Saturday, 8 June 2013

साम्राज्यवाद विरुद्ध एसियायी अधिवेशन

काठमाडौं, जेठ २५ । जनतन्त्रको पक्षमा साम्राज्यवाद विरुद्धको एसियाली अधिवेशन काठमाडौंमा सुरु भएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शनीवार अधिवेशन उद्घाटन गरेका हुन् । अधिवेशनमा नेपाल र भारतका कम्युनिष्ट पार्टीसम्वद्ध नेताहरु सहभागी छन् । तीन दिनसम्म चल्ने अधिवेशनमा भारतबाट ५० जना, बंगलादेशबाट २० जना र नेपालबाट २ सय जनाको सहभागिता रहेको छ ।
अध्यक्ष केसीले साम्राज्यवाद विश्वव्यापी खतरा रहेको बताउँदै भूमण्डलीकरणका कारणले विश्वका विकासोन्मुख र कम विकसित देशहरुको सार्वभौमिकता र स्वतन्त्र अर्थतन्त्रमाथि ठूलो खतरा पैदा भएको उल्लेख गरे । केसीले संघीयताले नेपालमा जातीय र क्षेत्रीय विग्रह तथा राष्टिय विघटनको खतरा उत्पन्न गर्ने पनि बताए ।
उद्घाटन कार्यक्रममा एमाले नेता प्रदीप ज्ञवालीले श्रमिकहरुको नया ढंगको शोषणलाई बुझेर उनीहरु विश्वव्यापी आन्दोलनमा उत्रिएको बताए । दिल्ली पुगेर लम्पसार पर्ने र बाहिर उग्र राष्टवाद प्रदर्शन गर्ने कार्यले देशलाई कमजोर बनाएको उनको टिप्पणि थियो । 
भाकपा मालेका पोलिटव्युरो सदस्य ट्वीन देवले साम्राज्यवादले जाति, धर्म र भाषाका नाममा जनतालाई लडाएर शासन गरिरहेको बताए । उनले साम्राज्यवाद विरोधी लडाईं नै जनवादको पक्षको लडाई भएको उल्लेख गरे ।
एकीकृत नेकपा माओवादीका नेता राम कार्कीले प्रजातन्त्रलाई आफ्नो भागमा पार्नु नै पुँजीवादीहरुको जीत र चलाखी भएको बताए । समाजवादीहरुलाई प्रजातन्त्रका विरोधीका रुपमा प्रचार गरेर पुजीवादीहरुले जीत हासिल गरेको पनि उनको भनाई थियो ।
बंगलादेश कम्युनिस्ट पार्टीका सज्जाद जाहिरले आन्तरिक जनतन्त्र र साम्राज्यवादविरुद्धको आन्दोलनलाई संगसंगै अगाडि बढाउनु पर्ने बताए । उनले साम्राज्यवादी प्रोपोगाण्डाका कारण पनि समाजवादी आन्दोलन कमजोर भएको टिप्पणि गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता मनमोहन भट्टराई, जनमोर्चा नेपालका महासचिव साध्यबहादुर भण्डारी, प्रगतिशील लेखक संघका अध्यक्ष अमर गिरी, नेकपा मालेका महासचिव सीपी मैनाली लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा जेठ २६ र २७ गते नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली, भारतीय कम्युनिस्ट पार्टी माले, बंगलादेश कम्युनिस्ट पार्टी, नेकपा माओवादीका केन्द्रीय सदस्य अजय ढकाललगायतका १ दर्जनभन्दा बढी कार्यपत्रहरु प्रस्तुत गरिने आयोजक नेकपा (मसाल)ले जनाएको छ ।

No comments:

Post a Comment

Global Mountain Biodiversity Assessment establishes first Asia hub in Kathmandu

  ICIMOD to host regional hub of prestigious global network in bid to increase scientific knowledge and policy responses to at-risk mounta...