Thursday 23 May 2013

९ महिनामा १० करोड रुपैयाँ संकलन भइसकेको छ ।

-डिआईजी उपेन्द्रकान्त अर्याल-
प्रमुख, महानगरीय ट्राफिक प्रहरी महाशाखा


महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख छन् प्रहरी नायव महानिरीक्षक उपेन्द्रकान्त अर्याल । गत कात्तिक १९ देखि महाशाखा प्रमुख भएर आएका डिआईजी अर्यालले उपत्यकाको ट्राफिकमा  छलाङ नै मारेका छन् । २०४३ फागुन ३ गते प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा सेवा प्रवेश गरेका अर्याल प्रहरी अधिकृतहरुबीच आर्थिक पारदर्शी उपमा लिइन्छन् । धनकुटा, उदयपुर, सिन्धुली, भक्तपुर, अपराध महाशाखा, बागमती, जनकपुर अञ्चल, केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख भइसकेका उनी आगामी कात्तिक २९ गते वर्तमान प्रहरी प्रमुख कुवेरसिंह राना उमेर हदम्यादका कारण अनिवार्य अवकास पाएपछि आईजीपी बन्ने प्राय पक्का छ । वरियतामा पहिलो नम्बरका र कार्य क्षमतामा पनि अब्बल मानिने अर्यालसँग उपत्यकाको ट्राफिक व्यवस्थापन, सुधार र गर्न बाँकी कामका विषयमा नेपालडोर डट कमका लागि सुरेन्द्र सुवेदीले गरेको कुराकानीको संपादित अंश ।
ट्राफिक प्रहरी प्रमुख भएर आएपछि केके काम गर्नु भयो ?
म गत कात्तिकमा ट्राफिक प्रहरीको प्रमुख भएर आएपछि केही सुधारका प्रयास गरेको छु । जनमानसमा सबैभन्दा बिझेको ट्राफिक प्रहरीको आचरण थियो । सबैले ट्राफिक प्रहरीको व्यवहारप्रति असन्तुष्टि जनाउँदै आएका थिए । मैले पहिलो प्राथमिकता ट्राफिक प्रहरीलाई आचरण सिकाउनु पर्ने थियो । ट्राफिकमा खटेका एक हजारबढी प्रहरीलाई निरन्तर आचरण सिकाइयो । अहिले जनस्तरबाट ट्राफिक प्रहरीको व्यवहारमा परिवर्तन आएको अनुभव आउन थालेको छ ।
    ट्राफिकको आचरणसहित आर्थिक पारदर्शितामा पनि केही सकारात्मक काम भएका छन् । यातायात व्यवस्था विभाग र कार्यालयका कर्मचारी, ड्राइभिङ स्कुलका सञ्चालक, बिचौलियासँग मिलेर ट्राफिक प्रहरीले सर्वसाधारणबाट लिने अबैध रकम प्राय रोकिएको छ । महाशाखामा पनि आर्थिक पारदर्शिता अपनाइएको छ ।
चालक अनुमतिपत्र वितरणमा केके सुधार भए ?
गत कात्तिकदेखि चालक अनुमतिपत्र पाउन लिखित, मौखिक र प्रयोगात्मक परीक्षामा सुधार गर्दै १० वटा परीक्षा दिने व्यवस्था मिलाइएको छ । विगतमा ९० प्रतिशतले अनुमतिपत्र परीक्षा उतीर्ण गर्नेमा अब १० प्रतिशत पनि उतीर्ण हुन छोडेका छन् । यसको अर्थ दक्ष चालकले मात्र परीक्षा उतीर्ण गरेका छन् । अनुमतिपत्र पाउन मिलेमतोमा मोडिफाई गरेका स्कुटर, मोटरसाइकल र कारको प्रयोग हुने गरेको रहेछ । प्रतिघण्टा ४÷५ किलोमिटर गतिमात्र गुड्ने मोडिफाई गरेर बनाएका त्यस्ता साधन र सञ्चालकलाई कारवाही गरिएको छ भने जुन साधनको अनुमति पत्र लिने हो त्यहीबाट परीक्षामा सहभागी बन्नु पर्ने नियम बनाइएको छ । यातायात व्यवस्था विभागसँग समन्वय गर्दै रोड टेष्ट ड्राइभिङ पनि सञ्चालन तयारीमा छौं ।
भाडाका ट्याक्सीले यात्रु ठग्ने गरेकोमा के कारवाही भए ?
जनमानसबाट यस विषयमा पनि गुनासा आएकै हुन् । हामीले अर्थिङ गरेर भाडामा हिड्दा बढी रकम उठाउने ट्याक्सीका मिटर जफत गरेका छौं । त्यस्तो पाएमा चालकलाई पनि कारवाही गरेकै छौं । सार्वजनिक सवारी साधनमा यात्रा गर्दा आरक्षण सिटको अनिवार्य व्यवस्था मिलाइएको छ ।

सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन किन ?
ट्राफिक प्रहरी नभएको स्थानमा सवारी चालकले ट्राफिक नियम पालना नगरेकै कारण सडकका चोकचोकमा सादा पोशाकमा ट्राफिक प्रहरी खटाएको हो । यसले चालकको हेपाहा प्रवृत्तिविरुद्ध राम्रो काम गरेको छ ।

अबका योजना के छन् ?
तत्काल गर्नु पर्ने काम भइरहेका छन् । अब जनचेतना फैलाउने अभियान चलाउने लक्ष छ । सडक दुर्घटनाबाट सबैलाई बचाउन, सडकको जम कम गर्न, गन्तव्यमा समयमै पुग्न र सवारी साधनकै कारण आर्थिक ठगीबाट बच्न जनचेतना आवश्यक छ । हामी उपत्यकाका सबै घरमा जनचेतना विस्तारको कार्यक्रम लिएर जाने तयारीमा छौं ।

ट्राफिकमा भएका सुधारका कारण राजश्वमा कति वृद्धि भएको छ ?
गत आर्थिक वर्षमा ११ करोड ३१ लाख रुपैयाँ राजश्व संकलन भएको थियो । यो आर्थिक वर्षको ९ महिनामा १० करोड रुपैयाँ संकलन भइसकेको छ । वर्षभरमा १२ करोडबढी राजश्व संकलन हुने देखिन्छ ।  

