Wednesday, 26 February 2014

पश्चिमी देश जातिवादी, भारत क्षेत्रीयतावादी

पश्चिमी साम्राज्यवादी देशहरू र उनीहरूद्वारा सहायता प्राप्त एन.जी.ओ., आई.एन.जी.ओ. आदिले जातिवादी र भारतीय विस्तारवादले क्षेत्रीयतावादी प्रकारको संविधान बनाउन संविधान सभा वा सरकारमा भएका राजनैतिक शक्ति वा सरकारमाथि पूरा दवाव दिनेछन् ।

-मोहनविक्रम सिंह-

अहिले संविधान सभाका अगाडि संविधानको निर्माणको गम्भीर जिम्मेवारी छ । पहिलो संविधान सभाको संविधानको निर्माण नगरिकन विघटन भयो । अहिले पनि राजनैतिक दलहरूको गतिविधिमाथि विचार गर्दा मुख्यतः उनीहरूले संविधानको निर्माणमाभन्दा दलीय स्वार्थ, व्यक्तिगत महत्वाकाङ्क्षा वा गुटबन्दीलाई बढी प्राथमिकता र त्यस आधारमा नै उनीहरूका बीचमा विवाद र कतिपय अवस्थामा सिद्धान्तहीन र अराजनैतिक प्रकारका झगडाहरू पनि चल्ने गरेको कुरामाथि विचार गर्दा दोस्रो संविधान सभाको पनि पहिलो संविधान सभाको जस्तै गती हुने त होइन ? त्यो सम्भावनालाई पनि पूरै अस्वीकार गर्न सकिन्न । त्यो अवस्थामा दोस्रो संविधान सभा पहिलो संविधान सभा जस्तै संविधानको निर्माण गर्न असफल नहोस् भन्नका लागि चौतर्फी रूपमा जनदवावको सिर्जना गर्नु पर्ने आवश्यकता छ । तर यो लेखमा हामीले मुख्य रूपले सामान्य रूपले संविधानको निर्माण होइन, त्यसले कुन प्रकारको संविधानको निर्माण गर्नु पर्दछ ? त्यसबारे नै विचार गरिनेछ ।
संविधान सभामा राष्ट्रिय जनमोर्चा एक्लै सङ्घीयताका विरूद्ध उभिएको छ । जबकि अन्य सबै राजनैतिक पार्टी वा सङ्गठनहरू सङ्घीयताका पक्षमा छन् । त्यो अवस्थामा अन्य सबै राजनैतिक शक्तिहरूले सङ्घीय संविधान बनाउन नै प्रयत्न गर्ने कुरा प्रष्ट छ । त्यस सन्दर्भमा प्रारम्भमा नै हामीले के कुरा स्पष्ट गर्न चाहन्छौँ—त्यो कुरा हामीले पहिले पनि स्पष्ट गर्दै आएका छौँ, गणतन्त्रलाई संस्थागत गर्ने कार्य र सङ्घीयताको विरोधमध्ये पहिलो कुरालाई प्राथमिकता दिन्छौँ । कतिपय पक्षहरूले बरू संविधान नबनोस् र गणतन्त्रलाई संस्थागत गर्ने कार्य नहोस्, तर सङ्घीय प्रकारको संविधान नबनोस् भन्ने विचार पनि प्रकट गरेको पाइन्छ । तर हामी त्यस प्रकारको विचारको पक्षमा छैनौँ । ती दुई वटा कुराहरूमध्ये, अर्थात्, संविधान नै नबन्ने र गणतन्त्र कायम नहुने वा सङ्घीयता सहितको गणतन्त्र कायम हुनेमध्ये एउटाको चुनाव गर्नु पर्ने अवस्था उत्पन्न भएमा हामीले दोस्रोलाई चुन्नेछौँ—सङ्घीयता सहितको लोकतान्त्रिक संविधान र गणतन्त्रलाई चुन्नेछौँ । यद्यपि त्यसका साथै सङ्घीयतका विरूद्ध संविधान सभाभित्र र बाहिर पनि हाम्रो लगातार सङ्घर्ष चलिरहनेछ । एक