Thursday, 28 May 2015

राष्ट्रपति यादवको सन्देश - संविधान निर्माणलाई बढी प्राथमिकता

८ ‌औं गणतन्त्र दिवस, १५ जेठ २०७२ को पूर्व सन्ध्यामा राष्ट्रपति डा. रामवरण यादवले देशवासीका नाममा दिनु भएको सन्देश        

Thursday, 28th May, 2015
१. आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु !

आठौं गणतन्त्र दिवस- २०७२ को पूर्व सन्ध्यामा देश-विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुको सुख, शान्ति र समृद्धिको कामना गर्दछु ।

२. मुलुकमा लोकतान्त्रिक गणतन्त्र; विधिको शासन र समावेशी राजनीतिक पद्धति स्थापनाका निम्ति विभिन्न कालखण्डमा भएका ऐतिहासिक आन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण अमर शहीदहरुप्रति हार्दिक श्रद्धा र सम्मान अर्पण गर्दछु ।

३. यही २०७२ साल बैशाख १२ गतेको भूकम्प र त्यसपछिका पराकम्पनमा परी अकालमा जीवन गुमाउनु भएका नेपाली दिदीबहिनी-दाजुभाइ एवं विदेशी नागरिकको आत्माले शान्ति पावस् भन्ने कामना गर्दै सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । भूकम्पमा परी दिवंगत हुनु भएका स्वदेशी एवं विदेशी नागरिकका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।

४. भूकम्पका कारण घाइते तथा अङ्गभङ्ग भई उपचार गराई रहनु भएका सम्पूर्ण दाजुभाइ-दिदीबहिनीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

५. भूकम्प गए लगत्तैको विषम परिस्थितिमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वयंसेवी युवाहरुले पीडितको उद्धार र घाइतेहरुलाई अस्पताल पुर्यातउन दर्शाएको तत्परता र आँट अत्यन्त प्रशंसनीय थियो । त्यो साहस र सक्रियताका निम्ति म उहाँहरुलाई हार्दिक धन्यवाद दिन्छु । त्यसैगरी, संकटको घडीमा रातदिन नभनी भूकम्प पीडितको सेवामा खट्ने स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा खानेपानी, बिजुली, टेलिफोन, सडक, विमानस्थल जस्ता अत्यावश्यक सार्वजनिक सेवा, सुविधा सुचारु राख्न सघाउने सम्पूर्ण राष्ट्रसेवक, पेशाकर्मी, स्वयंसेवी एवं नागरिक समाजका सदस्यहरुको योगदानको कदर गर्दै हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

भूकम्पले सृजना गरेको मानवीय संकटको घडीमा छिमेकी मित्र राष्ट्रहरु भारत र चीन सहित अन्तर्राष्ट्रिय जगतले देखाएको सद्‌भाव, सहानुभूति र सहयोगका निम्ति हामी कृतज्ञ छौं । विपद्को घडीमा उद्धारका निम्ति तत्काल आवश्यक उपकरण र प्रविधि तथा विज्ञ सहित राहत सामग्री पठाउने सबै मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संघ-संस्थाहरुलाई म हार्दिक धन्यवाद दिन्छु ।

६. आदरणीय देशवासीहरु,

नेपालका विभिन्न भूभागलाई केन्द्रविन्दु बनाई २०७२ साल वैशाख १२ गते गएको ७.६ रिक्टर स्केलको भूकम्प र त्यसपछि निरन्तर गइरहेका पराकम्पनबाट ८ हजार ६ सय भन्दा बढी नेपाली तथा विदेशी नागरिकको मृत्यु भइसकेको छ । केही सय मानिस अझै हराई रहेका छन् । भूकम्पका कारण घाइते भएका बीसौं हजार नागरिक उपचारको क्रममा छन् । घर-गोठ भत्किएर ओत-आश्रय विहीन भएकाहरुको संख्या लाखौंमा आँकलन गरिएको छ । भूकम्पले मुलुकको अर्थतन्त्र, जनजीवीका र भौतिक सम्पत्तिमा पुर्याुएको क्षतिको तत्काल अनुमान गर्न कठीन छ, जुन धेरै खर्ब रुपैया बराबर हुनसक्नेछ ।