Friday 17 May 2013

दासढुंगा दुर्घटनाको दुईदशक, घटनाका साक्षी/आरोपी अमर लामा हत्याको नालीबेली

दुई दशकअघि आजकै दिन नेकपा एमालेका तत्कालीन महासचिव, नेपालका एक होनाहार राष्ट्रवादी नेता मदन भण्डारीको रहस्यमय हत्या भयो चितवनको दासढुंगामा । भण्डारी र एमालेका अर्का नेता जीवराज आश्रित सवार जीप त्रिशुलीमा खस्यो, दुवैजनाको स्वर्गारोहण भयो । तर, दुर्घटनामा बचेका अमर लामा पछिसम्म रहस्यमयी बनिरहे । कतिपयले उनको नियतमाथि प्रश्न गरिरहे, कतिपयले बाह्य शक्तिकेन्द्रले उनलाई प्रयोग गरेर भण्डारी र आश्रीतको मृत्युवरण गराएको अनुमानसमेत गरिरहे । तर सबै कुरा रहस्यको गर्भमा रहेकै बेला लामा पनि रहस्यमयी तरिकाले मारिए । लामा एकमात्र जीवित साक्षी थिए जीप दुर्घटनाको । आज मदन र आश्रीतप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै सो घटनाका एकमात्र प्रत्यक्षदर्शी लामाको हत्याको बिवरण प्रस्तुत गर्ने जमर्को गरेका छौं । लामा हत्याको नालीबेली २०६४ सालको नयाँ पत्रिका दैनिकबाट साभार गरिएको हो जहाँ लामाको हत्या तत्कालीन माओवादी कार्यकर्ताले नै गरेको भन्ने कुराको पुष्टि हुन्छ ।

