Tuesday, 9 July 2013

ममताले फेरिन् साझाको रुप

-ममता झा-
अध्यक्ष तथा महाप्रवन्धक
साझा प्रकाशन

-मदन कोइराला -

झट्ट हेर्दा साझा प्रकाशनको अध्यक्ष भन्दा पनि कुनै उद्योगको मालिकजस्तो लाग्छ ।  हरेक समय हसिली । बोलीमा शालिनता र विनम्रता । सधै ठूला ठूला योजनाको छलफलमा व्यस्त । गफिरहेका बेला पानपरागको एक फाको मुखमा हालेर लौ भनिस्यो, हजुर त हाम्रो देउता । साझा प्रकाशन लेखक कविको मन्दिर हो । यहाँ लेखक कवि नामका भगवान बस्छन् । त्यो तपाइहरु नै हो । हातका प्रायः सबै औलामा औठीधारी यी महिलाले बोल्दा  हिन्दी फिल्मको पुरानो हिरोइन जस्तो पनि लाग्न सक्छ ।
एउटी महिला । यो त उनलाई भन्नै हुन्न । माओवादी जनयुद्ध चर्किएको बेला एमालेको राजनीति गर्थिन । कानुनी पेशा छँदै थियो । सप्तरी जिल्लाको निर्वाचित बार अध्यक्ष त्यो पनि तीन तीन पटक । राजनीतिक परिवर्तनसंगै तराईमा पनि राजनीतिले कोल्टे फे¥यो अनि ममता झाले पनि फेरिन पार्टी । भइन मधेशी जनअधिकार फोरम लोकतान्त्रिककी नेता । प्राज्ञिक परिवारकी चेली ममतामा साहित्यको रस त थियो नै । जीवनमा सबै भन्दा सम्मान गर्ने गरेको क्षेत्रको नेतृत्व गर्ने  जिम्मा आइपर्यो । गुमाइनन् अवसर ।
अहिले बजेट बहसको समय छ । ममतालाई साझा मुलुककै धनी सरकारी संस्था बनाउनु छ । सरकारले धेरै भन्दा धेरै आर्थिक विनियोजन गरिदियोस भन्ने छ । ‘यसको अर्थ हामी सधै सरकारको मुख ताकौे र आत्मनिर्भर हौँ भन्ने होईन् । साझालाई आफ्नै खुट्टामा उभ्याउनु मेरो अर्को सपना पनि हो’ उनले आफ्ना योजनाका पोकाहरु एकपछि अर्को फुकाइन । अनि सुनाइन् सफलताका मीठा कथा । ममता साझामा पुगे पछि देख्नेहरुका लागि थुप्रै सफलताका कथा बनिसकेका छन् ।
 तर यता साझाकै केही हिस्सेदारहरु सरकारलाई बजेट नछुट्याउन दवाव दिदैछन् । ममतालाई यो देखेर दिक्क भन्दा पनि हाँसो उठ्दोरहेछ । व्यक्तिलाई असफल पार्न संस्थालाई ढालेर भोली यी मान्छेहरु कहाँ जालान । घर जलाएर खरानीको आगो ताप्ने प्रवृत्ति साझामा पनि उनले देखिन ।
साझालाई कायपलट गर्नु उनको सपना । के फाइदा छ साझालाई माथि उठाएर ममतालाई । उनी भन्छिन् ‘आम लेखक कविको बीचमा मेरो चर्चा हुने छ । म आफै लेखक होइन तर साझाका कारण नेपाली वाङमयको  विकास इतिहासमा म पनि देखिने छु’, आफ्नो लोभको गुह्य यसरी खोल्छिन उनी ।
लेखक कविलाई पूर्ण र अर्धकालीन लेखनवृत्ति दिएर राम्रा कृति लेख्न लगाउने सपना देख्दैछिन् उनी । सम्भव कसरी छ ? उनीसंगै छ उपाय पनि । पाँच करोड स्थायी कोष निर्माण गर्ने र त्यसकै व्याजबाट लेखनवृत्ति दिने ।
तीज होस या होली वा अन्य कुनै पर्व, साझामा भोज भइहाल्छ  । ममता ढुक्कछिन् । पिताजीले कमाएको सम्पती छदैछ । त्यसमा पनि छोरो अमेरिकामा । अब किन चाहियो आफ्ना कर्मचारीलाई भोज ख्वाउन साझाको पैसा । मन भए सबै पुग्छ । यतिमात्र होईन घरमा हुने ससाना पूजाआजामा सिंगो साझा आउनै पर्छ ।
