Wednesday, 3 April 2013

विदेशिने बढे, रेमिट्यान्स घट्यो

-शिवहरि खतिवडा -
काठमाडौं, चैत १९ । वैदेशिक रोजगारमा जानेहरुको संख्या दिनदिनै बढ्दै गएपनि स्वदेश भित्रिने रेमिट्यान्समा भने गिरावट आएको छ । विगत दुई तिन वर्षदेखि रेमिट्यान्स कम्पनी मार्फत आउने रेमिट्यान्समा कुनै सुधार नआएको रेमट्यान्स कम्पनीहरुको भनाइ छ । 
नेपालीहरुले हुण्डीको प्रयोग बढाएका तथा विदेशमै रकम सञ्चित गर्न थालेकाले रेमिटयान्स घटेको हुनसक्ने रेमिट्यान्स कम्पनी सञ्चालहरु बताउँछन् । रेमिट कम्पनीले हुण्डीले  उच्च विनिमयदर दिने दिने भएकोले पनि नेपालीहरु हुण्डीतिर आकर्षित भएको अनुमान छ । हुण्डीसंञ्चालकले विनियम दरमा २ रुपैयाँसम्म बढी दिएर रकम लिने गरेको रेमिट्यान्स कम्पनी सञ्चालकहरु बताउँछन् । देशमा राजनीतिक अस्थिरताका कारणले पनि रेमिट्यान्स घटेको अनुमान छ ।
रेमिट्यान्स कम्पनीहरुले रेमिट आउने स्रोतहरु बढेको भए पनि कारोबारमा उल्लेख्य सुधार आउन नसकेको बताएका छन् । नेपालमा एक सय ९० मुलुकबाट वैधानिक संयन्त्रबाट रेमिट्यान्स कारोबार गर्दै आएको वेस्टर्न युनियनले कारोबारमा थप सुधार आउन नसकेको जनाएको छ । ‘हामी नियालिरहेका छौं, तीन वर्षदेखि रेमिट्यान्स आयमा उल्लेख्य सुधार हुन सकेको छैन,’ वेस्टर्न युनियनका नेपाल र भुटान अनुसन्धान विशेषज्ञ कविन्द्र श्रेष्ठले भने ‘विदेशिएको व्यक्तिले सोही देशमा रकम खर्च गर्ने तथा हुण्डीको प्रयोग गर्ने बानी गरेकोले पनि यसो भएको हुन सक्छ ।’ 
नेपाल राष्ट्र बैंकको तथ्याङकले पनि रेमिट्यान्स रकमको बृद्धिदरमा गिरावट आएको जनाएको छ । गत माघसम्मको तथ्यांकलाई आधार मान्दा रेमिट आयमा यो वर्ष १९ दशमलव ६ प्रतिशत वृद्धि भएको छ । गत वर्ष यस्तो वृद्धिदर ३५ प्रतिशतभन्दा बढी थियो । यो वर्ष नेपालमा २ खर्ब २५ अर्ब ६ करोड रुपैयाँ रेमिट भित्रिएको छ । मासिक हिसाबमा पनि यो वर्ष पुसको तुलनामा माघमा २० प्रतिशतले गिरावट आएको छ ।
विदेशिन नेपालीहरुको सख्यामा भने वृद्धि हुँदै गएको छ । वैदेशिक रोजगार विभागका अनुसार अनुसार गत वर्षको तुलनामा विदेश जाने कामदारको संख्या बढेको छ । गत वर्ष मंसिरसम्ममा ३ लाख ५४ हजार ७ सय १६ जना विदेशिएका थिए भने यो वर्ष ३ लाख ८४ हजार ६ सय ६५ जना रोजगारीका विदेश गएका छन् । 
सामान्यतया विदेश गएको एक महिनापछिदेखि  नियमित रेमिट्यान्स आउन थाल्छ । ‘एक दुई महिनापछि उनीहरुले आफू जाँदा लागेको ऋण तिर्न पनि नियमित रकम पठाउने गर्दछन्,’ श्रेष्ठ भन्छन् ‘ऋण तिरेपछि नेपालीले नियमित रकम पठाउन छोड्न पनि सक्छन् ।’
राष्ट्र बैंकको तथ्याङकमा पुष र माघमा रेमिट्यान्स घटेको छ । मंसिर सबैभन्दा बढी नेपाली रोजगारीका लागि विदेशिएका छन् । दशै तिहार तथा अन्य चाड पर्वको समयमा नेपाल भित्रिने रकममा हृवात्तै बढ्ने गर्छ । अहिले विदेशमा कामको सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या वैधानिक रुपमा १७ लाख भन्दा माथि छ । सरकारले स्वीकृति नदिएका देशमा अवैधानिक रूपमा समेत थुप्रै छन् । विभागका अनुसार विदेश जाने नेपाली कामदारहरुको संख्यामा यो वर्ष घटेको आएको छैन । विभागबाट साउन महिनामा ३२ हजार ६ सय ८५, भदौंमा २८ हजार ८७, असोजमा २५ हजार ६ सय १७, कात्तिकमा ३४ हजार ९ सय ४७, मंसिरमा ४० हजार ८ सय ६४ र पुसमा ३७ हजार ४ सय ८१ गरी जम्मा २ लाख ३७ हजार ६ सय ८६ जना नेपाली रोजगारीका लागि विदेश गएका छन् । 
नेपालमा पछिल्ला वर्षहरुमा बजेटको करिब ५५ प्रतिशत रकम रेमिट्यान्सबाटै आउने गरेको छ तर सो रकमको उत्पादन मुलक क्षेत्रमा खर्च हुन सकेको छैन ।
हिमालय टाइम्स दैनिक, चैत २१, २०६९

No comments:

Post a Comment

Book Discussion “Seventy Years of Nepal-China Relations: A Model for Civilizational Friendship”

Kathmandu: The Nepal Institute for International Cooperation and Engagement (NIICE) organized a high-level seminar on the book discussion ti...