Friday, 12 April 2013

नेपाली राजनीतिका गुमनाम संस्मरण (पुष्पलाल/बिपी सम्बन्ध, सरकार- माओवादी वार्तादेखि जनआन्दोलनसम्मका गुपचुप कहानी)

-लोककृष्ण भट्टराई -

  बरिष्ठ बाम बुद्धिजीवि/चिन्तक

................................................................

शेरबहादुर देउवाले २०५८ सालमा संकटकाल लगाएपछि काठमाडौँमा  माओवादीको सम्पर्क केन्द्रजस्तै थिएँ म । त्यही आरोपमा पछि सैनिक गिरफ्तारीमा परेँ । संकटकाल शुरु भएपछि पनि माओवादीसँग वार्ताको प्रयास भएको थियो । पत्रकार पुरुषोत्तम दाहाल र म पहलकर्ता थियौं । पहिलो वार्ता असफल भएर माओवादीले दाङको सैनिक व्यारेकमा आक्रमण भयो । त्यही बीचमा वार्ताको पहल भएको थियो असफल भयो । वार्ताको अभ्यास हामीले निकै मेहनतसाथ गरेका थियौं ।
मैले किसुनजी (कृष्णप्रसाद भट्टराई)मार्फत तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा गरें । वार्ताका लागि पहल गर्ने भन्ने कुरा भयो । त्यसपछि मैले  प्रचण्ड र बाबुरामलाई इमेलबाट सम्पर्क गरेँ । त्यो बेला माओवादी नेतृत्वलाई सम्पर्क गर्ने दुईवटा इमेल थियो । मैले इमेल गरेलगत्तै सकारात्मक जबाफसहित डा बाबुराम भट्टराईले मलाई फोन गर्नुभो । उहाँहरुसँग भएका कुरा मैले शेरबहादुरलाई फरवार्ड गरेँ । तर शेरबहादुरले बाबुरामकै भरमा मात्रै हुन्न भने । ‘बाबुराम अल्पमतमा छन्, प्रचण्डले नै नभनिकन वार्ताको कुरा कसरी पत्याउने ?’ भने देउवाले । त्यसपछि मैले प्रचण्डलाई इमेल गरेँ । प्रचण्डले मलाई फोन गरेर भने, –वार्ता गर्ने । तपाईँ कुरो अघि बढाउनुस् ।’ प्रचण्डले सरकारको औपचारिक पत्र हुनुप¥यो भन्नुभो । शेरबहादुर पत्र दिन तयार भए । सरकारको पत्र लिएर डी. आर. लामिछाने त्यतिवेला रोल्पा गए । रोल्पास्थित पार्टी सम्पर्कमा पत्र बुझाएर डी. आर. काठमाडौं फर्के । त्यही समयमा शेरबहादुर देउवाले राजालाई भनेछन्, ‘माओवादीसँग वार्ता फेरि गर्नुप¥र्यो । यो कुरा सुनेर राजा ज्ञानेन्द्र हाँसे रे । यो कुरा मलाई देउवाले नै सुनाएका हुन् ।
