Wednesday, 13 May 2015

तेस्रो ठूलो भूकम्पको केन्द्रबिन्दु : दोलखाको झ्याकुसुरी र चिलंखा, धक्का भारत र भूटानसम्म

'अब ठूलो आउने सम्भावना  न्यून '
काठमाडौं, ३० वैशाख 
६ दशमलब ८ रिकटरस्केलको आठ हजार भन्दा बढीको ज्यान जाने गरी आएको विनासकारी भूकम्पपछि जनजीवन सामान्य बनिरहेका बेला मंगलवार दिउँसो पुनः ठूलो भूकम्प आएको छ । दोलखा र सिन्धुपाल्चोकको सीमावर्ती क्षेत्रलाई इपिसेन्टर (केन्द्रबिन्दु) बनाएर आएको भूकम्पको झड्काले जनजीवन पुनः त्रसित बनाएको छ । भूकमपको धक्का नेपाल, भारत र भूटानसम्म पुगेको छ । दोलखामा मात्रै पाँच रिक्टरस्केलभन्दा माथिका चारवटा पराकम्पन गएका छन् ।
मंगलवार अपरान्ह १२ बजेर ५४ मिनेटमा गएको भूकम्पलाई भूगर्भविद्ले १२ वैशाखमा गएको ७ दशमलब ६ रिकटरस्केलको भूकम्पको पराकम्पन भनेका छन् । दोलखाको झ्याकुसुरी र चिलंखा भन्ने स्थानको बीचलाई भूकम्पले केन्द्रबिन्दु बनाएको गृह मन्त्रालयले जनाएको छ ।यसअघि १३ वैशाखमा ६ दशमलब ९ रिक्टरस्केलको पराकम्पन आएको थियो भने त्यसयता हालसम्म चार रिक्टरस्केलभन्दा माथि १६० भन्दा बढीपटक पराकम्पन गएका छन् ।
मंगलवारको भूकम्पबाट पाँच दर्जनभन्दा बढीको ज्यान गएको र एक हजार भन्दा बढी घाइते भएको गृह मन्त्रालयले जनाएको छ । यसअघिको ठूलो भूकम्पले चर्काएका गाउँका पुराना घर नष्ट भएका छन् । गृह मन्त्रालयका अनुसा भूकम्पबाट सबैभन्दा बढी मानवीय क्षति दोलखामा भएको छ भने  काठमाडौं, ललितपुर, सुनसरी, सिन्धुली, सिन्धुपाल्चोक, धनुषा, सर्लाही, रामेछाप, रौतहट, गोर्खामा पनि मानवीय क्षति भएको छ । भक्तपुरलगायत देशैभरी  भौतिक सम्पत्तिमा क्षति पुगेको छ । यसअघिको भूकम्पबाट करिब ९ खर्ब बराबरको भौतिक क्षति मूल्यांकन भएकोमा पछिल्लो भूकम्पको क्षतिको विवरण आइसकेको छैन ।
यसअघि आएको ठूलो भूकम्पबाट मृत्यु हुनेहरुको संख्या मंगलवार अपरान्ह ७ बजेसम्म आठहजार एकसय ५१ जना पुगेको गृह मन्त्रालयले जनाएको छ ।
मंगलवार साँझसम्म चार रिक्टरस्केलमाथिका ९ वटा भूकम्प गएका छन् । राष्टिय भूकम्प मापन केन्द्रका अनुसार ६ दशमलब  ८ रिकटरस्केलको भूकमप आउनुअघि चार र चार दशमलब एक रिकटरस्केलका दुईवटा भूकम्प गएका थिए । विहान दुई बजेर ८ मिनेट जाँदा धादिड र गोर्खालाई केन्द्रबिन्दु बनाएर चार दशमलब १ रिक्टरस्केलको तथा मध्यराती १२ बजेर सात मिनेट जाँदा धादिडलाई केन्द्र बनाएर चार सिकटरस्केलको भूकम्प आएका थिए ।
ठूलो भूकम्पपछि पाँच रिक्टरस्केल भन्दा बढीका ६ वटा पराकम्पन गएका छन् । केन्द्रका अनुसार अपरान्ह दुई बजेर ४४ मिनेटमा दोलखालाई केन्द्रबिन्दु बनाएर पाँच दशमलब ३, दुई बजेर ६ मिनेटमा दोलखालाई नै केन्द्र बनाएर पाँच दशमलब ३, सिन्धुपाल्चोकलाई केन्द्र नाएर १ बजेर ५८ मिनेटमा पाँच दशमलब ३ रिक्टरस्केलको पराकम्पन गएको थियो । त्यसअघि १ बजेर २८ मिनेटमा दोलखालाई केन्द्र बनाएर ६ दशमलब दुई रिक्टरस्केल र एक बजेर दुई मिनेटमा दोलखालाई नै केन्द्र बनाएर पाँच दशमलब आठ रिकटरस्केलको भूकम्प गएको थियो ।
 
