Monday, 29 April 2013

आगलागी मौसममा दमकल अभाव, देशभर जम्मा ४६ दमकल

-सुरेन्द्र भारद्वाज-
    काठमाडौं । मानव बस्तीमा हुने आगलागी नियन्त्रणका लागि सामान्यतया कति दमकल चाहिन्छ होला ? अन्तर्राष्ट्रिय मान्यता अनुसार  साठी हजार जनसंख्याका लागि एउटाका दरले दमकल र सोहीअनुसार जनशक्ति व्यवस्था गर्नुपर्छ । हाम्रो मुलुकमा भने जम्मा ४६ वटा दमकल छन् । जनसंख्याका आधारमा काठमाडौं उपत्यकामा मात्रै कम्तीमा ६० वटा दमकल आवश्यक पर्छ ।
राणा प्रधानमन्त्री जुद्धशमशेरले १९९४ सालमा  जुद्ध बारुणयन्त्र कार्यालय स्थापना गरेका थिए । सुरुमा काठमाडौंमा स्थापना भएको बारुणयन्त्र २००१ सालमा ललितपुर र भक्तपुरमा विस्तार भयो । आवश्यकताअनुसार भौतिक सुविधा र जनशक्ति भने बढ्न सकेको छैन । जति छिटो आगो नियन्त्रण गर्न सकिन्छ, त्यति नै क्षति कम हुन्छ । दमकल र जनशक्ति अभावकै कारण समयमा आगलागी नियन्त्रण गर्न सक्ने अवस्था नभएको जुद्ध बारुणयन्त्रका अधिकारीहरू बताउँछन् । 
हाल काठमाडौंको जुद्ध बारुणयन्त्रसँग ८, ललितपुरमा २, भक्तपुर एक र देशका ३२ वटा नगरपालिकामा एक÷एक वटा दमकल छन् । नेपाली सेना र नेपाल प्रहरीसँग एक÷एक र नागरिक उड्डयन प्राधिकरणसँग ३ वटा दमकल छन् ।
प्रहरीका अनुसार गत वर्ष देशभरमा १ हजार ४ सय ७० आगलागीका घटना भए । ती घटनामा ७३ जना मानिसको ज्यान गयो भने १ सय ७९ जना घाइते भए ।  यसैगरी १ हजार ४ सय ५४ चौपाया मरे । काठमाडौंमा २ सय ३७, भक्तपुरमा ४९ र ललितपुरमा ३८ वटा घर जलेको प्रहरी प्रधान कार्यालयको रेकर्डमा उल्लिखित छ । 
आगलागीका घटना धेरै भइरहे पनि नियन्त्रणका लागि बारुणयन्त्रको संख्या र जनशक्ति वर्षौंदेखि बढ्न सकेको छैन । यसमा सरकार दोषी रहेको वारुणयन्त्रका कर्मचारीहरू बताउँछन् । 
जुद्ध बारुणयन्त्र काठमाडौंका प्रमुख लिलाराज गाछा मगरले आगलागी नियन्त्रणको गुरु योजना बनाएर सरकारलाई बुझाएको बताए । उनका अनुसार काठमाडौंमा महाराजगञ्ज, कुलेश्वर, कोटेश्वर र नयाँ बसपार्क क्षेत्रमा बारुणयन्त्र कार्यालय स्थापना गर्नु जरुरी छ ।
बारुणयन्त्र कार्यालय गृहमन्त्रालय मातहतमा थियो । चार वर्षदेखि ललितपुर र काठमाडौंका वारुणयन्त्र नगरपालिका मतहत छन् । भक्तपुर उपमहानगरपालिकाले भने वारुणयन्त्र कार्यालय आफ्नो मतहत राखेको छैन । बारुणयन्त्रका कर्मचारीहरू स्थानीय निकाय र सरकारले अलगअलग दमकल राख्नुपर्ने बताउँछन् । काठमाडौं बारुणयन्त्रका प्रमुख मगरका अनुसार स्वायत्त निकाय र सरकारबीच तालमेल हुन नसकेमा आफ्ना मातहतका कार्यालय परिचालन गर्न सकिन्छ ।
स्थानीय विकास मन्त्रालयले यो वर्ष काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा एक बारुणयन्त्र कार्यालय स्थापना गर्ने भएको छ । त्यसका लागि २ करोड रुपैयाँ छुट्याइएको काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत केशवबहादुर अधिकारीले बताए । उनका अनुसार एउटा कार्यालय स्थापना गर्न करिब साढे २ करोड रुपैयाँ खर्च हुन्छ, नपुग रकम महानगरपालिकाले ब्यहोर्ने भएको छ । कार्यकारी अधिकृत अधिकारीले बर्सेनि एक–एक कार्यालय थप गर्दै जाने तयारी रहेको बताए ।
एउटा बारुणयन्त्र कार्यालयका लागि कम्तीमा १२ जना आवश्यक पर्छ । हाल देशमा करिब २ सयजना दक्ष अग्नि नियन्त्रक छन् । उपत्यका काठमाडौं, ललितपुर र भक्तपुरबाहेकका नगरपालिकामा राखिएका दमकलका लागि पर्याप्त जनशक्ति छैन । नगरपालिकाहरूले तीन–चारजना अग्नि नियन्त्रक राखेका छन् । 
काठमाडौंको बारुणयन्त्रका दमकल र जनशक्ति आगलागी नियन्त्रणका लागि काभ्रे, धादिङ र नुवाकोटसम्म पुग्ने गरेका छन् । त्यहाँ पुग्दासम्ममा आगो धेरै फैलिसक्ने र समयमै नियन्त्रणमा लिन नसकिने भइसक्छ । दमकल र अग्नि नियन्त्रक जति ढिलो पुग्छन् त्यति नै बढी क्षति हुन्छ । उपत्यकाका असन, इन्द्रचोक, भक्तपुर, मंगलबजारजस्ता स्थानमा साँघुरा सडक र यत्रतत्र छरिएका तार, पोलका कारण दमकल प्रवेश गर्न समेत नसक्ने अवस्था छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete

नेपालकी प्रथम महिला राजदुत विन्देश्वरी रहिनन्

पर्शुराम काफ्ले    (नयाँ पत्रिका दैनिकमा १८ पुस २०८१ मा प्रकाशित)  नेपालको पहिलो महिला राजदूत तथा परराष्ट्र सेवाकै पहिलो महिला अधिकृत बिन्दे...