माओवादी र तत्कालीन सरकारबीच २०५९असोज २२ गते युद्धविराम गर्नेगरी वार्ता हुदै थियो । तर असोज १८ गते नै राजाले टेकओभर गरिहाले । राजाले शेरबहादुर देउवालाई हटाएपछि वार्ताको सबै प्रक्रिया समाप्त भयो । त्यसपछि प्रचण्डले मलाई फोन गरेर भने, ‘अब के गर्ने ?’ प्रचण्ड त्यतिवेला ज्ञानेन्द्रसँगै वार्ता गर्न चाहन्थे ।
एक दिन डी. आर. लामिछाने मेरो घरमा आएर भने–प्रभाकर शमशेरसँग मेरो राम्रै चिन्जान छ । कुरा गरौँ ?   प्रभाकर शमशेरसँग उनको भेट चितवनमा भएको रहेछ अलिक अगाडि । मैले भनेँ –हुन्छ, भेट्नुस् न त । के भन्दा रहेछन् ।’ डीआरले होटल सोल्टीमा गएर प्रभाकरलाई भेटेछन् । वार्ताको प्रसंगमा कुरा गरेपछि प्रभाकरले ज्ञानेन्द्रसँगै भेटाइदिने पनि बचन दिएछन् ।
प्रभाकरसँगको कुराकानीपछि ज्ञानेन्द्र पनि डी आरलाई बोलाएर भेट्न राजी भएछन् । त्यसपछि कुनै दिन होटल मल्लमा राजा र डीआर बीच दुईघण्टा कुराकानी भएछ । राती आठ बजे बोलाएका थिए ज्ञानेन्द्रले डी आरलाई । डी आर हेर्दा नपत्याउने खालका मान्छे थिए, तर बौद्धिक थिए । ज्ञानेन्द्रले भनेछन्–ठीक छ पिस प्रोसेसलाई अगाडि बढाउनुस् ।’  यो कुरा डी आरले मलाई भनेका हुन् । डीआर अहिले यो धर्तीमा छैनन् ।
त्यतिबेला मेरो फोन सेनाले टेप गरेको थियो । माओवादी नेताहरुसँग कुरा गर्न म चोभार पुग्थेँ । बाबुरामले नै भनेका थिए, ‘तपाईको फोन टेप भएको हुन सक्छ, अर्कै फोनबाट कुरा गरौँ ।’ त्यसकारण म आफन्तको घरमा चोभार पुग्थेँ त्यहीँबाट कुरा हुन्थ्यो । डी आरले ठुलो भुमिका खेलेका थिए दोस्रो वार्तामा । यतिसम्म कि रामबहादुर थापा बादलले सुट हालिदिए भनेर भन्थे डीआर मसँग । त्यतिवेला वीरेन्द्रझापालीको भुमिका गाडी हाँक्ने भन्दा केही थिएन । डी आरलाई गाडीमा हाकेर पु¥याइदिन्थे झापाली । तर झापालीलाई बेकारमा मिडियाले बढी उचाले ।
मैले दरबारको अनौपचारिक च्यानलबाट थाहा पाए अनुसार पछि डीआर लामिछानेको पहलमा माओवादी अध्यक्ष प्रचण्डसँग ज्ञानेन्द्रको भेट भयो बाग्लुङको ढोरपाटनमा । तत्कालीन प्रधानसेनापति रुक्मांगद कटुवालले हेलिकोप्टरमा हालेर लगेका थिए ज्ञानेन्द्रलाई । त्यो वार्तामा माओवादीका नेताहरु कृष्णबहादुर महरा र पोष्टबहादुर बोगटी पनि थिए । तर सेरेमोनियल किंगको बिषयमा कुरा मिलेनछ । ज्ञानेन्द्रले नै त्यो कुरा अस्वीकार गरेछन् । त्यसपछि वार्ता भएन ।

