यस्तो रहेछ एमाओवादीको ‘महाभारत’

-पर्शुराम काफ्ले-
 काठमाडौं । असार १४ गते पेरिसडाँडा कोटेश्वरस्थित कार्यालयमा आयोजित केन्द्रीय समिति बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको ९ सदस्यीय पदाधिकारीको नाम सुनेपछि उनीनिकटस्थहरू नै आश्चर्यचकित भए । अध्यक्ष दाहाल नै अल्पमतमा पर्ने गरी नाम प्रस्तुत भयो, दाहालकै मुखबाट । उनले उपाध्यक्षमा डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ तथा महासचिव पोष्टबहादुर बोगटीलाई कायम राखी तीन सचिवमा कृष्णबहादुर महरा, वर्षमान पुन, टोपबहादुर रायमाझी र गिरिराजमणि पोखरेल तथा कोषाध्यक्षमा हिसिला यमीको नाम प्रस्तुत गरे । नौजनामध्ये दाहालसँग आफूसहित जम्मा चारजना (बोगटी, महरा, पुन) थिए र नीति निर्माण गर्ने निकायमा दाहाल अल्पमतमा पर्दै थिए ।
सूत्रका अनुसार महाधिवेशनबाट निर्वाचित र शक्तिशाली भएर आएका दाहालको टिम कमजोर र अल्पमतमा देखिएपछि उनी निकटस्थ केही नेता र पूर्वलडाकुका कमाण्डरहरूले प्रस्तावको विरोध गरे । पूर्वलडाकु कमान्डरहरूले डा. भट्टराईलाई लान्छना लगाउने गरी टिप्पणी गरे र संस्थागत गर्न खोजिएको गुटबन्दी नमान्ने भन्दै बैठकमा नाराबाजी गरे । आफूहरूमाथि आलोचनासहित अधिकांश केन्द्रीय सदस्यले उच्च पदीय महत्वाकांक्षा प्रकट गरेपछि भट्टराईले विरक्तिएर पदत्याग गरेका हुन् । अध्यक्षसँग विवादका कारण नभएर नेताहरूको टिप्पणी सुनेपछि वाक्क भएर उनले पदत्याग गरेको उनीनिकट नेता देवेन्द्र पौडेलले पुष्टि गरिसकेका छन् ।
‘अध्यक्षले प्रस्तुत गर्नुभएको ९ सदस्यीय पदाधिकारीको नाम उहाँको एजेन्डा थिएन, बाबुरामजी र नारायणकाजीजीको थियो । उहाँहरूको दबाबमा पेश भएको प्रस्तावलाई एकजनाले पनि समर्थन गरेन,’ एमाओवादीका एक पूर्वपोलिटब्युरो सदस्यले हिमालय टाइम्ससँग भने । १४ असारमा दाहालको प्रस्तावको विरोध गर्दै नेताहरू जनार्दन शर्मा, लोकेन्द्र विष्ट, गोपाल किराती, लेखराज भट्टलगायतले निर्वाचनको माग गरे । सो बैठकमा पूर्वलडाकुका ९ जना कमान्डरहरूले बोल्ने क्रममा डा. भट्टराई र नारायणकाजीलाई लक्षित गरी चर्को टिप्पणी गरेका थिए । स्रोतका अनुसार उनीहरूमध्ये अधिकांशको स्वर एउटै थियो, ‘हामीले ४६ वटा मोर्चा जितेर युद्धकालमा तपाईंहरूलाई नेता बनाउने, अहिले गुटबन्दी गरेर हामीमाथि अपमान गर्ने ? हामी कसैलाई पनि छाड्नेवाला छैनौं ।’
भोलिपल्ट १५ असारमा दिनभर नेताहरूले पदको आकांक्षा गर्दै धारणा राखे । भट्टराईनिकटका प्रभु साहसमेतले पार्टीमा योगदान नभएको भन्दै नेतृत्वप्रति चर्को आलोचना गरे । त्यो दिन टिप्पणीकर्ताहरूको अभिव्यक्ति सुनेपछि भट्टराई असन्तुष्ट भएर तत्क्षण पदत्याग गरे । दुई दिनभर बैठकमा उत्पन्न टिप्पणीबाट आजित भएर भट्टराईले पद त्याग गरेको र त्यसले अध्यक्ष दाहाललाई फाइदा पुगेको एकथरीको टिप्पणी छ । ‘आफैँलाई कमजोर पार्ने गरी पेश भएको प्रस्ताव पास भएको भए नेतृत्व अत्यन्तै कमजोर हुने थियो, तर उहाँले उपाध्यक्षद्वयको दबाबमा परेर पेश गर्नुभएको भागबण्डाको प्रस्तावमा आफ्नै पक्षका साथीहरूले विरोध गरेपछि उहाँलाई सजिलो पनि बनायो,’ दाहालनिकट नेताले हिमालय टाइम्ससँग भने । स्रोतका अनुसार भट्टराईले १५ असारमा पदत्याग गरेको लिखित पत्र पढेर सुनाउँदा बैठक हलमा ताली गुन्जियो र आइतबार अध्यक्ष दाहालले पनि त्यागप्रति खुसी व्यक्त गरे ।
