Thursday, 6 February 2014

सम्बन्ध विस्तारमा नेपाली सेना


नेपाली सेनाले हालसम्म भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र माल्दिभ्सका सेनासँग सम्बन्ध विस्तार गरेको  छ, भुटान र अफगानिस्तानसँग बाँकी छ । 

पर्शुराम काफ्ले
काठमाडौं, माघ २२ । दक्षिण एसियाका चार मुलुकका सेनासँग नेपाली सेनाले दुईपक्षीय सम्बन्ध विस्तार गरेको छ । भारत, पाकिस्तान र बंगलादेशको सेनासँग मात्र पुरानो सम्बन्ध रहेकोमा सेनाले यसपटक श्रीलंका र माल्दिभ्ससँग सम्बन्ध सुमधुर बनाएको छ । श्रीलंका र माल्दिभ्ससँग तालिम र सेमिनारका तहमा सीमित सम्बन्ध प्रधानसेनापति गौरव शमशेर राणाको भ्रमणपछि दुईपक्षीय सम्बन्धमा बदलिएको छ । भुटान र अफगानिस्तानको सेनासँग नेपाली सेनाको दुईपक्षीय सम्बन्ध विकसित हुन बाँकी छ । 
नेपाली सेना र भारतीय सेनाबीच भारत स्वतन्त्र भएदेखि आपसी सम्बन्ध रहेको छ । दुवै सेना प्रमुखहरू एक अर्काको सेनाका मानार्थ प्रमुख रहँदै आएका छन् । नेपालको पाकिस्तान र बंगलादेशका सेनासँग दुईपक्षीय सम्बन्ध छ । भारत, पाकिस्तान र बंगलादेशमा नेपाली सेनाका सैन्य सहचारी रहँदै आएका छन्, दुईपक्षीय तालिम पनि बाक्लै हुने गरेको छ । प्रधानसेनापति राणाको भ्रमणले माल्दिभ्स र श्रीलंकाका सेनासँगको दुईपक्षीय सम्बन्ध सुमधुर भएको सैनिक मुख्यालयको विश्लेषण छ । 
मुख्यालयका अनुसार सन् २०१० देखि नेपालमा कमाण्ड तथा स्टाफ तालिमका लागि श्रीलंकाली सेना सहभागी हुँदै आएका छन् । बर्सेनि एक श्रीलंकाली सैनिक प्रशिक्षार्थी सहभागी हुँदै आएका छन् । यसबाहेक नेपालमा हुने प्यारा बेसिक फोर्स, भिआइजेडब्ल्यु, माउन्टेन वारफेयरकोर्समा पनि श्रीलंकाली सैनिकको सहभागिता हुँदै आएको छ । श्रीलंकामा सञ्चालित डिफेन्स सर्भिस कमाण्ड एण्ड स्टाप कोर्स, प्रतिविद्रोह, जंगल वारफेयर कोर्स तथा अन्य रणनीतिक मामिलाका सेमनारमा नेपाली सैनिक सहभागी हुँदै आएका छन् । हालसम्म तालिम र सेमिनार गरी जम्मा १९ जना नेपाली सैनिक सहभागी भएका छन् । माल्दिभ्सको सेनाले २०६८ सालदेखि नेपालमा सञ्चालित आर्मी अफिसर क्याडेड कोर्समा सहभागिता जनाउँदै आएका छन् । नेपाली सैनिक पनि माल्दिभ्समा तालिमका लागि सहभागी हुन थालेका छन् । 
नेपालमा भारतीय सेनापति विक्रम सिंहको भ्रमण भएबाहेक अन्य मुलुकका सेनापतिको भ्रमण भएको छैन । अब श्रीलंका र माल्दिभ्सबाट सेनापतिले नेपाल भ्रमण गर्ने सम्भावना रहेको सैनिक प्रवक्ता सहायक रथी जगदीश चन्द्र पोखरेलले बताए । ‘प्रायः यस्ता भ्रमण बराबरीमा आधारित हुन्छ, उताबाट पनि भिजिट होला,’ पोखरेलले भने ।  
चार दिने औपचारिक भ्रमणका क्रममा प्रधानसेनापति गौरब शमशेर जबरा शनिबारदेखि श्रीलंकामा छन् । उनी माल्दिभ्सको भ्रमण सकेलगत्तै कोलोम्बो पुगेका हुन् । यो भ्रमणमा दुई सेनाबीचका आपसी सम्बन्धसँगै दक्षिण एसियाको समग्र सुरक्षाका विविध आयामले छलफलमा प्रवेश पाएको छ । दक्षिण एसियाको सबैभन्दा पुरानो सेनासँग दुई पक्षीय सम्बन्ध मजबुत पार्न माल्दिभ्स र श्रीलंकाले देखाएको तत्परता नेपाली सैनिक नेतृत्वले आत्मसात गरेपछि पहिलोपटक प्रधानसेनापतिको यो भ्रमण भएको हो ।
प्रधानसेनापति राणाले श्रीलंकाली समकक्षी लेफ्टिनेन्ट जनरल आरएमडी रत्नायके, जलसेनाका उपप्रमुख जयनाथ कोलम्बागालगातसँग दुईपक्षीय छलफल गरेका छन् । श्रीलंकाको स्वतन्त्रता दिवसमा विशिष्ठ पाहुनाका रूपमा निम्त्याइएका प्रधानसेनापतिले विगतमा पृथकतावादी आन्दोलनको केन्द्र जाफ्ना प्रायद्वीपको सुरक्षा र श्रीलंकाली सेनाको सफल प्रतिविद्रोहका बारेमा जानकारी हासिल गरेका छन् । नेपाली सेनाले विश्वका कठिन अवस्थाका संकटग्रस्त मुलुकमा शान्ति स्थापक मिसनमा सफलतापूर्वक जिम्मेवारी पूरा गरेको अनुभव यो क्षेत्रमा अन्य सेनाका लागि काम लाग्ने जानकारहरू बताउँछन् । दक्षिण एसियाली मुलुकका सेनाबीच संयुक्त सैन्य अभ्यास पनि अपरिहार्य रहेको सैनिक प्रवक्ता पोखरेलको भनाइ छ । ‘अन्य मुलुकसँग सेनाको तहमा विकसित हुने दुईपक्षीय सम्बन्धले मुलुकको विदेश नीति सञ्चालनमा पनि सहयोग पुग्नेछ र हाम्रो कूटनीतिक क्षमता अभिवृद्धि हुनेछ,’ प्रवक्ता पोखरेलले भने । 
दक्षिण एसियामा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र नेपाली सेना सबैभन्दा मजबुत मानिन्छन् । ‘स्थापना र सामथ्र्यको इतिहासका आधारमा नेपाली सेनालाई पहिलो भन्नुपर्छ किनभने भारतीय उपमहाद्वीपमा अंग्रेज उपनिवेश कायम रहेका बेला उसको सेनासँग आमनेसामने भिडेर इतिहास रच्ने नेपाली सेना मात्रै हो,’ बहालवाला एक सहायक रथीले भने । प्रधानसेनापति जबरा शुक्रबार श्रीलंकाबाट स्वदेश फर्किंदैछन् । 

No comments:

Post a Comment

Global Mountain Biodiversity Assessment establishes first Asia hub in Kathmandu

  ICIMOD to host regional hub of prestigious global network in bid to increase scientific knowledge and policy responses to at-risk mounta...