Sunday, 17 March 2013

रामेश्वर थापाले किने अन्नपूर्ण पोष्ट !

काठमाडौं, चैत्र ३ (नेपाल डोर) । कान्तिपुर पब्लिकेशन्सबाट शेयर बेचेर बाहिरिएका सिम्रिक एयरलाइन्सका प्रमुख रामेश्वर थापाले अन्नपूर्ण पोष्ट दैनिक किनेका छन् । यसै साता थापा र अन्नपूर्ण पोष्टको प्रकाशन संस्था न्यूज मिडिया प्रालि व्यवस्थापनबीच किनबेचसम्बन्धी सहमति भएको बुझिएको छ । भारतीय लगानीमा सञ्चालन हुँदै आएको नेपालको चर्चितमध्येको दैनिक पत्रिका अन्नपूर्णपोष्ट आगामी वैशाख १ गतेदेखि तीनकुनेस्थित सिम्रिक एयरको मुख्यालय रहेको ट्रेड टावरबाट थापाको व्यवस्थापनमा प्रकाशन हुने सहमति भएको छ । कति रकममा अन्नपूर्णपोष्ट किनेको भन्ने यकिन खुलेको छैन तर सबै कर्मचारी र पत्रकारलाई यथावत राख्ने गरी खरिद–बिक्रीसम्बन्धी सहमति भएको बुझिएको छ ।
कान्तिपुर पब्लिकेशन्स र कान्तिपुर एफएममा लगानी गरेको शेयर बिक्री गरेपछि थापाले नेपाली र अंग्रेजी ब्रोडसिट दैनिक तथा एउटा टेलिभिजन सञ्चालनको तयारी गरेका थिए । मिडिया व्यवस्थापन हेर्नेगरी कान्तिपुर एफएमका पूर्व स्टेशन मेनेजर प्रभात रिमाललाई नियुक्त गरेका थापाले नेपाली दैनिक पत्रिकाको तयारीका लागि पत्रकारहरु गुणराज लुईटेल, चूडामणि भट्टराई र विकास थापालाई संलग्न गराइसकेका थिए । लुईटेललाई कार्यकारी सम्पादकको जिम्मेबारी दिइएको थियो भने भट्टराईलाई नयाँ आउने पत्रिकाको सेकेन्ड म्यान बनाउने चर्चा थियो । जलस्रोतमा रिपोर्टिङ गर्दै आएका थापालाई पनि महत्वपूर्ण जिम्मेबारी दिनेगरी लगिएको थियो । रिमाल र लुईटेलले माघको अन्तिमसाता पत्रिकाको कन्टेन्ट का बारेमा मेचीदेखि महाकालीसम्मको भ्रमण गरेका थिए । अचम्मत के थियो भने थापाको कम्पनीले पत्रिकाको नयाँ नाम प्रस्ताव गर्न कान्तिपुरमा विज्ञापन गरेको थियो । त्यति मात्र होइन, नयाँ नाम प्रस्ताव गर्नेलाई एउटा ल्यालटप पुरस्कार दिने पनि घोषणा गरेको थियो थापाको कम्पनीले ।  
विशेष सूत्रबाट प्राप्त समाचार अनुसार थापाले लिएपछि अन्नपूर्ण पोष्ट नेपाल न्यूज नेटवर्क इन्टरनेशनल (थिएनआई) नामको नयाँ मिडिया कम्पनी अन्तर्गत सञ्चालनमा आउनेछ । अन्नपूर्ण पोष्टका सबै पत्रकारलाई शुरुमा समावेश गर्ने सहमति भए पनि पत्रिका सञ्चालनमा आएपछि थापाले नै त्यसबारेमा निर्णय गर्ने बताइएको छ । तर यसबारेमा दुवै पक्षले आधिकारिक पुष्टि चाहिँ अहिलेसम्म गरेका छैनन् ।

No comments:

Post a Comment

Global Mountain Biodiversity Assessment establishes first Asia hub in Kathmandu

  ICIMOD to host regional hub of prestigious global network in bid to increase scientific knowledge and policy responses to at-risk mounta...