Monday 11 March 2013

बिपी मासेर साम्प्रदायिक आगो


  काठमाडौं, फागुन २८ । मधेश आन्दोलनका क्रममा आन्दोलनकारीको उद्दण्ड जत्थाले मध्यतराईको वीरगञ्ज र जनकपुरमा राष्ट्रिय विभुतिहरुको शालिक तोडे, त्यो भन्दा अघि दोस्रो जनआन्दोलनमा माओवादीका सादा पोशाकका लडाकुले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमाथि तोडफोड गरे । प्रचण्ड र बाबुराम भट्टराई नेतृत्वका सरकारहरुले मुलुकमा प्रतिष्ठा कमाएका राजाहरुको नाम जोडिएका नगरपालिका, राजमार्गका नाम बदलेर क्रान्तिकारिता देखाए । तथाकथित परिवर्तनको नाममा द्रव्य शाह, सगरमाथा, पृथ्वीनारायण शाह, महेन्द्रका नामका राजमार्ग, नगरपालिकाका नाम हठात हटाइएकोमा अहिले मुलुकले अत्यन्तै श्रद्धा गरेका अर्का हस्तीको स्मरणमा छुट्याइएको जमिन अतिक्रमण भएको छ । अतिक्रमणमा नेपाल प्रहरीमा स्वच्छ छवि स्थापित गर्दैगरेका एकजना एसएसपीकै संलग्नतासमेत खुलेको छ ।
प्रसंग वीरगञ्ज घण्टाघर सामुन्ने रहेको वीपी उद्यानको हो । घण्टाघर अगाडि सार्वजनीक शौचालय र त्योसँगै रहेको सानो बजारदेखि खारेज भइसकेको नेपाल रेल्वेको बोड झुण्ड्याइएको ठाउँसम्मको दश विगाहा जग्गा बिपी कोइरालाको नाममा सरकारले छुट्याएको हो । भारतीय महावाणिज्यदूतावाससम्म जोडिएको फराकिलो जग्गामा नेपाली कांग्रेसका नेता, पूर्व प्रधानमन्त्री बिपी कोइरालाका नाममा एउटा  हल र पार्क बनाएर प्रजातान्त्रिक आन्दोलनको एउटा अभिलेख राख्ने निर्णय वीरगञ्जका सबै दलले गरेका थिए । मालपोत कार्यालयले २०६० पुस २३ गते बिपी उद्यानका नाममा दिएको पछिल्लो जग्गाधनी दर्ता प्रमाणपूर्जामा उद्यानका नाममा कित्ता नं ११४, १४५, १४६, १, ३५, २२ र २९ गरी जम्मा दश विगाहा जमिन छ । मापलोत कार्यालयले नेपाल यातायात संस्थान वीरगञ्जको नाममा विगतमा रहेको सो जग्गा मन्त्रीपरषद्को २०६० कात्तिक २७ को निर्णइ अनुसार वेचविखन वा अन्य कनै पनि प्रयोजन गर्न नपाइने उल्लेख छ । वीरगञ्ज नगरपालिकाले दश करोड रुपियाँमा सो जग्गा किनेको नेपाली कांग्रेसका नगरसभापति मोहम्मद शाहबुद्धिन बताउँछन् । शाहबुद्धिनका अनुसार माधवलाल श्रेष्ठ वीरगञ्ज उपमहानगरपालिकाका मेयर र अजय दुवेधी उपमेयर हुँदा सरकारले सो जग्गा बिपी उद्यानका नाममा दिने निर्णय गरेको थियो । प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला हँु्दा नगरपालिकालाई सो जग्गा दिने मन्त्रीपरिषदले निर्णय गरेको थियो ।
तर मधेश आन्दोलनपछि मधेशका क्षेत्रीय दलहरुले सो जग्गालाई मधेशी शहिद उद्यान बनाउनुपर्ने भन्दै बोर्ड टाँगेका छन् । उद्यान परिसरभित्रको भवनमा पनि मधेशी दलले अतिक्रमण गरेर कार्यालय राखेका छन् । ‘अहिले मधेशी दलहरुले शहीदका नाममा साम्प्रदायिक कुरा गरिरहेका छन् र बिपी कोइरालाको नाममा उद्यान बनाउन नदिन अनेक प्रपञ्च रहेका छन्, हामी उनीहरुलाई सफल हुन दिनेछैनौँ’ कांग्रेसका नेता शाहबुद्धिनले भने । विगतमा