Wednesday 19 June 2013

पार्टी रोज्ने कि पत्रकारिता ?

-पर्शुराम काफ्ले-
मूलधारको भारतीय पत्रकारिताका शीर्षस्थानमा रहेका आउटलुक पत्रिकाका पूर्व सम्पादक विनोद मेहताले राजनीति र पत्रकारिताको सम्बन्धबारे गत बर्ष काठमाडौं आएका बेला महत्वपूर्ण अभिव्यक्ति दिएका थिए । नेपाल मामिलामा पनि धेरथोर जानकारी राख्ने, लखनउका स्थायी बासिन्दा अनि नेपालबारे टिप्पणि गरिरहने भारतीय जनरल अशोक मेहताका साख्खे भाइ मेहताले भनेका थिए– पत्रकार र राजनीतिक दलबीच दुरी कायम नभएसम्म विश्वसनीय पत्रकारिता हुनसक्दैन ।’ लखनउ व्वाय नामक पछिल्लो चर्चित किताबमा पनि मेहताले भारतीय चर्चित नेता वा व्यक्तिहरुसँगको व्ववसायिक/व्यक्तिगत सम्बन्धको दुरीबारे आदर्श अनुभव बाँडेका छन् ।  उनले पत्रकारिताको जीवनमा कुनै नेतालाई केही आग्रह वा अनुरोध गरेनन् । केबल एकपटक भारतीय कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धीलाई अनुरोध गरे त्यो पनि अरु कुराका लागि होइन आउटलुक पत्रिकाको कुनै कार्यक्रममा आइदिनका लागि ।
दी काठमाण्डू पोष्टका प्रधानसम्पादक अखिलेश उपाध्यायको एउटा आदर्श अनुभव पनि सान्दर्भिक छ । विदेशस्थित संयुक्त राष्ट्रसंघीय मिसनमा कार्यरत नेपाली सेनाको गतिविधि बुझ्न सेनाकै सौजन्यमा गएका उपाध्यायले उताबाट फर्केको दोस्रो सातामात्रै त्यो भ्रमणबारे पत्रिकामा लेखे । दैनिक अखबारका सम्पादकले एउटा मामुली फिचरका लागि किन एक साता कुर्नुप¥यो ? कारण केही नभएर उनी आफैं थिए । उनले त्यसबारेमा कतै उल्लेख गरेका छन् – यदि मैले आउनासाथ लेखेको भए त्यहाँ यथार्थ भन्दा पनि भावनात्मक कुरा धेरै हुन्थ्यो र त्यसले पक्षधरताको पक्षपोषण गथ्र्यो । त्यसकारण भावनाबाट टाढा रहनका लागि एक साता कुरेँ, त्यसपछि कुल भएर लेखेँ ।’