 यसरी मारिए अमर लामा
-पर्शुराम काफ्ले /नयाँ पत्रिका-
काठमाडौँ एमालेका नेता मदन भण्डारीको विवादास्पद जिप दुर्घटना प्रकरणका एकमात्र सँक्षी डा«इभर अमर लामाको हत्या भएको चार वर्षपछि त्यसको भित्री रहस्य नयाँ पत्रिकाले फेला पारेको छ । लामाको हत्यामा तत्कालीन विद्रोही माओवादी कार्यकर्ताको संलग्नता रहेको पत्ता लागेको छ । हत्यामा माओवादीका तीन छापामार संलग्न भएको रहस्य समेत खुलेको छ  ।
भर्खरै माओवादी प्रवेश गरेका एमाले नेता कार्यकर्ताको सुझाव अनुसार माओवादीले ०६० साउनको दोस्रो साता लामालाई काठमाडौबाट उठाएर ललितपुर र मकवानपुरको सीमानामा पर्ने ठिंगन गाउँमा पु¥याउने योजना बनेको थियो । त्यतिवेला माओवादीका भ्याली कमाण्ड इन्चार्ज रामवहादुर थापा वादल थिए । समाचार स्रोतका ललितपुरको ग्वार्कोमा नक्कली खासा ब्यापारी बनेर बसेका वादल साउनको पहिलोसाता तिरै ठिंगन गाउँमा पुगेका थिए । ग्वार्कोमा बस्दा वादल ‘साईला’ तथा  ‘प्रेम दाइ’ नामले चिनिने गरेको माओवादी स्रोत बताउँछ ।
ठिंगनमा जनमुक्ति सेनाका कमिसार दिलीप प्रजापति लगायतले लामासित दासढुंगा हत्याकाण्डका बारेमा वयान लिने तयारी भइरहेको थियो । सोही प्रयोजनका लागि लामालाई नियन्त्रणमा लिएर जाने क्रममा कीर्तिपुरमा सो हत्याकान्ड भएको थियो ।
भदौ २०६० मा भारतको दिल्लीमा बसेको माओवादी पोलिटव्युरो वैठकमा समेत  अमर हत्याकाण्डको बारेमा चर्चा भएको माओवादी स्रोत बताउँछ । तर यस बारेमा माओवादी नेता केही पनि बोल्न चाहन्नन् ।
लामाको अकस्मात मृत्युपछि मदन हत्याका बारेमा नयाँ रहस्य खोतल्ने माओवादी योजना समेत तुहिन पुगेको थियो । तनहुँ भानु ८ का अमरजङ् तामाङ् ((अमर लामा) जेठ ३, २०५० को दासढुंगा प्रकरणपछि चर्चामा आएका थिए ।
३ जेठ २०५०मा चितवनको कालीदास गाविस २स्थित दासढुंगामा एमाले नेताद्वय मदनकुमार भण्डारी र जीवराज आश्रीतको रहस्यमय मृत्युसँगै लामा रहस्यका पात्र बनेका थिए । जनतामाझ लोकप्रिय नेता भण्डारीको मृत्युप्रकरणसित जोडिएका लामाको ११ साउन २०६०मा  हत्या भएको थियो ।
यसरी भयो हत्या
एमाले र मालेबाट माओवादी प्रवेश गरेकाहरुले अमर लामाबाट मदन हत्याकाण्डको वास्तविकता खोतल्न पहल गर्नुपर्ने सुभmाव दिदै आएको उपत्यकाका तत्कालीन माओवादी नेताहरुले बताएका छन् । ‘भर्खरै पार्टी प्रवेश गर्ने साथीहरुले अमरबाट दासढुंगा हत्याकाण्डबारे भित्री कुरा निकाल्न सुझाव धेरै पहिलेदेखि नै दिदै आएका थिए ’ उपत्यकामा खटिएका माओवादी जनमुक्ति सेनाका तत्कालीन कमिसार दिलीप प्रजापति भन्छन्, ‘अमरबाट कुरा वाहिर निकाल्नुपर्छ भन्ने कुरा पहिलेदेखि नै उठेको थियो । हामी उपयुक्त समयको खोजीमा थियौँ । ’ तर लामाको हत्यामा माओवादी संलग्नतालाई उनी  ठाडै अस्वीकार गर्छन् ।
तर माओवादीकै सुत्रले नयाँ पत्रिकालाई दिएको जानकारी अनुसार  उपत्यकामा खटाइएका जनमुक्ति सेनाका  कम्पनी कमाण्डर सदीपको नेतृत्वमा आएको तीनजनाको समूहले ११साउन २०६०को दिउँसो कालीकास्थानस्थित ताजा खवर साप्ताहिकको कार्यालयबाट उनलाई उठाएर लगेको थियो । उनी ५ साउनमा सो पत्रिकाको प्रवन्ध सम्पादक नियुक्त भएका थिए । लामालाई अपहरण गर्न सदीपको नेतृत्वमा तीन व्यक्ति सहभागी थिए । लामालाई बा १ ज २५६० नंवरको रातो रङ्को ट्याक्सीमा राखेर अपहरण गरिएको थियो । अपहरणकारीहरुले लामालाई ट्याक्सीमा हालेर कालीकास्थानबाट अनामनगर, माइतीघर, कुपण्डोल,सानेपा, चौधरी ग्रुपको कार्यालयको चोक हुँदै रिङ् रोडबाबाट बल्खु तारेर कीर्तिपुर पु¥याएका थिए । 
। कीर्तिपुरको ढाट राखिएको ठाउँमा १० रुपियाँ कर तिरेर पाँगाबाट पिपलको बोट काटेपछि उनीहरुले ट्याक्सी रोकेका थिए । त्यसदिन ३ः३० तिर कीर्तिपुरमा तत्कालीन शाही सेनाले सुरक्षा जाँच गरेको थियो । त्यतिवेला लामालाई कीर्तिपुरको नगाउँ दोवाटोमा पु¥याइएको थियो । सुरक्षा जाँच देखिएपछि माओवादी कार्यकर्ताले ट्याक्सी रोकेर आफ्नो ज्यान बचाउने दाउ शोचेका थिए । सेनालाई देखेपछि लामाले गुहार माग्ने र त्यसपछि अपहरणका संपूर्ण योजना खुल्ने डरले माओवादी कार्यकर्ताल्ो लामाको हत्या गरेर भाग्ने जुक्ति रचेको माओवादी स्रोतले बतायो ।
‘कीर्तिपुरमा पुगेपछि अगाडि शाही सेनाले चेक गरिरहेको थियो ’ स्रोतले नयाँ पत्रिकासित भन्यो, ‘सरासर गएको भए ऊ( अमर लामा ) बाँच्थ्यो तर उसलाई लैजानेहरु पक्राउ पर्ने वा मर्ने निश्चित थियो  । ’
माओवादी कार्यकर्ताले आफ्नो ज्यान बचाउन ट्याक्सी रोकेर अमरलाई ढोका खोलेर भाग्न भनेका थिए । ट्याक्सीको पछाडि सीटमा राखिएका अमर हतारिएर भाग्ने क्रममा अपहरणको नेतृत्व गरेका कमाण्डर सदीपले गोली हानेका थिए । स्रोतका अनुसार टाउकामा गोली लागेपछि लामा घोप्टो परेर ढलेका थिए ।  लामालाई गोली हानेपछि तीन माओवादी कार्यकर्ता तीनतिर तितरवितर भएका थिए । घटना कीर्तिपुर नयाँबजार र इलाका प्रहरी कार्यालय बीच रहेको राजु महर्जनको घर अगाडिको बाटोमा भएको प्रहरीको अनुसन्धानमा पनि उल्लेख छ । समाचार स्रोतका अनुसार तीनै जनालाई  पार्टी सम्पर्कमा आइपुग्न झण्डै एकसाता लागेको थियो ।
घटनाको भोलिपल्ट (१२ साउन)मा अपहरणमा संलग्न ट्याक्सी हाँक्ने दाताराम अधिकारीलाई प्रहरीले समातेको थियो । तर अनुसन्धानपछि अपहरणमा उनको संलग्नता नभएको भन्दै प्रहरीले उनलाई रिहा गरेको थियो । पक्राउ परेको भोलीपल्टै (१३ साउनमा ) ३५ वर्षीय दाताराम अधिकारीलाई प्रहरीले  भवानीप्रसाद पाठक नाम गरेका व्यक्तिको रोहवरमा रिहा गरेको थियो । उनलाई  आवश्यक परे पछि प्रहरीमा हाजिर हुने शर्तमा छाडिएको प्रहरीको प्रतिवेदनमा उल्लेख छ । त्रिभुवन विश्वविद्यालयस्थित राष्ट्रिय विधिविज्ञान प्रयोगशालाका डाक्टर हरिहर वस्तीले पनि लामाको हत्या गोली प्रहारबाट भएको प्रतिवेदन दिएका थिए ।
एमाले नेता प्रदीप ज्ञवाली अमर हत्याका बारेमा पार्टीले कसैलाई शंका नगरेको बताउँछन् । ‘मदन भण्डारीको हत्याको रहस्य लुकाउनका लागि पनि अमरलाई कसैले हत्या गर्न सक्छन् भन्ने आशंका त भएको थियो ’ एमाले नेता ज्ञवाली भन्छन्, ‘तर हत्या यसरी नै भयो भन्ने जानकारी हामीलाई छैन । हामी त्यतापट्टि पुगिसकेका छैनौ ।’ 
के थियो दातारामको बयान ?
दातारामले आफू सामान्य डा«इभर मात्र रहेको र अमरको अपहरणमा आफ्नो संलग्नता नरहेको बयान प्रहरीलाई दिएका थिए । प्रहरी नै विश्वस्त हुने गरी उनले दिएको वयानमा   लामाको अपहरणमा कालो वर्ण, दारी लामो भएको, लाम्चो अनुहार भएको ,छोटो कपाल पालेको र ढाकाटोपी लगाएका व्यक्ति ट्याक्सीको अगाडि सीटमा बसेको उल्लेख छ । यसै गरी अपहरणमा संलग्न  अर्का व्यक्ति गोरो वर्ण, गोलो अनुहार, कालो टिसर्ट र नाक छोटो भएको वयान उनले प्रहरीलाई दिएका थिए ।
अनुसन्धानमा संलग्न प्रहरीसित उनले दिएको रोचक वयानमा भनिएको छ,‘ म २०४३ सालदेखि काठमाडौँमा बस्न थालेको हुँ । पहिला ठूलो गाडि चलाउँथे । सात वर्षदेखि ट्याक्सी चलाउँदै आएको छु । मैले चलाउने ट्याक्सी वानेश्वरका शम्भु तिवारीको हो । ’ सोही दिनको घटनाका बारेमा प्रहरीलाई दिएको वयानमा अधिकारीले साउन ११ गते मैतिदेवीबाट डिल्लीवजार आउँदै गर्दा कालीकास्थानमा आएपछि अपहरणकारीले ट्याक्सी रोकेको र त्यसपछि चेपतिरको बाटोमा गएको बताएका थिए । ‘ट्याक्सीको अगाडी १ जना र पछाडि ३ जना बसे अनि  अगाडि सीटमा बसेका सेतो सर्ट लगाएका व्यक्ति र अगाडिका व्यक्तिले समातेर ल्याए र ट्याक्सीमा हाले’ उनको वयानमा उल्लेख छ, ‘कालीकास्थानबाट अनामनगर, माइतीघर, कुपण्डोल,सानेपा, चौधरीग्रुपको कार्यालयको चोक हुँदै रिङ् रोडबाट बल्खुतिर लागियो । उनीहरुले कीर्तिपुर जाऊँ भने । मैले मानिन । तर जवर्जस्ती लगे ।’
कीर्तिपुरको ढाट राखिएको ठाउँमा उनीहरुले १० रुपियाको कर पनि तिरेको र पाँगा हुँदै पिपलको बोट कटेपछि अपहरणकारीले  ट्याक्सी रोक्न भनेको पनि उनले बताएका छन् । ट्याक्सीको मिटरमा १६५ रुपिया मात्र उठे पनि उनीहरुले २०० रुपियाँ दिएर ओरालो लागेको र आफू फर्केको उनको दावी छ ।
‘केही समयपछि अर्को ट्याक्सी ड्राइभर साथीले मलाई खबर ग¥यो र भन्यो–तेरो ट्याक्सीमा चढेर गएको अमर लामालाई मारेछन् नि । ’ एकछिनपछि मैले रेडियोमा समाचार सुने ।  मलाई त साह्रै नमज्जा लाग्यो । ’  प्रहरीलाई दिएको भनाईमा अधिकारीले अगाडि भनेका छन्, ‘आखा अगाडि देखेमा लामाको अपहरणमा संलग्न व्यक्तिलाई म चिन्न सक्छु ।’
प्रहरी उनको यस्तो वयानबाट प्रभावित भएका कारण थप अनुसन्धान गर्न तिर नलागेको सो घटनाको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृत बताउँछन् । प्रहरी स्रोतका अनुसार हत्या भएकै दिन लामाको लास विश्वराज लामाले बुझेका थिए ।
प्रहरीले लामाको हत्याका बारेमा अनुसन्धान गर्न डीएसपी डेग वहादुर जीसीको नेतृत्वमा अनुसन्धाना टोली गठन गरेका थियो । उपत्यका अपराध अनुसन्धान शाखाका तत्कालीन डीएसपी जीसीले तयार पारेको प्रारम्भीक प्रतिवेदनमा अमरको हत्या माओवादीले गरेको आशंका गरिएको थियो ।  २१ भदौ २०६०मा जीसीले  तत्कालीन उपत्यका प्रहरी कार्यालय रानीपोखरीलाई बुझाएको प्रतिवेदनमा लामाले ‘माओवादीको गम्भीर प्रकृतिको राजनीतिक सुचना प्रवाह गरेकोले माओवादीले हत्या गराएको हुन सक्ने  तर त्यसको पुष्टि गर्न नसकिएको ’ उल्लेख छ । लामाले कस्तो गम्भिर प्रकृतिको सूचना प्रवाह गर्थे भन्ने बारे प्रहरीको प्रतिवेदनमा उल्लेख छैन ।
लामाको हत्या माओवादीबाटै भएको प्रहरी आशंका अब पुष्टि भएको छ । तर प्रहरीले हाल यससम्बन्धी केही पनि अनुसन्धान गरेको छैन । हत्यामा नेपाल प्रहरीसँग लुटेको आठ राउण्डको चाइनिज पेस्तोल र ८ दशमलव ६२ एमएमको गोलीको प्रयोग भएको निष्कर्ष प्रहरीले त्यतिवेलै निकालेको थियो । 
सरकारले पनि लामाको हत्याका बारेमा छानवीन गर्न २० साउन २०६० मा  पुनरावेदन अदालत पाटनका न्यायाधीश मधुसुधन श्रेष्ठको संयोजकत्वमा  एक सदस्यीय आयोग गठन गरेको थियो । तर आयोगले तयार पारेको प्रतिवेदन हालसम्म सार्वजनीक भएको छैन ।
(२०६४ साल साउन दोस्रोसाता प्रकाशित नयाँ पत्रिका दैनिकको समाचार)

