दक्षिण सुडानमा नेपाली सेना

  -शरच्चन्द्र भण्डारी-
    रुम्बेक (दक्षिण सुडान) । डेढवर्षअघि सुडानबाट स्वतन्त्र भएको विश्वको सबैभन्दा कान्छो मुलुक गणतन्त्र दक्षिण सुडान झण्डै २८ वर्ष लामो गृहयुद्धबाट मुक्त भएपनि एके–४७ जस्ता घातक हतियार र जातीय द्वन्द्वको चपेटामा फसिरहेको  छ । 
    साना–ठूला हातहतियार नभएका कुनै नागरिक यो मुलुकमा भेटिदैनन् भने डिङ्का र मुर्ले समुदायबीचको द्वन्द्व कायमै छ – छ वर्ष लामो शान्तिप्रक्रियाको समाप्ति पछि पनि ।
    सन् २००५ को जनवरी ६ मा विस्तृत शान्ति सम्झौतापछि त्यसैवर्षको जुलाई ९ मा स्वायत्त भएको दक्षिण सुडानका लडाकुले  आफूसँग रहेका एके–४७ जस्ता घातक शस्त्र आफै राख्दा देशमा पूर्ण शान्ति कायम हुन सकेको छैन ।
    पाँच वर्षअघिको जनगणनाअनुसार ८२ लाख ६० हजार  ४९० जनसङ्ख्या रहेको यो मुलुकमा सैनिक मात्र एक लाख ७५ हजार छन्भने ५० हजारको हाराहारीमा प्रहरी छन् । सैनिक र प्रहरी शिविर वा सैन्य इलाका स्थापना गरेर बसेका छैनन् । शस्त्रअस्त्रसहित आ–आफ्ना घरमा बस्ने उनीहरूको क्रोधको पारो चढ्ने वित्तिकै जोसुकैले मृत्यु वरण गर्नुपर्छ– सरकारी, गैरसरकारी, सैनिक, गैरसैनिक वा राष्ट्रसङ्घीय कर्मचारी नै किन नहुन् ।
    द्वन्द्वोत्तर दक्षिण सुडानमा शान्ति सुव्यवस्था कायम गर्न तथा यहाँको समग्र आर्थिक एवम् सामाजिक विकासमा सघाउन जुलाई ८, २०११ मा संयुक्त राष्ट्रसङ्घले यहाँ स्थापना गरेको राष्ट्रसङ्घीय ‘मिसन’ अनमिसलाई लक्ष्यित उपलव्धि हासिल गर्न निकै उकालो परेको छ ।
    विश्व शान्ति स्थापनामा अग्रणी भूमिका निर्वाह गर्दै आएको नेपाली सेनालाई अनमिसमा सामेल गराएपछि भने मिसनको लक्ष्य हासिलमा आशावादी हुने पर्याप्त आधार बनेका छन् । नारायण दल गणको नेतृत्व गर्दैै  ८५०  सैनिक अधिकृत एवम् जवानसहित प्रमुख सेनानी मानबहादुर महराले यहाँ काम थालेपछि स्थानीय बासिन्दाका साथै सरकारी र अन्तर्राष्ट्रिय निकाय उत्साहित भएका छन् ।
    बयरका बुट्यान फाँडेर यहाँ स्थापना गरिएको नेपाली सेनाको गण सबैको आशा र भरोसाको केन्द्र बनेको छ । पहिलो मिसन भएकाले पूर्वाधार निर्माणलगायत शून्यबाट सुरु गरेको नारायण दल गणले ४८ घन्टामा आवास गृहमात्र बनाएन एक सातामा हतियार भण्डारण गृह, पानी प्रशोधन केन्द्र, सैनिक शिविर एवम् कार्यालय स्थापना गरेर नेपाली सेनाको कार्य क्षमतालाई नमुनाका रुपमा प्रस्तुत गर्न सफल भयो ।
    दक्षिण सुडानका लागि अमेरिकी राजदूतलाई आक्रमणकारीहरूको पञ्जाबाट सकुशल मुक्त गरेर अन्तर्राष्ट्रिय जगतबाट स्याबासी पाएको नेपालको शान्ति सेनाले स्थानीयलाई कृषि कर्म गर्न अभिप्रेरित गर्नुका साथै समय–समयमा स्वास्थ्य शिविर सञ्चालन गरेर उनीहरूको मन जित्नु नेपाल र नेपालीका लागि गौरव र गर्वको विषय हो । केही साताअघि जोङ्ले राज्यमा अमेरिकी राजदूतको अपहरण प्रयाससमेत भएको थियो ।
