Monday 25 May 2015

ग्लोबल गान्धी फेमिलीका नाममा नेपालमा ठूलो भ्रष्टाचार, मधुमेय उपचार परियोजना अलपत्र

भारतीय दुतावासका कर्मचारी र भुसालको संलग्नता
 
 

SURYA BHUSAL
काठमाडौं । नेपालस्थित भारतीय दुताबासले मधुमेय विरामीका लागि निःशुल्क उपचार गराउन एउटा संस्थालाई दिएको रकम हिनामिना भएको छ । सात बर्षे परियोजना अन्तर्गत पहिलो बर्षको दश प्रतिशत रकम स्थानीय एनजीओले भ्रष्टाचार गरेपछि परियोजना बन्द भएको छ । संस्थाका अध्यक्षले एकल खाता प्रणालीमा अधिकांश रकम हिनामिना भएपछि दूताबासले बाँकी रकम बन्द गरेको छ । त्यही संस्थाका नाममा भूकम्पपीडितका लागि आएको लगभग सय ट्रक सामान विक्री भएको विवरण समेत सार्वजनिक भइरहेको छ । 
गान्धी ग्लोबल फेमिली नेपाल २०६८ जेठ ३० गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको  थियो । लगत्तै संस्थाका पदाधिकारीले भारतीय  दुताबाससँग चरणबद्ध कुराकानी गरेर सात बर्षे परियोजना स्वीकृत गराएका थिए । हरेक बर्ष पाँच करोडका दरले २०२० सम्म ३५ करोड रुपियाँ दिने सम्झौता ४ अक्टोबर २०१३ मा भएको थियो । त्यसमा भारतीय दुताबासका काउन्सीलर पियुष श्रीवास्तब र गान्धी ग्लोबलका तर्फबाट अध्यक्ष सूर्य भुषालले हस्ताक्षर गरेका थिए ।
सम्झौता अनुसार ११ जिल्लाका तीस हजार ८ सय जना विरामीलाई उपचारका लागि बार्षिक बजेटको दश प्रतिशत ४९ लाख ९९ हजार पाँच सय रुपियाँ दिइएको थियो । शुरुमा कन्चनपुर, सुर्खेत, तनहुँ, मुस्ताङ्, चितवन, नवलपरासी, काठमाडौं, सोलु, जनकपुर, झापा र पर्सा छनौट भयो । सात बर्षमा ७५ जिल्लामै निशुल्क मधुमेयसम्बन्धी रोगको निःशुल्क परीक्षण गर्ने परियोजनामा उल्लेख थियो । शुरुवातमा ११ जिल्ला छनौट भयो ।  त्यसका लागि भारतबाट चिकित्सकहरुले आएर निःशुल्क जाँच गर्ने तर उनीहरुको हवाई टिकट र खानेबस्ने व्यवस्था आयोजकले मिलाउने सहमति भयो ।
स्वास्थ्य शिविर सञ्चालन गर्न २०७० चैत २६ गते ५०लाख रुपियाँ गान्धी ग्लोबल फेमिली नेपालका नाममा जम्मा भयो । सो रकम एचएनबी डेभलेपमेन्ट बैंकमा रहेको संस्थाको खाता नंवर ०११००१०००९०६२५०००००१ मा जम्मा भयो । भारतीय दुताबासले एसवीआई वैंकमार्फत दिएको एकाउन्ट पेयी चेक सो बैंकमा जम्मा भएको थियो । सो बैंकमा आधिकारिक डकुमेन्ट नदिइए संस्थाको नाममा खाता खुलेको थियो र अध्यक्ष भुसालको मात्रै हस्ताक्षरबाट पैसा निकाल्न मिल्ने गरी खोलिएको थियो ।
संस्थाको विधानको दफा २० अनुसार अध्यक्ष र कोषाध्यक्षको नाममा संयुक्त खाता हुनुपर्ने र कारोबार पनि सोही अनुसार हुनुपर्नेमा भुसाल एक्लैले पैसा निकाले । जबकि संस्थागतरुपमा ज्योति विकास बैंकमा खाता खोलिएको थियो । जसको खाता नंवर ००१००००९८९०१ हो । तर रकम त्यसमा जम्मा नभई एचएनबी वैंकमा खोलियो । संस्थाका जानकारहरुका अनुसार बैंकका उपल्ला अधिकारीको मिलेमतोमा भुसालले आफ्नो नाममा एकल खाता खोल्न सफल भए ।
गान्धी ग्लोबल फेमिलीले स्वास्थ्य जाँच गरिने हरेक जिल्लामा २८ सय विरामीको ‘फ्रि डायविटिज स्क्रीनिङ्’ गर्ने भनेको थियो । तीमध्ये ९५० जनालाई छ महिना निःशुल्क औषधी दिने र ४ सय जनाको निःशुल्क ल्याब टेष्ट गराउने पनि भनिएको थियो । तर स्वास्थ्य जाँच भएका ठाउँमा यो काम भएन ।
