Saturday 30 March 2013

म कानूनसम्मत अध्यक्ष

-खिलराज रेग्मी-
हामीहरु सबैलाई जानकारी नै छ अहिले नेपालमा संविधानसभाको निर्वाचन सम्पन्न गराउने प्रयोजनार्थ सरकार गठन भई निर्वाचनको कार्यलाई यथाशक्य छिटो अघि बढाउने प्रक्रियामा हामीहरु उन्मुख रहेका छौं । संविधानसभाको माध्यमबाट लोकतान्त्रिक, समावेशी र दिगो संविधान निर्माण गरी नेपाली जनताको सुख, समृद्धि र शान्तिलाई पूर्ण प्रत्याभूत गर्न हामीहरु सबै आतुर छौं । नेपालको राजनीतिक इतिहासमा भएको नविन ढङ्गको यस प्रकारको अभ्यास आफैमा मौलिक प्रकृतिको पनि छ । यो अभ्यास राष्ट्रिय राजनीतिक सहमतिमा आधारित, संवैधानिक र कानुनी प्रक्रियासङ्गत, अन्तराष्ट्रिय समर्थनप्राप्त,  र वैधानिक ढङ्गको पनि छ । यस सरकारको गठनमा केही हदसम्म असन्तुष्टिहरु र विश्लेषणात्मक प्रकृतिका स्वरहरु नसुनिएका पनि होइनन्, तर त्यसमा मलाई के लागेको छ भने त्यस्ता स्वरहरु महत्वपूर्ण जिम्मेवारी लिँदाको बखत हुने गरेका “रचनात्मक आलोचना”हरु हुन् । सरकार गठनको प्रक्रियाका सम्बन्धमा केही भिन्न धारणाहरु रहेको भएतापनि अहिले विस्तारै नवगठित सरकार निर्वाचनको प्रक्रियामा अग्रसर हुँदै सकारात्मक वातावण सिर्जना भएको छ । सरकार गठनका बेला निर्वाचनको सम्भावनाप्रति निराशायुक्त भावमा उचित वातावरणको अभाव रहेको र संवैधानिक बाधा रहेको भन्ने धारणाहरु अभिव्यक्त भएको यथार्थता हामीहरुका सामु रहेको थियो । संविधानवाद, विधिको शासन र लोकतान्त्रिक मुल्य मान्यताप्रति प्रतिबद्ध रही आजीवन आफ्नो न्यायिक व्यसायिक जीवन समर्पण गरेको म जस्तो व्यक्तिका लागि वास्तवमा चुनौतीपूर्ण अवस्था रहेको पनि हो । एकातर्फ संविधानको प्राविधिक व्याख्या भएको अवस्था र अर्काेतर्फ इतिहासको आवश्यकताले गरेको आग्रह अनुरुपको जिम्मेवारी मेरा सामु रहँदाकै बखत मैले देशको समग्र वस्तुस्थिती, संवैधानिक, राजनीतिक एवम् कानुनी बाधा र भावी उद्देश्यका लागि निर्वाह गर्नुपर्ने मेरो दायित्वलाई आत्मसात गरेर नै यस प्रक्रियामा अघि बढ्ने निर्णय लिएको हुँ । यसरी विकसित नयाँ परिस्थितिमा निर्वाचनको एक मात्र अभिष्ट लक्ष्य लिँदै नेपाली जनताका लागि चिरकालपर्यन्त प्रगतिको पथमा अग्रसर हुन सहयोग गर्ने संविधान निर्माणको लागि संविधानसभाको निर्वाचन नै हाम्रो मुल कार्य थियो र छ ।