Monday 13 May 2013

कोसी राजमार्ग किमाथांकाबाट पनि खन्ने तयारी

सुरेन्द्र सुवेदी
काठमाडौं । भारत र चीन जोड्ने सबैभन्दा छोटो जोगवनी–किमाथांका तीन सय ४४ किलोमिटर खण्डको सडक किमाथांकाबाट पनि खन्ने तयारी भएको छ । मोरङको जोगवनी, सुनसरीको इटहरी, धरान, धनकुटाको हिले, लेगुवा हुँदै संखुवासभा सदरमुकाम खाँदबारीबाट किमाथांका पुग्ने यो सडकमा अब १ सय ७ किलोमिटर डोब खन्न बाँकी छ । खाँदबारीबाट ५५ किलोमिटर डोब खनिसकिएको छ ।
पाथीभरादेखि हटिया, चेपुवा हुँदै किमाथांका जोड्ने सडक निर्माणमा चीन सरकारले सिन्धुपाल्चोकको तातोपानीबाट किमाथांकासँग जोडिएको चीनको डेन्दाङ बजारसम्म पाँच सय ९० किलोमिटर सडक प्रयोग गर्न सहमति दिएको उत्तर–दक्षिण कोसी राजमार्ग राष्ट्रिय गौरव योजनाका राजेन्द्र ओझाले जानकारी दिए । किमाथांका सबैभन्दा होचो नाका हो । यसको उचाइ करिब दुई हजार दुई सय मिटरमात्र छ ।
ओझाका अनुसार आगामी साउनदेखि किमाथांकाबाट सडक खन्न थालिने छ । त्यसका लागि आवश्यक निर्माण उपकरण, इन्धन र जनशक्ति तातोपानी खासा हुँदै डेन्दाङबाट किमाथांका पु¥याइने छ । डोब निर्माण गर्न ४५ करोड रुपैयाँ अर्थमन्त्रालयले उपलब्ध गराउने सहमति भइसकेको छ भने केही दिनमा निर्णय नै हुने अर्थमन्त्रालय स्रोतले जनाएको छ । सडक निर्माणका लागि रकम माग गर्न आएको टोलीका अनुसार सात दिनभित्र अर्थले निर्णय गर्ने भएको छ ।
यो सडकको निर्माण ३२ महिनामा पूरा गर्ने लक्ष्य छ । सडक बनेपछि भारतको जोगवनीबाट एकै दिनमा किमाथांका नाका पुग्न सकिन्छ । नेपालको किमाथांका र चीनको डेन्दाङ बजारबीच अरुण र कामु नदी छन् । यी नदी किनारमा सुख्खा बन्दरगाह निर्माण गर्न सकिने सम्भावना प्रवल रहेको कुरा सडक योजनाको अगुवाइ गरिरहेका एमाले संखुवासभाका नेता भविश्वर गुरुङले बताए । सिन्धुपाल्चोकको तातोपानीमा सुख्खा बन्दरगाहका लागि स्थान अभाव भइरहेको छ । एमाले नेता गुरुङका अनुसार परराष्ट्र मन्त्रालयका सहसचिव अमृत राईले चीनको बाटो प्रयोग गरेर उपकरण र जनशक्ति किमाथांका पु¥याउने काममा समन्वय गरिरहेका छन् ।
उत्तर–दक्षिण कोसी राजमार्गलाई सरकारले राष्ट्रिय गौरवको योजना घोषणा गरेको छ । चीन र भारतबीच हुने व्यापारमा किमाथांका नाकाबाट अधिक लाभ लिन सकिने भएकाले सडक निर्माण छिटो पूरा गर्न जिल्लाका सबै राजनीतिक दल सक्रिय छन् । नौ सय मेगावाट क्षमताको अरुण–३ जलविद्युत् आयोजनाको ड्याम साइट नुमको फ्याक्सिन्दामा अरुण नदीमा फेरी जडान भइसकेको छ । यही फेरीको सहायताले पाथीभरामा सडक खन्ने उपकरण पु¥याएको गुरुङले जानकारी दिए । त्यहाँ पक्की पुलको निर्माण कार्य पनि सुरु भइसकेको छ । दुई वर्षमा पुल निर्माण पूरा गर्ने लक्ष्य रहेको जनाइएको छ ।
अरुण–३ विद्युत् आयोजनाको विस्तृत सर्वे भारतीय सतलज कम्पनीले गरिरहेको छ ।   
संखुवासभाका किमाथांका, हटिया, चेपुवा र पावाखोला गाविसका बासिन्दाले किमाथांकासँग जोडिएको डेन्दाङ बजारबाट उपभोगका सामान खरिद गर्छन् । चीनले किमाथांका नाका बन्द गरेको अवस्थामा उनीहरू सात दिनसम्म हिँडेर सदरमुकाम खाँदबारीमा किनमेलका लागि आउँछन् ।

