Wednesday 11 September 2013

पहाडी मुस्लिम युवाको सफलता–कथा

पर्शुराम काफ्ले
डा. मनोर दिन (एम.डी.) सैयद स्याङजामा जन्मे, उहीँ हुर्किए र पढे । उनी आफूलाई पहाडी मुस्लिम भन्न रुचाउँछन् । स्याङजा, धादिङ, गोर्खा, तनहुँ, पाल्पा, लमजुङ लगायतका स्थानमा उनीहरुको बसोबास छ, कतिपय ठाउँमा बाहुल्य छ, काहिँ सानो संख्या छ । पहाडी मुस्लिम समुदायबाट उच्च शिक्षा लिएका व्यक्तिहरु नगन्य छन्, त्यसमाथि चिकित्सा क्षेत्रमा त बत्ति बालेरै खोज्नुपर्छ उनीहरुलाई । ग्रामीण मध्यम बर्गीय परिवारबाट आएका सैयदले शिक्षण अस्पतालबाट छात्रबृद्धिमा एमडी गरेका छन् । उनले थाहा पाएसम्म उनी नै पहाडी मुस्लिम समुदायका पहिलो चिकित्सक हुन् । ‘पहाडी मुस्लिम समुदायबाट मेडिकल क्षेत्रमा उच्च शिक्षा गर्ने मान्छेहरु छैनन्, सम्भवतः म नै पहिलो हुँ’ शिक्षण अस्पताल परिसरमा भेटिएका सैयद भन्दै थिए, ‘यो क्षेत्रमा पढेर माथि उठ्नुपर्छ भन्ने चेतना हाम्रो समुदायमा छँदैछैन, म त केबल अपबाद हुँ ।’
स्याङजामा उपचार नपाएर मानिसहरु अकालमा मृत्युवरण गरेको दृष्य देखेका ३६ बर्षीय सैयदले जे बाटो रोजे, त्यसबाहेक उनले समाजसेवामा पनि हात हाले । एसिएन श्रोत विकास केन्द्रको नेतृत्व गरेका उनले महिला, वालवालिका, वेरोजगार, स्वास्थ्य,मानव–अधिकारका क्षेत्रमा आपतकालिन सहयोग गर्दै आएका छन् ।  
सैयदले प्राथामिक शिक्षा दहथुम मा. वि.वाट उत्तीर्ण गरे । एस.एल.सि. चाहि पायोनिअर इङ्लिस स्कुल वालिङ्वाट  गरे । अमृत साइन्स क्याम्पसवाट आइएससी गरेपछि उनी चिकित्सक बन्ने धुनमा भौँतारिए । ‘पहाडी मुस्लिम युवाहरुमा वैदेशिक रोजगार नै एक मात्र विकल्प मानिन्छ, अरब जाने, पैसा कमाउने, घरजम गर्ने संस्कार हामीकहा छ’ उनले सुनाए, ‘ मैले परिवार र शुभेच्छुकको सल्लाहमा चिकित्सा अध्ययनको बाटो. रोजेँ ।’ उनले शुरुमा पुर्ण छात्रबृतिमा पाकिस्तानवाट एम.बि.बि.एस. अध्ययन गरे । फर्केर आएपछि २०६२ सालदेखि वीर अस्पतालमा सेवा गरे । त्यसक्रममा उनले वैतडी, अछाम, धादिङ, दोलखा जुम्ला, सप्तरी, सुनसरी गएर निशुल्क स्वास्थ्य शिविर चलाए । उनले त्रि.वि. शिक्षण अस्पताल  महाराजगन्जबाट स्त्री तथा प्रसुती विषयमा पुर्न छात्रबृति पाएर एम.डी. सकेका छन् र राजधानीका नाम चलेका अस्पतालहरुमा सेवारत छन् । 
चिकित्सा शास्त्र पढेपछि कसरी आय आर्जन गर्ने भन्ने धुनमा हिँडेकाहरुप्रति सैयद सहमत छैनन् । उनको बिचारमा यो पेशा पैसा कमाउने मात्र होइन, समाजसेवा गर्ने हो । ‘हामीलाई सामान्यतया पैसाको अभाव हुँदैन, अनि किन पैसाकै पछाडि मरिहत्ते गर्ने ?’ उनी भन्छन्, ‘निमुखा, गरिब बस्तीमा गएर उनीहरुलाई स्वास्थ्य सेवा दिन सकियोस् भन्ने मेरो चाहना छ । कर्मक्षेत्रबाट आर्जन गर्ने पैसाले मलाई पुगेको छ । तर समाजमा केही गरौं भन्ने मेरो रुची छ ।’
चिकित्साशास्त्र पढ्दै गर्दा उनलाई बेग्लै हिसाबले समाजसेवा गर्ने अबसर जु¥यो । अध्ययन भ्रमणका क्रममा इन्डोनेशिया पुगेका बेला उनलाई एउटा अफर आयो एशियन रिसोर्सेस फाउन्डेसनमार्फत् सेवा क्षेत्रमा हात हाल्ने । ‘मैले सहजै स्वीकार गरेँ किनभने मेरो जीवनको लक्ष्य समाजसेवा नै थियो’ सैयदले भने । सो संस्थाको उनी अध्यक्ष हुन् । उनीहरुले राजधानीसहित पाँच जिल्लाका गरीव विद्यार्थीलाई सहयोग गर्दै आएका छन् । काठमाडौंको वाणभन्ज्याङ, स्याङ्जाको दहथूम स्कूल, कपिलबस्तु, नवलपरासी र रुपन्देहीमा उनीहरुले सरकारी स्कूलका २५÷२५ जना विद्यार्थीलाई कपडा, कापी, जुत्ता र स्वीटर दिँदै आएका छन् । ‘अत्यन्तै सीमान्तिकृत र गरीब हरुलाई हामीले सहयोग वितरण गर्दै आएका छौँ’ उनले भने ।

