Tuesday 19 May 2015

भूकम्प पीडितलाई राष्ट्रपतिको एक महिनाको तलब

प्रधानमन्त्री राहत कोषमा राष्ट्रपति यादबले एक महिनाको तलब एक लाख २० हजार ३६० रुपियाँ हस्तान्तरण गरेका छन्

काठमाडौं । राष्ट्रपति डा रामवरण यादबले एक महिनाको तलब भूकम्पपीडितहरुका लागि प्रधानमन्त्री राहत कोषलाई दिएका छन् । भूकम्पले शीतल निवास चर्किएपछि उनी आफैं विस्थापित छन् । राष्ट्रपतिले उपत्यकाका भूकम्प प्रभावित क्षेत्रको भ्रमण गरी जनतालाई परेको पीरमर्काको पनि व्यक्तिगतरुपमा जानकारी लिइरहेका छन् ।
‘राष्ट्रपतिले पाउने एक महिनाको तलब एक लाख २० हजार  तीनसय ६० रुपियाँ प्रधानमन्त्री राहत कोषमा जम्मा भएको छ’ राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले भने, ‘हामी सल्लाहकारहरुले आधा महिनाको तलब जम्मा गरेका छौँ ।’ राष्ट्रपति कार्यालयका सचिवसहित निजि सचिवालयका कर्मचारीले पनि आधा महिनाको तलब प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको दाहालले बताए ।
दाहालका अनुसार राष्ट्रपति यादब पछिल्लोपटक ंपीडितले राहत पाएनपाएको अनुगमन गर्न आफैं सक्रिय भएका छन् । यादब भूकम्पबाट सबैभन्दा बढी प्रभावित उपत्यकाका महत्वपूर्ण ठाउँ पुगिसकेका छन् भने राहत र उद्दारबारे प्रधानमन्त्री सुशील कोइरालाबाट नियमीतरुपमा जानकारी लिइरहेका छन् । राष्ट्रपति कार्यालयमा विदेशी राष्ट्रप्रमुखहरुबाट समवेदना सन्देश पनि आइरहेको छ ।
राष्ट्रपतिलाई गत साता प्रधानमन्त्री कोइरालाले भूकम्पपछिको अवस्थाबारे ब्रिफिङ गरेका छन् भने योसाता पनि प्रधानमन्त्री शीतलनिवास जाने कार्यक्रम छ । राष्ट्रपतिलाई प्रधानसेनापति गौरब शमशेर राणाले पनि घटनाक्रमबारे नियमीतरुपमा ब्रिफिङ गरिरहेका छन् । राष्ट्रिय अनुसन्धान विभागबाट पनि राष्ट्रपति कार्यालयमा नियमीतरुपमा रिपोर्टिङ भइरहेको छ ।
राष्ट्रपति कार्यालयले भूकम्प आएलगत्तै देशबासीलाई सम्बोधन गर्दै विज्ञप्ति जारी गरेको थियो । त्यसपछि राष्ट्रपति नियमीतरुपमा सरकारले गरेका कामकारबाहीबारे चासो राखिरहेका छन् । राष्ट्रपतिलाई १२ वैशाखकै साँझ भारतका राष्ट्रपति प्रणब मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरी समवेदना प्रकट गरेका थिए । राष्ट्रपतिलाई अन्य मुलुकका राष्ट्रप्रमुखहरुले पनि टेलिफोन गरी नेपालीहरुको दुःखप्रति सहानुभूति व्यक्त गरेका थिए । ‘शुरुशुरुमा विदेशी समकक्षीहरुले टेलिफोन गरेर चासो व्यक्त गरे, अहिले नेपालीहरुको दुःखमा सहानुभूति व्यक्त गर्दै सन्देशहरु आइरहेका छन्’ सल्लाहकार दाहालले भने ।
१५० बर्ष पुरानो शीतल निवास (राष्ट्रपति भवन) चर्केपछि पाँच रात चौरमा पालमुनि रात कटाएका राष्ट्रपति हाल सभा हलमा सरेका छन् । दाहालका अनुसार भूकम्प आएयता राष्ट्रपति पुरानो भवनको निवासमा पुगेका छैनन् । पुरानो भवनको दोस्रो तल्लामा राष्ट्रपतिको निजि निवास छ ।
दशदिनयता राष्ट्रपति यादब शीतल निवास छेऊको सभाहलमा सरेका छन् । उनको कार्यालय पनि मूख्य भवननको भुईँ तल्लामा ईन्जिनियरले खतरामुक्त स्टीकर टाँसेका स्थानमा सञ्चालन भएको छ । 
भूकम्प आएको चार दिनपछि राष्ट्रपति यादब राष्ट्रिय भूकम्प प्रविधि केन्द्रको भ्रमण गए जहाँ मन्त्रीपरिषदको आपतकालीन वैठक बसेको थियो । त्यही स्थानमा सरकारका मन्त्री, सुरक्षा निकायका प्रमुखहरु र सबै मन्त्रालयका सचिवहरु रहेको केन्द्रिय कमाण्ड सेन्टर स्थापित छ ।
छोरी सक्रिय
भूकम्प गएलगत्तै राष्ट्रपतिकी छोरी अनिता यादबले फेसबुकमार्फत् प्रतिक्रिया सार्वजनिक गरिन् । उनले भूकम्पबाट आफू दुःखी भएको भन्दै आफूले सक्दो सहयोग गर्ने बचनसमेत दिएकी थिइन् । अपरान्ह ४ बजे उनले फेसबुकमा लेखेकी थिइन् ।
उनले मे ५ मा काभ्रेका प्रमुख जिल्ला अधिकारीलाई राहत सामग्री हस्तान्तरण गरिन् । १५० व्ल्यांकेट, १३९ वटा पाल, एक सय जार पानी, ३० हजार पाकेट वाईवाई चाऊचाऊ दिएकी ििथइन् । बीपी केन्द्र एनजीओमार्फत् यादबल े ती सामान हस्तान्तरण गरिन् । अघिल्लो दिन उनले नुवाकोटमा पनि यस्तै सामग्री हस्तान्तरण गरेकी थिइन् ।
अनिताले मे ६ मा सबै नेपालीले पाँच पाँच रुपियाँ उठाएर सहयोग गर्न अपिल गरिन् । ‘यदि हामी सबैले पाँच पाँच रुपियाँ संकलन ग¥यौं भने ठूलै रकम जम्मा हुन्छ र हामीले कम्तिमा एउटा गाउँलाई सहयोग गर्न सक्छौँ । हामी दीर्घकालिन समाधानमा केन्द्रित होऔँ । म यो आफ्नो तर्फबाट गरिरहेको छु । म शाही खान्दानकी होइन । मसँग सरकार छैन । म राष्ट्रपतिकी छोरीका रुपमा मात्र बढी प्राथमिकृत छु । नेपालमा रहेर जीवनका लागि संघर्ष गर्ने अन्य नेपालीहरु र मेरो बीचमा कुनै फरक छैन । यदि तपाईँ पाँच रुपियाँ जम्मा गर्न सहमत हुनुहुन्छ भने जनताले अनुदान दिने संयन्त्र बनाउन सकिन्छ । यो लक्ष्य कसरी पूरा गर्न सकिन्छ भन्ने बिषयमा तपाईँ पनि आफ्ना धारणा राख्न नहिच्किचाउनुस् । सँगै काम गरौँ । के होला भन्नेमा नपर्खौँ अहिले जे हुन्छ त्यो सम्भव बनाउँ ।’

No comments:

Post a Comment

top sidebar ads

समाचार

समाचार

recent posts comments tab

Blog Archive