‘म आफ्नै प्रस्तावमा सन्तुष्ट थिइनँ, जो जो साथीहरू पर्नुभो उहाँहरू पनि सन्तुष्ट हुनुहुन्न, जो जो पर्नुभएन उहाँहरू सन्तुष्ट नहुनु त स्वाभाविकै हो,’ अध्यक्ष दाहालले आइतबार बैठकमा भने, ‘त्यसकारण मैले पेश गरेको प्रस्ताव खारेज भयो । अब प्लेनम (विस्तारित बैठक) बाट हल गरौँ ।’ भट्टराई र उनी पक्षधर नेताहरूले पदत्याग कुनै पूर्वनियोजित नभएको बताए पनि दाहाल पक्षधर यो मान्न तयार छैन । ‘उहाँसँग पूर्वतयारी थिएन भने त्यागपत्रको लिखित कपी बोकेर उहाँ कसरी आउनुभो र बैठकमा वाचन गनुभो ?’ दाहाल पक्षधर एक नेताले टिप्पणी गरे ।
एमाओवादीले ४ साउनको विस्तारित बैठकबाट भागबण्डा मिलाउन सांगठनिक सिद्धान्त नै तय गर्ने दाबी गरेको छ । अध्यक्ष दाहालले आइतबार बैठक सक्नुअघि बैठकमा बोल्दै चिनियाँ, भियतनाम, रुस र भारतीय कम्युनिस्ट पार्टीको नेतृत्व चयनविधि अध्ययन गरेर एमाओवादीको सापेक्षतामा लागू गर्न उपयुक्त हुने बताएका थिए । ‘म चीनको मोडलबाट अलिक प्रभावित भएको छु,’ स्रोतका अनुसार दाहालको भनाइ थियो । चीनमा नेताहरूको मूल्यांकन पाँच स्थानबाट हुने र प्राप्त परिणामका आधारमा बढुवा गर्ने नीति छ । ‘अनुशासन आयोग, संगठन विभाग, पार्टी नेतृत्व, बहुमत र अल्पमत संख्याको मूल्यांकनका आधारमा नेताको प्रमोसन गर्ने चिनियाँ मोडल अलिक वैज्ञानिक छ,’ दाहालको भनाइ थियो, ‘हामीलाई फिट हुने मोडल खोजिनेछ ।’
भट्टराईको त्यागपछि अब पार्टीको भागबण्डामा गुटबन्दी हट्ने नेताहरूको विश्वास छ । कतिपयका अनुसार भट्टराईको नयाँ निर्णयको असर उनको गुट तथा अर्का उपाध्यक्ष नारायणकाजीसहित उनको गुटमा पर्नेछ । आफ्नो अडानमा कायम रहे यसबाट व्यक्तिगत रूपमा भट्टराईलाई नै फाइदा पुग्ने एमाओवादीभित्र विश्लेषण छ । सशस्त्र युद्धबाट आएका र विभिन्न कम्युनिस्ट पार्टीबाट आएका नेताहरूको दुई समूह बनाएर दुवैलाई सम्मानजनक रूपमा भागबण्डा गर्नुपर्ने सुझाब दाहालसमक्ष पुगेको एक केन्द्रीय सदस्यले बताए । ‘अब टिके प्रथा चल्नेवाला छैन, सबैको कम्युनिस्ट आन्दोलनमा भएको योगदानको मूल्यांकन गर्ने र सबै क्षेत्र, वर्ग, लिंग र राष्ट्रियता अटाउने गरी समाधान खोज्नुपर्छ, हामीले नेतृत्वलाई यो सुझाब दिएका छौँ,’ एकजना मधेसी नेताले भने । ‘गुटबन्दीका कारण कृष्णबहादुर महरा, हरिबोल गजुरेल, रामचन्द्र झा, अमिक शेरचनलगायतलाई रोक्न खोजिएको थियो, अब सायद उहाँहरूको उचित कदर हुनेछ,’ ती नेताले हिमालय टाइम्ससँग भने, ‘नयाँ सांगठानिक सिद्धान्त बनाएर जाँदा व्यक्तिगत रूपमा भट्टराईजी र समग्रमा अध्यक्ष दाहाल अनि पार्टीलाई फाइदा पुग्छ । जे भयो राम्रो भयो ।’