    विश्व मानचित्रमा  १९३ औं राष्ट्रका रुपमा उदाएको दक्षिण सुडानका ६० प्रतिशत भूभागमा नेपाली सेनाले सेवा पु¥याउँदै आएको बताउनुहुन्छ– प्रमुख सेनानी महरा । पैतालिस डिग्रीभन्दा माथिको तापक्रममा काम गर्नु आफू र आफ्नो गणका सदस्यका लागि अति चुनौतीपूर्ण कार्य भए पनि दिनरात नभनी सुम्पिएको जिम्मेवारी आफूहरूले सफलतापूर्वक सम्पादन गरेको बताउनुभयो ।
    दक्षिण सुडानलाई आन्तरिक तथा बाह्य जोखिमबाट जोगाई शान्ति सुव्यवस्था कायम गर्ने, सर्वसाधारणको सुरक्षा, आर्थिक एवम् सामाजिक विकासको वातावरण तयार गर्ने, असल शासनको प्रवद्र्धन, राष्ट्रिय तथा स्थानीय तहमा सरकारका साथै मुलुकका सुरक्षा निकायलाई सुदृढ बनाउन आवश्यक सहयोग गर्नु नेपाली सेनाको दायित्व भएको उहाँले बताउनुभयो ।
    छ लाख १९ हजार स ७४५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको भूपरिवेष्टित मुलुक दक्षिण सुडानका १० राज्यमध्ये तीनवटामा नेपाली सेना कार्यरत छ । जगेडा गणको रुपमा रहेको नेपाली शान्ति सेनाले जोखिमपूर्ण राज्यहरू लेक्स, जोङ्ले  र माथिल्लो नाइल राज्यमा फौज तैनाथ गरी शान्ति स्थापनाको गहन जिम्मेवारी सम्भाली रहेको छ ।
    हाल दक्षिण सुडानमा नेपालसहित बङ्गलादेश, कम्बोडिया, चीन, भारत, जापान, केन्या, मङ्गोलिया र रुवाण्डाका सैनिक कार्यरत छन् । भारत, केन्या, मङ्गोलिया र रुवाण्डाका सैनिकले गण स्थापना गरेर काम गरिरहेका छन्भने अन्य मुलुकले पूर्वाधार निर्माणलगायतका क्षेत्रमा सघाइरहेका छन् ।
    अनमिसमा आबद्ध भएर विश्वका दुईदर्जनभन्दा बढी देशका छ हजार  ४७८ सैनिक,  १४४ सैनिक सम्पर्क अधिकृत र पाँच हजार  ५५४ जना प्रहरीले काम गरिरहेका छन् । अनमिसका अनुसार  ५२ जना अन्तर्राष्ट्रिय गैर सैनिक, एकहजार  ३४९ स्थानीय गैर सैनिक र  ९७ जना राष्ट्रसङ्घीय स्वयमसेवक दक्षिण सुडानमा शान्ति कायम गर्ने राष्ट्रसङ्घीय प्रयासमा जुटेका छन् ।    सन् १९५५ मा राष्ट्रसङ्घको सदस्यता पाएको नेपालले १२ जुन १९५८ मा राष्ट्रसङ्घको आह्वानमा पहिलोपटक लेवनानमा नेपाली सैनिकलाई पर्यवेक्षकको रुपमा खटाएको थियो । हाल विश्वका ३९ स्थानमा उक्त संस्थाको आग्रहमा नेपाली सेना परिचालन भएका छन् ।  रासस

Comments

Popular posts from this blog

Importance of Pharm. D study in Nepal

Climate and Clean Air Coalition (CCAC) meets in Kathmandu to tackle air pollution

डा.भट्टराई, 'क्रान्ति'को कार्यकाल कति हो ?