Saturday, 6 April 2013

गाईसँग छोरी साट्ने मुलुकमा के गर्दैछ सेना ?

-शरच्चन्द्र भण्डारी-
 

जुबा (दक्षिण सुडान) । तपाइँले कहिल्यै गाईसँग छोरी साटेको वा कन्याका मातापितालाई दाइजो दिएको सुन्नुभएको छ ? डेढवर्षअघि सुडानबाट स्वतन्त्र भएको विश्वको सबैभन्दा कान्छो मुलुक गणतन्त्र दक्षिण सुडानमा गाई नभई कुनै पुरुषको बिहे हुँदैन ।
     झन्डै २८ वर्ष लामो गृहयुद्धबाट मुक्त भएपनि जातीय द्वन्द्वको चपेटामा फसिरहेको यो मुलुकका अधिकांश युवासँग एके–४७ जस्ता घातक हतियार छन्, तिनै हतियारका भरमा उनीहरू गाई चोर्छन् र श्रीमती भित्र्याउँछन् । र, त्यसमा गौरव पनि गर्छन् ।
एक्काइसौँ शताब्दीमा पनि ढुङ्गे युगको कथाझै लाग्ने यो देशमा सबैभन्दा धेरै गाई हुने व्यक्ति सर्वाधिक धनी मानिन्छ र विवाह गर्न नभई नहुने गौधन हात पार्न अविवाहित युवापुस्ता एकअर्कालाई मार्न र मर्न रत्तिभर हिचकिचाउँदैन ।
खुँडा र भालाजस्ता घरेलु हतियार हुन् वा एके–४७, सर्वाधिक वैभवशाली बन्ने होडमा गाई नहुनेहरू दलबलसहित गोठगोठमा पुगेर हीरामोती र मोटरकारभन्दा पनि महँगा ती गाई आफ्नो स्वामित्वमा पार्न मर्नेमार्ने सङ्ग्राममा उत्रिन्छन् ।
गाईका लागि लड्नेहरूसँग धेरै दिन त्यो धन हुँदैन । अर्कैले चोरी सकेको हुन्छ । उनीहरू गाईको मासु पनि खाँदैनन् र मार्दैनन् पनि । गाईको प्रयोजन–सासूससुरालाई दाइजो दिनुमात्र हो । स्थानीय प्राथमिक विद्यालयका शिक्षक अब्राहम आफ्नो मुलुकको विचित्रको संस्कारबारे जानकारी दिँदै भन्नुहुन्छ– धेरै पढेकी, नोकरी भएकी र सुन्दर कन्याका लागि धेरै गाई दिनुपर्छ । छोरी पाउनु दम्पतिका लागि बरदान हो । भविष्यमा उ बाआमालाई धेरै गाई दिएर श्रीमान्को घर जान्छे । ‘धेरै छोरी धेरै गाई अनि धेरै सम्पत्ति’– छोरी र गाईको महत्व दर्शाउँदै उहाँले भन्नुभयो ।
डिङ्का र मुर्ले समुदायबीचको द्वन्द्व कम गर्दै सात लाखको हाराहारीमा रहेका शरणार्थीलाई आक्रमणकारीबाट जोगाउनुपर्ने चुनौतीपूर्ण कार्यका साथै नोभेम्बरदेखि मार्चसम्म हुने गाईचोरीसम्बन्धी काटमार हुन नदिन हम्मेहम्मे पर्ने गरेको बताउनुहुन्छ राष्ट्रसङ्घीय ‘मिसन’ अनमिसकी लेक्स राज्यस्थित समन्वयकर्ता सुनयना लो ।
द्वन्द्वोत्तर दक्षिण सुडानमा शान्ति सुव्यवस्था कायम गर्न तथा यहाँको समग्र आर्थिक एवम् सामाजिक विकासमा सघाउन जुलाई ८, २०११ मा संयुक्त राष्ट्रसङ्घले यहाँ स्थापना गरेको राष्ट्रसङ्घीय ‘मिसन’ अनमिसमा सोही समयदेखि सामेल भएको नेपाली सेनाको प्रधान कार्यालय पनि लेक्स राज्यमा स्थापना भएको छ ।