ममताको यो उदारता, यो उल्लास मनलाई पनि साझाका कर्मचारीले सम्मान गर्न किन चुक्थे । उनले साझा सम्हालेको केही महिनामै कर्मचारीले गरे उनको अभिनन्दन । कर्मचारी र हाकिमका बिचको सम्बन्धको दृष्टान्त ममताको छोरीको विहेमा देखियो । अचम्म, अध्यक्षको छोरीको विहे भोज खान राजधानी बाहिर  शाखाबाट कर्मचारी राजधानी आए ।
यँहा आफुले त केही नगर्ने प्रबृत्ति छँदैछ । केही गर्न चाहने मानिसका लागि पनि सहज छैन । आफूपनि केही नगर्ने र अरुलाई पनि केही गर्न नदिने प्रवृत्तिका कारण नेपाल आज यो अवस्थामा पुगेको मान्नेहरु धेरै छन । सधैं राजनीतिक संक्रमणलाई बहाना बनाएर मुलुक सिद्धाउनेहरुको हुलमा कोही मुलुक बनाउनेहरुपनि भटिदाँ रहेछन । मुलुककालागि केही गर्नुपर्छ भन्ने भावना भएका मानिसपनि हाम्रो देशमा नभएका भने होइनन् । तर, त्यस्ता मानिसहरुले कहिलेपनि अवसर पाएनन् अवथा अवसर पाएपनि उनीहरुलाई काम गर्न दिइएन् । मुलुकको जुनसुकै क्षेत्र लथालिंग भइरहको अवस्थामा सरकारको पुर्ण स्वामित्वमा रहेको साझा प्रकाशन भने अहिले प्रगतिको पथमा अगाडि बढेको छ ।
नेपाली भाषा साहित्यको उत्थान गर्न स्थापना भएको प्रकाशन स्थापना भएयता कै सबैभन्दा राम्रो अवस्थामा आइपुगेको छ । गोरखा प्रकाशनी तथा नेपाली भाषा प्रकाशनिको अन्तिम रुपमा रहेको साझा प्रकाशनको सय वर्षभन्दा लामो इतिहासमा साझा प्रकाशनले अहिले साहित्यकारलाई सम्मान गर्ने र साहित्यिक कृति प्रकाशन गर्ने क्रममा आफूलाई अग्रस्थानमा राखेको छ । सय वर्षको इतिहास भएको प्रकाशनको नेतृत्वमा पुग्ने प्रायः सबै साहित्यिक पृष्ठभुमि भएका व्यक्तिहरु नै थिए । तर उनीहरुले कहिले पनि साझा प्रकाशनलाई उन्नतिको पथमा लैजान सकेनन अथवा लैजान दिइएन् । तर, व्यक्तिमा इच्छा शक्ति भयो भने के कुरा असंभव हुन्छ भन्ने प्रमाणित गरेकी छन, ममता झाले ।
सधैं निरासाजनक मात्र समाचार सुनिरहेको बेला तपाँईलाई यो समाचारले पक्कैपनि केही सकारात्मक सन्देश दिन्छजस्तो लागेको छ ।
माथि नै उल्लेख गरियो सय वर्षलामो इतिहास भएको साझा प्रकाशनमा अहिले सम्म नेतृत्वमा पुगेका प्राय सबैजसो साहित्यक पृष्ठभूमि भएकाहरु नै थिए । साझा प्रकाशनको स्थापना पनि नेपाली साहित्यलाई जगेर्ना गर्न, साहित्यक पुस्तकलाई संरक्षण गर्न तथा साहित्यकारलाई हौसला प्रदान गर्न हो । किनभने साहित्यकार मुलुकका गहना हुन् । साहित्यकारले साहित्यका माध्यमबाट देश बनाउन र विश्वमा चिनाउन ठुलो भुमिका निर्वाह गरेका हुन्छन् ।