उनको अगुवाईमा सन् २००७ मा नारायणी वाढी पिडीत ६१ घर परिवारका  लागि राहात वितरण र स्वास्थ्य परीक्षण गरियो । २००८ अगष्ट मा अन्तराष्ट्रिय स्तरको शान्तिका लागि युवा नामक ४ दिने सम्मेलन आयोजना गरेको सो संस्थाले जोर्डन, इण्डिया,इरान, बङ्लादेश ,पाकिस्तानबाट युवाहरु जम्मा पा¥यो  र शाीन्तको खाका प्रस्तुत ग¥यो । सन् २००८ सेप्टेम्बर मा कोशी वाढी पिडीतका लागि स्वास्थ्यशिविर आयोजना भयो र २०० घर परिवारलाई राहत वितरण भयो । सन् २०१२ डिसेम्बरमा फिलिपिन्सको पाब्लो नामक हावाहुरीबाट पिडितका लागि आपत्कालिन स्वास्थ्य शिविर तथा राहत वितरण कार्यक्रममा सैयद सहभागी भए । ‘त्यहाँका  ५ वटा गाउँमा एक साता बस्दा पाँच सय विरामीहरुको जाँच ग¥यौँ’ उनले भने । उनी भारत पाकिस्तान बंङ्लादेश, श्रीलङ्का, साउदी अरब, कतार, दुबई, इन्डोनेशिया, सिंगापुर, फिलीपिन्स, थाइल्याड का विभिन्न ठाउमा गएर स्वाथ्य परिक्षण र समाजसेवाका काम गरिसकेका छन् । ‘म समाजसेवामा जीवन समर्पण गर्न चाहन्छु, ’ उनले भने । दुर्गम भेगमा बसेका र अरब मुलुकमा बसेर भविश्यको खोजीमा लागेका पहाडी मुस्लिमसहित बिपन्न बर्गका युवालाई सकारात्मक पाठ सिकाउन चाहन्छन् । उनलाई नजिकबाट चिनेका पत्रकार पुष्पलाल पाण्डे भन्छन्, ‘सैयदले लिएको बाटोले पहाडी मुस्लिम समुदायमा नयाँ शिक्षा दिएको छ । उनले अहिले के के गरे भन्दा पनि उनले रोजेको बाटो ग्रामीण भेगका सबै समुदायका लागि प्रेरणा हुनुपर्छ ।’
सैयद धार्मिक वा जातीय राजनीतिको पक्षमा छैनन् । मुस्लिमका नाममा भएका राजनीतिले युवालाई सकारात्मक बाटोमा लैजान प्रेरणा नदिएको बरु खाडी मुलुकतिर जान बाध्य बनाएको उनको विश्लेषण छ । ‘यहाँ सवाल पहाडी, मधेशी, मुस्लिम, हिन्दुको होइन, पिछडिएका गरिब समुदायलाई माथि उठाउनु पर्छ’ सैयद भन्छन्, ‘हाम्रो मुलुकमा जातीय, धार्मिक, सांस्कृतिक सद्भाव छ । युवाहरुलाई सही बाटोमा अघि बढाएर सक्षम बनाउनेतिर सबैको ध्यान जानुपर्छ । हामीले सबैको उन्नति हुने बाटो रोज्नुपर्छ र त्यसमा युवालाई प्रोत्साहित गर्नुपर्छ ।’ सैयदको भावि दिन समाजसेवामै समर्पित रहोस्, हार्दिक शुभकामना ।