Thursday 9 May 2013

पहिलो ट्रिपको एक करोड नक्कली भारु पक्राउ, करोडौं ल्याउने योजना छताछुल्ल

सुरेन्द्र भारद्वाज
काठमाडौं । नेपालको बाटो प्रयोग गर्दै भारत लान पाकिस्तानबाट ल्याएको १ करोड भारतीय रुपैयाँ प्रहरीको बिशेष ब्युरोले त्रिभूवन विमानस्थलमा नियन्त्रणमा लिएको छ । १ हजार दरका ७० हजार र ५ सय दरका ३० हजार भारतीय रुपैयाँसहित प्रहरीले एक पाकिस्तानी र एक नेपालीसमेत दुई जनालाई पक्राउ पनि गरेको छ ।
    कतार एयरको क्युआर–३५१ नम्बर उडान कराँचीबाट दोहाहुँदै त्रिभूवन बिमानस्थलमा अवतरण गर्दा ठूलो मात्रामा नक्कली भारतीय रुपैयाँ फेला परेको हो । पाकिस्तानी नागरिक फारुख शेख महम्मद (४८) ले उक्त रकम नेपाल ल्याएका हुन् । महम्मदले अगष्ट २०११ मा पाकिस्तानबाट डिएफ ८९६४६२१ नम्बरको राहदानी लिएको देखिन्छ ।
महम्मदले ल्याएको रकम लिन एयरपोर्टमा मोहम्मद नरुउल्लाह (६१) पुगेका थिए । काठमाडौं बागबजार स्थायी घर भएका नरुउल्लाह हाल भने म्यैहपी बस्दै आएका छन् । यो भारु ल्याउनमा पाकिस्तानको कराँची विमानस्थलमा चेकिङ नहुनु र सुरक्षाकर्मीले भारु बोकेर ल्याएका दुई वटा ब्रिफकेसलाई निर्वाध जहाजसम्म लान दिनुमा पाकिस्तानका उच्च र प्रतिष्ठित व्यक्तिको संलग्नता पुष्टि गर्छ ।
नरुउल्लाह बिचौलिया बनेर रकमकै लागि काम गर्दै आएको देखिन्छ । यो नक्कली भारु प्रकरणमा रबी सिंह र सुनिल श्रेष्ठले व्यवस्थापन जिम्मा लिएको अनुसन्धानबाट खुलेको छ । रबी र श्रेष्ठले नै नक्कली भारु भारततर्फ पठाउने गरेको देखिएको छ । फरार रहेका उनीहरुको खोजीमा प्रहरीले सक्रियता देखाइसकेको छ ।
पहिलो ट्रिप मै नक्कली भारु पक्रन नेपाल प्रहरीको बिशेष ब्युरो सफल भएको छ । यो ट्रिप सफल भएको भए पुनः अरु नक्कली भारु नेपाल भित्रने र भारत पुग्ने देखिन्छ । रबी र नरुउल्लाहको भारतीय पेशेवर हत्याराबाट हत्या गरिएका सञ्चार उद्यमी जमिम शाहसँग पनि सम्वन्ध रहेको खुलेको छ । नरुउल्लाहले भने, ‘म र जमिम शाहले मिलेर ब्यापार पनि ग¥यौं, यस्तो नक्कली रुपैयाँको कारोवार होइन, सामान्य व्यापार गरेका थियौं ।’

संलग्नहरुको बयान


फारुख शेख महम्मद
पाकिस्तानी नागरिक
व्यापारिक कारोबारका क्रममा दुबई जाँदा जुबेर भन्ने व्यक्तिसँग मेरो चिनजान भएको थियो । मलाई जुबेरले सुल्तानसँग चिनायो । सुल्तानले नेपालमा रुपैयाँ लैजाने काम छ, एक पटकमा २५ हजार रुपैयाँ दिने प्रस्ताव राखे । यही मे महिनामा दुई पटक भेट भएर छलफलपछि सुल्तानले नै सबै व्यवस्था मिलाएर यो रकम नेपाल ल्याएको हो । नुरुल्लाह नम्बर दिएर एयरपोर्टमा नुरुल्लाह नै लिन आउने सुल्तानले बताएका थिए । नुरुल्लाहसँग मेरो पाकिस्तानमा चिनजान भएको हो ।
नेपाल आउनेक्रममा एक जना नचिनेको व्यक्तिले मलाई पैसाको ब्याग दिए । ती व्यक्तिले पैसा सिधैं जहाज चढ्ने स्थानसम्म पु¥याए । ती व्यक्तिलाई एयरपोर्टमा सुरक्षा गार्डहरुले सम्मान र अभिवादन गरेका थिए ।

मोहम्मद नरुल्लाह
म्यैहपी, काठमाडौं

तीस वर्षअघि दुबईमा सुनको कारोबार गर्ने सिलसिलामा पाकिस्तानी नागरिक हाजीसँग चिनजान भयो । हालम्म पनि हाजीसँग सम्पर्क भइरहेको छ । हाजीमार्फत नै मैले यो कारोबार थालेको हो । यस पटक डिल गर्न गत अप्रिलमा म पाकिस्तान गएको थिएँ । डिल गरे अनुसारको यो पहिलो ट्रिप हो । यस पटक सफल भएको भए नक्कली रकम फेरी आउने थियो ।
यसभन्दा अघि माघको अन्तिम तिर पाकिस्तानबाट अपरिचित व्यक्तिले फोन गरेर अलिकति सामान लिएर पाकिस्तानी मानिस आउदै गरेका र त्यो समान लिएर रबी सिंहलाई हिन भने । मलाई भनिएअनुसार नै जमलमा आएर बसेका पाकिस्तानी नागरिकलाई लिएर रबी सिंहको घरमा गएँ । पाकिस्तानीले रबी सिंहलाई ५ लाख नक्कली भारु दिए । सोवापत मैले १५ हजार नेपाली रुपैयाँ पाएँ । यस पटकको यो सामान डेलिभरी गर्न पाएको भए ३ लाख भारु पाउने थिएँ ।
रबी सिंहसँग धेरै अघि चिनजान भएको हो । सिंहको काठमाडौं रातो पुलमा घर छ । जमिम शाह, रबी सिंह र मेरो बीचमा राम्रो सम्बन्ध थियो । च्यानल नेपाल टेलिभिजनमा मैले कोअर्डिनेटरको रुपमा काम गरेको थिएँ । रबी सिंहले भारतमा हाउजिङको व्यापार पनि गर्दै आएका छन् । सुनिलसँग मेरो ५– ६ महिनाअघि शिखर मेनपावरको लाजिम्पाट कार्यालयमा अनुप श्रेष्ठमार्फत चिनजान भएको हो । उनी नक्कली नोटको कारोबार गर्छन् । म अप्रिलमा पाकिस्तान जानआउन रबी सिंह र सुनिलले खर्च गरेका थिए । रबीले मलाई ३ सय डलर खर्च दिएका थिए ।
 