माघ १९ को कदम चालेपछि ज्ञानेन्द्रले मलाई तीनपटक मन्त्री पदको अफर गरे । पशुपतिभक्त महर्जन नै मलाई भेट्न आएका थिए । माघ २६ र २८ गते मलाई भेटेर पशुपतिले भनेका थिए–मन्त्री बनिदिनुप¥यो र माओवादीसँग वार्ता गराइदिनुप¥यो ।’ मलाई वार्ता टोलीको संयोजक बनाउने र वार्ता गराएर त्यसको जस आफैँ लिने शोचमा रहेछन् ज्ञानेन्द्र । मैले मानिँन ।
त्यसअघि नै मलाई प्रचण्डको सल्लाहकार आरोपमा सेनाले समातेर थुन्यो । २०६० फागुन ५ गते मलाई पक्राउ गरेर सैन्य हेडक्वार्टर पु¥याईयो र मेरो बयान लिए तत्कालीन सेनाप्रमुख प्यारजंग थापाले । उनले भने–तपाईँ प्रचण्डको सल्लाहकार हुनुहुँदो रहेछ त्यही भएर ल्याएको ।’ मैले भने– हो । माओवादीलाई शान्तिपूर्ण आन्दोलनमा आउन सल्लाह दिने मान्छे हो म । प्रचण्डलाई मात्र होइन, म माधव र गिरिजालाई पनि घुस नखान सल्लाह दिन्छु, राजा ज्ञानेन्द्रलाई पावर छाड्न सल्लाह दिन्छु ।’ मैले भनिदिएँ, म सबैको सल्लाहकार ।’  त्यो बेला सूर्य सुवेदीको पहलमा बेलायतमा लेवर पार्टीका नेता ग्यारी हार्टले त्यहाँको संसदमै कुरा उठाए मेरो गिरङ्खतारीका बारेमा । ग्यारी हार्टले ज्ञानेन्द्रलाई पत्र लेखेरै मेरो गिरफ्तारीको विरोध गरेका थिए । त्यहाँको समेत दबाबमा मलाई सेनाले १६ दिनपछि रिहा ग¥यो ।
..................................................
म २०२७ सालमा पुष्पलालको चिठी लिएर वीपी कोइरालाकहाँ गएको थिएँ  । वीपी बनारसको सारनाथमा बस्थे । म त्यतिवेला परिपक्व भइसकेको थिइँन । तर वीपीलाई भनेँ–महेन्द्रको शासन विरुद्ध सबै मिल्नुपर्छ सान्दाइ ।’ बीपी सबैलाई सम्मान गर्थे त्यतिवेला उनलाई भेट्न जो सुकै जावस् । सारनाथमा वीपीसँग प्रदीप गिरी, शैलजा आचार्य पनि बस्थे । त्यो बेला प्रदीप गिरी, मोदनाथ प्रश्रीत, शैलजा आचार्य र मेरो पहलमा नेपाल भारत जनमैत्री संघ स्थापना गरियो । बनारस हिन्दु विश्वविद्यालय(बीएचयू)को हलमा  हामीले बीपी र पुष्पलाललाई एउटै मञ्जमा उभ्याएका थियौँ । प्रोफेसर चन्द्रबली सिंहको पनि विशेष सहयोग थियो त्यो बेला । बिपीकहाँ मेरो पछिसम्म आवतजावत भइरह्यो, पुष्पलालको त म अनुयायी नै भएँ । ............................................................................
२०४६ सालमा कम्युनिष्ट र कांग्रेसबीच सहकार्यको पृष्ठभूमि रोचक छ । त्यसको प्रत्यक्ष भूमिकाकर्ता र साक्षी दुवै हुँ म । कुरो २०४६ साल भदौको हो, काठमाडौँ को प्योखा चोकमा गणेशमान सिंहसँग मेरो भेट भयो । छाता आढेर आउँदै थिए गणेशमान र मंगला भाउजु । भेट पूर्वनिर्धारित थिएन । गणेशमानले भने, ‘ल तँ मेरो घरमा हिड् । ’ उनले टाइम्स अफ इन्डिया किने । हामी घर गयौँँ । पाउरोटी, जाम र चिया खाइयो ।
गणेशमानले भने, ‘लोककृष्ण, मालेको मेजर लिडरसिपलाई मसँग भेटाइदे ।’ मैले भनेँ ‘मोहनचन्द्र अधिकारी, आर के मैनाली, केपी ओलीलाई भेट्नुस् न । ’ उनले भने, ‘मालेमा उनीहरुको प्रभाव छैन । मेजर लिडरसीपलाई भेटेर कुरा गर्छु । राजा वीरेन्द्रले उनीहरुलाई युज(प्रयोग) गरेका छन्, उनीहरुलाई हाम्रोे फोल्डमा ल्याएर राजा फाल्नुपर्छ । ’ मैले यतिमात्रै भनेँ –म प्रयास गर्छु ।’  म फर्केँ ।