पल्ट सङ्घीय प्रकारको संविधान बने पनि जनचेतना र जनआन्दोलनका आधारमा त्यसलाई संशोधन गर्न सकिनेछ । तर गणतन्त्र नै असफल भयो वा राजतन्त्रको पुनस्र्थापना भयो भने देश प्रतिगमनतिर जानेछ । राजतन्त्रलाई खतम पार्न लामो सङ्घर्ष गर्नु पर्नेछ । त्यसकारण बरू लोकतान्त्रिक संविधान नबनोस्, तर सङ्घीयता सहितको संविधान नबनोस्—त्यस प्रकारको सोचाइलाई हामीले गलत मान्दछौँ ।
संविधान सभामा राष्ट्रिय जनमोर्चा वाहेक अन्य सबै राजनैतिक शक्तिहरू सङ्घीयताको पक्षमा भएकाले अहिले बन्ने संविधानमा सङ्घीयतालाई नै खारेज गर्नु मुश्किल छ । तर गत चुनावका सन्दर्भमा हाम्रो पार्टीद्वारा जारी गरिएको अपिलमा एमामाओवादीको नेतृत्वमा बनेको जातिवादी र क्षेत्रीयतावादी गठबन्धनलाई दुई–तिहाइ वा वहुमत प्राप्त गर्न नदिने आवश्यकतामा विशेष जोड दिइएको थियो । यो हाम्रा लागि प्रसन्नताको कुरा हो कि संविधान सभाको चुनावमा त्यस अनुसार नै जनादेश प्राप्त भएको छ । जनताले जातिवाद र क्षेत्रीयतावादका विरूद्ध स्पष्ट रूपले जनादेश दिएका छन् र एमाओवादी सहित जातिवादी र क्षेत्रीयतावादीहरू चुनावमा नराम्ररी पराजित भएका छन् । देशमा जातिवाद र क्षेत्रीयतावादका विरूद्धको सङ्घर्षमा हाम्रो पार्टीको नै नेतृत्वदायी, अग्रिम र मुख्य भूमिका रहेको छ । त्यसकारण एमाओवादी सहित जातिवादी र क्षेत्रीयतावादीहरूको पराजय हाम्रो पार्टीको महŒवपूर्ण विजय हो । निश्चय नै त्यो विजयका वावजुद सङ्घीयताका विरूद्ध त्यस प्रकारको विजय प्राप्त गर्न हामीले अझै लामो र कडा सङ्घर्ष गर्नु पर्ने आवश्यकता पर्नेछ । जे होस्, तत्काल जातिवाद र क्षेत्रीयतावादका विरूद्ध प्राप्त उपलब्धीलाई संस्थागत गर्न नै मुख्य जोड दिनु पर्दछ । नेपालमा एमाओवादी सहित जातिवादी र क्षेत्रीयतावादीहरूले जातिवाद र क्षेत्रीयतावादका आधारमा नै सङ्घीयतालाई संस्थागत गर्न जोड लगाइरहेका छन् । उनीहरूको सङ्घीयताको प्रधान र निर्णयात्मक पक्ष त्यही नै हो । यदि जातिवादी र क्षेत्रीयतावादी प्रकारको संविधान बनाउने उनीहरूको उद्देश्य असफल हुन्छ भने पनि त्यसबाट सङ्घीयताको ढाड भाँचिने छ । त्यो अवस्थामा सङ्घीयताविरूद्धको एउटा महŒवपूर्ण सफलता हुनेछ ।
तर जनताले जातिवाद र क्षेत्रीयतावादका विरूद्ध स्पष्ट जनादेश दिएको भए पनि त्यो जनादेशलाई संस्थागत गर्न त्यति सजिलो छैन । खास गरेर प्रथम, चुनावमा पराजित भएका भए पनि एमाओवादीको नेतृŒवमा जातिवादी र क्षेत्रीयतावादीहरूले जातिवादी वा क्षेत्रीयतावादी प्रकारको संविधानको निर्माणका लागि योजनावद्ध प्रकारले र लगातार दवाव दिने वा षडयन्त्र गर्ने काम गरिरहनेछन् । द्वितीय, अहिले जातिवाद र क्षेत्रीयतावादका विरूद्धको जनमतका कारणले वहुमतमा आएका राजनैतिक शक्तिहरू, मुख्यतः एमाले र ने.