Friday 3 May 2013

सेना बन्य यसरी योग्य भए पूर्वलडाकु

खरिपाटीमा तालिम लिइरहेका पूर्वलडाकु (सैनिक पोशाकमा),  राष्ट्रसंघीय अधिकारीहरुसँग । फाइल फोटो/नेपाली सेना
-पर्शुराम काफ्ले-
खैरेनीटार (तनहुँ) । २१ हप्ताअघि पश्चिम तालिम केन्द्रमा सैन्य तालिमका लागि आएका एमाओवादीका पूर्व लडाकुको आचरण हेर्दा सैनिक प्रशिक्षकलाई लागेको थियो– उनीहरु सैन्य नियमको परिधिमा कसरी आउलान्् ? राजनीतिक बहसमा रुमल्लिएका र सामान्य घरेलु व्यायाम गरेका उनीहरु सैनिक ढाँचाको तालिममा कसरी पारंगत होलान् अनि सेनाप्रति उत्तरदायी होलान् या नहोलान् ? तर, २१ हप्ताको तालिमपछि सैनिक प्रशिक्षकहरु आश्वस्त भएका छन् । राजनीतिक विचारधाराले निर्देशित  पूर्व लडाकुहरु फलामे सैनिक अनुशासनभित्र आइपुगेका छन् । खैरेनीटारकै उदाहरण हेर्ने हो भने यहाँ पदिक तथा अन्य दर्जाका लागि आएका ८९ मध्ये फेरि अबकास रोजेका र भागेकाबाहेक हाल ८५ जनाले तालिम लिइरहेका छन् । उनीहरु नेपाली सेनामा काम गर्न योग्य छन् ।
खैरेनीटारको पश्चिम पृतना सैनिक शिक्षालयका प्रमुख सेनानी विनोद खड्काको अनुभव छ, ‘पूर्व लडाकु (विशेष सैन्य)हरु अनुशासित र सैनिक पद्दतिमा आइसके । सैनिक हुन उनीहरुलाई अब केही पनि समस्या छैन ।’ खैरेनीटार गाविस ९ मा २०६४ सालमा स्थापित शिक्षालयमा तालिमका लागि सैनिक हेडक्वार्टरले विशेष सैन्यहरुलाई मंसिर १० गते पठाएको थियो । ‘उनीहरुले शिक्षालयमा आठहप्ता गुजारिसकेका छन्, अधिकांशको गतिविधि अत्यन्तै उत्साहजनक छ’ खड्काले यसै साता खैरेनीटार पुगेका रक्षा संवाददाताहरुलाई तालिमबारे ब्रिफिङ गरे ।
सेनाले पूर्व लडाकु (विशेष सैन्य)लाई पूर्वी पृतना शिक्षालय मोरङ, नंवर २ सैन्य तालिम गुल्म हिले, मध्यपश्चिम पृथता शिक्षालय सुर्खेत, नंवर ५ सैनिक तालिम केन्द्र बोराडाँडी धनगढी, एकीकृत सैनिक तालिमकेन्द्र सालझुण्डी, सैनिक तालिम केन्द्र त्रिशुली नुवाकोट र सैनिक प्रतिष्ठान खरिपाटी भक्तपुरमा बेग्लाबेग्लै तालिम दिइरहेको छ । यीमध्ये त्रिशुलीमा महिलाहरुलाई र खरिपाटीमा अधिकृत तहका विशेष सैन्यले तालिम लिइरहेका छन् ।
खैरेनीटार तालिम केन्द्रमा ९ वटा अस्थायी क्यान्टोन्मेन्टबाट विशेष सैन्यहरु आएका थिए । ‘उनीहरुमध्ये एकले अर्कालाई चिन्दैनथे, शरिर पनि व्यवस्थित थिएन’ खड्काले भने, ‘२१हप्ताको तालिम सकिँदा उनीहरु केही मोटाएका छन्, शरिर व्यवस्थित छ । अब आठहप्तामा योग्य सैनिक भएर निस्किन्छन् ।’  आठ अप्तापछि उनीहरुले थप ब्रिजिङ कोर्स गरेर लेसनायक, नायक, हवल्दार, जम्दार, सुवेदार हुन पाउनेछन् ।
पश्चिम शिक्षालयले विशेष सैन्यलाई दुईवटा बेग्लाबेग्लै प्लाटुन बनाएर राखेको छ । ‘एउटा कक्षामा ११ जना राखेर तालिम दिइरहेका छौँ’ कर्नेल खड्काले भने । तालिममा २६ देखि ३० बर्ष उमेरका ८४ प्रतिशत विशेष सैन्य छन् । तालिममा सबैभन्दा ज्येष्ठ सदस्य छन् ३९ बर्षीय रामवहादुर मगर । तालिम केन्द्रका अर्का प्रशिक्षकका अनुसार मगरले बाध्यतामा तालिम लिन आएको बताउने गरेका छन् । ‘पहिला लडाकुमा पनि बाध्यताले भर्ना भएँ, अहिले सेनाको तालिम पनि बाध्यताले गरिरहेको छु, मेरा लागि हिजो पनि ठीकै थियो, अहिले सेनामा आएर पनि ठीकै छ’ मगरले भन्ने गरेका छन् ।
खैरेनीटारमा तालिमरतमध्ये ४१ जना एसएलसी पास, ४ जना आई ए वा सो सरह पास गरेका छन् भने कक्षा आठ पास गरेका २४ जना र कक्षा ५ मात्र उत्तिर्ण गरेका ९ जना छन् । कम्पनी सहकमाण्डरदेखि फ्रन्ट गार्ड (तल्लो तह) हैसियतका पूर्व लडाकुले पदिक तथा अन्य दर्जाका लागि तालिम लिइरहेका छन् ।
पूर्व लडाकुलाई सेनाले नेपाल एकीकरणको इतिहास, अन्तराष्ट्रिय युद्धको इतिहास, सैनिक ऐन, नियमावली, अनुशासन, कल्याणकारी कोषलगायतका बारेमा सैद्धान्तिक शिक्षा दिएको छ । ‘हामी नेपाली सेना भइसक्यौं भन्ने ज्ञान उनीहरुलाई दिलाएका छौँ र मनोवैज्ञानिकरुपमा उनीहरुले त्यसको अनुभूति गरिसकेका छन्’ कर्नेल खड्काको अनुभव छ, ‘तर बाहिर चर्चा गरिएजस्तो हामीले ब्रेनवास गर्ने भन्ने हुँदैन । यो पदावलि सेनामा काहिँ पनि प्रयोग हुँदैन ।’ सेनाले तालिममा पेलान गर्ने डर बोकेका पूर्व लडाकुले अहिले आश्चर्यचकित परेको अनुभव सुनाउने गरेको पनि खड्का बताउँछन् ।
‘हामीले लङ मार्च, दौडलगायत सेनाले गर्ने सबै शारिरीक तालिम गराएका छौँ, उनीहरुले सजिलै ती सबै अभ्यास सफलतापूर्वक पूरा गरेका पनि छन्’ कर्नेल खड्काले भने, ‘आर्मीले विगतको रेकर्ड राखेको छ, भिडियो खिचेको छ र तालिममा बेस्सरी पेल्छ भन्ने मनोवैज्ञानिक त्रासमा उनीहरु रहेछन् । अहिले क्लियर भइसक्यो, उनीहरु नै आश्चर्यचकित परेका छन् ।’ खड्काको तालिम दिने अनुभवमा पूर्व लडाकुहरु सेनाप्रति अभिप्रेरित भइसकेका छन् र उनीहरुमाथि कुनै पनि थप निगरानी गरिएको छैन । पूर्व लडाकुहरु उमेर अनुसार तालिम गर्न सक्ने भएका छन् र उनीहरुले सक्षम पनि सावित गरेका छन् ।
तालिमका लागि आएकामध्ये उदय गुरुङ, विश्वराज नेपाली र सुरज खड्काको सेनाले उपचार गराइरहेको छ । गुरुङलाई दमको समस्या देखिएको छ भने खड्कालाई छारेरोग लागेको देखिएको छ । ‘उनीहरु पहिल्यै विरामी रहेछन्, शुरुमा भनेनन् । हामीले थाहा पाएपछि उपचार गराइरहेका छौँ’ खड्काले भने । तालिममा गएकामध्ये दुईजना भागेका छन् । पूर्व लडाकु मीनवहादुर गुरुङ गत पागुन १७ गते र विनोद तिमल्सिना चैत १२ गते भागेका हुन् । आठहप्ता तालिम गरेर भागेका गुरुङ बढी तौलका कारण तालिम गर्न नसक्ने अवस्थामा थिए । ललितपुर लेलेका तिमल्सिना पनि युद्धमा बमले लागेर कान सुन्न नसक्ने अवस्थाका थिए । तालिम लिएकामध्ये विक्रम थामी र लाखधन राईले १२ वैशाखमा पुनः स्वेच्छिक अवकास रोजेका छन् । उनीहरुलाई सेना समायोजन समन्वयकर्ता तोकिएका सेनाका पूर्वरथी बालानन्द शर्माले जनही दुईलाख ५५ हजार रकम दिएर बिदाही गरेका थिए । सेनासँग विगतमा बन्दीपुर आक्रमणमा सहभागी रहेका थामीले युद्धकालमै दुईपटक मेरुदण्डको अपरेसन गरेका कारण तालिम गर्न नसक्ने बताएर बाहिरिएका थिए । राईले भने श्रीमती जागिरे भएकाले कठिन तालिम गरेर जागिर नखाने इच्छा देखाएर अबकास रोजेका थिए ।