    संविधानसभाको निर्वाचनका सन्दर्भमा हाम्रो प्रक्रिया एउटा दिशा लिएर अघि बढिसकेको छ । सरकार गठनको आज सत्रौं (१७ औं) दिनसम्म आइपुग्दा यसबीचमा मन्त्रीपरिषद्को पूर्णतासँगै निर्वाचन गराउने संवैधानिक निकाय निर्वाचन आयोगमा पदाधिकारीहरुको नियुक्ति समेतका महत्वपूर्ण कार्यहरु सम्पन्न भैसकेका छन् भने निर्वाचनको मिति तय गर्ने सन्दर्भमा हामीहरु आयोगसँग निरन्तर परामर्श गरिरहेका छौं । साथै निर्वाचनको वातावरणलाई सहयोगात्मक बनाउनका लागि विभिन्न संघ संगठन, अन्तर्राष्ट्रिय निकायहरु र हाम्रा मित्रराष्ट्रहरु सबैको सकारात्मक धारणा, समर्थन र सहयोगको प्रतिबद्धता निरन्तर प्राप्त भइरहेको अवस्था हामीहरुसँग रहेको छ । अर्कातर्फ आन्तरिक स्रोत साधन, निर्वाचनका लागि आवश्यक पर्ने प्राविधिक सहजता, कानुनी पक्ष र जनशक्ति व्यवस्थापन लगायतका कुराहरुको सुनिश्चिततामा सरकार निरन्तर क्रियाशील छ । यस अर्थमा निर्वाचन सम्पन्न गराउने सन्दर्भमा अहिलेको सरकारको काम कारवाही अत्यन्त प्रभावकारी ढङ्गबाट निर्देशित भई अघि बढिरहेको कुरा म यहाँ राख्न चाहन्छु ।
    नेपाली राजनीतिक इतिहासमा यसपूर्व गठन भएको संविधानसभाले संविधान निर्माणको कार्यमा सफलता हासिल गर्न नसकी बिघटन हुन पुगेको र इतिहासका महत्वपूर्ण केही वर्षहरु व्यर्थ हुनपुगेकोले आम जनतामा निराशा पनि उत्पन्न भएको अवस्था छ । हाम्रा सामु राजनीतिक स्थायित्वसँगै गर्नुपर्ने विकास, आर्थिक प्रगति, सामाजिक उत्थानका सपनाहरु पनि विगत थुप्रै दशकदेखि अतृप्त रुपमा सँगालिएका छन् । जनताको जीवनस्तरलाई “आधारभूत आवश्यकताको सुनिश्चतता” को अवस्थामा पु¥याउनु अहिले हामी नेपालीहरुको मूल लक्ष्य पनि हो । तर यो सबै कुरा राज्य व्यवस्थाको स्थायित्वबाट हुनेहुँदा त्यसका लागि संविधानको निर्माण आजको प्रमुख लक्ष्य बन्न पुगेको छ । तसर्थ संविधानसभाको निर्वाचनमा रचनात्मक सहभागिताका लागि म सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई आह्वान गर्न चाहन्छु । लोकतन्त्रमा अभिव्यक्तिको स्वतन्त्रता रहन्छ र विचारको सदैव कदर हुन्छ, त्यसैले आ–आफ्ना धारणा र विचारको सम्मान गर्दै मलाई के भन्न मन लागेको छ भने लोकतान्त्रिक अभ्यासमा निर्वाचन मात्र यस्तो निर्विकल्प माध्यम हो जसले सम्पूर्ण समस्यालाई परिणाममुखी बनाउन मद्दत गर्दछ । तसर्थ, निर्वाचनको प्रक्रियामा सहभागी हँुदै सम्पूर्ण नेपालीहरुको हितमा अघि बढ्न म यस मञ्चबाट आग्रह गर्न चाहन्छु ।
    निर्वाचनको कार्य अहिले हाम्रो साधना भएकोले यसका लागि सबैको सहभागिता चाहिन्छ । निर्वाचन सम्पूर्ण नागरिककै लागि गरिने हो र यसका मूल पात्रहरु पनि समग्र नागरिकहरु नै भएकोले आम जनसमुदायको साथ र समर्थन चाहिएको छ । केही राजनीतिक दल र संघ–संगठनमा असन्तुष्टि रहेको हँुदा उहाँहरुलाई पनि वैधानिक ढङ्गबाट यस प्रकारको लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन अनुरोध गर्न चाहन्छु । सम्भावनाका बारेमा भन्नुपर्दा एउटा कुरा सत्य के हो भने – कुनै पनि कामलाई सहयोग, साथ र समर्थनका साथ सकारात्मक उर्जा प्राप्त हुन पुगेमा त्यसका लागि स्वतस् सम्भावनाका सङ्केतहरु देखिन्छन् र सम्पूर्ण प्रयासहरु सार्थक हुन पुग्दछन् । तसर्थ निर्वाचनको सम्भावनाका बारेमा हाम्रा सामु सबै विषयहरु छर्लङ्ग भएको हुँदा यस सरकार, समग्र राजनीतिक घटनाक्रम र सरकारका कार्यहरु आफै नै साङ्केतिक रुपमा त्यो दिशामा उन्मुख छ भन्ने कुराको पुष्टि गर्दछन् । यसबीचमा रहेका चुनौतीहरुका रुपमा मैले केही समूहहरुको असन्तुष्टिलाई लिएको छु, तर त्यो समयसापेक्ष रुपमा उहाँहरुबाट व्यक्त भएको आशङ्काको एउटा अवस्था मात्र हो, त्यसैले शिघ्र नै उहाँहरुको पनि सहयोगको अपेक्षा मैले गरेको छु । यसै सम्बोधनमार्फत असन्तुष्ट रहनुभएका राजनीतिक दल र व्यावसायिक लगायत सबै नागरिक समाजलाई पनि निर्वाचन प्रक्रियामा सहभागी हुन म आग्रह गर्दछु । सरकारका तर्फबाट सम्बोधन गरिनुपर्ने केही माग छन् भने त्यस्ता माग लिएर यहाँहरु वार्तामा आउनुभएमा हामीहरु त्यसप्रति अग्रसर हुने कुरामा म विश्वास दिलाउन चाहन्छु । नेपाल सरकार निर्वाचनलाई सहभागितामूलक, समावेशी, लोकतान्त्रिक, निष्पक्ष, शान्तिपूर्ण र परिणाममुखी बनाउन हरक्षण प्रयत्नशील रहेको कुरा म विश्वास दिलाउन चाहन्छु ।
आज यसै अवसरमा निर्वाचनका सम्भावनाका बारेमा यहाँहरुका सामु बोलिरहँदा मलाई बेलायतका तत्कालिन प्रधानमन्त्री विन्स्टन चर्चिलको एउटा भनाई यहाँ स्मरण गर्न मन लागेको छ । प्रधानमन्त्री चर्चिलले भनेका थिए “A pessimist sees the difficulty in every opportunity; an optimist sees the opportunity in every difficulty” . यस भनाईको सान्दर्भिकता अहिले हाम्रा सामु रहेको छ, किनभने, यदि हामी सकारात्मक र आशावादी हुनसकेमा चुनौतीका बाबजुद पनि प्रशस्त सम्भावना रहन्छ, तर यदि निराशा र नकारात्मकता मात्र हेर्ने हो भने प्रशस्त अवसरहरु रहँदारहँदै पनि चुनौतीहरु देखिन्छन् । त्यसैले कुनैपनि कुराको सम्भावना भनेको त्यसप्रतिको सकारात्मक धारणा, आत्मविश्वास र सत्प्रयासमा नै निर्भर गर्दछ, तसर्थ, म यहाँहरु सबैलाई आगामी निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन अनुरोध गर्दछु ।
(राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्रीपरिषद् अध्यक्ष रेग्मीले गरेको लिखित भाषणको सम्पादित अंश –सम्पादक)

प्रतिक्रिया, टिप्पणि वा सुझाबका लागि इमेल गर्नुस्-  npdoor@gmail.com

No comments:

Post a Comment

top sidebar ads

समाचार

समाचार

recent posts comments tab

Blog Archive