Thursday 13 June 2013

मंसिर ४ मा निर्वाचन, असन्तुष्टलाई सरकारको आह्वानपत्र (पूर्णपाठ)


नेपाल सरकारको आह्वान

नेपालको अन्तरिम संविधान, २०६३ को धारा ६३ को उपधारा (२) बमोजिम सम्बत् २०७० साल मंसीर ४ गते मंगलबारका दिन संविधान सभा सदस्यको निर्वाचन हुने गरी नेपाल सरकारले निर्वाचनको लागि मतदान हुने दिन तोकेको छ । नेपाली जनताले आफ्नो संविधान आफैंले निर्माण गर्ने जनप्रतिनिधि सभा गठन गर्ने र नेपाली जनतामा अन्तरनिहित सार्वभौमसत्ताको नेपाली जनताले व्यावहारिक रूपमा प्रयोग गर्ने अवसर नै संविधान सभाको निर्वाचन हो । संविधान सभाको निर्वाचनबाट गठन हुने जनप्रतिनिधि सभाबाट मुलुकको संविधान निर्माण हुने मात्र नभई वर्तमान राजनैतिक गतिरोध अन्त्य हुने भई मुलुकले राजनैतिक निकाश पाउने, मुलुकमा राजनैतिक स्थायित्व कायम भई जननिर्वाचित तथा स्थिर सरकार कायम हुने हुँदा यसलाई राष्ट्रिय महत्वको विषयको रूपमा हेरिनुपर्दछ । संविधानसभाको निर्वाचनलाई मुलुकको लोकतान्त्रिक अभ्यासको प्रमुख उपलब्धिको रूपमा हेरिनुपर्ने हुँदा यसको सफलताको लागि नेपाल सरकार, निर्वाचन आयोग, राजनैतिक दलहरू, नागरिक समाज तथा संचारकर्मीहरूको पनि आ–आफ्नै जिम्मेवारी रहेको छ । अतः नेपाल सरकारबाट तोकेको मितिमा हुने संविधान सभाको निर्वाचनलाई सफल बनाउनसम्पूर्ण राजनैतिक दल, नागरिक समाज, संचारकर्मी, समस्त राष्ट्रसेवक कर्मचारी तथा सुरक्षाकर्मीहरू र समस्त नेपाली दिदी बहिनी तथा दाजुभाइहरूमा नेपाल सरकार हार्दिक अपिल गर्दछ ।
जेष्ठ ३०, २०७०
बैद्यका नाममा आह्वान
नेपाल सरकारले पटक पटक नेकपा–माओवादीलाई सरकारसँग वार्तामा आई यो पार्टीले राखेका मागहरूबारे छलफल र परामर्श गर्न तथा संविधानसभाको आसन्न निर्वाचनमा सकृयतापूर्वक सहभागी हुन आह्वान गरेको व्यहोरा सर्वविदितै छ । कुनैपनि समस्याको समाधान वार्ता, संवाद वा छलफलवाट नै हुन्छ भन्ने कुरामा विश्वास राख्दै, आफ्ना पूर्व शर्त त्यागी आसन्न संविधानसभाको निर्वाचन तथा अन्य समसामयिक विषयमा संवाद, छलफल र वार्तामा आउन नेपाल सरकार, मन्त्रिपरिषद्ले मिति २०७०÷०२÷३० मा नेकपा–माओवादी तथा सो दलसमेत रहेको मोर्चालाई अपिल गरेको व्यहोरा नेपाल सरकार पुनःस्मरण गराउन चाहन्छ । संविधान सभाको निर्वाचनबाट गठन हुने जनप्रतिनिधि सभाबाट मुलुकको संविधान निर्माण हुने मात्र नभई वर्तमान राजनैतिक गतिरोध अन्त्य हुने र मुलुकले राजनैतिक निकाश पाउने, मुलुकमा राजनैतिक स्थायित्व कायम भई जननिर्वाचित तथा स्थिर सरकार कायम हुने हुँदा यसलाई राष्ट्रिय महत्वको विषयको रूपमा हेरिनुपर्दछ ।  आजैका मितिमा नेपाल सरकारले संविधान सभा निर्वाचनसँग सम्बन्धित अध्यादेश राष्ट्रपति समक्ष स्वीकृतिका लागि सिफारिस गरेको छ र पहिलो हुने निर्वाचित हुने प्रणाली तर्फको निर्वाचन प्रयोजनका लागि निर्वाचन क्षेत्र निर्धारण गर्न आयोगको पनि आजै गठन गरेको छ । २०७० साल मंसिर ४ गते संविधान सभाको निर्वाचन प्रयोजनका लागि मतदान हुने गरी मिति पनि सरकारले आजैका मितिमा तोकेको छ ।
यस अवस्थामा, नेपाल सरकारले नेकपा–माओवादी र सो दलसमेत रहेको मोर्चालाई संविधान सभाको आगमी निर्वाचनमा सकृयतापूर्वक सहभागी हुन हार्दिक आह्वान
गर्दछ । नेपाल सरकार संविधान सभाको निर्वाचन निष्पक्ष, तटस्थ र सबैको सहभागिता सुनिश्चित गर्दै शान्तिपूर्वक सम्पन्न गर्न कटिबद्ध छ  । साथै, नेपाल सरकार मन्त्रिपरिषद्ले नेकपा–माओवादी तथा सो दलसमेत रहेको मोर्चालाई  आफ्ना पूर्वशर्त त्यागी सरकारसँग सबै समसामयिक विषयमा संवाद, छलफल र वार्तामा आउन पुनः हार्दिक आह्वान गर्दछ ।

