Friday, 15 March 2013

चुनावी सुरक्षा सहज छैन, प्रहरी र सशस्त्र उच्च सतर्क

काठमाडौं, चैत २ (नेपाल डोर) । सामान्यतया सरकार परिवर्तन वा नयाँ परिस्थिति उत्पन्न भएसँगै मुलुकको सुरक्षा उच्च सतर्क राख्ने गरिन्छ । हमेसा उच्च सतर्कमै रहने सुरक्षा निकाय सामान्य राजनीतिक परिवर्तनका बेला थप सतर्क रहन्छन्, त्यसका लागि राज्यले तयार राख्छ । चैत १ गते प्रधानन्यायाधीश खिलराज रेग्मी चुनावी मन्त्रिपरिषद्को अध्यक्ष भएपछि नयाँ सरकारले सुरक्षा निकायलाई उच्च सतर्कतामा राखेको छ ।
सरकारले नयाँ चुनाव गराउने प्रतिवद्धता पनि व्यक्त गरेको छ र सबैके सहयोग भए स्वतन्त्र र निस्पक्ष चुनाव हुने उसको विश्वास छ । तर सुरक्षा निकाय तयार छन् त चुनावी सुरक्षाका लागि ? विज्ञहरुले सहज देखेका छैनन् नयाँ चुनाव गर्न र त्यसका लागि सुरक्षित वातावरण तयार गर्न । किनकी सरकारको शपथ नहुँदै मुलुकले बन्दको सास्ती व्यहोर्ने क्रमको शुरुवात भएको छ ।
नवनियुक्त गृह तथा परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेले देशको समग्र शान्ति सुरक्षामा कसैसँग सम्झौता नगर्ने भन्दै सुरक्षा निकायलाई सतर्कमा रहन निर्देशन दिएका छन् । हरेक नयाँ गृहमन्त्रीले भन्ने यही हो, पहिलो सुरक्षा ब्रिफिङका बेला । उनको निर्देशनसँगै प्रहरी प्रधान कार्यालयले बिहीबार नै उच्च सुरक्षा सतर्कता अपनाउन मातहतका क्षेत्र, अञ्चल र सबै जिल्ला प्रहरी कार्यालयमा निर्देशन दिएको एक डीआईजीको भनाई छ ।
हुन त मन्त्रिपरिषद्को पहिलो बैठकले देश निर्वाचनमा जाने भइसकेको अवस्थामा शान्ति सुरक्षालाई पहिलो प्राथमिकतामा राख्ने  निर्णय गरेको छ । परिषद्का अध्यक्ष रेग्मीले पदबहालीसँगै देशको शान्ति र सुरक्षामा कुनै कसुर बाँकी नराख्ने बताइसकेका छन् । तर सुरक्षाकर्मीको बाध्यता सम्बोधन गर्न सक्छ कि सक्दैन सरकारले, त्यसका आधारमा मात्रै चुनावको सुरक्षा प्रत्याभूति हुने वा नहुने स्पष्ट हुन्छ । सुरक्षा निकायले मात्रै चुनाव गराउने होइन भन्ने यथार्थलाई पनि सम्बन्धित निकायले नबुझेका सायदै छैनन् र त्यसको जिम्मा सरकार भन्दा पनि दलहरुले लिनुपर्ने परिस्थिति आउन सक्नु स्वभाविक मानिन्छ ।
प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक (डिआइजी) केशव अधिकारीका अनुसार प्रहरीको दरबन्दी कम छ तर म्यादी प्रहरी परिचालन गरेरै भए पनि चुनाव गर्न सकिन्छ । प्रहरीमा ५४ हजार जनशक्तिको माग छ, यो पूरा गर्ने हैसियत सम्भवत वर्तमान मन्त्रीपरिषदले राख्नेछैन । प्रहरीसँग हाल ६१ हजार जनशक्ति छ ।
सशस्त्र प्रहरी बलको पनि हालत त्यही छ, दरबन्दी कम । करिब सात हजार दरन्दी थप मागेको छ सशस्त्रले जसलाई पूरा गर्न सरकारका लागि फलामको च्यूरा सावित हुनेछ । तर, सशस्त्रका प्रवक्ता नायव महानिरीक्षक (डिआइजी) नारायणबाबु थापाले संविधानसभाको निर्वाचनमा सुरक्षा दिन सशस्त्र तयार रहेको दाबी गरेका छन् । उनले भन्नु स्वभाविक छ किनभने सुरक्षा निकायले सुरक्षा दिन तयार छैनौँ भनेर कहिल्यै पनि भन्दैनन् । सीमा र सदरमुकाम सुरक्षामा खटेका सशस्त्रलाई नै ड्युटी मिलाएर निर्वाचनमा खटाउन सशस्त्रका उच्च अधिकारीहरुको शोच छ, तर यत्तिले मात्रै निर्वाचन सुरक्षाको ग्यारेन्टी होला र ? 

No comments:

Post a Comment

Global Mountain Biodiversity Assessment establishes first Asia hub in Kathmandu

  ICIMOD to host regional hub of prestigious global network in bid to increase scientific knowledge and policy responses to at-risk mounta...