७. भूकम्पबाट विश्व सम्पदामा सूचीकृत काठमाडौं उपत्यकाका थुप्रै मठ-मन्दिर तथा हिमाली क्षेत्रका प्राचिन गुम्बा एवं बिहार देखि जनकपुरको जानकी मन्दिरमा समेत क्षति पुगेको छ । यस्ता धार्मिक, सांस्कृतिक र ऐतिहासिक धरोहर एवं कला-सम्पदामा पुगेको नोक्सानी हामीले अनुभव मात्र गर्न सक्ने छौं, तिनको क्षतिपूर्ति गर्न सकिने छैन, किनभने ती आफैमा अमूल्य र अपूरणीय थिए । वितेको एक महिनामा मात्रै कयौं नेपाली आमाका काख रित्तिए, कयौं नानीहरु टुहुरा भए, कयौं दिदीबहिनीका सिउँदो पुछिए । भूकम्पले लाखौं नेपालीको मन-मस्तिष्कमा लगाएको यस्तो घाउ निको हुन पुस्तौं पुस्ता लाग्न सक्छ । यथार्थमा नेपालको वर्तमान पुस्ताले प्रकृतिको यति निर्मम प्रहार यस अघि भोग्नु परेको थिएन । तर सन्तोषको कुरा हो; यस्तो दुःखद अवस्थामा पनि सबै नेपालीले धैर्य धारण गरी विपद्को सामना गर्न साहस र एकताको उदाहरण पेश गर्न सके ।

८. हामी हिमालय पर्वतको काखमा बसोबास गर्नेहरुका लागि भूकम्प र त्यसले ल्याउन सक्ने विपत्ति एकदमै नौलो र अकल्पनीय कुरा भने होइन । यस भूखण्डको विगत सात सय वर्षलाई नियाल्यौं भने हरेक असी-सय वर्षको अन्तरालमा भूकम्पले यहाँका घर, मठ-मन्दिर, गुम्बा आदि भौतिक संरचनाहरु ढालेर तहस-नहस पारिदिने अनि हाम्रा पुर्खाहरु हरेक पटक धुलो टक्‌टक्याउँदै पुनर्निमाणमा जुट्ने गरेको इतिहास भेटिन्छ । हुन पनि; पृथ्वीमै सबैभन्दा कमलो पर्वतीय भूभागका बासिन्दा भएका नाताले हामी नेपालीले भूकम्पको वास्तविकतालाई आत्मसात् गरेर यहाँको प्रकृति र प्राकृतिक स्रोत अनुरुपको वातावरण मैत्री जीवनशैली विकसित गरी त्यससँगै बाँच्न सिक्नु सबै भन्दा उत्तम विकल्प हुने देखिन्छ । त्यस निम्ति हाम्रा मूल्यवान स्रोत-सम्पदाका रुपमा रहेका हिमाल, पहाड, शिवालिक र तराई-मधेशको प्राकृतिक विशेषता जोगाउनु जरुरी छ । हाम्रा हिमालमा हिउँ, पहाडका पाखामा वन-वनस्पति, शिवालिक र तराईको जंगलमा जीवजन्तु र वन सुरक्षित राख्न सक्यौ भनेमात्र तराई-मधेशको उर्वर कृषि भूमि बचाउँन सक्ने छौं, जसले राष्ट्रको अन्नको भकारीलाई रित्तिन दिने छैन ।

९. दिदीबहिनी तथा दाजुभाइहरु

हामी विगत आठ वर्षदेखि सार्वभौम संविधानसभा मार्फत मुलुकलाई नयाँ संविधान दिन लागि परेका छौं । तर आजसम्म पनि संविधान बन्न सकिरहेको छैन । पछिल्ला दिनहरुमा संविधान निर्माणको निम्ति मुलुकको वातावरण केही अनुकूल बन्दै गएको अनुभव गरिदै थियो । यही बेलामा यति ठूलो विनाशकारी भूकम्प आएर हाम्रा सामु नयाँ चुनौती थपिदियो । यो परिस्थितिमा कतै प्रश्न उठ्न सक्छः 'अव संविधान अथवा भूकम्पले भत्काएका संरचना मध्ये कुन पहिला निर्माण गर्ने ? तर यसमा हामी कोही पनि द्विविधामा रहनु हुँदैन- नयाँ संविधान र भत्किएका संरचना निर्माण सँगसँगै अघि बढ्नु पर्छ । त्यसमा पनि संविधान निर्माणलाई बढी प्राथमिकता दिदै जानु राम्रो हुन्छ । यथार्थमा, आउँदा केही महिना भूकम्प पीडितहरुको निम्ति राहत र अस्थाई बसोबासको व्यवस्था गर्न मै व्यतित हुने छन् । दीर्घकालिन पुनर्निर्माणको क्रम त्यसपिछ मात्र शुरु हुन सक्छ । राजनीतिक दलहरुले अहिले भूकम्प पीडित जनतालाई राहत पुर्याुउने सन्दर्भमा देखाएको जस्तो एकता र समझदारी संविधान निर्माणको सवालमा पनि कायम राख्न सकून भन्ने आग्रह गर्दछु । लाखौंको संख्यामा भत्किएका निजी तथा सार्वजनिक संरचनाहरुको पुनर्निर्माणको काममा वर्षौं लाग्न सक्छ, तर संविधान लेखनका निम्ति अब त्यति धेरै लामो समय लिनु न्यायोचित हुनेछैन ।

