Thursday, 11 July 2013

तस्करीको ३५ किलो सुन बरामद


सुरेन्द्र सुवेदी

काठमाडौं (नेपालडोर) । चीनको खासाबाट नेपाल ल्याइँदै गरेको ३५ किलो सुन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार बिहान बरामद गरेको छ । खासाबाट बाह्रबीसे हुँदै टाटा कन्टेनर ट्रकमा ल्याइएको सुन कोटेश्वरबाट प्रहरीले नियन्त्रणमा लिएको हो । सुराकीको सूचनाका आधारमा तातोपानी भन्सारदेखि बा३ख २५७० नम्बरको कन्टेनरको पिछा गर्दै आएको प्रहरीले कोटेश्वरबाट उक्त परिमाणको सुन बरामद गरेको हो । सुन ल्याउन संलग्न तीनजनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेकाहरूमा सिन्धुपाल्चोक तातोपानी–४ का ट्रक चालक निमा छिरिङ तामाङ, काठमाडौं–६, बौद्धका सुनका धनी ग्याम्जो लामा र सुनसरी धरान–२ का मोहनकुमार अग्रवाल छन् । प्रहरीले कन्टेरनका साहु सिन्धुपाल्चोक तातोपानी स्थायी घर भई हाल काठमाडौं बौद्ध बस्ने ओमबहादुर वज्राचार्यलाई पनि पक्राउ गरेको छ ।
कन्टेनरको पछाडि सामान राख्ने स्थानमा फल्स बटन बनाएर एक किलोग्राम दरका ३५ वटा सुनका ‘बिस्कुट’ नेपाल हुँदै भारततर्फ निकासी गर्न ल्याइएको प्रहरीले जनाएको छ । सुन ल्याउने तामाङ, लामा र अग्रवालका साथबाट १६ हजार ७ सय रुपैयाँ पनि बरामद भएको ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक उत्तम कार्कीले बताए । बुधबारको मूल्यअनुसार नियन्त्रणमा लिइएको सुन १४ करोड ७९ लाख २७ हजार १ सय १५ रुपैयाँ बराबरको छ । ब्युरोले बरामद गरेको सुन, ट्रक, नगद र पक्राउ परेका चारैजनालाई राजस्व अनुसन्धान विभागमा पठाएको जनाएको छ ।
गत जेठ ६ गते त्रिभुवन विमानस्थलमा ८ किलो ७ सय ४० ग्राम सुनसहित अमेरिकी नागरिक इकवाल हक पक्राउ परेका थिए । यस्तै चीनको खासाबाट ल्याएको १६ किलो सुन गत वैशाख पहिलो साता महानगरीय प्रहरी परिसर हनुमानढोकाले काठमाडौं बौद्धबाट बरामद गरेको थियो ।

यसकारण हुन्छ सुन तस्करी
जानकारहरूका अनुसार नेपाली बजारमा सुन तस्करी मौलाउनुको मुख्य कारण पर्याप्त सुन आपूर्ति नहुनु हो । खुला बजारमा दैनिक ३० किलो सुनको माग रहे पनि नेपाल राष्ट्र बंैकले २० किलोमात्र उपलब्ध गराउँदै आएका कारण सुन तस्करी मौलाइरहेको व्यवसायीहरू बताउँछन् ।
व्यवसायीहरूका अनुसार ‘प्रशोधन’ गरिएको सुन किनबेचमा समस्या छ । उपभोक्ताले व्यापारीलाई सुन बिक्री गर्न सक्दैनन् । उपभोक्ताले ल्याएको सुन चोरिएको भए कारबाहीको भागीदार बन्नुपर्ने कानुनी व्यवस्थाका कारण यसमा समस्या छ । उपभोक्ताले व्यापारीलाई सोझै सुन बिक्री गर्न पाएमा दैनिक रूपमा ५ किलोसम्म सुनको माग पूरा व्यवसायीहरू बताउँछन् ।
सुनचाँदी, रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनका अनुसार सरकारले सुनचाँदीको कारोबार व्यवस्थित गर्न नसक्दा तस्करी मौलाएको र व्यवसायी, उपभोक्ता तथा सरकार नै समस्यामा परेका छन् । जानकारहरूका अनुसार सरकारले दिने सुनको वितरण पारदर्शी छैन । ‘सुनचाँदी बजार १५–२० जनाको पकडमा रहेको छ । जसका कारण पनि बजारमा सुन अभाव भइरहन्छ ।
भारतमा सुनको नेपालमा भन्दा बढी माग छ । जसकै कारण नेपाली बजारबाट प्रतिदिन १० केजीका दरले भारतीय बजारमा सुन चोरी निकासी भइरहेको स्रोतहरूको दाबी छ । कालो बजारीबाट भारतमा सुन पु¥याउँदा प्रतिकेजी एक लाख ६० हजार रुपैयाँसम्म फाइदा हुन्छ । जसका कारण चीनको खासा हुँदै नेपालमा सुन तस्करी भइरहेको हो । प्रहरीसँग सेटिङ मिलाएर व्यापारीले नै चीनबाट सुन ल्याउने गरिरहेको बुधबार बरामद भएको सुनबाट थप पुष्टि हुन्छ ।
स्रोतका अनुसार तस्करहरूले भारतीय बजारमा सुन प्रतिकेजी करिब ३० लाख भारतीय रुपैयाँमा बेच्छन् । उक्त रकम उनीहरूले भारतमै रहेका नेपाली व्यापारीलाई भारु १ रुपैयाँको नेपाली रुपैयाँ १ रुपैयाँ ६७ पैसाको दरले बेच्छन् । यसो गर्दा ३० लाख भारुको नेपाली ५० लाख १० हजार रुपैयाँ हुन आउँछ । यद्यपि नेपाली बजारमा त्यति नै परिमाणको सुन बिक्री हुँदा ४८ लाख ५० हजार रुपैयाँमात्र प्राप्त हुन्छ । यसरी प्रतिकिलोमा फरक हुने रकम करिब १ लाख ६० हजार तस्करले कमाउँछन् । सोही कारण भारततर्फ सुन तस्करी भइरहेको छ । भारतमा सुन तस्करी गर्दा हुने मुनाफाकै कारण पछिल्लो समय चीनबाट तस्करी बढेको हो ।

No comments:

Post a Comment

Global Mountain Biodiversity Assessment establishes first Asia hub in Kathmandu

  ICIMOD to host regional hub of prestigious global network in bid to increase scientific knowledge and policy responses to at-risk mounta...