Friday, 15 March 2013

जंगी अड्डामा हाँसो र कटाक्ष

वर्तमान र भूपू चिफले के के भने ?

काठमाडौं, चैत २ (नेपाल डोर) । चैत १ मा सैनिक हेडक्वार्टर भद्रकालीमा शुरु भएको नेपाली सेनाको पृतना सम्मेलनमा यसबर्ष बहालवाला मात्र नभएर भूतपूर्व उपरथीमाथिका जर्नेललाई पनि निम्ता थियो । सम्मेलनमा पूर्व प्रधानसेनापतिहरु धर्मपालवरसिंह थापा, अर्जुननरसिंह राणा, प्यारजंग थापा, छत्रमानसिंह गुरुङ थिए भने  निम्ता पाएर पनि प्रज्ज्वल शमशेर राणा, गडुल शमशेर राणा, रुक्मांगद कटवाल गएनन् । २०५८ जेठ १९ गते दरवार हत्याकाण्डका बेला प्रधानसेनापति रहेका प्रज्ज्वल सैनिक कार्यक्रममा सहभागी हुन छाडेको बर्षौँ भइसकेको छ
पृतनापतिलगायत जंगी अड्डाका कार्यालय, विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुखहरु सहभागी सम्मेलनमा सहभागी पूर्व रथी चित्रवहादुर गुरुङले पूर्व सेनापति धर्मपालवरसिंह थापाप्रति कटाक्ष गरेका थिए ।  थापाले कल्याणकारी कोषमा रकमको व्यवस्थापन कसरी गर्ने भन्ने बिषयमा धारणा राखेका थिए । उनले समसामयिक परिस्थिति, सेनाको संगठन कसरी चुस्त राख्ने लगायतका बिषयमा केही बोलेनन्, केबल रकम र हिसाबकिताबका बारेमा भाषण खर्चिए । त्यसैले होला उनलाई कटाक्ष गर्दै पूर्व रथी गुरुङले ‘धर्मपाल चिफसापले आर्थिक कुरा राख्नुभो, उहाँलाई अर्थको मामिलामा कसले सक्छ र ?’ भन्दै कटाक्ष गरेका थिए । उनले बोलेपछि हलभरि हाँसो गुन्जिएको थियो । 
पूर्व उपरथी यादब रायमाझीले सेनापतिलाई मुख्यसचिव भन्दा मुनि तथा रथीलाई सरकारको सचिव भन्दा मुनि राख्ने गरी बरियता तोकिएको भन्दै बिरोध जनाएक थिए । उनले सरकारी निर्णय प्रकाशन भएको राजपत्रको फोटोकपी नै बाँडेका थिए । राजपत्र नै बोकेर गएका रायमाझीलाई कतिपयले चाहिँ खिसिटिउरी गरेका थिए भने राजेन्द्र थापा लगायत कतिपय पूर्व उपरथीले राजसंस्था हुँदा र अहिले सेनापतिको हैसियत एउटै नभएको हुनाले परिवर्तनलाई स्वीकार गर्नुपर्छ भनेरु रायमाझीलाई जबाफ दिएका थिए ।
सेनाको लोकतान्त्रिकरणका बिषयमा सबैजसोले आपत्ति जनाउँदै भनेका थिए, ‘सेनाको लोकतान्त्रिकरण होइन, आधुनिकीकरण र सुदृढीकरण गर्ने हो ।’ प्रधानसेनापति गौरब शमशेर जबराले सेनामा पूर्व लडाकुको समायोजन, सैनिक नियमावलीमा संशोधनलगायतका बिषयमा धारणा राखेका थिए । प्रधानसेनापतिले शान्तिप्रक्रियालाई सम्पन्न गर्न सेनाले पूर्व लडाकुलाई सैनिक मापदण्डका आधारमा समायोजनमा ल्याएको जानकारी दिएका थिए । उनले सेनाको नयाँ महानिर्देशनालय अन्तर्गत तीनवटा निर्देशनालय र ६ वटा गण रहने तथा अधिकांश उपत्यका बाहिर तैनाथ गरिने पनि जानकारी दिएका थिए ।  राणाले नयाँ महानिर्देशनालय बनाउने निर्णय गरे पनि साधनस्रोतको व्यवस्थापन नभएको भन्दै सरकारप्रति घुमाउरो असन्तुष्टि जनाए ।
सेनापतिले क्षमतावान व्यक्तिलाई अघि बढाउने गरी सैनिक नियमावली ल्याएको प्रष्टीकरण दिएका थिए । उनले सेनाको आधुनिकीकरणका लागि पाँच बर्षे र दशबर्षे रणनीति ल्याएको पनि जानकारी दिएका थिए । सैनिक नियमावली संशोधन गर्ने निर्णयप्रति पूर्व रथी सिबी गुरुङले खुलेरै प्रधानसेनापति जबराको प्रशंसा गरेका थिए । सम्मेलनमा करिब दुईदर्जन अबकासप्राप्त सैनिक अधिकृतहरु सहभागी थिए ।


No comments:

Post a Comment

Global Mountain Biodiversity Assessment establishes first Asia hub in Kathmandu

  ICIMOD to host regional hub of prestigious global network in bid to increase scientific knowledge and policy responses to at-risk mounta...