अब ठूलो आउने सम्भावना न्यून
डा रामचन्द्र तिवारी
भूगर्भविद्,

अमेरिकी संस्था युएसजीएसले मंगलवार गएको पराकम्पनलाई ७ दशमलब ७ म्याग्निच्युड (रिक्टरस्केल) भनेको छ । नेपालको राष्टिय भूकम्प मापन केन्द्रले ६ दशमलब ८ रिक्टरस्केल भनेको छ । हामीले नेपालकै आँकडालाई आधिकारिक मान्नुपर्छ । यसमा फरक पर्ने आधार भूकम्प मापन गर्ने यन्त्र र मापनका इन्डिकेटर हुन् । नेपाली भूकम्प मापन यन्त्र र अमेरिकी मापन यन्त्रको प्रविधि फरक हुन्छ जसका कारण भूकम्पको मापनमा फरकपन देखिएको हो । यो स्वभाविकै हो । अमेरिकीले कोदारी राजमार्गबाट १८ किलोमिटर दक्षीणपूर्वलाई केन्द्र मानेको छ । नेपाली केन्द्रले सिन्धुपाल्चोक र दोलखाको सीमाना भनेको छ । आधिकारिकता के हो भन्ने कुरा भूकम्प मापन केन्द्रले स्पष्ट पार्नुपर्छ किनभने आधिकारिक नेपाली निकाय उही नै हो ।
यो पराकम्पन हो, ठूलो भूकम्प होइन
मंगलवार पराकम्पन गएको हो नयाँ ठूलो भूकम्प होइन । वैशाख १२ गते गोर्खाको वारपाक केन्द्र बनाएर सात दशमलब ६ रिक्टरस्केलको भूकम्प जाँदा त्यसको असर दोलखासम्म देखिएको थियो । अर्थात्, गोर्खादेखि दोलखासम्मको जमिनमुनिको एउटै चट्टान चिरा परेको थियो । अहिले त्यही स्थानमा चर्किएर शक्ति बाहिर आएको छ । पहिला जमिन चिरा परेकै ठाउँमा आएको हुनाले यो पराकम्पन हो ।  तर पराकम्पन यति ठूलो आउँछ भन्ने हिसाबकिताब हामीकहाँ थिएन । १३ वैखाखमै ६ दशमलब ९ रिक्टरस्केलको पराकम्पन गएको हुनाले त्यसको हाराहारिमा आउँदैन भन्ने एकखालको मूल्यांकन थियो । तर मंगलवार त्यसकै हाराहारिमा आयो । यसलाई अन्यथा लिनु हुँदैन । पूर्व क्षेत्रकै कुरा गर्दा २०४५ सालमा ६ दशमलब ७ र २०७० सालमा ६ दशमलब ८ रिक्टरसकेलको भूकम्प गइसकेको छ । यसपटक १६० भन्दा बढी चार रिक्टरस्केल भन्दा माथिका पराकम्पन गएका छन् । पटक गएका पराकम्पनबाट पूर्वतिर सञ्चित शक्ति बाहिर गइसकेको छ । अब पूर्वमा खतरा कम भएको अर्थमा हामीले बुझ्नुपर्छ । विसं १९९० मा आठ दशमलब ४ रिक्टरस्केलको महाभूकम्प आयो । त्यसको ८२ बर्षमा यसपटक ७ दशमलब ६ रिकटरस्केलको भूकम्प र त्यसयता ठूलासाना १६० वटा चार रिकटरस्केलमाथिका पराकम्पन गए । नब्बे सालयताको सञ्चित शक्ति लगभग रिलिज भइसक्यो भन्ने अर्थमा मैले बुझेको छु । किनभने पृथ्वीको सतहमुनि शक्ति जम्मा हुन धेरै समय लाग्छ । त्यसरी जम्मा भएको शक्ति अहिले बाहिर आएको हुनाले पूर्वी र मध्यपहाडी भागमा अब ठुलो भूकम्पको खतरा निकै कम भएको छ । सानातिना गए पनि अब पराकम्पनको डर सम्भवतः हुँदैन । तर भूकम्पको भविश्यवाणि गर्न सकिएको छैन, अहिलेसम्मको तथ्यांक विश्लेषण गर्दा खतरा कम भएको भनिएको हो । समग्र नेपालकै सन्दर्भमा भन्दा शक्ति बाहिर गइसकेको छ । अहिलेसमम जति पराकम्पन गए, त्यसलाई राम्रै मान्नुपर्छ । जसले ठूलो भूकम्पको सम्भावनालाई न्यूनीकरण गरिरहेको छ ।
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

No comments:

Post a Comment

Global Mountain Biodiversity Assessment establishes first Asia hub in Kathmandu

  ICIMOD to host regional hub of prestigious global network in bid to increase scientific knowledge and policy responses to at-risk mounta...