नेपाली पत्रकारितामा पनि भारतीय र नेपाली सम्पादकका यी अनुभव/अनुभूतिको विशिष्ट महत्व छ । आफ्नो सामग्री (समाचार वा लेख)को विश्वसनीयता कसरी स्थापित गर्ने भन्नेमा लागेकाहरुलाई मेहता र उपाध्यायका अनुभव महत्वपूर्ण मार्गदर्शन सावित हुनसक्छन् । यो पाटोबाट नेपाली पत्रकारितालाई अध्ययन, बहस र विश्लेषण गर्ने बेला आएको छ । नेपालमा खुलेका पत्रकार संघसंगठन, पत्रपत्रिकाको व्यावसायिक धरातल र पत्रकारिताको केन्द्र मानिने काठमाडौंमा विट रिपोर्टिङको विभाजनको आधारलाई केलाउने हो भने हाम्रो अवस्था अत्यन्तै निरासाजनक छ । र, अब पत्रकारिताको विश्वसनीयता स्थापित गर्ने अभियानको थालनी अपरिहार्य भइसकेको छ । त्यसको आरम्भ हुनसक्छ– पार्टी निरेक्ष पत्रकारिता अभियान । पत्रकारितालाई कार्यकर्ताकारिताको तहबाट माथि नउठाएसम्म यसको विश्वसनीयता स्थापित हुन सक्दैन । सञ्चारमाध्यमको विश्वसनीयता कायम रहेन भने मुलुकमा लोकतान्त्रिक परिपाटीको जग तासको घरजस्तै कमजोर हुन्छ । नेपाली पत्रकारिता र पत्रकारसम्वद्ध संघसंगठनलाई पार्टीनिरपेक्ष बनाउनु यतिबेला सबैको प्राथमिक दायित्व हुन आएको छ । स्वयम् राजनीतिक पार्टीहरु पनि मुलुकमा लोकतन्त्र र लोकताीन्त्रक संस्कृतिको बलियो अनि विश्वसनीय जग बसाल्न चाहन्छन् भने यो मान्यतालाई उनीहरुले हृदयदेखि नै आत्मसात गर्नुपर्छ ।
संचार संस्थाको शुद्धिकरण
नेपाली पत्रकारहरुको छाता संगठनका रुपमा नेपाल पत्रकार महासंघ स्थापित छ । प्रजातन्त्र प्राप्तिका आन्दोलनहरुमा महासंघले आफ्नो दर्विलो र विश्वसनीय भूमिका निर्वाह गरेको छ । पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रजातन्त्र र प्रजातान्त्रिक पद्धतिमा मात्रै सुरक्षित हुन्छ र त्यो अवस्थामा मात्रै स्वतन्त्रताको अभ्यास गर्दै जनताको सुसुचित हुने हक स्थापित गर्न सकिन्छ भन्ने मान्यताको अगुवाई पनि गर्दै आएको छ । मुलुकमा पूर्ण प्रजातन्त्र (गणतन्त्र) स्थापना भइसकेको छ र अहिलेसम्मको यो ठूलो राजनीतिक उपलब्धीको हकदारका रुपमा पनि महासंघले आफूलाई सिद्ध गरिसकेको छ । तर, प्रजातन्त्र प्राप्तिपछि महासंघ कस्तो संस्थाका रुपमा स्थापित हुन थालेको छ र भन्ने कुरामा छलफल गर्नु आवश्यक छ ।
अहिले प्रष्टै देखिएको यथार्थ के हो भने पत्रकार महासंघको केन्द्रिय समितिदेखि जिल्ला समितिसम्म राजनीतिक दलको आग्रह र पूर्वाग्रहले ग्रस्त छ । पत्रकार महासंघको नेतृत्व छनौट या त राजनीतिक दलबीचको भागबण्डाको सहमतीबाट हुन्छ वा दलहरुबीचको प्रतिस्पर्धाबाट तय हुन्छ । त्यसका लागि चार राजनीतिक पार्टीहरु भातृ÷सुभेच्छुक संगठनहरु निर्णायक छन् । नेकपा एमालेको प्रेस चौतारी, नेपाली कांग्रेसका प्रेस युनियन, एकीकृत माओवादीको