न्यौँखामा आएर लालिमा पुस्तक सदनमा बेइजिङ् रिभ्यु पत्रिका किनेँ । लालिमा पुस्तक सदन त्यतिवेला झापाली मालेको सम्पर्क स्थल थियो । त्यहीँ जीवराज आश्रीत भेटिए । म त्यतिवेला माक्र्सबादीमा थिएँ । म, आनन्द सन्तोषी राई र एमएस थापालाई पार्टीले कारवाही गरेको थियो । आरोप थियो–मालेको हावामा पञ्चायतको चुनावमा उठेको ।’ त्यो बेला रामसिं रावल, वोर्णबहादुर कार्की, रामबहादुर भण्डारी, हरिश्चन्द्र आचार्य पनि कारवाहीमा परेका थिए । त्यो बेला जीवराज आश्रीतको रणनीति थियो  –हामी सबैलाई मालेमा लैजाने । मलाई पोलिटव्युरो सदस्य दिने, मनमोहन अधिकारी र साहना प्रधानलाई राजनीतिबाट आउट गर्ने । यसको बेग्लै प्रसंग छ ।
म जीवराजसँग भेट भएको कुरा गर्दै थिएँ । त्यो दिन जीवराजसँग भुरुङखेलस्थित जनगायक रामेशका दाजु गोरख श्रेष्ठको घरमा मेरो ४ घण्टा कुराकानी भयो । गणेशमानले भनेको कुरा जीवराजलाई सुनाएँ । उनले भने, ‘पार्टीको महाधिवेशन सकेपछि गणेशमानजीसँग भेट्ने ।’ उनले कमिटमेन्ट गरेपछि म हिडेँ ।
कात्तिक ३ गते मदन भण्डारी र जीवराज आश्रीत मेरो घरमा आउनुभो । र गणेशमानजीसँग भेट्ने कुरा भयो । त्यतिवेला भण्डारी, आश्रीतहरु भूमिगत हुनुहुन्थ्यो । कात्तिकको अन्तिम सातातिर देवनारायण महर्जनको घरमा गणेशमानजी, मदन, जीवराजको भेट भयो । देवनारायण काठमाडौँको जमिन्दारविरोधी किसान आन्दोलनका नेता थिए । देवनारायण र म पनि सँगै थियौँ ।  विहान ९ बजे शुरु भएको कुराकानी बेलुकीसम्म चल्यो । कुराकानीको अन्तिममा मदनले भन्नुभो–तपाईँहरु गणतन्त्रसम्म जाने कि नजाने गणेशमान दाइ ? यदि तपाई जाने हो भने हामी पनि बहदुदलीय प्रतिस्पर्धा मानेर आउँछौ ?  । राजतन्त्र फालौँ ’ गणेशमानले पाखुरा सुर्केर भन्नुभो , ‘ल अब फाल्ने । यत्रैसित । ’ त्यो भेटले नै जनआन्दोलनको सूत्रपात गरेको थियो .
............................................................................
२०६२/०६३को आन्दोलन कसरी सफल भयो ? यसको पनि कहानी छ । त्यो आन्दोलनमा भारतीय कम्युनिष्ट नेता कमरेड हरिकिसनसिं सुरजीतको योगदानलाई बिर्सनु ठूलो अन्याय हुनेछ । २०६१ फागुन ३ गते म सुरजीतको घर नयाँ दिल्लीमा पुगेँ । सुरजीतले भने, ‘क्युँ ऐसा किया राजा ने ? ’ मैले भने, ‘तपाईँको नेतृत्वमा अब पहल गर्नुप¥यो राजा विरोधी लविङ् ।’ उनको नेतृत्वमा भारतमा प्रजातन्त्र पुनर्वहाली सहयोग समिति गठन भयो । त्यो बेला चिनियाँ हतियार आउँदै थियो नेपालमा । बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवशेन पनि हुँदैथियो । भारतबाट प्रकाश करात र सीताराम यचुरी चीन जाने तयारीमा हुनुहुन्थ्यो । मैले सुरजीतलाई भनेँ  ‘कमरेड, तपाईले हु जिन्ताओलाई चिठी लेखिदिनुप¥यो ।’ मेरो आग्रह र परिस्थितजन्य बिषयलाई बुझेर उनले चिठी लेखिदिए । चिठिमा उनले लेखेका थिए ‘कम्युनिष्ट पार्टी र त्यसको सरकारले राजतन्त्रलाई सहयोग गर्ने कुन कम्युनिष्ट दर्शनमा छ ? चिठि लिएर प्रकाश करात र सीताराम यचुरी चीन गए । उनीहरुले चिनियाँ  राष्ट्रपति हु जिन्ताओसँग दुईघण्टा छलफल गरेछन् नेपालको बिषयमा । हु कन्भिन्स भएछन् । त्यसपछि नेपालमा आउन लागेको हतियार रोकियो, चिनियाँ विदेश मन्त्री नेपाल आए । उनले गिरिजाप्रसाद कोइराला, झलनाथ खनालसँग भेटे तर सरकाले माधव नेपालसँग भेट्ने अनुमति दिएन । राजा ज्ञानेन्द्रलाई उनले भेटेर भने, ‘दलहरुसँग सम्झौता गर्नुको विकल्प छैन ।’ त्यसपछि ज्ञानेन्द्र गले । प्रकाश करातको संयोजनमा चीन र भारतीय नेताहरुबीच वार्ता नै भएको थियो । मैले थाहा पाएअनुसार मनमोहन सिंह, सोनिया गान्धी र हु जिन्ताओबीच नेपालको मामिलामा पटकपटक टेलिफोन वार्ता भएको थियो ।   