त्यसक्रममा खरिद गरिएको दश लाख रुपियाँ बराबरको औषधीको भुक्तानी हालसम्म भएके छैन । लोमस फर्मास्युटीकल्स र देउराली फर्मास्युटीकल्सबाट विना टेन्डर औषधी खरिद भएको थियो । ती औषधी न बाँडियो, न पैसा नै तिरियो ।
२०७१ जेठमा पर्सा, चितवन, नवलपरासीमा र पुसमा कञ्चनपुरमा शिविर सञ्चालन भयो । भारतीय दुताबाससँग सम्झौता हुनुअघि नै २०७० फागुनमा सिन्धुपाल्चोकमा स्वास्थयशिविर सञ्चालनमा आयो । तर घोषणा भएअनुसार औषधी वितरण पनि भएन, ल्याब टेष्ट पनि गरिएन । ‘वीरगञ्जमा दुई महिनापछि औषधी पठाइयो, बाँकी कहाँ गयो थाहा भएन’ ग्लोबल फेमिलीका एक जानकारले भने ।
शिविरमा गएका डाक्टर, प्राविधिकको पारिश्रमिकको भुक्तानी हालसम्म भएको छैन । नयाँ दिल्लीबाट आएका चिकित्सक डा अनुपम प्रकाशसहित सात जनाको हवाई भाडा र नेपाल–भारत मैत्री अस्पतालको १५ लाख रुपियाँसमेत अहिलेसम्म भुक्तानी भएको छैन ।
पहिलो बर्षका लागि तयार गरेको प्रोजेक्ट विवरण कार्यान्वयन भएको छैन । संस्थाले भारतीय दुताबासलाई बुझाएको विवरणमा २८०० जनालाई ल्याब टेष्टका लागि ४ लाख ३० हजार, ९५० जनालाई ६ महिनाका लागि दिने औषधीका लागि २३ लाख ७५ हजार, एड्भान्स डाइग्नोसिसका लागि ४०० जनालाई प्रतिव्यक्ति १६५०का दरले ६ लाख ६० हजार रुपियाँ खर्च गर्ने उल्लेख छ । पत्रिका, रेडियो र टेलिभिजनमा दिने विज्ञापन र प्रचारप्रसारका नाममा तीन लाख ५० हजार, गाडी कुदाउनका लागि एक लाख, हरेक शिविरमा जाने ६ जना डाक्टरका लागि पारिश्रमीक वापत् ३ लाख, खान बस्न दुई लाख र अन्य खर्चसमेत जोडेर ४९ लाख ९९ हजार पाँचसय रुपियाँ प्रस्ताब भएको थियो । प्रस्ताब अनुसार सबै रकम दूताबासले भुक्तानी गरिदिएको थियो । सो रकम दुताबासका स्थानीय कर्मचारी र भुसालको मिलेमतोमा निकालेर भागबण्डा भएको आशंका गरिएको छ ।
कवितामा पनि भ्रष्टाचार
सूर्य भुसाल अध्यक्ष रहेको नेपाल इन्डिया ह्युमेन डेभलपमेन्ट एण्ड फ्रेन्सिप एशोसिएसनका नाममा नेपाल भारत सम्बन्ध सुमधुर पार्ने कविता प्रतियोगिता गराउन आएको रकमसमेत भ्रष्टाचार भएको छ । त्यसका लागि भारतीय दुताबासले तीन लाख ९६ हजार रुपियाँ दिएको थियो । एचएनबी वैंकको खाता नंवर ०११००२०००४०११७०००००१ मा जम्मा भएको रकम भुसालले संस्थामा कार्यरत विभिन्न व्यक्तिका नाममा चेक काटेर निकालेका छन् । प्राप्त कागजात अनुसार २०७० फागुन २० देखि चैत २८ गतेसम्म पटकपटक गरी सबै रकम निकालिएको छ । सौरभ बस्नेतका नाममा चारपटक गरेर दुईलाख ६० हजार रुपियाँ निकालिएको छ । सञ्जयबाबु ढकालका नाममा एक लाख युवराज दाहाल र मिलन कारञ्जितका नाममा दश दश हजार, टेकेन्द्र अधिकारीका नाममा चार हजार रकम निकालिएको छ । तर संस्थाले कविता प्रतियोगिता काहिँ पनि आयोजना गरेन ।
(शीर्षकमा सामान्य परिवर्तनबाहेक यो समाचार आज प्रकाशित तरुण साप्ताहिकबाट साभार गरिएको हो–सम्पादक)
 

No comments:

Post a Comment

top sidebar ads

समाचार

समाचार

recent posts comments tab

Blog Archive