क्रान्तिकारी पत्रकार संघ र नेकपा–माओवादीको क्रान्तिकारी पत्रकार महासंघ । निर्णायक भइनसके पनि तराई÷मधेशी समुदाय र आदिवासी जनजाति समुदायको प्रतिनिधित्व गर्ने भनिएका समूहहरु पनि क्रियाशिल छन् । राजनीतिक दल वा निश्चित क्षेत्रीय÷जातीय समूहको प्रचार विभागबाट निर्देशित पत्रकारहरुको प्रतिस्पर्धा वा सहमतिका आधारमा पत्रकार महासंघको केन्द्रिय वा स्थानीय नेतृत्व चयन हुनु अब समयसापेक्ष हुँदैन । राजनीतिक पार्टी वा समूहको भातृ वा सुभेच्छुक संगठनका रुपमा खुलेका संगठनहरु स्वभावतः सम्बन्धित समूहको प्रचार विभागबाट निर्देशित हुन्छन् । प्रश्न यी संस्थाहरुको कार्यशैलीको होइन, ती संस्था वा संगठनको औचित्यमाथिको हो । जब राजनीतिक पार्टीहरुले पत्रकारहरुलाई भातृ संगठनमा भर्ती गर्छन् र पत्रकारले दलीय सदस्यका रुपमा पत्रकारितालाई उपयोग गर्छ त्यहीँबाट पत्रकारिताको विश्वसनीयतामा प्रश्नहरु खडा हुन्छन् । कुनै पनि राजनीतिक पार्टीको सक्रिय कार्यकर्ता नभएका वा हुन नचाहने र पत्रकारितालाई नै निष्ठा र आदर्शको पेशाका रुपमा स्थापित गर्न चाहने पत्रकारहरुले नै अब यसको विश्वसनीयता स्थापित गर्नुपर्ने अवस्था आइपरेको छ ।
पत्रकारहरुसामू अब प्रश्न उब्जेको छ– तपाईँ पत्रकारिता गर्ने कि दलीय राजनीति ? र पत्रकारले अब दुईमध्ये एउटा रोज्नुपर्नेछ । बास्तबमा दलीय राजनीतिको स्वार्थ पूर्तिका लागि खुलेका पत्रकारका संगठनहरुको औपचारिक विघटन नै पत्रकारिताको शुद्धिकरणका लागि प्राथमिक शर्त हो । कार्यकर्ता पनि बन्ने, पत्रकार पनि बन्ने अवस्थाको अन्त्य नभएसम्म पत्रकारिताको विश्वसनीयतामा सधैं प्रश्न उठिरहनेछ । उन्नत राजनीतिक उपलब्धी पाइसकेको यो मुलुकमा पत्रकाहरुले अब दलको झोला बोकेर ती दलका घोषित अघोषित लक्ष्यप्राप्तिका लागि झोला बोकिरहनु लोकतन्त्रकै विश्वसनीयताका लागि ठूलो उपहास हुनेछ ।
पत्रकारको राजनीतिक आस्था
यो पंक्तिकारले फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालमा पटकपटक पत्रकारिता रोज्ने कि कार्यकर्ताकारिता भन्नेबारेमा अब चाँडै निर्णय गर्नुपर्छ र कार्यकर्ताकारितालाई बाइबाई गर्नुपर्छ भनेर पटकपटक सवाल उठाउँदै आएको छ । कतिपय बृत्तबाट सकारात्मक प्रतिक्रिया आएको छ, काठमाडौंलाई कर्मथलो बनाएर मूलधारको पत्रकारितामा सक्रिय भएका र दलीय कार्यकर्ता बन्न नचाहने धेरै सहकर्मीहरुबीच यसबारे व्यापक विचारमन्थन पनि भएको छ । कतिपय बृत्तबाट दुईवटा सरोकार उठाइएका छन् । पहिलो, पत्रकारको राजनीतिक आस्था हुँदैन ? दोस्रो, कुनै दलको छाता नओढीकन नेपालमा कसले के गर्न सक्छ ?