आफ्नो कार्यक्षेत्र पर्ने राज्यमा नेपाली सेनाको मुख्यालय रहेकामा हर्षित उहाँ जगेडा सैन्यबलको रुपमा रहेका नेपाली शान्ति सैनिक अत्यन्त व्यावसायिक एवम् कामप्रति समर्पित पाएको बताउनुहुन्छ ।
आर्थिक दृष्टिले जर्जर भएको यो मुलुकको विकास–निर्माणका काममा योगदान गर्न नेपाली सेनाले ‘इञ्जिनियरिङ’ पशुस्वास्थ्य सेवाको पनि विस्तार गनु वाञ्चनीय भएको उहाँले बताउनुभयो ।
नेपाली सेनाको नारायण दलका गणपति प्रमुख सेनानी मानबहादुर महरा नेतृत्वको ८५० सदस्यीय शान्ति सैनिकको अनमिसमा आबद्ध सबैले मुक्त कण्ठले प्रशंसा गरेका छन् ।
अनमिसका उपसैन्य कमाण्डर असित मिस्त्री झन्डै एक वर्षको अवधिमा नेपाली शान्ति सेनाले लिएको कार्यक्षेत्रमा मानवीय क्षतिका घटना नहुनु, दिएको जिम्मेवारी पूर्ण व्यावसायिक ढङ्गले पूरा गर्नु नेपाली टोलीको विशेषता भएको बताउनुभयो ।
अनमिसका ‘चिफ अफ स्टाफ’ स्टेफेन किल प्याटरिक पनि नेपाली सेनाको कामबाट प्रभावित हुनुहुन्छ । उहाँ भन्नुहुन्छ– अन्य सैन्य बलले गर्न नसकेका काम नेपालीले गरेर देखाएका छन् । नेपाली शान्ति सैनिक दक्षिण सुडानमा दृष्टान्तका रुपमा रहेका उहाँ उल्लेख गर्नुहुन्छ ।
बिरामी पर्दा चिकित्सक खटाएर र गाई चोरी हुन नदिन भारी मात्रामा सैनिक परिचालन गरेर स्थानीय जनताको मन जितेको नारायण दलका गणपति महराले त्यहाँको राज्य सरकारबाट नेपाली सेनालाई प्रशंसापत्र प्राप्त हुनु नेपालका लागि प्रतिष्ठाको विषय भएको बताउनुभयो ।
‘प्रतिकूल अवस्थामा शान्ति सुव्यवस्था कायम गर्न हामीले निर्वाह गरेको भूमिकाको मूल्याङ्कन भएको मलाई लाग्छ’– सुडानी अधिकारीहरूबाट सरकारीस्तरमा प्राप्त प्रशंसापत्रबारे स्पष्ट गर्दै उहाँले भन्नुभयो ।
विश्व मानचित्रमा १९३ औँ राष्ट्रका रुपमा उदाएको दक्षिण सुडानका ६० प्रतिशत भूभागमा नेपाली सेनाले सेवा पु¥याउँदै आएको छ ।
    अनमिसमा आबद्ध नेपाली शान्ति सैनिकका गतिविधिबारे जानकारी लिन र उनीहरूका समस्या समाधानका लागि सरकार एवम् नेपाली सेनालाई आवश्यक सुझाव दिने उद्देश्यले सहायकरथी धनिदास कार्कीको नेतृत्वको प्रतिनिधिमण्डलले पनि संयुक्त राष्ट्रसङ्घ र त्यसका साझेदार मुलुकबाट नेपाली सेनाप्रति सकारात्मक धारणा रहेको जनाएको छ । रासस

No comments:

Post a Comment

Global Mountain Biodiversity Assessment establishes first Asia hub in Kathmandu

  ICIMOD to host regional hub of prestigious global network in bid to increase scientific knowledge and policy responses to at-risk mounta...