का. हरूको ढुमलुल, अवसरवादी र स्वयं जातिवाद र क्षेत्रीयतावादका प्रश्नहरूमा नै सम्झौतापरस्त नीतिका कारणले पनि जातिवादी वा क्षेत्रीयतावादी प्रकारको संविधान बन्ने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । तृतीय, पश्चिमी साम्राज्यवादी देशहरू र उनीहरूद्वारा सहायता प्राप्त एन.जी.ओ., आई.एन.जी.ओ. आदिले जातिवादी र भारतीय विस्तारवादले क्षेत्रीयतावादी प्रकारको संविधान बनाउन संविधान सभा वा सरकारमा भएका राजनैतिक शक्ति वा सरकारमाथि पूरा दवाव दिनेछन् । उक्त कारणहरूले गर्दा जनादेशका विरूद्ध जातिवादी वा क्षेत्रीयतावादी प्रकारको संविधान बन्ने सम्भावनालाई पूरै अस्वीकार गर्न सकिन्न ।
विश्वको र नेपालको पनि इतिहासले वारम्वार यो स्पस्ट गर्दै आएको छ कि कुनै खास देशमा, इतिहासका कुनै कालखण्डमा प्राप्त सफलता स्वतः स्थायी हुँदैन र त्यसले पुनः विपरीत दिशा लिने सम्भावना रहन्छ । इङ्ग्ल्याण्डको प्रजातान्त्रिक आन्दोलन वा फ्रान्सको गणतन्त्रको सङ्घर्षमा कैयौँ उचारचढाव भएका वा कैयौँ पल्ट प्राप्त असफलताहरू पुनः समाप्त भएका कैयौँ उदाहरणहरू हाम्रा अगाडि छन् । सोभियत सङ्घ सहित कैयौँ देशहरूमा समाजवादी क्रान्तिहरूका सफलता लामो समयसम्म त्यहाँ समाजवादी व्यवस्था कायम हुनुका वावजुद त्यहाँ पुनः पुँजीवादको पुनस्र्थापना भयो । नेपालमा पनि २००७ सालको निरङ्कुश राणा शासनको अन्त र संसदीय प्रणालीको स्थापना, २०४६ सालमा वहुदलीय व्यवस्थाको पुनस्र्थापनाका वावजुद पुनः निरङ्कुश राजतन्त्रको स्थापना समेतका उदाहरणहरूमाथि विचार गर्दा अहिलेको चुनावमा जातिवाद र क्षेत्रीयतावादका विरूद्धको स्पष्ट जनादेशका वावजुद त्यो जनादेश अनुसार नै संविधान बन्नेछ भन्ने कुरामा हामी ढुक्क बन्न सक्दैनौँ । खालि जातिवाद र क्षेत्रीयतावादका विरूद्ध उभिएका राजनैतिक शक्तिहरूको सचेत र दृढ प्रयत्न र जनताको उच्च स्तरको सतर्कता वा व्यापक र शक्तिशाली जनदवावका आधारमा नै जातिवादी र क्षेत्रीयतावादी प्रकारको संविधान बनाउने प्रयत्नहरूलाई असफल पारेर लोकतान्त्रिक संविधानको निर्माण हुन सक्नेछ र निर्माण गर्नु पर्दछ ।

2 comments:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete

Global Mountain Biodiversity Assessment establishes first Asia hub in Kathmandu

  ICIMOD to host regional hub of prestigious global network in bid to increase scientific knowledge and policy responses to at-risk mounta...