बिपी उद्यान बनाउन पहल गर्ने एमाले, राप्रपालगायतका दलहरु अहिले चुपचाप छन् । मधेशका नाममा उदाएका दलहरुका स्थानीय प्रतिनिधिहरु पञ्चायती पृष्ठभूमिका भएकोले उनीहरुले बिपीलाई विस्थापित गर्न खोजेको कांग्रेका स्थानीय नेताहरु बताउँछन् । मधेशीहरुले नै बिबाद झिकेका कारण बिपी भवन र पार्क बन्न सकेको छैन । उल्टै जग्गाको वैधानिकताका बिषयमा कांग्रेसले झगडा गर्नुपरेको छ । कांग्रेस नेता शाहबु्द्धिन भन्छन्, ‘राष्ट्रिय व्यक्तित्वलाई पहाडीया भनेर अपमान गर्दै मधेशी भनिने केही व्यक्तिहरुले साम्प्रदायिकता फैलाइरहेका छन् । राष्ट्रिय व्यक्तित्व, शहिद पहाड, मधेश, हिमालको हुँदैन। आम मुलुकको हुन्छ । ’
बिपी उद्यानभित्र बनाइने ठूलो सभाहलमा अब बिपीको नाम नै मेटिने भएको छ । भारत सरकारको सहयोगमा बन्न लागेको सो हलको नाम ‘नेपाल भारत मैत्री हल’ राखिने सहमतिभएको छ भने करिब ४० करोड लागतमा भवन बन्ने भएको छ । बिपी उद्यानभित्रै समर्पण सेवा संस्थाका नाममा एउटा घर बनाइएको छ । तत्कालीन एसपी (हाल एसएसपी) रमेश खरेलको आडमा उद्यानभित्रै जग्गा अतिक्रमण गरेर दुईतल्ले भवन बनाइएको स्थानीइ बासिन्दाहरुको आरोप छ । ‘हामीले त्यो जग्गाको वास्तविकताका बारेमा सिडीओ सापदेखि सबैलाई जानकारी गराउँदा पनि खरेलको पावरका कारण सबैको केही लागेन’ कांग्रेसका एक नेताले भने, ‘खरेलकै आडमा जग्गा अतिक्रमण भएर घर बनाइयो ।’ सो घरमा हाल रंगरोगन भइरहेको छ । घर बनाइएको विरोधमा कांग्रेसका स्थानीय नेताहरु सुरेन्द्र चौधरी, राजेन्द्रबहादुर अमात्यले नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत शिवप्रसाद भट्टराईलाई भेटेर भवन निर्माण रोक्न माग गरेका थिए । तर भट्टराईले भनेका थिए, ‘नगरपालिकाले त्यो भवन बनाउन अनुमति दिएको होइन। रमेश खरेलजीको अगाडि मेरो केही चल्नेवाला छैन ।’ जब कि उद्यानको जग्गाभित्र रहेको हाटबजारको पिठिया करमा बिपी उद्यान भनेर स्पष्ट लेखिएको छ । त्यहाँ रहेका माछा मासु पसलले पनि बिपी उद्यानकै नाममा भाडा तिर्छन् । मधेशी दलको यतिसम्म पेलाइ छ कि वीरगञ्जका पहिला शहिद थिरबम मल्लको शालिक तोडिएको ठाउँमा नाम नै नसुनिएका नेता रामजनम तिवारीको शालिक ठड्याइएको छ घण्टाघरको फेदमा । बिपी उद्यानको अतिक्रमणमा संलग्न उद्दण्ड मधेशी कार्यकर्ताका अगुवा प्रदिप यादव हुन् जो मधेश आन्दोलन हुँदा राप्रपा नेता राजीव पराजुलीका दाहिनेहात थिए । मधेश आन्दोलनलाई दबाउनुपर्छ भन्दै हिँडेका यादब अहिले चर्को मधेशवादी भएर बिपीको नाम नामेट पार्न तल्लीन भएका छन् भने मधेश आन्दोलनमा सक्रिय भएका कांग्रेसका नेताहरु बिपीको अस्तित्व बचाउन तिनै राजावादीहरुसँग अहिले लड्नुपरेको छ ।  बिपीको अस्तित्व जोगाउन वीरगञ्जले कांग्रेसका शीर्ष नेताहरुको पहलकदमी अपेक्षा गरेको छ ।

No comments:

Post a Comment

top sidebar ads

समाचार

समाचार

recent posts comments tab

Blog Archive