तर अहिलेसम्म साझामा पुगेको नेतृत्वले प्रकाशनलाई उन्नति हुने किसिमले उल्लेख्य काम गर्न सकेको थिएन । यही अवस्थामा आजभन्दा झण्डै साँढे तीनवर्ष पहिला साझा प्रकाशनको नेतृत्व गर्ने अवसर ममता झालाई जु¥यो । साहित्यप्रति रुची भएपनि पेशाले पुर्णरुपमा कानुन व्यवसायी झा तीनवर्ष पहिला साझाको नेतृत्व सम्हाल्न पुग्दा प्रकाशन बेहाल अवस्थामा गुज्रिरहेको थियो । ऋण तिर्न नसक्ने अवस्थामा पुगेको प्रकाशनले अहिले साँढे तीन वर्षको अवधीमा थुप्रै यस्ता प्रगति गरिसकको छ, जसले साझालाई दीर्घजीवि बनाउन अहम् भुमिका खेल्दैछ ।
साझको इतिहासमा पहिलो महिला अध्यक्ष ममता नै हुन पुगिन । राजनीतिको भगबण्डामा साझाले नेतृत्व प्राप्त गर्ने गरेको छ । अध्यक्ष र महाप्रबन्धक दुई पदका लागि कहिले भागबण्डामा दुई पार्टीका व्यक्तिलाई लगिन्छ त कहिले एकै पार्टीका अध्यक्ष र महाप्रबन्धक ।  दुई साहित्यिक व्यक्तिलाई साझामा लाने परम्परा रहेको थियो  । ममताबाटै यो परम्परा तोडियो । अहिले उनैले अध्यक्ष एवं महाप्रबन्धक दुवैको कुशल नेतृत्व  गरिरहेकी छिन् । ममता झा साहित्यिक पाठक त हुन तर सर्जक होईनन् ।  गैर साहित्यक व्यक्तिले साझाको नेतृुत्व पाउदा धेरैले ओठ लेप्प्राएका पनि थिए ।साझाको नेतृत्व महिलाको हातमा पुगेको पनि यो पहिलो नै हो । ममताले साझामा व्यावहारिक र सैद्धान्तिक रुपमा  इतिहास रचेकी छिन् ।
झाले आफ्नो यो छोटो कार्यकाल यति धेरै काम गरेकी छन जसको लामो फेहरिस्त हुन्छ । उनको कामबाट अत्तालिनेहरु पनि छन् र हौसिनेहरु पनि । उनको कार्यशैलीले इच्छा शक्ति सबथोक हो भन्ने प्रमाणित गर्दछ । साझा मात्र नभएर अन्य सरकारी संस्थानका लागि पनि  उनी उदाहरणीय बनेकी छिन् । ममताले साझामा सजिलो गरि काम गरेकी छिन् भन्ने होइन । आज सम्म नभोगेका सास्तिहरु भोग्नु परिरहेको छ । आन्तरिक किचलो, सरकारी दवाव अनि हस्तक्षेप । अनेकन पार्टीका संगठनको गुटगत राजनीति । आजसम्म नभोगेका सबै सास्तिहरु साझाले भोगाएको छ उनीलाई ।  काम गर्नेलाई केले छेक्न सक्दो रहेछ र । सवल  उदाहरण हुन उनी  ।
ममता साझा प्रकाशनको अध्यक्ष  भएर गएपछि  कार्यभार सम्हालेकै दिन जनक शिक्षा सामाग्री केन्द्रलाई भुक्तान गर्न बाँकी एक करोडको चेकमा हस्ताक्षर गर्नुप¥यो । ऋणमा चुर्लुम्म डुबेको संस्थालाई ऋण मुक्त गर्ने निरन्तरको प्रयासमा उनी छिन् । उनी भन्दा अगाडिका महाप्रबन्धकले पुरानो व्यवस्थापनले लगाएको ऋण तिर्न नसक्ने बताउदै पदबाट राजीनामा दिए  । तर झाले तीन वर्षको अबधिमा पुरानो दश करोड हाराहारिको ऋण चुक्ता गरिसकेकी छिन् । उनका पालामा जे जति काम भइरहेका छन् ती सबै नगदी कारोवार हुन  । यस अर्थले पनि  साझा ऋणमुक्त हुने बाटोमा अग्रसर छ । 
त्यही संस्था, तीनै कर्मचारी र त्यही संचालक समितिले विगतमा संस्थालाई ऋणमात्र बोकाएका थिए भने झाले साझामा पाइला राखेपछि एकाएक यो संस्था आत्मनिर्भर हुने प्रयासमा छ । भाषा साहित्यप्रतिको माया  तथा मुलुकको गहनाका रुपमा रहेका साहित्कारको सम्मान गर्ने अवसरको रुपमा लिँदै झाले संस्थाको कायापलट गर्नसमेत सफल भइन ।