Tuesday 10 September 2013

चीनले थप डिजिटल ट्रङकिङ प्रणाली दिने

सुरेन्द्र सुवेदी– चीन सरकारले नेपाल प्रहरीलाई थप प्रहरी डिजिटल ट्रङकिङ प्रणाली (पिडिटिएस) उपलब्ध गराउने भएको छ । पहिलो चरणमा काठमाडौं उपत्यका, कास्की र सिन्धुपाल्चोकमा यो प्रणाली जडान भइसकेको छ ।
चीन सरकारको उपकरण र प्राविधिक सहयोगमा जडान भइसकेको यो प्रणालीको प्रभावकारिताका आधारमा थप सिस्टम उपलब्ध गराउने चीन सरकारले प्रतिबद्धता जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार चीन सरकारले नेपाल प्रहरीलाई थप पिडिटिएस उपलब्ध गराउन आगामी वर्षको कार्यक्रममा योजना नै समावेश गराएको चीनका उच्च प्रहरी अधिकारीलाई उद्धृत गर्दै नेपाल प्रहरीका एक अधिकारीले बताए । 
यो प्रणाली चार महिनादेखि कास्कीमा परीक्षणमा छ । परीक्षणमा समस्या नआएपछि गत सोमबार महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरीमा उपत्यकाका लागि जडान गरिएको छ । चीनको अन्तर्राष्ट्रिय कोअपरेसन विभागका निर्देशक लिओ जिनरोङ नेतृत्व टोली पिडिटिएस उद्घाटन गर्न नेपाल आएको थियो । उक्त टोलीले नेपाल प्रहरीका उच्च अधिकारीको आग्रहअनुसार थप प्रणाली उपलब्ध गराउने प्रतिबद्धता जनाएको प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) नवराज ढकालले बताए ।
काठमाडौं, सिन्धुपाल्चोक र कास्कीमा जडान गरिएका प्रणालीको मूल्य ४४ करोड रुपैयाँ रहेको छ । ठूलो लागतकै कारण नेपाल सरकारले प्रहरीलाई यस्तो प्रणाली जडान गर्न नसक्ने भएकाले चीन सरकारसँग थप जिल्लाका लागि माग गरको स्रोतले जनायो ।
प्रहरी प्रवक्ता नायव महानिरीक्षक (डिआइजी) नवराज सिलवाल हाल जडान भएको प्रणालीको प्रभावकारिता अध्ययनपछि चीन सरकारले थप प्रणाली उपलब्ध गराउने आश्वासन पाएको बताउँछन् । उनले भने, ‘अहिले जडान गरेको प्रणालीको प्रभावकारिताकै आधारमा थप जडान उपलब्ध हुने कुरामा भर पर्छ ।’
यो प्रविधिमा सहर सुरक्षा, ट्राफिक जामको निरीक्षण गर्न सिसिटिभीहरू एकीकृत गरिएका हुन्छन् भने सञ्चार सेटबाटै फोन सम्पर्क गर्न र एसएमएस पठाउन सकिन्छ । शंकास्पद व्यक्तिको फोटो, हस्ताक्षर र औंठाछाप लिएर केन्द्रीय तथ्यांकसँग समन्वय गरी पहिचान गर्न सकिने यो प्रविधि विश्वमै आधुनिक मानिन्छ ।
सर्वसाधारणले प्रयोग गर्ने मोबाइल फोनजस्तै यो पिडिटिएसले सेट बोकेका प्रहरी र सवारीसाधन रहेको स्थानको जानकारी दिन्छ । टावरको सहयोगले सिस्टममा रहेको रेडियोले उपलब्ध भएका च्यानल स्वतः सम्पर्कमा राख्नाले यस प्रविधिलाई अन्यले अनुगमन र ट्र्याप गर्न सक्दैनन् । प्रविधिमा रहेका सेटहरू अफ र अन गरेको, कल गर्न खोजेको, कल गरेकोजस्ता कुरा नेटवर्कबाटै हेर्न मिल्छ । सेटहरू हराएमा, डिस्टर्ब भएमा वा शंकास्पद गतिविधि भएमा उक्त सेटलाई नेटवर्कबाट तत्काल हटाउन सकिने व्यवस्था रहेको प्रहरीले जनाएको छ ।
सेट बोकेका प्रहरी कर्मचारीले कहाँबाट र कोसँग सम्पर्क गरेको भन्ने तथ्य नक्सामा हेर्न सकिन्छ । जसका कारण फिल्डमा खटिएका प्रहरीले गलत सूचना दिन सक्दैनन् । यसबाहेक घटना भएको स्थाननजिक रहेको प्रहरी युनिटलाई तत्काल परिचालन गर्न सकिने प्रहरीले जनायो ।