Wednesday 1 May 2013

दाहाललाई दिल्लीको सन्देश (तस्वीरसहित)


काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले भाषाका आधारमा संघीय प्रणाली तय गर्न भारतले सुझाब दिएको बताएका छन् । शनीवार भारत भ्रमणमा गएका दाहालले मंगलवार स्वदेश फर्केपछि सञ्चारकर्मीसँगको अन्तरक्रियामा भारतसँग सम्बन्धको नयाँ आधार तय भएकोसमेत दाबी गरेका छन् । यसअघि चीन भ्रमण गरेका दाहालले नेपालको स्थिरता र आर्थिक सम्बृद्धिका लागि सहयोग गर्न दुवै छिमेकी तयार भएको तर यो नेपाली नेताहरुकै जिम्मामा आएको पनि स्पष्ट पारे । 
भारत, चीन र नेपालबीच नेपालको आर्थिक विकासमा त्रिदेशीय समझदारी हुनुपर्ने प्रस्ताव अस्वीकार गरेको भारतले स्थिरता र आर्थिक सम्बृद्धिका लागि नेपाललाई सक्दो सहयोग गर्न तयार रहेको आश्वासन दिएको पनि दाहालले बताए । ‘संघीय प्रणालीमा जानका लागि एउटा स्पष्ट आधार तय गर्नु आवश्यक हुन्छ भन्ने सुझाब भारतीय सरकार र राजनीतिक नेताहरुले दिएका छन्’ दाहालले भने, ‘संघीयताको आधार भाषा हुनसक्छ भन्ने उहाँहरुले अनुभवसहितको सुझाब दिनुभएको छ । शुरुमा भाषाका आधारमा संघीयतामा जाँदा भारत विभाजन होला कि भन्ने आशंका रहेछ, पछि त्यसले त झन मुलुलकलाई मजबुत गरेको अनुभव भारतीय मित्रहरुले सुनाउनुभएको छ ।’ जातीय पहिचानका आधारमा संघीय प्रणाली अपनाउने निर्णयमा अडिग रहेको एमाओवादीलाई अडान छाड्न चीनले सुझाब दिइसकेको छ । भारतले भाषाका आधारमा संघीयतामा जान सुझाब दिएर जातीय संघीयतालाई अस्वीकार गरेको सन्देश दिएको जानकारहरुको टिप्पणि छ ।
दाहालले स्वदेश फर्किनुअघि मंगलवारै भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंह र विदेश मन्त्री सलमान खुर्सिदसँग भेटवार्ता गरेका थिए । सोमवार उनी उच्च राजनीतिक नेताहरुसँगको भेटवार्तामा सरिक थिए । तर दाहालले भारतीय सत्तारुढ गठबन्धनको नेतृत्वदायी पार्टी कांग्रेस आईका अध्यक्ष सोनिया गान्धीसँग भेट्न समय नपाएको स्रोतको भनाई छ । त्यसबाहेक भारतीय पूर्व कुटनीतिज्ञ र सुरक्षाविदहरुसँग थप अन्तरक्रिया गर्ने दाहालको चाहनासमेत यसपटक पूरा नभएको बुझिएको छ । दाहालले भारतीय प्रधानमन्त्रीलाई नयाँ दिल्लीस्थित उनकै निवास सेभेन रेसकोर्स भेटेका थिए ।
दाहालले काठमाडौं फर्केर शान्ति प्रक्रिया अन्तर्गत लडाकु समायोजन पूरा गरेकोमा बधाई दिएको र आगामी निर्वाचनका लागि सहयोग गर्ने भारतीय प्रतिवद्धता आएको पनि बताए । दाहालले यो भ्रमणबाट नेपाल भारत सम्बन्धमै नयाँ आयाम थपिएको समेत स्पष्ट पारे । ‘विगतमा कम्युनिकेसन ग्यापका कारण एक अर्काको बुझाईमा केही कमजोरी रहेकै हो, अब पुराना तीता मिठा कुरा बिर्सेर नयाँ आधारमा अघि बढ्ने कुरा भएको छ’ दाहालले भने, ‘ पुराना कमजोरी र बुझाईका समस्या चिर्र्दै नयाँ सिराबाट विश्वासको वातावरण बनाउनका लागि मेरो भ्रमणले आधार तयार गरेको छ ।’
भारतीय नेताहरुले नेपालमा चाँडै निर्वाचन होस् भन्ने चाहेको पनि बताए । भारतीय प्रधानमन्त्रीले तोकेरै मंसिरमा चुनाव होला त भनेर सोधेको र आफूले चुनाब हुने स्पष्ट पारेको पनि दाहालले बताए ।