पहिलो, पत्रकारको राजनीतिक आस्था हुनु हुँदैन भन्ने होइन र मुलुकमा दलीय व्यवस्था हुनुहुँदैन भन्ने तर्क पनि होइन । तर राजनीतिक कार्यकर्ताले राजनीति गर्ने हो, पत्रकारले पत्रकारिता गर्ने हो । राजनीति र पत्रकारिताका आ आफ्नै मूल्य र मान्यता हुन्छन् । दलीय व्यवस्थामा राजनीतिक पार्टीको महत्वलाई न्युनीकरण गर्न खोजिएको होइन । हरेक नागरिकलाई दल रोज्ने स्वतन्त्रताको ग्यारेन्टी हुन्छ पत्रकारितामा । सुरक्षा निकायमा कार्यरत व्यक्तिका लागिसमेत चुनावमा आस्थाको उपयोग गर्ने अधिकार दिइएको छ यो मुलुकमा । तर सवाल यो हो कि पत्रकारले राजनीतिक आस्थाको प्रयोग कुन बेला र कसरी गर्ने ? स्पष्ट छ, पत्रकारले निर्वाचनमा गोप्य मतदान गरेर आफ्नो राजनीतिक आस्था प्रकट गर्नुपर्छ एउटा नागरिकका रुपमा । तर पत्रकारले कार्यकर्ता बन्न मिल्दैन र पाउँदैन । त्यसबेला ऊ पत्रकार रहँदैन, रहनु हुँदैन ।
दोस्रो, दलको छाता नओढी यहाँ केही हुनेवाला छैन भन्ने मान्यताको खण्डन हामीले नै गर्नुपर्ने छ । पत्रकारिताका लागि मात्र नभएर पार्टीकरणले ग्रसित समाजका हरेक पेशा व्यवसायमा सक्रिय जमातले राजनीतिक कभरबाट बाहिर निस्किने साहस गर्नुपर्छ । जनतालाई सुशुचित गर्ने पत्रकारले दलीय आग्रह वा पूर्वाग्रहका पक्षमा जब आफूलाई प्रस्तुत गर्छ, त्यसले जनतालाई दिने सूचनाले जनतालाई सुसुचित गराउँछ कि भड्काउँछ ? गम्भीर प्रश्न हो यो ।
वास्तवमा नेपालमा पार्टीकरणको बाछिटाले नछोएको कुनै पनि व्यावसायिक दाबी गर्ने सञ्चार घरानाहरु होलान् । ठूला सञ्चारमाध्यममा सम्पादक नियुक्तीको मापदण्ड र बिट रिपोर्टर नियुक्तीको मापदण्डमासमेत राजनीतिकरणको ठूलो प्रभाव देखिँदै आएको छ । उदाहरण हेरौं, अधिकांश ठूला भनिएका सञ्चारमाध्यमले कुनै राजनीतिक दलको बिट रिपोर्टिङका लागि सम्बन्धित दलको कार्यकर्ता वा सहयोगीलाई जिम्मा दिएका छन् । केही अपबादबाहेक प्रायः सबै मिडियाको अवस्था यस्तो छ । एमाओवादीको रिपोर्टिङ् गर्न उसको कार्यकर्ता खटिने, कांग्रेसको रिपोर्टिङका लागि उसका कार्यकर्ता खटिने, एमालेको कार्यकर्ता मानसिकता बोकेकालाई सो दलको रिपोर्टिङको जिम्मेबारी दिइने, यो रोग सबै सञ्चारमाध्यममा छ । यसबाट कसरी वास्तविक समाचार सम्प्रेषण हुनसक्छ ? एउटा कार्यकर्ताले पार्टीको हितबिपरीत कसरी रिपोर्टिङ गर्नसक्छ र पार्टीप्रति कत्तिको आलोचनात्मक दृष्टि राख्नसक्छ ? यो सम्भव छैन । पत्रकारले आलोचनात्मक भूमिका निर्वाह गर्न छाडेर पार्टी वा समूहको शुभेच्छुक, समर्थक वा सहयोगी भूमिकामा आफूले उभ्याउन थाल्यो भने कहाँ बाँकी रहन्छ विश्वसनीयताको डोरी ? मुलुकको राष्ट्रिय हितको मात्र पक्षपोषण गर्नुपर्छ पत्रकारिताले । त्यसकारण, ठूला मिडियाको रिपोर्टिङ रुपको शुद्धिकरण र मिडियाको आवरणमा खुलेका राजनीतिक दलका भातृ संगठनको खारेजी नै निस्पक्ष पत्रकारिताको पहिलो मापदण्ड बनाइनुपर्छ । शुद्ध व्यवसायिक हक हित प्रबद्र्धन गर्नका लागि नेपाल पत्रकार महासंघको पुनसंरचनाका लागि सबैले जोड दिनुपर्ने बेला आएको छ ।