१०. भूकम्प पछिको पुनर्निर्माणलाई सन्तुलित, चुस्त र जनता-केन्द्रित तुल्याउनका निम्ति पनि नयाँ संविधानको खाँचो महशुस गरिने छ । कमजोर राजनीतिक प्रतिवद्धता तथा अन्तिरम संविधानमा पनि स्पष्ट प्रावधान नरहेका कारण विगत दशक देखि नै स्थानीय निकायहरु जनप्रतिनिधि विहिन रहँदै आएका छन् । ती निकायहरुको अभावमा भूकम्प, बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपको बेला राहत वितरण गर्नेदेखि नियमित विकास निर्माणका योजनाको कार्यान्वयन समेत चाहेजस्तो प्रभावकारी हुन सकिरहेको छैन । यथार्थमा स्थानीय निकायहरुको चुनाव कुनै पनि बहानामा अब टार्न नमिल्ने एउटा अपरिहार्य राष्ट्रिय आवश्यकता बनिसकेको छ । तर त्यस निम्ति पनि नयाँ संविधानको निर्माण पूर्व शर्तको रुपमा रहेको छ । त्यतिमात्रै होइन, सरकार, संविधानसभा एवं व्यवस्थापिका-संसद, राजनीतिक दल तथा तिनको नेतृत्व र हाम्रो समग्र राज्य प्रणालीप्रति नेपाली जनता एवं विश्व समुदायको आस्था र भरोसा कायम राख्नका लागि समेत अव संविधान निर्माण प्रक्रियाले उच्च प्राथमिकता पाउनु जरुरी भएको छ । यो कुरा म किन पनि दोहोर्या उँदै छु भने, जनचाहना अनुरुपको नयाँ संविधान बनाउनकै लागि भनेर नेपाली जनताको साथ र विश्व समूदायको सहयोगमा हामीले दुई-दुई पटक संविधानसभाको निर्वाचन गरेका हौं र त्यसै अनुरुप जनता र विश्वलाई वचन पनि दिएका छौं । मुलुकमा करीब एक दशक देखि चल्दै आएको राजनीतिक तदर्थवाद अन्त्य गर्न धेरै ढिलो भइसकेको छ । त्यस निम्ति पनि नयाँ संविधान जारी हुनै पर्छ । आज म विशेष गरी संविधानसभामा रहेका राजनीतिक दलहरुसँग आग्रह गर्छु: 'अन्तरिम संविधान अन्तर्गतको गणतन्त्र दिवस यो नै अन्तिम होवस्; मुलुकले अर्को गणतन्त्र दिवस नयाँ संविधान अनुसार मनाउन पावस् !'

११. "भूकम्प पीडितहरुको राहत, पुनर्स्थापना र पुनर्निर्माणको कामलाई राष्ट्रिय अभियानका रुपमा सञ्चालन गर्ने" भनी संविधानसभामा रहेका सम्पूर्ण दलहरुले सर्वसम्मतिबाट सङ्‌कल्प प्रस्ताव पारित गर्नुलाई मैले अत्यन्त सकारात्मक रुपमा लिएको छु । दलहरुले उक्त प्रस्ताव मार्फत गरेका संकल्प र त्यसपछि तिनले गाउँ, वडा र घरदैलो तहमा सञ्चालन गरेका राहत र सहयोगका कार्यक्रमले पीडित जनतालाई ढाढस प्रदान गरेको छ । भूकम्पबाट क्षतिग्रस्त पूर्वाधार एवं बस्तीहरुसँगै नयाँ संविधान निर्माण गर्ने सवालमा पनि राजनीतिक दलहरुबाट आगामी दिनमा यस्तै एकता र सहकार्यको संस्कृति प्रदर्शन हुने छ भन्ने अपेक्षा मैले राखेको छु ।

