Wednesday 10 April 2013

सगरमाथा चढ्दै छन् नेपाल–भारत सैन्य टोली (आरोही सैनिकको नामावलीसहित)

आरोही टोलीका नेता भारतीय मेजर रणवीर र नेपाली मेजर सुनिल (बायाँबाट पहिलो र दोस्रो)

काठमाडौं (नेपाल डोर) । विश्वको सर्वोच्च शिखर सगरमाथामा मानव पाइला पुगेको ६०औं वर्षगाँठका अवसरमा नेपाली र भारतीय सेनाका दुई दर्जन सैनिक सम्मिलित टोली सगरमाथा आरोहणमा जाँदैछ । सगरमाथा आरोहण, सरसफाइ तथा म्याराथन दौडका लागि दुवै मुलुकको संयुक्त टोली बिहीबार लुक्लातर्फ प्रस्थान गर्दैछ । संयुक्त आरोहण टोलीलाई मंगलबार प्रधानसेनापति गौरवशमशेर राणाले चैत २७ गते नेपाल, भारत, नेपाली र भारतीय सेनाको झण्डा हस्तान्तरण गरेका छन् ।
प्रथमपटक सगरमाथा आरोहण गरिएको ६० वर्ष पूरा भएको अवसरमा दुवै मुलुकको संयुक्त टोलीले सगरमाथा आरोहण र सगरमाथा सरसफाइ अभियान सञ्चालन गर्न लागेको हो । ‘यसले नेपाली र भारतीय सेनाबीच रहंदै आएको अत्यन्त गहिरो सैनिक सम्बन्ध तथा यस प्रकृतिको साहसिक संयुक्त क्रियाकलापले एक नयाँ आयाम थप्नेमा म विश्वस्त छु,’ मंगलबार जंगी अड्डामा पर्वतारोही सैनिकलाई बिदाइ गरेका प्रधानसेनापति राणाले भने । 
नेपाली नागरिक तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका एडमण्ड हिलारीले सन् १९५३ मे २९ मा सगरमाथा शिखरको पहिलोपटक सफल आरोहण गरेका थिए । सगरमाथाको शिखर पुग्ने पहिलो आरोही उनीहरू नै थिए । नेपाली र भारतीय सैनिक टोलीले यस वर्षको मे २९ मा नै सगरमाथा आरोहण गर्ने लक्ष्य लिएको आरोही टोलीका सदस्यहरू बताउँछन् ।
भारतीय सेनाका स्थल सेनाध्यक्ष विक्रम सिंहले चैत २१ गते नेपाल, भारत तथा दुवै मुलुकका सेनाको झण्डा हस्तान्तरण गरेर दुवै मुलुकका आरोही सैनिकलाई शुभकामना दिएका थिए । नयाँ दिल्लीमा आयोजित बिदाइ समारोहमा नेपाली सेनाका सैनिक विनय महानिर्देशक उपरथी भिक्टर शमशेर राणा सहभागी थिए । ‘दुवै सैनिक टोलीले सगरमाथा आरोहणका लागि सबै तयारी पूरा गरेका छन्,’ उपरथी राणाले मंगलबार जंगी अड्डामा भने ।
नेपाली टोलीका प्रमुख मेजर सुनिल सिंह राठौरले ७० दिन अवधिको सगरमाथा आरोहण र सरसफाइ कार्यक्रममा नेपाली सेनाका तर्फबाट १४ सदस्यीय टोली र भारतीय सेनाका तर्फ २० सदस्य सहितको टोली सहभागी रहने बताए । तर, सबै टोलीले सगरमाथा आरोहण गर्ने छैनन् ।  आरोहण, सरसफाइ कार्यक्रम र म्याराथनबारे ब्रिफिङ गर्दै नेपाली मेजर राठौरले बिहीबार लुक्लाबाट टोली पैदल सगरमाथा वेश क्याम्पतर्फ प्रस्थान गर्ने जानकारी दिए । 
