Sunday, 24 May 2015

सातसमुद्रपारिका रविन्द्रजंगको कति ठूलो मन

पचासलाख रकम र आठ करोडका सामान प्रधानमन्त्रीलाई हस्तान्तरण

काठमाडौं । वैशाख १२ को विनासकारी भूकम्पबाट पीडितहरुको सहयोगका लागि बेलायतमा बस्दै आएका एक नेपाली दम्पत्तिले ५१ लाख १७ हजार सातसय २७ रुपियाँ प्रधानमन्त्री दैविप्रकोप राहत कोषमा जम्मा गरेका छन् । बेलायतमा बसेर फेसन डिजाइनिङ व्यवसाय सञ्चालन गर्दै आएका रविन्द्र जंग लामिछाने र श्रीमती जेसिकाले करिब आठ करोड रुपियाँ बराबरका जिन्सी सामानसमेत पठाइदिएका छन् । व्यक्तिगत हैसियतमा लामिछानेले गरेको यो सहयोग उदाहरणीय मानिएको छ ।
रविन्द्रजंगकी आमा रुक्विना लामिछाने तथा पारिवारिक मित्र रहेका नेपाल नीति अध्ययन प्रतिष्ठानका कार्यकारी निर्देशक गेजा शर्मा वाग्लेले नगद र जिन्सी आइतवार विहान प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर हस्तान्तरण गरेका छन् । नेपाली व्यवसायीका तर्फबाट प्रधानमन्त्री राहत कोषमा गरेको यो ठूलो व्यक्तिगत सहयोग राशी हो । लामिछाने पर्वतका नागरिक हुन् । उनी नेपाल, नेपाली र हिन्दु धर्मका लागि विगतदेखि नै सहयोग गर्दै आएका व्यक्ति हुन् ।
लामिछानेले प्रधानमन्त्रीलाई पठाएको पत्रमा आपतविपतमा परेका बेला स्वदेश र विदेशमा बसेका नेपालीले सहयोग गर्नु कर्तव्य रहेको उल्लेख गरेका छन् । आफूले नेपाली नागरिकका हैसियतमा मातृभूमिप्रति कर्तव्य निर्वाह गरेको समेत लामिछानेले पत्रमा उल्लेख गरेका छन् । प्रधानमन्त्री कोइरालाले ठूलो सहयोग प्रति लामिछाने परिवारलाई धन्यवाद दिएको वाग्लेले जानकारी दिए । लामिछाने विगत केही दशकदेखि बेलायतको लण्डनमा बसेर व्यवसाय गर्दै आएका छन् । ‘लामिछानेले छोटो समयमा प्रगति गरेका छन् । अमेरिकामा प्रबल गुरुङजत्तिकै उनी बेलायत, चीन र थाइल्याण्डमा चर्चित छन्’ सामरिक मामिलाविज्ञसमेत रहेका वाग्लेले भने, ‘ तर उनी लो प्रोफाइलमा बसेर काम गर्न रुचाउँछन् । चर्चामा आउन उनी रुचाउँदैनन् ।’
लाछिानेले आठ करोड रुपियाँ खर्चेर टेन्ट, त्रिपाल, पाइन्ट, सर्ट, स्वेटरलगायतका सामान  पठाएका छन् । उनले हवाई भाडासमेत तिरेर पठाएको एउटा कार्गो जहाज काठमाडौं आइसकेको छ भने अब दुईलट बेलायतबाट र एकलट चीनबाट कार्गोमार्फत् सामान आउने छ । लामिछाने परिवारले नेपालमा शिक्षा, स्वास्थ्य, मन्दिर निर्माणमा सहयोग गर्दै आएको छ । उनले धुम्वाराहीमा २ करोड खर्चेर बुबाको स्मृतिमा मन्दिर निर्माण गरेका छन् । लामिछानेकी आमा रुक्विनाले समाजसेवामा पु¥याएको योगदातका लागि गत बर्ष राष्ट्रपति डा रामवरण यादबबाट प्रबल जनसेवा श्री पदक पाइसकेकी छिन् । सात समुद्रपारीबाट लामिछानेले गरेको यति ठूलो सहयोग अरु मनकारीका लागि पनि ठूलो उदाहरण बन्नेछ ।
 

No comments:

Post a Comment

Global Mountain Biodiversity Assessment establishes first Asia hub in Kathmandu

  ICIMOD to host regional hub of prestigious global network in bid to increase scientific knowledge and policy responses to at-risk mounta...