Thursday 14 March 2013

विदेश जाने युवाहरु कति ठगिने ?


स्वास्थ्य परीक्षणका नाममा गाम्काको ठगी

सुरेन्द्र सुवेदी/नेपाल डोर डट कम
काठमाडौं, चैत्र १ । गाम्का नेपाल नामको एक संस्थाले बिचौलिया भएर वैदेशिक रोजगारीमा जाने युवायुवतीलाई ठगिरहेको छ । खाडी मुलुकमा रोजगारीका लागि जाने युवायुवतीको स्वास्थ्य परीक्षणमा गाम्का नेपालले प्रतिव्यक्ति ५ हजार १ सय रुपैयाँ लिने गरेको छ । उक्त रकममध्ये स्वास्थ्य परीक्षण गर्ने क्लिनिक र गाम्का नेपालले आधा–आधा बाँड्ने गरेका छन् ।
गाम्का नेपालले अरब देशहरुको क्षेत्रीय संगठन एक्जक्युटिभ बोर्ड अफ हेल्थ मिनिस्टिर्स फर कोअपरेसन काउन्सिल स्टेटको नियम अनुसार आफूलाई प्रत्येक देशबाट जाने कामदाहरुको प्रबन्ध व्यवस्थापन, सञ्चालन तथा समन्यका लागि नियुक्त गरिएको दाबी गरेको छ । वैदेशिक रोजगारमा जानेहरुको स्वास्थ्य परीक्षण अधिकृत स्वास्थ्य संस्थाहरुमार्फत गराई कामदारहरुलाई निरोगिताको प्रमाणपत्र दिलाउने तर आफैले स्वास्थ्य परीक्षण नगर्ने दाबी उसको छ ।
यसरी गाम्काले स्वास्थ्य परीक्षण नै नगरी बिचौलिया भएर प्रतिव्यक्ति २ हजार ५ सयबढी रकम लिइरहेको छ ।  गाम्का नेपाल बिचौलिया नभए रोजगारीका लागि विदेश जाने युवायुवतीले दुई हजार रुपैयाँमै स्वास्थ्य परीक्षण गराउन सक्ने स्वास्थ्य व्यवसायी महासंघको भनाइ छ । महासंघमा आबद्ध देशभरका तीन सयभन्दा बढी स्वास्थ्य व्यवसायीले गाम्का भ्रष्ट र गिरोहको नियन्त्रणमा रहेको भन्दै खारेजीको माग गरेका छन् ।
गाम्का नेपाल ‘गाम्का नेपाल एसोसिएसन प्रालि’को नामले कम्पनी रजिस्टरको कार्यालयमा दर्ता छ । स्वास्थ्य परीक्षणसम्बन्धी काम नगर्ने भएकोले स्वास्थ्य मन्त्रालयबाट अनुमति लिनुनपर्ने उसको जिकिर छ । स्वास्थ्य व्यवसायी महासंघले गाम्का नेपाल जिल्ला प्रशासन कार्यालयमा दर्ता नभएको र स्वास्थ्य मन्त्रालयबाट अनुमति नलिएकोले अवैध रहेको भन्दै खारेजको माग गरेको महासंघका अध्यक्ष प्रविन तिवारीले बताए ।
गाम्काले स्वास्थ्य परीक्षण पनि नगरी बिचौलिया बनेर रकम  ठगिरहे पनि सरकारले यस्तो ठगी रोक्न बेवास्ता गरेको छ । गाम्का नेपालका अध्यक्ष डा. सचिन रौनियारले भने खारेज गरेर देखाउन चुनौति दिएका छन् । उनले भने, ‘तागत भए खारेज गरेर देखाए हुन्छ ।’ अहिले साउदी अरब, ओमान र बहराइन जाने युवायुवतीको स्वास्थ्य परीक्षण गराएर बिचौलियाको काम गर्दै  आएको गाम्का नेपाल सबै खाडी मुलुक जाने कामदारलाई आफू अन्तर्गत स्वास्थ्य परीक्षण गराउने दायरामा ल्याउन कम्मर कसेर लागेको छ । 
रोजगारीका लागि खाडी मुलुक जाने सबै कामदारको स्वास्थ्य परीक्षण गराउन पाए गाम्काले बिचौलिया बनेरै करोडौं रुपैयाँ हात पार्न सक्छ । गाम्का नेपालले वैदेशिक रोजगारमा जाने युवा युवतीलाई दलालीबाटै ठगी रहेकोले उसको खारेजी आवश्यक रहेको स्वास्थ्य व्यवसायी महासंघको जिकिर छ ।