Monday 2 September 2013

उच्च निगरानीमा तिब्बती शिविर


सुरेन्द्र सुवेदी

काठमाडौं (नेपालडोर)  नेपालबाट ‘फ्रि तिब्बत’का पक्षमा तिब्बतीहरूले आत्मदाहका घटना गराउन थालेपछि प्रहरीले शरणार्थी शिविरमा उच्च निगरानी बढाएको छ । तिब्बती शरणार्थीको अधिक बसोबास भएको राजधानीस्थित बौद्ध क्षेत्रमा प्रहरीले २४सै घण्टा सुरक्षा निगरानी बढाएको छ । काठमाडौंसहित देशभर रहेका १८ वटा शरणार्थी शिविरमा पनि उच्च निगरानी बढाइएको प्रहरीले जनाएको छ ।
गत साउन २२ मा तिब्बतको धामसुङ जिल्ला घर भएका बौद्ध भिक्षु कर्मा न्यादोन ग्याल्सो (३९) ले काठमाडौं बौद्ध स्तुपा परिसरमै आत्मदाह गरेपछि प्रहरीले सुरक्षा सतर्कता बढाएको हो । त्यसअघि फागुन २ मा बौद्ध स्तुपा परिसरमा एक तिब्बतीले पनि आत्मदाह गरेका थिए । यी घटनापछि चीनले कूटनीतिक तहमा चासो बढाएपछि सरकारले शरणार्थी शिविरमा निगरानी बढाएको गृह मन्त्रालय स्रोतले बतायो ।
गृह मन्त्रालयको तथ्यांकअनुसार उपत्यकामा मात्र ७ वटा शरणार्थी शिविरमा तिब्बतीहरू बस्दै आएका छन् । जसअनुसार बौद्धमा ४ हजार ८ सय ४६, जोरपाटीको खम्पामा १ सय ६३, स्वयम्भूको फ्याङसिङमा १ हजार ८ सय ७६, जावलाखेलको साम्देङमा ९ सय ८४ र फर्पिङको त्याल्सामा ७ सय ९९ तिब्बती शरणार्थी छन् । उपत्यकाबाहिरका ११ स्थानमध्ये पोखराको टासपालखेलमा ७ सय ९४, टासिलिङमा ६ सय ६८ र पृथ्वीचोक पाल्जोरमा ३ सय २९, सोखुलखम्बूको देलकिङमा ७ सय २८, तनहुँको ज्याम्फेलिङमा ५ सय ८८, रसुवाको गेन्जिङमा २ सय १ र स्याङ्जाको वालिङस्थित साम्फेलिङ क्याम्पमा २ सय ८६ जना तिब्बती बस्दै आएका छन् ।
यस्तै बाग्लुङको ढोरपाटनस्थित नोरेलिङमा १ सय ८३, मनाङको नुब्रीमा ५५ र मनाङ क्याम्पमा २ सय ७३ र मुस्ताङको नामगोलिङ शिविरमा २ सय ५० गरी नेपालमा १३ हजार ६ सय ८५ जना तिब्बती शरणार्थी बस्दै आएका छन् ।
प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक (डिआइजी) नवराज सिलवालका अनुसार हाल शरणार्थी शिविरहरुलाई उच्च निगरानीमा राखिएको छ । ‘एक चीन नीति’ लिएको सरकारले चीनविरुद्ध हुने हरेक गतिविधि नियन्त्रण गर्ने प्रतिवद्धता जनाउँदै आएको छ ।  भारत निर्वासित धर्मगुरु दलाई लामाका समर्थकले काठमाडौंमै आत्मदाह गर्न थालेपछि शरणार्थी शिविरहरूलाई उच्च सुरक्षा सतर्कतामा राखिएको प्रहरीको भनाइ छ ।
महानगरीय प्रहरी आयुक्तका कार्यालयअन्तर्गतका काठमाडांैं, भक्तपुर र ललितपुर परिसर कार्यालय तथा  तिनका मातहतका वृत्त र प्रभागसम्मलाई तिब्बतीहरूका क्रियाकलापमा कडाई गर्न निर्देशन दिइएको प्रहरी स्रोतले जनाएको छ । उपत्यकाजस्तै सोलुखम्बू, कास्की, तनहुँ, रसुवा, स्याङ्जा, बागलुङ, मनाङ र मुस्ताङ प्रहरीले पनि आफ्नो क्षेत्रमा रहेका शरणार्थी शिविरमा कडा निगरानी राखिरहेको प्रहरीको भनाइ छ ।    प्रहरी प्रवक्ता सिलवालका अनुसार तिब्बती शरणार्थीहरूबाट विरोधका कुनै पनि क्रियाकलाप हुन नदिन शिविरलाई नै केन्द्रित गरेर प्रहरी नै परिचालन गरिएको छ ।
   

top sidebar ads

समाचार

समाचार

recent posts comments tab