Tuesday, 26 March 2013

यत्रो प्रहरी संगठनलाई जम्मा ३ हजार संचारसेट !

काठमाडौं । असारभित्रै संविधानसभाको दोस्रो निर्वाचन गर्ने सरकारी प्रतिबद्धता आएको छ, प्रमुख राजनीतिक दलहरु पनि चुनावी मूडमा देखिएका छन् । तर निर्वाचनको सबै सुरक्षा जिम्मा लिनुपर्ने नेपाल प्रहरीको साधनस्रोतका बारेमा सरकार र दलहरु कत्तिपनि गम्भीर देखिएका छैनन् । यतिसम् लाजमर्दो अवस्था छ कि देशभरमा ६१ हजार प्रहरीसँग ३ हजारमात्र सञ्चार सेट छन भने प्रहरीसँग भएका झण्डै ९ हजार सेट बिग्रिएर थन्किएका छन् । सरकारले न त पुराना सेट मर्मत गरिदिएको छ, न त नयाँ सेट खरिदका लागि पैसा उपलब्ध गराएको छ ।
आर्थिक अभावकै कारण प्रहरीले सबै स्थानमा सेट पु¥याउन सकेको छैन । निर्वाचनका लागि प्रहरीको जनशक्ति समेत पर्याप्त छैन । प्रहरी हेडक्वार्टरले करिब ५० हजार जनशक्ति थप नगरी निर्वाचनमा जान नसकिने जानकारी गृह मन्त्रालयलाई गराइसकेको छ । तर सरकारले यसबारे चासो नदिएको प्रहरी उच्च अधिकारीहरु गुनासो गर्छन् ।
प्रहरीको एउटा सानो युनिटलाई कम्तीमा ३ वटा सेट आवश्यक पर्छ आवश्यक सञ्चारका लागि । तर अहिले विकट जिल्ला र तिनका मातहतमा रहेका प्रहरी चौकीमा सञ्चार सेट एक थान पनि पुग्न सकेको छैन । निर्वाचनका लागि मात्र पनि करिब २० हजार सञ्चार सेट आवश्यक छ । ‘प्रहरीसँग काम मात्रै खोज्ने, साधनस्रोत उपलब्ध गराउनु चाहिँ नपर्ने ?’ एकजना उच्च प्रहरी अधिकृतले आक्रोस पोखे ।
नयाँ निर्वाचनमा झण्डै ९ हजार हाराहारीमा निर्वाचन केन्द्र स्थापना हुनेछन् । ती सबै केन्द्रमा एक–एक सञ्चार सेट आवश्यक पर्छ । प्रहरीको सञ्चार निर्देशनालयका प्रमुख नायब महानिरीक्षक अमृतकाजी श्रेष्ठ प्रधान कार्यालयले गृहमन्त्रालयसँग नयाँ सेटको माग गरे पनि उपलब्ध नगराएको बताउँछन् । कुवेरसिंह राना आईजीपी बनेपछि उनले प्रहरीलाई स्रोत र साधनले सम्पन्न पार्ने उद्घोष गरेका थिए । गत भदौमा उनले सार्वजनिक गरेको यो योजना हालसम्म कार्यान्वयन भएको छैन ।
प्रहरीका इलाका, जिल्ला, अञ्चल, क्षेत्रीय कार्यालयले स्थायी सञ्चार सेटको प्रयोग गर्छन् । आफ्ना मातहतका कार्यालय र कर्मचारीसँग स्थायी सेटबाट निर्देशन दिने चलन छ । हाते सेट अति नै कम रहेपछि शान्तिसुरक्षा गर्न समस्या भएको हो ।
गृहले प्रधान कार्यालयलाई निर्वाचनका लागि आवश्यक पर्ने सामानको विवरण माग गरेको छ । त्यसबेला गृहसँग ३ सयभन्दा बढी गाडी, सञ्चार सेट माग गरिएको प्रधान कार्यालयले जनाएको छ । गृह तथा परराष्ट्र मन्त्री माधवप्रसाद घिमिरेले प्रधान कार्यालयको निरीक्षणका क्रममा प्रहरीलाई थप सुविधा सम्पन्न बनाउने वचन दिएका छन् । उनको वचन कार्यान्वयन नभए चुनावी सुरक्षाका लागि प्रहरीलाई समस्या पर्ने छ । 

No comments:

Post a Comment

Global Mountain Biodiversity Assessment establishes first Asia hub in Kathmandu

  ICIMOD to host regional hub of prestigious global network in bid to increase scientific knowledge and policy responses to at-risk mounta...