Tuesday, 9 July 2013

नेपालमा १३ हजार ६८५ तिब्बती शरणार्थी


सुरेन्द्र सुवेदी
काठमाडौ (नेपालडोर) । भारत निर्वासित तिब्बती धर्मगुरु दलाई लामाको ७८औं जन्मोत्सवको अवसर पारेर नेपालमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । स्वतन्त्र तिब्बतको माग गर्दै आएका दलाई लामा पक्षधरले गर्न सक्ने प्रदर्शन र आत्मदाहलाई ध्यान दिँदै सुरक्षा व्यवस्था कडा बनाएको प्रहरीले जनाएको छ ।
नेपालमा १८ वटा शरणार्थी शिविरमा १३ हजार ६ सय ८५ जना तिब्बती शरणार्थी बसिरहेका छन् । काठमाडौं जोरपाटी क्याम्पमा १ सय ६२, जोरपाटी गुम्बामा ६ सय ५, बौद्धमा ४ हजार ८ सय ४६, स्वयम्भूमा १ हजार ८ सय ७६, फर्पिङमा ७ सय ९९, ललितपुर जावलाखेलमा ९ सय ८४, सोलुखम्बुमा ७ सय २८, पोखराका चार गुम्बामा १ हजार ८ सय ४९, तनहुँ दुलेगौडा ५ सय ८८, रसुवामा २ सय १, स्याङजा १ सय ८३, मनाङका दुई शिविरमा ३ सय २८, मुस्ताङमा २ सय ५० जना शरणार्थीहरूको बसोबास रहेको प्रहरीको तथ्यांक छ । सरकारी तथ्यांकमा उक्त संख्या देखिए पनि लुकिछिपी बस्नेको संख्या अधिक रहेको बुझिएको छ । देशभर रहेका १ हजार ४ बौद्ध गुम्बामध्ये चीन र तिब्बत सीमा जोडिएका अधिकांश गुम्बामा लुकिछिपी बस्ने तिब्बतीको संख्या अधिक रहेको स्रोतहरूको भनाइ छ ।
शरणार्थी शिविर रहेका स्थानमा उनीहरूले फ्री तिब्बत अभियान चलाउन सक्ने भन्दै सुरक्षा व्यवस्था कडा बनाएको प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डिआइजी) नवराज सिलवालले बताए ।
प्रहरी प्रधान कार्यालयका अनुसार डोल्पामा १ सय ११, कपिलवस्तुमा ८७, रूपन्देही र काठमाडौंमा ७६÷७६, मुस्ताङमा ५४, सोलुखम्बुमा ३९, सिन्धुली र धादिङमा ३८÷३८ गुम्बा छन् । ५८ जिल्लामा गुम्बा रहेका छन् । ती गुम्बामा लुकेर बसेका तिब्बती शरणार्थीको संख्या अधिक रहे पनि स्वतन्त्र अध्ययन भएको छैन । 
प्रधान कार्यालयले शरणार्थी रहेका सबै जिल्लाका शिविर र गुम्बामा सुरक्षा निगरानी बढाउन मातहतमा निर्देशन दिएको छ । सरकारले लिएको ‘एक चीन नीति’ कै कारण चीनविरुद्ध हुने जस्तोसुकै गतिविधि रोक्न नेपाल प्रहरी सक्षम भएको प्रधान कार्यालयले जनाए पनि गत वर्ष फागुन २ गते काठमाडौं बौद्ध स्तुपा परिसरमा करिब २५–२६ वर्षका ड्यान्दुङ नामका युवाले स्वतन्त्र तिब्बतको माग गर्दै आत्मदाह गरेका थिए । यस्तै प्रयास हुन सक्ने भन्दै प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको दाबी गरेको छ ।
स्वतन्त्र तिब्बतको माग गर्दै सन् २००९ देखि तिब्बतीहरूले आत्मदाह अभियान चलाइरहेका छन् । हालसम्म ९९ जनाले आत्मदाह प्रयास गरेकामा ८३ जनाको मृत्यु भइसकेको छ ।

No comments:

Post a Comment

Global Mountain Biodiversity Assessment establishes first Asia hub in Kathmandu

  ICIMOD to host regional hub of prestigious global network in bid to increase scientific knowledge and policy responses to at-risk mounta...