Monday, 10 February 2014

कोइरालाको मुख्य चुनौति : सात बुँदे सहमति


कोइरालाका लागि सबैभन्दा ठूलो चुनौति एक बर्षपछि प्रधानमन्त्री र 
सभामुखको निर्वाचन गर्ने भनेर एमालेसँग गरेको सहमति हो । एमाले र कांग्रेसले गरेको लिखित सहमतिलाई अन्तरिम संविधान  र व्यवस्थापिका संसदले चिन्दैन । 

-पर्शुराम काफ्ले-
...........................................................................................................

File photo : Gandhian leader Sushil Koirala at New Delhi..

नेपाली कांग्रेसका सभापति सुशील कोइराला अन्ततः प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । केही कुटनीतिक नियोगले उनीप्रति दर्साएको अरुची र सहयात्री कुन दल भन्नेमा देखिएको अन्यौल पार गर्दै कोइराला गणतन्त्र नेपालको छैठौं सरकारप्रमुख बन्न सफल भएका छन् । सादगी, सरल, सन्त र अहिलेसम्म लाभको पदमा नरहेको उनको पृष्ठभूमिले उनीप्रति आम सद्भाव र आदर रहेपनि दोस्रो दल नेकपा एमालेको समर्थनका कारणले मात्र दुई तिहाई मतले कोइराला बिजयी भएका हुन् । एकीकृत माओवादी, मधेशका दलहरुले कोइरालाको पक्षमा मतदान नगरे पनि उनको बिपक्षमा उम्मेदवार खडा गरेनन् । जसका कारण सोमवार प्रधानमन्त्री निर्वाचन प्रक्रिया सहज टुंगिएको थियो ।
कोइराला प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै उनको कार्यकालबारे व्यवस्थापिका संसदमै बहस शुरु भएको छ । नेकपा एमालेसँग कांग्रेसले आइतवार गरेको ७ बुँदे सहमति अनुसार अर्को बर्ष प्रधानमन्त्रीको पुनःनिर्वाचन हुनुपर्नेछ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संसदमा सोमवार कोइरालाको दिनगन्ती शुरु भएको बताएर कांग्रेस–एमाले गठबन्धनको सहमतिको औचित्यमाथि स्वभाविक प्रश्न उठाएका छन् । कांग्रेस र एमालेले गरेको सहमतिलाई संसद र अन्तरिम संविधानले औपचारिकरुपमा सरोकार राख्नुनपर्ने हुनाले त्यसको कार्यान्वयन निश्चित हुँदैन । 
तर राजनीतिकरुपमा कोइरालाको सरकार एक बर्षभन्दा बढी टिकाउन कांग्रेसले एमालेसँग केही महत्वपूर्ण पद दिनका लागि सम्झौता गर्नुपर्नेछ । विशेष गरी एमालेले राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा कांग्रेसको सहयोग जबर्जस्त गराउनका लागि पुनःनिर्वाचनको सहमतिमा हस्ताक्षर गराएको देखिन्छ । सभामुखको पनि एक बर्षपछि पुनःनिर्वाचन गर्ने उनीहरुको सहमति राजनीतिकरुपमा औचित्यपूर्ण नदेखिनु र त्यसको कार्यान्वयन नहुने सम्भावनालाई पनि अन्यथा लिन सकिँदैन । अर्थात्, कांग्रेस नेतृत्वमा सरकार गठनका लागि कांग्रेस र एमालेले गरेका अधिकांश सहमति कार्यान्वयन गर्ने संवैधानिक आधार छैन । 
प्रधानमन्त्री कोइरालाका लागि तत्काल मन्त्रालय बाँडफाँडमा पार्टीभित्र सन्तुलन मिलाउन अप्ठेरो देखिएको छ । तर यसले उनको रणनीतिक लक्ष्यमा अबरोध खडा गर्दैन । मुख्य बिषय, एमालेसँग कोइरालाको समझदारी कहिलेसम्म रहन्छ भन्नेले मात्रै अर्थ राख्नेछ । 
कोइराला सरकारका लागि एमाओवादी, मधेश केन्द्रित दलदेखि गणतन्त्रमाथि नै प्रश्न उठाएको राप्रपा नेपाल एकमुष्ठ प्रतिपक्षी देखिएका छन् । कांग्रेसका कोणबाट हेर्दा उग्रवापन्थी एमाओवादी र दक्षीणपन्थी राप्रपा नेपाल बिपक्षमा छन् । अर्कातिर कांग्रेसको पृष्ठभूमि बोकेकाहरुको निर्णायक बर्चस्व रहेको मधेश केन्द्रित दल पनि कोइरालाका सहयात्री हुन सकेका छैनन् । तीनै प्रबृत्ति बोकेका राजनीतिक समूहबाट सहयोग नपाएको अवस्थामा पनि कोइरालाले दुईतिहाई मत भन्दा बढीबाट समर्थन हासिल गरेका छन् । तर विजय गच्छदारबाट समेत कोइरालाले समर्थन नपाउनुलाई  आश्चर्यजनकरुपमा हेरिएको छ । फरक हैसियतका बिपक्षी समूहहरु कोइरालाका लागि चुनौति बन्ने सम्भावना छ । संसद बाहिर रहेको नेकपा–माओवादी त समग्रमा चुनौति छँदै नै छ । कोइरालाका लागि सबैभन्दा ठूलो चुनौति एक बर्षपछि प्रधानमन्त्री र सभामुखको निर्वाचन गर्ने भनेर एमालेसँग गरेको सहमति हो । एमाले र कांग्रेसले गरेको लिखित सहमतिलाई अन्तरिम संविधान  र व्यवस्थापिका संसदले चिन्दैन । 

No comments:

Post a Comment

Global Mountain Biodiversity Assessment establishes first Asia hub in Kathmandu

  ICIMOD to host regional hub of prestigious global network in bid to increase scientific knowledge and policy responses to at-risk mounta...