अबको बाटो
मुलुकले यतिबेला गणतन्त्र पाएको छ । तर यो अहिले कमजोर छ । प्रजातान्त्रिक मूल्य र मान्यतासहित गणतन्त्र संस्थागत गर्नुपर्ने मुलुकको प्राथमिक आवश्यकता हो । त्यसका लागि पत्रकारिता क्षेत्रको भूमिका सिर्जनात्मक र आलोचनात्मक हुनुपर्छ । एउटा समयमा पार्टी  पत्रकारिता (कतिपयले मिसन पत्रकारिता पनि भन्छन् )आवश्यक थियो होला, त्यसले मुलुकको राजनीतिक आन्दोलनलाई मद्दत पनि पु¥यायो होला । विगतमा पार्टी पत्रकारिताले राजनीतिक उपलब्धी हासिल गर्न पु¥याएको योगदानलाई कदर गर्दै अबको परिवर्तित परिप्रेक्ष्यमा त्यसको आवश्यतालाई विनम्रतापूर्वक अस्वीकार गरिनुपर्छ । किनभने निस्पक्ष भूमिकाले मात्रै पत्रकारिताको साख स्थापित हुनसक्छ अब । प्रजातन्त्रको मूलभूत मान्यतामा पत्रकारहरु प्रतिवद्ध छन् । ्
यदि प्रजातन्त्रलाई संस्थागत गर्ने हो भने राजनीतिक दलले पनि कम्तिमा पत्रकारसहित पेशागत संगठनको आवरणमा खोलिएका भातृ संगठनहरु बन्द गर्नैपर्छ । राजनीतिक आस्थाका आधारमा जतिसुकै दल खुले पनि केही फरक नपर्ला, तर एउटै व्यवसायको हितका लागि दलीय पसल आवश्यक छैन । व्यवसायिक लक्ष्यमात्र बोकेको एउटा साझा व्यावसायिक संस्था मात्र आवश्यक छ । मुलुकमा हरेक व्यवसायिक क्षेत्रमा मौलाएको पार्टीकरणका दुस्परिणामहरु देखिन थालेका छन् । पत्रकारिताकै कुरा गर्ने हो भने अब राजनीतिक पार्टीले पत्रकारलाई कार्यकर्ता बनाउने सपना देख्नुहुँदैन र पत्रकारले पनि पेशामा रहेरै राजनीति गर्ने आकांक्षाबाट आफूलाई मुक्त राख्नुपर्छ । दुईमध्ये एक रोज्नुपर्छ । अन्यथा कार्यकर्ता उत्पादनको भट्टीमा बदलिनसक्छ पत्रकारिता । पत्रकारहरुलाई कार्यकर्ता बनाउने अनि निस्पक्ष भूमिकाको अपेक्षा गर्ने दोहोरो मापदण्डबाट सबै राजनीतिक दल बाहिर निस्किनुपर्ने अवस्था आइसकेको छ । तर एउटा कुरा के हेक्का रहोस् भने नेपाली पत्रकारितामा कार्यकर्ताकारिता मात्रै व्यावसायिक चुनौति वा समस्या होइन । समस्या र चुनौति धेरैछन् । शुद्धिकरणका बिषय असंख्य छन् । पार्टी निरपेक्ष पत्रकारिताको मुद्दा केबल हाम्रो पेशागत शुद्धिकरणको केबल आरम्भ मात्रै हो ।
नेपाल पत्रकार महासंघ सिन्धुली शाखाद्धारा प्रकाशिन ‘पत्रकारिता’मा प्रकाशित ।

2 comments:

  1. म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
    adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

    ReplyDelete

top sidebar ads

समाचार

समाचार

recent posts comments tab

Blog Archive