‘त्रिदेशीय समझदारी पछि’ 
भारतीय प्रधानमन्त्री डा सिहले नेपाल भारतवीचको  दुई देशीय साझेदारीको अभिबृद्धि पछि मात्रै भारत नेपाल र  चिनवीचको त्रिपक्षीय साझेदारी सम्भव रहेको बताएका छन् । एमाओवादी अध्यक्ष दाहालसँग नयाँदिल्लीमा भएको भेटमा सिंहले यस्तो बताएका हुन् । दाहालले यसअघि चिन भ्रमणमा त्रिदेशीय साझेदारीको प्रस्ताव राखेका थिए । भारतीय प्रधानमन्त्रीसँग पनि सोही प्रस्ताव राखेपछि उनले दाहाललाई  पहिला नेपाल र भारतबीच दुईपक्षीय साझेदारी अभिबृद्धि गरेपछि त्रिदेशीय साझेदारीमा प्रवेश गर्ने प्रतिवद्धता दिएका थिए ।
भारतीय प्रधानमन्त्रीले  एकीकृत नेकपा माओवादीले हेटौडा महाधिवेशनपछि लिएको नयाँ राजनीतिक र आर्थिक अवधारणाको प्रशंसा गरेका थिए । सिंहले भारतको चाहना राजनीतिक रुपमा स्थायीत्व प्राप्त गरेको सम्पन्न नेपाल भएको पनि स्पष्ट पारेका थिए । साथै आर्थिक सम्बृद्धिका लागि नेपाललाई सक्दो सहयोग  गर्ने आश्वासन पनि सिंहले दिएका थिए । नेपालमा निर्वाचनकै लागि प्रधानन्यायधिसको नेतृत्वमा चुनावी सरकार गठन भएकोमा पनि सिंहले दाहालसमक्ष खुसी ब्यक्त गरेका थिए ।
सिंहले संविधानसभा मार्फत संविधान लेखेर नेपालको लोकतन्त्र बलियो बनाउन दाहाललाई सुभकामना दिए । उनले दुई देशको सम्बन्ध नयाँ चरणमा प्रवेश गरेको भन्दै विगतका प्रधानमन्त्रीको भ्रमणको क्रममा भएको सहमति कार्यान्वयन प्रक्रियालाई अघि बढाउने पनि आश्वासन दिए ।
सो क्रममा दाहालले भारतबाट लामो समयदेखि प्रधानमन्त्री तहको नेपाल भ्रमण हुन नसकेको भन्दै प्रधानमन्त्री सिंहलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । सिंहले आफू नेपाल आउन ईच्छुक भएको तथा उपयूक्त समयमा नेपाल भ्रमणमा आउने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
अर्को प्रसंगमा दाहालले भारतको सुरक्षा चासोलाई संबोधन गर्न आफ्नो दल, सबै राजनीतिक पार्टीहरु र नेपाल सरकार संबेदनशिल भएको स्पष्ट पारेका थिए । उनले नेपालको भूमि प्रयोग गरेर हुने सबै खाले भारत विरोधी गतिविधी रोक्ने पनि प्रतिबद्धता ब्यक्त गरेका थिए ।
भेटवार्तामा एमाओवादी नेता  कृष्णबहादुर महरा तथा  भारतको तर्फबाट प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार शिवशंकर मेनन, विदेश सचिव रञ्जन मथाई, नेपाल हेर्ने सहसचिव अखिलेष मिश्र र नेपालका लागि भारतीय राजदुत जयन्त प्रसाद सहभागि थिए ।
यसैबीच, दाहालसँग मंगलवार भएको बेग्लै भेटमा भारतीय विदेशमन्त्री सलमान खुर्सिदले नेपालमा राजनीतिक स्थायीत्व र विकास भारतको मुख्य एजेण्डा भएको बताएका छन् ।
‘नेपालको राजनीतिक स्थायीत्व विकास भारतको एजेण्डा हो । नेपालमा स्थायीत्व र विकास हुनु पर्छ त्यसमा भारतले सक्दो सहयोग गर्न तयार छ’ विदेश मन्त्री खुर्सिदको भनाई थियो  ।  विदेश मन्त्री खुर्सिदले भारत नेपाल र चिनवीच त्रिपक्षीय साझेदारीको विषय कुनै कुराकानी नभएको भएको बताए ।

तर दाहालले नयाँ दिल्लीमा सञ्चारमकर्मीसँग कुरा गर्दै  नेपाल र भारतबीच अहिलेको एजेन्डा दुई पक्षीय विकास मात्रै भए पनि भविश्यमा त्रिदेशीय साझेदारीमा पुग्ने बारेमा आफूले स्पष्ट पारेको जानकारी दिए । खुर्सिदले पनि नेपालबाट भारत विरुद्ध गतिविधी नहोस भन्ने कुरा आफूहरुले स्पष्ट सँग राखेको दाहालले जानकारी दिए । दाहालले गौतमबुद्धको जन्मस्थान लुम्बिनीको विकास र कर्णाली चिसापानी जलविद्युत आयोजनाको विकासमा सहयोग गर्न भारत सरकारसमक्ष प्रस्ताव गरेका थिए ।

 

top sidebar ads

समाचार

समाचार

recent posts comments tab

Blog Archive