इच्छाशक्ति भयो भने एक महिलाले  पनि  अथाह गर्न सकिँदो रहेछ भन्ने उदाहरण हुन झा । साझाको हविगत धेरैलाई थाहा छ । करोड मूल्यका पुस्तक परालको कुन्यू जस्तो गरि आकाश र जमिन दुवैबाट पानीको पस्ने  ढल्नै आटेको टहरामा राखिन््थ्यो । आवश्यक पुस्तक भेट्नु त असभ्भव । पुस्तकको १५–२० फिट अग्लो चाङ ढलेर किच्ला भन्ने डर । यो सामान्य काम पनि पहिलाको व्यवस्थापनले गर्न सकेन । अहिले यिनैले बनाइन् नयाँ ठूला ठूला दुईवटा टहरा ।
साझा प्रकाशन सेवामुखी व्यवसाय गर्ने संस्था हो । यसको नेतृत्वले  व्यापारिक सोच राख्न सकेन भने साझा अगाडि बढ्न सक्दैन । ममता यी सब कुरा बुझेरै त्यहा पुगेकी थिईन । उनेले बजार प्रतिस्पर्धी आधुनिक छपाई मेसिन थपिइन । आत्म निर्भर हुृनुपर्छ साझा भन्दै साझाबाटै कपी उत्पादनको काम सुरु गरिन । जसले साझालाई अगाडि बढाउन भरपुर सहयोग गरिरहेको छ ।
साझा प्रकाशनको मुख्य काम नै साहित्यकारका साहित्यिक कृति छपाई गर्नु हो । लामो इतिहास भएको साझामा विगतमा बढीमा ९ वटामात्र साहित्यिक कृति छपाई भएको थियो । तर, अहिले झाले साझाको नेतृत्व सम्हालेपछि वर्षको एक सय पुस्तक छाप्ने लक्ष्य  राखिन । जस अनुरुप पहिलो वर्ष ५८ वटा, दोस्रो वर्ष ६४ हुदै अगाडि बढेको छ ।
झासँग कुरा गरिरहँदा यस्तो अनुभव भइरहेको थियो, उनको साहित्यप्रतिको झुकाव, सम्मानले गर्दा आज साझाले यो सफलता पाउन सकेको मात्र होइन कि सिंगो नेपाली वाङ्गंमयले विस्तारित हुने अवसर पाएको छ । उनी अहिले समावेसी पूस्तक प्रकाशनको कोष खडा गर्ने तयारीमा जुटेकी छिन् ।
एकपछि अर्को महत्वपूर्ण काम गर्दै अगाडि बढिरहेकी उनलाई असहयोग गर्नेको भीडको पनि कम छैन् । तीन वर्षको अवघिमा साझाले गरेको प्रगतिलाई सहन नसक्नेहरु अख्तियार समम पनि पुगे । नौ महिना लामो अख्तियारको अनुसन्धानले साझालाई ग्रिन कार्डमात्र दिएन पहिलो पटक अख्तियारले आफ्नो वार्षिक प्रतिवेदन छाप्न साझालाई दियो । अख्तियारको इतिहासमा मुद्रण विभागबाट छपाईका लागि पहिलो पटक प्रतिवेदन बाहिर गएको हो । अख्तियारको निकै गोप्य मानिने हजार पृष्ठको प्रतिवेदन छाप्न पाउनुलाई झाले अख्तियारबाट पुरस्कृत भएको अनुभव गरिन् । साहित्यको क्षेत्रमा गैर साहित्यक महिलाको नेतृत्वमा यति धेरैकाम भएकोले पनि कतिपयलाई पाच्य नभएको हुनसक्छ । तर, उनको काम गर्ने इच्छाशक्तिमा कुनै कमी आएको छैन, बरु झन् हौसला मिलेको छ ।
साहित्यकारहरुले साझा प्रकाशनले कविताका पुस्तक नछापेको असन्तुष्टी प्रकट गरिरहेका बेला कर्मचारीहरुले  कविता साहित्यका पुस्तक छाप्न नहुने माग गरेका छन् ।  