालाई फाल्न मलाई समय लाग्दैन । सातदिनमा फाल्नसक्छु । मनमोहनहरु मसँग मिलेर आन्दोलन गर्न तयार छन् । तर म कम्युनिष्टहरुसँग सम्झौता गर्दिन । राजाले यो कुरा बुझेनन् । राजा महेन्द्रले पनि गल्ती गरे । इन्डिया हामीलाई सिध्याउन लागेको छ । हामी सिद्धिने वित्तिकै राजालाई समाप्त पार्न सजिलो छ । भारतमा रसियाको प्रभाव बढेर गएको छ । डिफेन्स प्याक्ट छ । राजालाई सिध्याउन नेताहरु लागेका छन् । गान्धी परिवारको सहानुभूति राजालाई छैन । हामीले बिषय पियर भए पनि राजासँग सम्झौता गर्नेपर्छ । यसमै राजाको पनि भविश्य छ, हाम्रो पनि पनि छ ।’
विपीले दुईवटा शर्तमा पञ्चायतमै सामेल हुन तयार हुनुभयो । उहाँले राजा वीरेन्द्रसँग भन्नुभयो, ‘पञ्चायत नै नाम राखिबक्स्योस् मलाई आपत्ति छैन । तर चुनाव चिन्ह दुईवटा होस् । एउटा बहुदलबादीको, अर्को निर्दलवादीको । मलाई पञ्चायतसँग घृणा छैन । एउटा हामी बहुमतमा पुग्यौँ भनेर थाहा पाउने संयन्त्र के हुने ? त्यसमा दुईवटा पार्टीको व्यवस्था गरिबक्स्योस्, बहुदल र निर्दल । दोस्रो, बर्गिय संगठनको सदस्यता अनिवार्य नगराइबक्स्योस् । त्यो हामी मान्न सक्दैनौँ ।’ राजाले त्यो नदिनाको परिणाम के भयो ?
विपी र महेन्द्रको झगडा भारतीय कांग्रेसले उचालेको थियो । बिपीले युएनमा भाषण गर्दा राजा महेन्द्रले तारिफ गरेका थिए । अन्तराष्ट्रिय समाजवादी आन्दोलनका उपाध्यक्ष विपी त्यसै भएका थिएनन् । एशियन रिजनमा दुईवटा शक्तिशाली बाग देखिनेभए, नेहरु र विपी । भारतीय कांग्रेसले खुराफाती गरेर राजा महेन्द्रलाई उचाले र  विपीको त्यो हालतमा पु¥याइदिए । बिपीले भारतमा रहँदा सशस्त्र क्रान्तिको कुरा गरेका थिए । तर उनी मेलमिलापको मुद्दा लिएर आए । देशको मूल्यमा आए । राष्ट्र रहेन भने कसरी प्रजातन्त्र रहन्छ भन्ने थियो । नेपालमा राजा फाल्नका लागि पनि कांग्रेस आईले नै भूमिका खेल्यो । त्यसमा को को प्रयोग भए, समयले बताउँदै जानेछ ।
००००००
राजा ज्ञानेन्द्रले दरबार छाड्नु सवा महिनाअघि भेटेँ । पौने चार घण्टा कुराकानी गरेँ । उहाँलाई पनि घेरेर राखेका रहेछन् । कांग्रेस दुस्मन हो भनेर मिस्गाइड गरेका रहेछन् । म गिरिजाबाबुलाई सोधेर गएको थिएँ । मैले भनेँ, ‘डिप्लोमेसी खेलिबक्स्योस् ।’ राजाले भन्नुभयो, ‘लोहनीजी मैले तपाईँको कुरा बुझैँ । चाबी गिरिजाबाबुको गोजीमा छ । मिलाउनुस् । तपाईँले भनेका सबै कुरा मान्न तयार छु । तपाईँको फोन आयो भने राती १२ बजे पनि उठाउन तयार छु ।’ यहाँभन्दा उहाँले कति भन्ने ? गिरिजाबाबु प्रधानमन्त्री भइसक्नुभएको थियो । मैले गिरिजाबाबुलाई भेटको सबै कुरा सुनाएँ । उहाँले भन्नुभयो, ‘म राजसंस्थालाई पनि एड्जस्ट गर्छु ।’
प्रस्तुतिः पर्शुराम काफ्ले

 
 
 
 
 
 

top sidebar ads

समाचार

समाचार

recent posts comments tab