(कुराकानीमा आधारित)

2 comments:

  1. आदरणीय लोककृष्ण जी लाइ सतत प्रणाम. उहाँ संग यस्ता सान्दर्भिक अनुभवको सागर छ. एमालेको सरकार भएको बेलामा दरबारले कसरि सरकारी संस्थान हरु बाट अनुचित फाइदा लिन्थ्यो भन्ने कुराको पर्दाफाश गरिदिने नायक हुनुहुन्छ उहाँ. ०४७ मा पंचायती निर्दलीय सकृय राजतन्त्रलाई विश्वनाथजीको संविधानले नामेट त पाय्रो तर कतिपय बुंदामा प्रष्टता नभएको ले त्यसैलाई बहाना बनाएर ज्ञानेन्द्र ले खेले. बहुदल लगत्तै को माथिल्लो संसद मा राजाका मान्छे छानिए, संवेदनशील देशका राजदुतहरु पनि उदार भनिएका राजा बिरेन्द्रले नै छाने. दरबारकै इशारामा गिरिजा र माधव नेपालले ०४७ को संबिधान विश्वको उत्कृष्ट संबिधान हो मात्र भनेनन्, त्यसमा कुनै पनि संशोधन गर्न नपर्ने भनेर सार्वजनिक रुपमा हुंकार गरे. संबिधानमा समयानुकुल संशोधन गर्नु पर्छ भन्ने कुरा ०५७-०५८ तिर शेर बहादुर देउबा र उल्लेखित नेताहरुले राम्ररी मनन गर्न थालेका थिए. तर जनताका सामुन्ने गएर, सार्वजनिक रुपमा उनीहरुको चेतनशील साथ सहयोगमा राजनीति गर्ने चरित्र ति सबै राजनीतिज्ञ हरुले गुमाई सकेका कारण कुरा बुझेर पनि उनीहरु अगाडी बढ्न सकेनन. त्यहि लम्पसार पर्ने चरित्र बाट उदिग्न भएर एमाले, कांग्रेस का धेरै असल र संघर्षशील कार्यकर्ता हरु माओवादी मा लागे.उदिग्नताको परिणति उग्रता हुन्छ भन्ने कुरा मनोविज्ञान ले भन्छ. त्यसरी निराश भएर तत्काल परिवर्तनको खोजीमा माओवादीमा प्रवेश गरेका एमाले कांग्रेस का नेता -कार्यकर्ता हरुले एमाले-कांग्रेस का मान्छेका बिरुद्ध दुर्दान्त तवरले आक्रमण गर्ने गर्थे भन्ने कुरा द्वन्द्व कालिन घटनाको व्यहोरा हेर्दा छर्लंग बुझिन्छ.
    आफ्ना कार्यकर्तामा निराशा भर्ने, सत्य अङ्गीकार गरेर जनताको परिचालन गर्दै परिवर्तन को बाहक बन्नु पर्ने नेताहरु राजा, सामन्त र पुर्व शासक समक्ष लम्पसार पर्ने, उनीहरु संग साँठ-गांठ गर्दै कसरि हुन्छ सत्ताको कुर्सीमा पुग्न मरिहत्ते गर्ने अनि अहिले सबै दोष माओवादीको शीरमा हालिदिएर पानी माथिको ओभानो बन्न खोज्ने कुरा किमार्थ मिल्दैन. माओवादीले बिल्कुल ठिक गरेनन तर बेठिक गर्न आवश्यक सबै बेथिति र त्रास को जग बसालिदिने नेताहरुले हिम्मतका साथ् सत्य स्वीकार नगरुन्जेल राजनीतिमा पलेटी कस्नु भनेको उनीहरुको चरम अनैतिकता को प्रमाण हो.
    सुबोधराज प्याकुरेल,
    बिराटनगर.
    हाल: ललितपुर.subodh.freenep@gmail.com

    ReplyDelete
  2. Many Thanks Subodh Sir for your valuable and thoughtful comment.
    Editor, Nepaldoor.com

    ReplyDelete

top sidebar ads

समाचार

समाचार

recent posts comments tab

Blog archive