Saturday 20 July 2013

एयरपोर्टमा ‘सेटिङ’ तोड्दै प्रहरी


सुरेन्द्र सुवेदी

    काठमाडौं (नेवालडोर) । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल (एयरपोर्ट) कार्यालयमा प्रहरीको मिलेमतोमा भइरहेको ‘सेटिङ’ तोडिएको दाबी प्रधान कार्यालयको छ । एयरपोर्टबाट अवैरूपमा सुन भित्रिन कम भएको छ तर त्यसले खासातिरको बाटो समातेको छ । गत जेठ २ गते खासाबाट ल्याउँदै गरेको १६ किलो र दुई साताअघि ३५ किलो सुन प्रहरीले बरामद गरेको थियो । एयरपोर्टको सेटिङ तोडिएकोले कारोबारीले खासाको मार्ग प्रयोग गर्न थालेको प्रहरीको निष्कर्ष छ ।
गत कात्तिकमा एयरपोर्ट सुरक्षा गार्ड कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रविराज श्रेष्ठको प्रत्यक्ष संलग्नतामा १ करोड २४ लाख रुपैयाँ बराबरको विदेशी मुद्रा विदेश पठाउन लाग्दा बरामद भएको थियो । प्रहरीकै सहयोगमा अवैध कारोबार गर्ने व्यापारी, दलाल र अध्यागमन विभागका कर्मचारीबीचको सेटिङ तोडिन थालेको प्रधान कार्यालयको भनाइ छ । लागुऔषध, विदेशी मुद्रा, सुन, नेपालमा प्रतिबन्ध पाँचसय र एक हजार दरका भारतीय नोट ओसारपसार गर्न हवाइ मार्ग नै प्रमुख थियो । सेटिङ तोडिँदै गएपछि एयरपोर्टबाट सुन र लागुऔषध तस्करी निकै कम भएको एयरपोर्ट सुरक्षा कार्यालयको भनाइ छ । 
प्रहरी नायव महानिरीक्षक नारायण बास्ताकोटी एयरपोर्ट सुरक्षा गार्ड प्रमुख रहेको समयमा भएको उक्त विदेशी मुद्रा प्रकरणमा एसएसपी श्रेष्ठ बर्खास्तै भए । त्यसपछि डिआईजी विज्ञानराज शर्मा प्रमुख बनाइए । डिआईजी शर्माले सेटिङ तोड्न सुरु गरेका थिए । करिब सात महिना प्रमुख रहेका शर्माको सरुवापछि अर्का डिआईजी गोपालप्रसाद भण्डारी एयरपोर्ट खटिएका छन् ।
    डिआईजी भण्डारीका अनुसार दुई साताअघि २० हजार अमेरिकी डलर, गएको सोमबार हजार दरका ९९ भारतीय नोट, गएको शनिबार खाडी मुलुक पठाउने तयार ठूलो मात्रामा गुड्खा, पानपराग र सुर्ती बरामद भएको छ । डिआईजी भण्डारी भन्छन्, ‘विगतमा भएका कमी कमजोरी केलाउँदै सुधारका गतिविधि सुरु गरिएको छ, प्रहरी नेतृत्व इमानदार भएपछि तल्लो तहका प्रहरी कर्मचारी स्वतः इमानदार हुन्छन् र त्यसले अवैध कारोबार नियन्त्रण हुन्छ ।’ 
    एयरपोर्टमा साढे तीन सय प्रहरी दरबन्दी छ । कामको चाप बढेकोले थप ५० जना काजमा खटिएका छन् । अझै केही संख्या आवश्यक रहेको सुरक्षा गार्ड कार्यालयको भनाइ छ । यहाँबाट दैनिक ८ देखि ९ हजार मानिस यात्रा गर्छन् । यिनको सबै सुरक्षा जाँच प्रहरीले गर्छ । 
    त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल (टिएमआई) कार्यालयले एयरपोर्टभित्र प्रवेशका लागि प्रवेश पत्र वितरण गर्दै आएको छ । त्यस्ता पास हचुवाका भरमा वितरण भएको प्रहरीको गुनासो छ । निजी वायुसेवाका कर्मचारी, प्रहरी, कर्मचारी, कूटनीतिक नियोग, ट्याक्सी चालक, एयरपोर्टका पसले, नेपाल वायु सेवा निगमका कर्मचारीलगायतलाई मापदण्ड बनाएर वितरण गरिएका पासको दुरुपयोग भइरहेको चर्चा एयरपोर्टमा छ ।
प्रवेश पास व्यवस्थित बनाउन प्रयास भइरहेको टिआईए स्रोतको भनाइ छ । उक्त कार्यालयका एक अधिकृतका अनुसार केही दिनमै तथ्य सार्वजनिक हुनेछ । 
    सुरक्षा गार्ड कार्यालय प्रमुख, डिआईजी भण्डारी एयरपोर्टमा हुने अवैध सामान ओसारपसार र प्रहरीको मिलेमतोमा भइरहेका काम बन्द गरिसकेको बताउँछन् । भन्छन्, ‘विगतमा के थियो भन्दा पनि अब कसरी राम्रो गर्न सकिन्छ भनेर कार्य सम्पादन सुरु गरेको छु, सेटिङ पूरै तोडिएको छ ।’
रोजगारका लागि विदेशिने कामदारले प्रतिव्यक्ति २ हजार रुपैयाँसम्म अध्यागमनका कर्मचारी र प्रहरीलाई बुझाउनु पर्ने अघोषित नियम पनि तोडिएको एक प्रहरी अधिकारीले बताए ।
    टिआईएले झण्डै ८ हजार एयरपोर्ट प्रवेश पास वितरण गरेको छ । त्यसलाई अध्यावधिक गरेर अनावश्यक पास फिर्ता लिए एयरपोर्ट सुरक्षामा सहयोग पुग्ने प्रहरीको भनाइ छ ।
    प्रहरी प्रवक्ता डिआईजी नवराज सिलवालले अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा र प्रहरीले दिने सेवाको विश्वसनियता बढाउन प्रहरी सजग रहेको बताए । उनले भने, ‘एयरपोर्टमा अवैध ओसारपसार र कारोबार नियन्त्रण गर्न प्रधान कार्यालयले कडा निर्देशन जारी गरेको छ ।’

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete

top sidebar ads

समाचार

समाचार

recent posts comments tab

Blog Archive