टोलीमा नेपाली सेनाका तर्फबाट राठोर र भारतीय सेनाका तर्फबाट मेजर रणवीर सिंह जमवाल टोली प्रमुख छन् । आरोही टोलीमा सहभागीहरूमा भारतीय सेनाका मेजर मनोज जोशी, क्याप्टेन नितिन आबुजा र भानु पाठक, सुवेदार राजेन्द्र सिंह जलाल र महावीर सिंह, हवल्दार रिन्जिन दोर्जे, उनीकरण एपिभी, चटर सिंह, नायक हजरी लाल र मुकेश कुमार डुबी, लेसनायक विष्णुबहादुर राना, मिङमार गुरुङ, सुनील चौहान र सुकवीर, राइफलम्यान दोर्जे ग्याल्जिन, शिवराज सिंह, सोनाम छन् । यीमध्ये राना र गुरुङ भारतीय सेनाको गोर्खा राइफल्समा कार्यरत छन् । उनीहरूले यसअघि पनि आठ हजारभन्दा अग्ला धेरै हिमाल आरोहण गरिसकेको मेजर सिंहले जानकारी दिए ।
नेपाली सैन्य टोलीहरूमा मेजर राठौरबाहेक मेजर आदित्य कार्की, क्याप्टेन समीरबहादुर बस्नेत, बबिनकुमार खड्का, किशोर अधिकारी, सेकेन्ड लेफ्टिनेन्ट भीमबहादुर भुजेल, कृष्णभक्त पौडेल, सर्जेन्ट ज्ञानेन्द्र लौडारी, शम्भु घिमिरे, कृष्णसिंह ठकुरी, कर्पोरल धीरेन्द्र शाही, रमेश सदौला, मदन थपलिया र टेकबहादुर थापा छन् । नेपाली टोली प्रमुख राठौरले यसअघि सगरमाथाको सफलतापूर्वक आरोहण गरिसकेका छन् ।
‘हामी सगरमाथा आरोहण गर्न खोजेका मात्र होइनौँ, सरसफाइका लागि पनि जाँदैछौँ’ भारतीय सैन्य टोलीका प्रमुख मेजर रणवीरले जंगी अड्डामा पत्रकाहरूसँग भने । दुई मुलुक र सेनाबीच सुमधुर सम्बन्धको उदाहरणका लागि आफूहरू सगरमाथा जान लागेको उनले बताए ।
नेपाल र भारतको संयुक्त सैन्य टोलीले सन् २००३ मा सगरमाथा आरोहण गरेको थियो  । त्यतिबेला नेपाली सेनाको नेतृत्व लेफ्टिनेन्ट कर्नेल सूर्यसेन ठकुरीले गरेका थिए भने भारतीय सैन्य टोलीको नेतृत्व त्यहाँका लेफ्टिनेन्ट कर्नेल अशोक अभयले गरेका थिए ।
नेपाली टोलीका लियाजन अफिसर क्याप्टेन बबिनकुमार खड्काले दुवै सेनाका १२÷१२ जनाले सगरमाथा आरोहणका लागि अनुमति पाएको जानकारी दिए । दुवै सेनाका टिम नेतालाई पनि आरोहणका लागि अनुमति भएको तर उनीहरूले परिस्थिति हेरेर निर्णय गर्ने बताए ।
‘हामीलाई अहिले मुख्य चुनौती भनेको मौसम नै हो, पहिला रुट खोल्ने त्यसपछि फिक्स रुट तय गरेर पूर्णरूपमा विश्वस्त भइसकेपछि मात्रै माथि (सगरमाथामा) चढ्ने हो,’ क्याप्टेन खड्काले भने । चैत २९ गते सैनिक जहाजबाट लुक्ला गएपछि सैन्य टोली सगरमाथा आरोहणका लागि पैदल हिँड्ने कार्यक्रम छ । ‘पहिलोपटक सगरमाथामा मानव पाइला पुगेको ६० वर्ष पुगेको उपलक्ष्यमा हाम्रो टोलीले सगरमाथाको शिखरमा पुग्ने लक्ष्य लिएको छ,’ खड्काले भने । टोली दक्षिणी मोहडाबाट सगरमाथा चढ्नेछ ।
सगरमाथाको शिखरबाट ओर्लिएपछि १५ जेठमा संयुक्त म्याराथन पनि आयोजना गरिएको छ । बेसक्याम्पदेखि नाम्चेबजारसम्म म्याराथन डौड आयोजना हुने सेनाले जनाएको छ । सैनिक टोलीले सगरमाथाको थुप्पादेखि आधारशिविरसम्म सरसफाइ गर्ने भएको छ । ‘त्यहाँ भेटिएका शवदेखि फोहोरसमेत लिएर आउने हाम्रो लक्ष्य छ, कम्तीमा पनि ९–१० टन फोहोर निकाल्छौँ,’ क्याप्टेन खड्काले भने । 
प्रतिक्रिया, टिप्पणि वा सुझाबका लागि इमेल गर्नुस्-  npdoor@gmail.com  

No comments:

Post a Comment

top sidebar ads

समाचार

समाचार

recent posts comments tab

Blog Archive