‘आफू स्वास्थ्य परीक्षण नगर्ने, अरुबाट गराएर रकम मात्र खाने यो संस्थाको आवश्यकता छैन,’ स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष तिवारीले भने ।
गाम्काका अध्यक्ष डा. रौनियार भने गाम्का खारेज भए नेपालीहरु खाडी मुलुकमा गएर काम गर्न नपाउने दाबी गर्छन् । उनको त्यो तर्कमा कुनै तुक नभएको स्वस्थ्य व्यवसायीहरुको जिकिर छ । ‘निरोगिताको प्रमाणपत्र दक्ष चिकित्सकबाट लिँदा विदेश जान भिसा नपाउने कुरै हुन्न,’ एक स्वास्थ्य व्यवसायी भन्छन् ।  गाम्काले स्वस्थ्य सेवा शुल्क र अन्य शुल्कमा ठूलो रकम कर नतिरेको खुलासा भएको छ । पाँच प्रतिशत स्वास्थ्य सेवा शुल्क र अन्य शुल्कसमेत गरी राज्यलाई ३० प्रतिशत कर बुझाउनु पर्नेमा कर नै तिरेको छैन ।  
गाम्का नेपालले बहराइन, साउदी अरब र ओमनमा काम गर्न जाने युवायुवतीको स्वस्थ्य परीक्षण गराउँछ । अघिल्लो आर्थिक वर्षमा बहराइनमा ४ हजार ६ सय ४७, ओमनमा २ हजार ४ सय ४२ र साउदी अरबमा ७१ हजार १ सय १६ जना गएका थिए । यी सबैको स्वास्थ्य परीक्षण गम्का नेपालमार्फत भएको हो । प्रतिव्यक्ति ५ हजार १ सय रुपैयाँबाट गाम्काले आधा लिने गरेको छ । उक्त आधा रकमको ५ प्रतिशत स्वास्थ्य सेवा शुल्क र विविध करमा २५ प्रतिशत राज्यलाई बुझाउनु पर्छ । गाम्काले अघिल्लो आर्थिक वर्षमा ५ करोडबढी कर तिर्नुपर्ने देखिन्छ । गाम्काले भने ९६ हजारमात्र कर तिरेको आन्तरिक राजश्व कार्यालयका एक अधिकृतले बताए ।
गाम्काले स्वास्थ्य परीक्षण वापत लिने रकमको गरेर रकम लिए पनि रसिद दिने गरेको छैन । २०६३ मा स्थापना भएको गाम्काले हालसम्म कर तिरेको तथ्याङ्क संकलन गर्ने काम भइरहेको कर कार्यालयका एक अधिकारीले बताए ।  एकजना कर अधिकृतले भने, ‘हामी गाम्काले राज्यलाई गरेको ठगीको तथ्यांक संकलन गरिरहेका छौं ।
सरकारले पुरुषलाई २ हजार ९ सय ४० र महिलालाई ३ हजार १ सय रुपैयाँ लिएर स्वास्थ्य परीक्षण गर्न अनुमति दिएको छ । महासंघका अनुसार उक्त तीन देशमा जना दैनिक ८ सय  जनाले स्वास्थ्य परीक्षण गराउँछन् । तीमध्ये ५ सय जना विदेश पुग्ने गरेका छन् ।
बाणिज्य विभागका निमित्त महाप्रवन्धक शंकरप्रसाद पौडेल गाम्कालाई कारवाही गर्न निवेदन आवश्यक परेको तर्क राख्छन् । विभागमा पटकपटक उजुरी गरेपनि बेवास्ता गरिएको महासंघको दावी छ । 
सरकारका मुख्यसचिव लिलामणी पौडेलले गाम्कालाई कारवाही गर्न लिखित निर्देशन दिएपनि वाणिज्य विभागले वास्ता नगरेको बताए । उनले भने, ‘मैले निमित्त महाप्रवन्धकलाई कारवाही गर्न निर्देशन दिइरहेपनि खै के कारणले हो, कारवाही भएको छैन ।’ गाम्कालाई कारवाही गर्न सचिव पौडेलकै अध्यक्षतामा बसेको बैठकले निर्णय गरेको हो ।

No comments:

Post a Comment

top sidebar ads

समाचार

समाचार

recent posts comments tab

Blog Archive