Monday, 18 March 2013

आफ्नै गल्तीले एक्लिँदैछन् आईजीपी

कुवेर सिंह रानाका यस्ता गल्ती

काठमाडौं चैत्र ५(नेपाल डोर) । नेपाल प्रहरीका महानिरीक्षक कुवेरसिंह राना संगठनमा हिजोआज एक्लो बन्दै गएका छन् । एमाओवादीले लामो सयम बार्गेनिङमा राखेर प्रहरी प्रमुख बनाइएका रानाले एकपछि अर्काे गर्दै गलत निर्णय र व्यवहार देखाउन थालेको भन्दै प्रहरी संगठनभित्र रहेका ६१ हजार प्रहरी उनीप्रति सशंकित बन्न पुगेको आरोप लागेको छ । कुनै बेला प्रहरीभित्र आकर्षणको केन्द्र मानिएका रानालाई हिजोआज मन नपराउनेको संख्या दिनदिनै बढ्दो छ ।
 गत भदौंमा आईजीपी बनेका रानाले पहिलो गल्ती दैलेखमा एमाओवादीले जिउँदै गाडेका पत्रकार डेकेन्द्रराज थापाको मुद्दा नब्युताउन त्यहाँको प्रहरीलाई निर्देशन दिएर गरेका थिए । दैलेखको प्रहरीले पत्रकारका हत्यारालाई पक्राउ गरेपछि त्यो मुद्दा नचलाउन प्रहरीलाई अपशव्द नै प्रयोग गरेर गाली गरेको चर्चा प्रहरी भित्र छ । उनले गरेको दोश्रो गल्ती, प्रहरी अधिकृतहरुलाई निर्देशन दिनेक्रममा ‘जनयुद्ध कालमा भएका घटनाका मुद्दा नचलाउनू, त्यसतर्फ ध्यान नदिनू’ भन्न भ्याए । जसले कानुनी राज्यको अपहेलना नै गरेको प्रहरीहरु नै बताउने गर्छन् । उनले त्यसपछि देशभरका प्रहरी कार्यालयमा आफ्नोे फोटो झुण्डाउने निर्देशन दिए । जबकि उनीभन्दा अघिका आईजी रविन्द्रप्रताप शाहले हटाएका थिए । आर्थिक चलखेलका लागि कोही निकटलाई फोटा र फ्रेम प्रहरीका युनिटसम्म पु¥याउँदा लाखौं रुपैयाँ कमाउने बाटो बनाउन उनले यस्तो निर्देशन दिएको आरोप उनीमाथि लाग्न थालेको छ । जसको खण्डन गर्न उनले सकेका छैनन् ।
 त्यसपछि उनले अर्काे चर्तिकला देखाए । ३० वर्षे प्रहरी सेवालाई ३२ वर्षे बनाएर आफू र अतिरिक्त महानिरीक्षकको कार्यअवधि २वर्ष बढाउने डिआईजीहरुलाई डिआईजीबाटै अवकास पठाउने उनको योजना बन्यो । त्यो योजनालाई निवर्तमान प्रधानमन्त्री बाबुराम भट्टराई र उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले साथ दिए । तर, चौतर्फी बिरोधपछि त्यो योजना सफल हुन सकेन, अहिले थाती छ । यो उनको तेस्रो गल्ती हो । 
 पछिल्लो समय प्रहरी निरीक्षकहरुको डिएसपीमा बढुवा प्रकरणमा फेरि रानाले गल्ती गरे । यो उनको चौथो गल्ती हो । पटकपटक कारवाहीमा परेका निरीक्षकलाई बढुवा गरेपछि आईजी राना पुनः अर्काे बिवादमा मुसिएका छन् । तीन पटक कारवाही परेका राजेन्दबाबु रेग्मी, दुई पटक कारवाही परेका दायानिधि घिमिरे र राजकुमार सिलवाल, चार ग्रेड रोक्का भएका महेन्द्रकुमार श्रेष्ठको बढुवा भएको छ । यस्तै सञ्जयसिंह थापा, कमल थापाको पनि बढुवा भएको छ । यी दुवैजना कारवाही भोगिसकेका प्रहरी निरीक्षक थिए । ०५८ साउन १८ गने निरीक्षकमा सेवा प्रवेश गरेका र कार्यक्षमता पनि भएका राम्रा अधिकृतलाई बढुवामा छुटाइएको श्रोतको दावी छ । विरेन्द्र शाही, चक्रराज जोशी, दिलिप घिमिरे, अर्जुन तिम्सिना, तेजेन्द्र पौडेल, सुवास बोहोराजस्ता निरीक्षक बढुवामा छुटाइएका छन् । यी निरीक्षकहरु कार्यक्षमता भएका र कारवाहीमा नपरेपनि बढुवा भएनन् । 
 आईजी रानामाथि जनकपुरमा ५ जना युवाको हत्या आरोप छ । तर पनि सर्वाेच्च अदालतले उनलाई बढुवाका लागि बाटो खोलिदिएपछि उनी आईजी बनेका हुन् । उनी प्रजातान्त्रिक पद्धति भएका मुलुकहरुको भ्रमणमा जान सक्दैनन् । कारण हो, उनीमाथिको हत्या आरोप । नेपाली सेनाका कर्णेल कुमार लामाझैं उनी पनि अमेरिका, बेलायत, हुण्डरसजस्ता देश गएमा उतैका जेलमा बस्नुपर्ने हुन्छ । त्यसैले प्रहरी प्रमुखलाई बोलाउँदा पनि  उनी कनिष्ठ प्रहरी अधिकृतलाई बिदेश पठाउने गर्न थालेका छन् ।
 प्रहरी संगठनलाई प्रविधिले सज्जित, क्षमतावान र नैतिक शिक्षाको जानकार बनाउने उनको नीति अहिले हाँसोको विषय बन्न थालेको छ । किनकि उनले गरेका काम एमाओवादीको कार्यकर्ताको हैसियतभन्दा माथि उठ्न सकेका छैनन् । यहाँसम्मकि उनीविरुद्ध नायव महानिरीक्षकहरु (३४ जना) मोर्चा बन्दीमा छन् । जसकै कारण उनले गरेका सबै कामको गोपनियता रहेको छैन भने राना दिनदिनै विवादित बन्दै गएका छन् । साढे ७ महिना सेवा अवधि भएका उनी त्यो अगावै दुई वर्षे सेवा अवधि थप गरेर प्रहरी प्रमुख भइरहने ध्याउन्नमा रहेको उनी निकटहरुको भनाइ छ ।

No comments:

Post a comment

top sidebar ads

समाचार

समाचार

recent posts comments tab

Blog Archive