Saturday 23 May 2015

भूकम्पपछि बल्ल मानिखेल स्वास्थ्यचौकीमा चहलपहल


पर्शुराम काफ्ले, मानिखेल (ललितपुर)
...........................................................................


अस्पताल भवन निर्माण भएको पाँच बर्षसम्म ललितपुर मानिखेलमा अस्पताल सञ्चालन भएको थिएन । बुद्ध मावि भवन नजिकैको उपस्थास्थ्य चौकीको स्तरोन्नति गर्ने र नयाँ भवनमा सार्ने स्थानीयको सपना ११ वैशाखसम्म अधुरो थियो । तर वैशाख १२ को ठूलो भूकम्प र त्यसपछि आएका दुईवटा शक्तिशाली पराकम्पनपछि नयाँ भवनले उपस्वास्थ्यचौकी र एमबीबीएस डाक्टर प्राप्त गरेको छ ।
‘२०६७ सालमा आठ रोपनी जग्गामा अस्पताल भवन निर्माण सम्पन्न भयो तर भूकम्प आउनुभन्दा अघिसम्म भवन सुनसान थियो’ मानिखेल उपस्वास्थ्यचौकीका इन्चार्ज नवलकिशोर महतोले भने, ‘भूकम्पले उपस्वास्थ्यचौकी भवन भत्काइदियो । अहिले नयाँ अस्पताल भवनमा उपस्वास्थ्यचौकी सरेको छ । यहीँबाट उपचार गरिरहेका छौँ ।’
सरकारले २०६५ वैशाख २२ गते मुलुकका अन्य उपस्वास्थयचौकी सहित मानीखेलको पनि स्तरोन्नति गर्ने निर्णय गरेको थियो । स्थानीय बुद्ध नेगीका अनुसार तत्कालीन स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलको प्रस्ताबमा १५ सैया बेडको स्वास्थ्यचौकी बनाउने निर्णयसँगै भवन निर्माणका लागि बजेटसमेत सरकारले निकासा गरेको थियो । ‘चार करोड २४ लाख रुपियाँको लागतमा दुई बर्षम भवन बन्यो तर त्यहाँ अस्पताल सञ्चालन भएन, स्तरोन्नति गर्ने सरकारी निर्णय पनि कार्यान्वयन भएन’ उपस्वास्थ्यचौकी इन्चार्ज महतोले भने, ‘दुईपटक संगठन तथा व्यवस्थापन सर्भे गरियो, अहिलेसम्म उपस्थास्थयचौकीको अवस्था यस्तै छ ।’
तर भूकम्पपछि सो अस्पतालमा उपस्वास्थ्यचौकी मात्रै सरेन, दक्षिण कोरियाबाट दुई दर्जन डाक्टरहरुको टीम आएर निःशुल्क उपचार गरिदिए । जसको समन्वय अष्ट ज अभियानले गरेको थियो । ‘हामीले कोरियाको चोनाम विश्वविद्यालय क्वान्जुको सहयोगमा एमबीबीएस डाक्टरसहितको टीम तीन महिनाका लागि बुधवारदेखि खटाएका छौं, उनीहरुले तीन महिनासम्म मानिखेलमै बसेर निःशुल्क उपचार गर्नेछन्’ अष्ट ज अभियानका अध्यक्ष लोककृष्ण भट्टराईले भने, ‘कोरियन डाक्टरहरुको टोली विदा भएका छन् तर उनीहरुब थप सहयोग गर्न इच्छुक छन् ।’

गत बुधवारदेखि डा चन्दा न्यौपाने र स्टाफ नर्स सपना बजगाईँ स्वास्थ्यटोलीमा थपिएका छन् । यसअघि उपस्थास्थ्यचौकीका कर्मचारीसँगको समन्वयमा कोरियाली डाक्टर योङ् क्यु किमको नेतृत्वमा दुईदर्जन चिकित्सक मानिखेलमा खटिँदै आएका थिए ।  भूकम्प आएको तेस्रो दिन १५ वैशाखमा आइपुगेका कोरियाली डाक्टरहरुले मानिखेलमा हालसम्म ११ सय भन्दा बढी भूकम्पपीडित विरामीको उपचार गराएको उपस्वास्थ्यचौकीले जनाएको छ ।
पूर्व सांसद मीठाराम शर्मा बजगाईँका अनुसार मानिखेलको अस्पतालमा ललितपुरको दक्षिणी पहाडी ठूला दुर्लुम, चन्दनपुर, कालेश्वर, गोटीखेल, बुखेल, चौघरे, सङ्कु, इकुडोल, गिम्दी र काभ्रेका साना दुर्लुङ, मिल्चे, डाँडागाउँ, सालधारा, च्याम्राङबेसीबाट उपचारका लागि आउन सहज छ । मकवानपुरका सीमावर्ती मेदिनी, इपा, मन्थली, ठिंगनबाट पनि सर्वसाधारण उपचारका लागि मानिखेल आइरहेका छन् ।  ‘यो भेगका कम्तिमा तीस हजार जनताको उपचार मानिखेल अस्पतालबाट सम्भव छ, अस्पताल सुचारु भयो भने अहिले प्राथमिक बाहेकका उपचार गर्न तीन घण्टा गाडीबाट पाटनसम्म पुग्नुपर्ने झन्जट हट्छ’ बजगाईँले भने, ‘पहाडी बेल्टका लागि यो अस्पताल सुगम हुन्छ र यो सञ्चालन हुनुपर्छ भन्नेमा यो क्षेत्रका सबै दल, स्थानीयको एक मत छ ।’
स्वास्थ्यमन्त्री खगराज अधिकारी भूकम्पपछि सो अस्पताल दुईपटक पुगेका छन् र अस्पताल सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाइदिने आश्वासन दिएका छन् । भूकम्पपछि चलिरहेको कोरियाली डाक्टरहरुको निःशुल्क स्वास्थ्य शिविरमा दैनिक औसत डेढ सय विरामीले उपचार गराइरहेका छन् । स्थानीयवासिन्दाका अनुसार अस्पताल सञ्चालन भए अस्पतालमा डेढसयदेखि दुईसयजना उपचारका लागि दैनिकरुपमा आउन सक्छन् । दक्षिणी ललितपुरका १९ गाविस उपत्यकाबाट टाढा र विकट छन् ।

No comments:

Post a Comment

top sidebar ads

समाचार

समाचार

recent posts comments tab

Blog Archive