साहित्यिक पुस्तक छापेर साहित्यको श्रीवृद्धि गर्ने उदेश्यका साथ स्थापित साझाका केही कर्मचारीहरु किताव छापेर संस्थालाई डुबाउन लागेको आरोप लागाउने गर्छन् । झा नियुक्त भएपछि कर्मचारीले एक हातमा स्वागतको बुके र अर्को हातमा ऋणको चेकमा हस्ताक्षर गर्दै कार्यभार सम्हालेकी झाले अहिले उक्त संस्थालाई आत्मनिर्भर बनाइन् । उनले हालसम्म करिब दश करोड ऋण भुक्तानी गरिसकेको छन् । विगतमा चार वर्षदेखि साझा पुरस्कार घोषणा गर्ने तर, रकम अभावका कारण वितवरण भने गरिएको थिएन । झाको नियुक्ती भएदेखि नै साझा पुस्रकारको राशी २२ हजारबाट  बढाएर ५१ हजार रुपैंयाको बनाइयो ।  पुरस्कार पनि नियमित वितरण गर्न थालिएको छ । उनले संस्थालाई आत्मनिर्भर बनाउन उच्च शिक्षा परिषसँग सम्झौता गरी लिंक अंग्रेजी, हामी सबैको नेपाल, एक चिहान नाटक अहिले साझामा छापिन थालेको छ । जसले गर्दा सस्थालाई केही फाइदा भएको छ । सरकारले  पनि साझालाई केही असहयोग गरेको झाको गुनासो छ । विगतमा पाँच विकास क्षेत्रमा सबै पुस्तक साझाले नै वितवरण गथ्र्यो भने अहिले मध्यमांञ्चल र सुदुरपश्चिममा मात्र साझालाई दिइएको छ बाँकी क्षेत्रमा निजी क्षेत्रले वितरण गर्दै आएको छ । लामो समय देखि रोकिएको कर्मचारीको पदोन्नती उनैले गराइन । एकै पटक पाँच दर्जन बढी कर्मचारीको पदोन्नती गरेर कर्मचारीको सम्मान गर्ने परिपाटीको विकासको सुरुवात उनैले गरिन  ।
साझामा ममताले धेरै सपना देखेकी छिन् । अन्य मुलुकमा साहित्य र साहित्यको राज्यले ठूलो संरक्षण गर्छ । हामी कहाँ न त राज्यलाई चासो छ न त स्रष्टालाई नै ममताको अहिलेको चिन्ता यी दुवै थरिका मान्छेमा साहित्यलाई दिनुमात्र पर्छ भन्ने भावना जागृत गराउनु छ । पुस्तक छाप्न कुनै किसिमको पिरलो नहोस भनेरै उनले पाँच करोड बराबरको स्थायी पुजी जम्मा गर्नु उनको सपना हो । साझामा पुग्दा अध्यक्ष, महाप्रबन्धक र अन्य उच्च पदाधिकारी बस्ने भवन ढल्न ठीक्क थियो । पुरै कोल्टे परेको । त्यो हविगत लाई उनले तत्कालै समाधान गरिन अर्को भवनमा तल्ला थपेर । प्रशस्त भौतिक सुवित भएको साझा सधै गरिब । एउटा आधुनिक भवन नहुनु उनका लागि चुनौती नै भयो बनाइन पाँच तलाको लिफ्ट भवन । केन्द्रीय कार्यालयमा स्थायी रुपमा पानी नहुनु । सवारी साधनको तन्नम हविगत हुनु जस्ता अनेक समस्याको को गणना नै थिएन । कामको सपना देख्नुबाहेको अर्को विकल्प उनीसंग थिएन् । देखिएका तीनै सपनालाई एक एक गर्दै विपनामा ल्याउदैछिन् ममता ।
उनलाइ लखेटि रहने मात्र पनि छैनन् । अनिल पौडेल, हरिगोबिन्द लुईँटेल र नयनराज पाण्डे लगायतको संचालक समिति र सहयोगी कर्मचारीको साथबाटै निरन्तर काममा लाग्न सकेको अनुभव झासंग छ ।

1 comment:

  1. Nikkai bujhnu bhayeko raicha sajha hajur le. ajhhai ghairiyera bujhidinu bhaye ramro hune thyo.

    ReplyDelete

अमेरिकी राष्ट्रपति कार्यालयमा ट्रम्प–जेलेन्स्की झडप, विश्वमा तरंग आक्रामक ट्रम्प, रक्षात्मक जेलेन्स्की,

काठमाडौं, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच शुक्रवार राती ह्वाइट हाउसमा भएको छलफल तनाबपूर्ण र ...