हिमालय टाइम्स दैनिक, असार १८

 



Comments

  1. प्रश्न जटिल छ. महाधिवेशनले गरेको पदीय चयन कहाँ हावा खायो त? यो जनवाद हो कि केन्द्रीयता? इतिहासलाई जवाफ दिनु पर्ने बेला आउला नि कुनै दिन. पद नमिल्नुको कारण सिद्धान्त हो कि अख्तियारी? गन्जागोलको उपयोग गर्दै निराशा र आक्रोशको विस्फोटलाई राजनीति ठान्ने एमाओवादीले राजनीतिले बहुल-नीति र समग्र समाधान दिनसक्नु पर्ने दायित्व बाट कहिले पनि पन्छन पाउंदैन भन्ने कुरा सुरुमै बुझेको भए यो झन्झट व्यहोर्नु पर्ने थिएन. जसरि भएपनि जित्नकालागि अपराध,क्रोश र बल्जफ्तिलाई जय-पराजयको मापदण्ड बनाएर थालिएको जनयुद्ध नामको सुनामीले सोर पटार गरेर ल्याएको वितण्डाको उपचार नगर्ने हो भने एमाओवादीको जमात युद्ध सरदारको नया कलेवरका रुपमा प्रकट हुन सक्छ.कब्जा गरेपछि जितिन्छ भनेर रीमले पढाएको उत्ताउलो पाठ बाट नेपालका उरनठ्यौला जमात बहकिए.रीमका बुढाहरु अमेरिकामा भेटिन्छन. ति जसलाई कहिले क्रान्ति गर्नु छैन. न्यु योर्क,बोस्टनका अँध्यारा गल्लीमा तिनले पुस्तकालय, पाठक केन्द्र खोलेका छन्. दानका फर्निचर र सन् ८० अगाडिका पुस्तक र खुइलिएका पाण्डुलिपि जम्मा गरेका छन्. ति म्याद गुज्रेका बुढा हरु अहिले पनि सिसाकलमले क्रान्ति, रगत र सत्ता कब्जाका कथा, कबिता र सारांश लेख्छन. तिनलाई कसैले वास्ता पनि गर्दैन. तर तिनका काम कलेजका केहि विद्यार्थीले इमेल, वेबसाइट मा हालिदिन्छन. तिनलाई आफ्नै नामको इमेलको ठेगाना र पासवर्ड पनि थाहा छैन.सबै प्रकारका रोगको उपचार भनेको सत्य जीवन भन्ने औषधि भने जस्तो तिनले हर रोगको उपचार क्रान्ति हो भन्छन. तर तिनको क्रान्तिको गीत जागिर बाट अवकाश पछी छोरा छोरी र समाज बाट परित्यक्त भै सकेपछि मात्र कोरिएको सपनाको कोरस हो. त्यस लाइ आधुनिक मानव कति स्वतन्त्र र बिस्तारित छ भन्ने कुराको कुनै हेक्का छैन.
    माओवादीले उत्पादनलाई पनि ब्रिगेड देख्छ. अब उत्पादनलाई जबर्जस्तीको खेति पनि देख्ने छ. उत्पादन ब्रिगेडका मजदूर ले ट्रेड युनियन मागे भने तिनको ढाड भांच्नु लाइ तत्कालिन कार्यभार देख्ने छ.
    कसैमा सच्याउने हिम्मत भए बेग्लै कुरा. होइन भने सुनको संसार देखेर सांचै होमिएका बबुरा लडाकुको जीवन र तिनमा आउने निस्सार, निरासाले हाम्रो कति र कुना भविष्य लाइ खरानी पार्ने हो टुंगो छैन. आफ्नै ज्यान र इज्जत लाइ पर्खालको सुरक्षा कवच ले मोड्न नेताहरु परचक्री को पाउ पर्न सक्छन. दोश्रो, तेश्रो दर्जाका नाइके हरु डन र सरदारका साखुल्ले बन्न सक्छन. खुला र बैधानिक राजनीति मार्फत दाम संकलन को असहाय पात्र बन्न सक्छन. यस्तो नहोस.

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Importance of Pharm. D study in Nepal

Climate and Clean Air Coalition (CCAC) meets in Kathmandu to tackle air pollution

डा.भट्टराई, 'क्रान्ति'को कार्यकाल कति हो ?