जेष्ठ ३०, २०७०

उपेन्द्र यादब र अशोक राईलाई बेग्लै आह्वान
संघीय लोकतान्त्रिक मोर्चा, नेपाल र संघीय समाजवादी पार्टी नेपालले प्रस्तुत गरेको विभिन्न मागका सम्बन्धमा नेपाल सरकारको ध्यानाकर्षण भएको छ । उपर्युक्त मागका सम्बन्धमा सो मोर्चा तथा पार्टीसँग समय समयमा औपचारिक तथा अनौपचारिक वार्ता हुँदै आएको  र नेपाल सरकार उल्लेखित मागका सम्बन्धमा गंभीर रहेको कुरा सम्बन्धित पक्षलाई जानकारी गराइ सकिएको छ । उक्त मोर्चा तथा पार्टीले पेश गरेका मागहरू मध्ये केही माग पूरा भइसकेका छन् भने केही माग पूरा हुने क्रममा रहेका छन् । नेपाल सरकार संविधानसभाको निर्वाचन सम्पन्न गरी जनआकांक्षा अनुरुप संविधानसभाको गठन होस् भन्ने कार्यमा केन्द्रित भएकोले सोही अनुरुप सम्बत् २०७० साल मंसिर ४ गतेका दिन मतदान हुने गरी नेपालको अन्तरिम संविधान, २०६३ बमोजिम आजैका मितिमा निर्वाचनको मिति तोकेको कुरा सार्वजनिक भइसकेको छ । पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गतको निर्वाचनको लागि निर्वाचन क्षेत्र निर्धारण आयोगको गठन पनि सरकारले आजै गरेको छ । निर्वाचन सफलतापूर्वक सम्पन्न गरी मुलुकको वर्तमान गतिरोध अन्त्य गर्न जरुरी भएकोले सो कार्यमा सहयोग गर्न तथा पूरा हुन नसकेका आ–आफ्ना केही माग थाति राखी निर्वाचन सम्पन्न गराउने कार्यमा सहयोग पु¥याउन नेपाल सरकार संघीय लोकतान्त्रिक मोर्चा, नेपाल तथा संघीय समाजवादी पार्टी, नेपाललाई हार्दिक अपिल गर्दछ ।

जेष्ठ ३०, २०७०

No comments:

Post a Comment

top sidebar ads

समाचार

समाचार

recent posts comments tab

Blog Archive