Sunday 16 June 2013

निर्वाचन सुरक्षामा थप शक्ति आवश्यक

सुरेन्द्र सुवेदी
काठमाडौं, असार १ । आगामी संविधानसभा निर्वाचनका लागि सुरक्षा निकायलाई जनशक्ति, गाडी बन्दोबस्तीका सामान थप्नुपर्ने देखिएको छ । थप जनशक्ति, सञ्चार सेट, पाल, निर्वाचनमा परिचालन हुने सुरक्षाकर्मी र निर्वाचन सामान ओसार्न साना, ठूला सवारीसाधनको प्रबन्ध हुन आवश्यक रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीहरू बताउँछन् ।  
नेपाल प्रहरीमा हाल ६७ हजार १ सय ८१ र सशस्त्र प्रहरीमा ३३ हजार ५ सय १५ जना छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेपाल प्रहरीबाट ३५ हजार र सशस्त्र प्रहरीबाट झण्डै २० हजार जनामात्र  परिचालन हुन सक्ने ती निकायहरूको भनाइ छ । बाँकी जनशक्ति विशिष्ट व्यक्ति, औद्योगिक क्षेत्र, कूटनीतिक आयोग, नियोग, महŒवपूर्ण स्थानको नियमित सुरक्षामा रहन्छ ।  
अहिलेको अवस्थामा निर्वाचनमा खट्ने जनशक्ति कम हुने नेपाल प्रहरीका प्रवक्ता नायव महानिरीक्षक (डिआइजी) केशव अधिकारी बताउँछन् । उनका अनुसार एकै चरणमा निर्वाचन गर्दा थप ५० हजार जना प्रहरी आवश्यक पर्छ । सुरक्षा जनशक्ति थप्ने विषयमा सरकारले निर्णय गरिसकेको छैन । निर्वाचनका लागि नेपाल प्रहरीलाई मात्र करिब २ हजार थप गाडी आवश्यक पर्नेछ । ‘पुराना गाडी मर्मतका भरमा चल्दैछन्, निर्वाचनका लागि थप गाडी आवश्यक छ,’ प्रवक्ता अधिकारी भन्छन् । उनले निर्वाचनका लागि आवश्यक जनशक्ति, सवारीसाधन, उपकरण र इन्धनसमेतको विवरण गृहमन्त्रालयमा पठाइएको जानकारी दिए । नेपाल प्रहरीमा हाल तीन हजार थान सञ्चार सेट चालु छन् । बाह्र हजारमध्ये नौ हजार सेट बिग्रिएर थन्किएका छन् ।
सशस्त्र प्रहरीले निर्वाचनका लागि ठूला र सानासमेत १ हजार ५ सय सवारीसाधन आवश्यक पर्ने जनाएको छ । सशस्त्र प्रवक्ता नायव महानिरीक्षक (डिआइजी) नारायणबाबु थापाका अनुसार चुनावका लागि थप गाडी, त्रिपाल, टेण्ट र जनशक्ति चाहिन्छ ।  
सशस्त्र प्रहरी हाल ३९ स्थानमा स्थायी र १३ स्थानमा अस्थायी कार्यालय स्थापना गरेर बसेको छ । ‘निर्वाचनका लागि ७५ जिल्लामै पुग्न थप जनशक्ति, सवारीसाधन, उपकरण, बन्दोबस्तीका सामान आवश्यक पर्छ,’ प्रवक्ता थापा भन्छन्, ‘हामीले सरकारसमक्ष आवश्यकताको सूची पठाएका छौं ।’
सशस्त्र प्रहरीले जनशक्ति थपका लागि सरकारसँग माग गरिरहेको छ । हालै नेपाल प्रहरीमा १० हजार र सशस्त्र प्रहरीमा २ हजार २ सय ५० दरबन्दी थप भएको छ । औद्योगिक सुरक्षा बलको जनशक्ति त्यही परिचालित हुने भएकाले निर्वाचनका लागि थप जनशक्ति आवश्यक पर्ने सशस्त्र स्रोतको भनाइ छ ।
सशस्त्र प्रवक्ता थापाले निर्वाचनको समय आउन पाँच महिना रहेकोले सरकारले निर्वाचनको वातावरण बनाउँदै गर्दा सशस्त्रले प्रहरीले आफ्नो जनशक्तिलाई तालिम र निर्वाचन शिक्षा दिने योजना रहेको बताए । स्थायी दरबन्दी थप गर्न सरकारसँग आग्रह गरिएको उनको भनाइ छ ।

सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री माधव पौडेलले संविधानसभा निर्वाचनका लागि सुरक्षाकर्मी परिचालन गर्न कुनै कसर बाँकी नराख्ने बताए । उनले निर्वाचनमा परिचालन हुने सुरक्षा निकायका सबै अभाव पूरा गर्न सरकार तत्पर रहेको बताए । उनले हिमालय टाइम्ससँग भने, ‘सरकारले सुरक्षा निकायलाई कुनै पनि सामानको अभाव हुन दिने छैन ।’

हिमालय टाइम्स दैनिक, असार ३ ।

1 comment:

  1. म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
    adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

    ReplyDelete

top sidebar ads

समाचार

समाचार

recent posts comments tab

Blog Archive