Monday, 11 March 2013

प्रदर्शन गर्न खोज्ने १७ तिब्बति पक्राउ

सुरेन्द्र सुवेदी
    काठमाडौं, फागुन २७ । 
चिनियाँ शासनविरुद्ध असफल बिद्रोह गरेको ५४ औं वार्षिकोत्सवका अबसरमा प्रदर्शन गर्न खोजेका १७ जना तिब्बति पक्राउ परेका छन् । राजधानी र बाहिर रहेका  तिब्बती शरणार्थीले आत्मदाहसमेतका कृयाकलाप गर्ने आशंकामा कडा सुरक्षा रणनीति अपनाएको प्रहरीले तिब्बतिलाई पक्राउ गरेको हो । प्रहरीले आइतवार राजधानी तथा उपत्यका वाहिर रहेका तिब्बति शरणार्थी शिविरहरुमा सुरक्षा सतर्कता बढाएको थियो ।
    महानगरीय प्रहरी परिसर हनुमानढोकाले अबाञ्छित गतिविधि गर्नसक्ने आशंकामा १७ जना तिब्बतिलाई नियन्त्रणमा लिएको जनाएको छ । परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रणबहादुर चन्दका अनुसार पक्राउ परेकामध्ये १४ जना छुटेका छन् । गत फागुन २ गते तिब्बतीयन नागरिक डोमन डुक्चेले पेट्रोल छर्केर आत्मदाह गरेपछि १० मार्च आसपासमा तिब्बतिको प्रदर्शन र आत्मदाह हुनसक्ने आँकलनसहित प्रहरीले कडा सुरक्षा रणनीति बनाएको थियो । बौद्ध स्तुपा परिसरमा आफैँमाथि पेट्रोल छर्केर आगो लगाएका डुक्चेको उपचारका क्रममा मृत्यु भएको थियो । सो आत्मदाहपछि     तिब्बति शरणार्थी शिविरहरुमा प्रहरीले निगरानी बढाएको थियो । सो घटनाप्रति चिनले चासो व्यक्त गर्दै परराष्ट्र मन्त्रालयलाई ‘प्रोटेस्ट नोट’ बुझाइसकेको छ ।
सन् १९५९ मार्च १० मा तिब्वतको पोतला दरबारबाट बिद्रोह गर्दै तिब्बति धर्मगुरु दलाई लामा भारतको शरणमा पुगेका थिए । चिनविरुद्ध असफल विद्रोह भएको त्यही दिनलाई तिब्बतीहरु मुक्ति दिवशको रुपमा मनाउँदै आएका छन् । चीन सरकारले परराष्ट र गृहमन्त्रालयलाई चीन बिरोधी गतिविधि रोक्न पटकपटक आग्रह गर्दै आएको छ । उसको यस्तो आग्रहबीच पनि आत्मदाहको घटना भएकोले थप अवाञ्छित गतिविधि हुन नदिन प्रहरी सजग रहेको  अधिकारीहरु बताउँछन् । काठमाडौं परिसरका प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले भने, ‘तिब्बतीहरुलाई  चीनविरुद्ध कुनै पनि गतिविधि गर्न नदिन कडा निर्देशन जारी गरिसकेका छौँ ।’
स्रोतका अनुसार आइतवार कुनै पनि प्रदर्शन नगर्न र कथित बार्षिकोत्सब कार्यक्रम आयोजना नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले शरणार्थी शिविरमा निर्देशन दिएको थियो । सो निर्देशनपछि शिविरहरुमा कुनै पनि औपचारिक कार्यक्रम आयोजना नभएको सम्वद्ध स्रोतले जनाएको छ । गृह मन्त्रालयले काठमाडौंवाहेक कास्की, बाग्लुङ र रसुवामा बस्दै आएका तिब्बतिहरुलाई पनि सचेत गराएको थियो ।
तिब्बतिहरुको सम्भावित गतिविधि रोक्न मन्त्रालयले नेपाल–चीन सीमानाकामा नि सुरक्षा सतर्कता बढाएको थियो ।  नेपालमा रहेका करिव २० हजार तिब्बती शरणार्थी बसोबास गर्दै आएका छन् । ती स्थानमा स्थानमा प्रहरीले युनिट नै परिचालन गरेको जनाएको छ ।
    आत्मदाह गरेका तिब्बति नागरिक  डुक्चेलाई सहिद घोषणा गर्नु पर्ने मागसहित त्रिवि शिक्षण अस्पताल पुगेका चारजना तिब्बतिलाई प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक मुद्दा लगाइसकेको छ । केही दिनअघि ललितपुरको जावलाखेलमा प्रदर्शनमा उत्रेका ३७ जना शरणार्थीलाई नियन्त्रणमा लिएर छोडिएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

Global Mountain Biodiversity Assessment establishes first Asia hub in Kathmandu

  ICIMOD to host regional hub of prestigious global network in bid to increase scientific knowledge and policy responses to at-risk mounta...