१२. भूकम्पले राजधानी र आसपासका जिल्लाहरुमा पुर्याैएको भौतिक क्षतिबाट हाम्रो राष्ट्रिय अर्थतन्त्र र नागरिकको दैनिक जीवनमा निकै गहीरो असर पार्ने संकेत देखिइ सकेका छन् । भौतिक संरचनाहरुको पुनर्निर्माण र पुनर्स्थापनामा ठूलो धनरासी र वर्षौंको समय लाग्न सक्छ । तर, राष्ट्रको निर्माण र पुनर्निर्माणमा पैसा र प्रविधि भन्दा जनताको जोस, जाँगर र तत्परताको उच्च भूमिका रहने तथ्यलाई हामीले भुल्नु हुँदैन । त्यसैले भूकम्प पछिको पुनर्निर्माण र नवनिर्माणलाई एउटा राष्ट्रिय अभियानको रुपमा अघि बढाउनु पर्छ । त्यस निम्ति एकातिर राष्ट्रिय एवं अन्तर्राष्ट्रिय साधन स्रोत जुटाउने प्रयत्न गरिनु पर्छ भने अर्को तिर जनताको मनोबल र उत्साह अभिवृद्धि गर्न पुनर्निर्माणका हरेक निर्णय एवं कार्यमा उनीहरुलाई स्वामित्व ग्रहण गर्ने अवसर दिइनु पर्छ । हाम्रा पुर्खाले आफ्नै बल, बुद्धि र सीपबाट सिर्जना गरेका गाउँ, नगर; मठ-मन्दिर र अन्य धरोहरहरु पुनर्स्थापित गर्न अहिलेको पुस्ताका नेपाली उत्तिकै सक्षम छन् भन्ने कुरामा म विश्वस्त छु । त्यसैले, पुनर्निर्माणको कार्यको थालनी गर्दा "हामी नेपाली सक्षम छौं, हामी

सक्छौं ।" भन्ने संकल्प गरौं ।

१३. भूकम्पको धक्काले चिरा-चिरा पारेका पाखा-पर्वत र खेत-बारीका कान्लामा छिटै सुरु हुने मनसुनी वर्षाको भेल पस्दा जीवन अझ कष्टप्रद हुन सक्ने भयले हिमाल, पहाड र तराई-मधेश समेत सबै क्षेत्रका वासिन्दालाई सताएको छ । यो स्थितिमा सम्बद्ध विषयका विज्ञहरु परिचालित गरी वर्षा अघि नै सबैलाई सुरक्षाको प्रत्याभूति गराउने तर्फ कदम चाल्नु आजको आवश्यकता हो । परिस्थिति दुःखद् हुँदाहुँदै पनि अहिलेको घडीलाई भावी नयाँ नेपालको नक्सा कोर्ने अवसरका रुपमा लिन सबै देशवासीहरुसँग विनम्र आग्रह गर्दछु । सुरक्षित गाउँ-बस्ती कहाँ बसाल्न सम्भव हुन्छ र नगर वा महानगरहरु कहाँ कहाँ विकास गर्न सकिन्छ भन्ने दीर्घकालीन खाका तयार पार्ने बेला पनि यही हो । भूकम्पका कारण पहिरो र भूक्षयको गंभीर जोखिममा परेका केही गाउँ-बस्तीहरुलाई उचित ठाउँमा स्थानान्तर गरी मानवीय सुरक्षा सुनिश्चित गर्नु हामी सबैको कर्तव्य हो । त्यसरी स्थानान्तर गर्दा सकेसम्म उस्तै परिवेश र भूगोल भएको सुरक्षित स्थानलाई प्राथमिकता दिनु उचित हुनेछ ।

१४. विपद्को घडिमा नेपाली युवाहरुले यसपटक स्वस्फूर्त रुपमा देखाएको स्वयंसेवी भाव, धैर्य, दृढता र सुन्दर भविष्य निर्माणको चाहनाले हामी सबैलाई भरोसा दिलाएको छ । यी उर्जाशील युवाहरु देशका अमूल्य श्रोत र शक्ति हुन् । भूकम्प पछिको नव नेपालको प्रमुख जिम्मेवारी युवाहरुको काँधमा सुम्पिन सकेको खण्डमा तिनले गणतन्त्र नेपाललाई छोटो समयमै विश्वसामु एक समुन्नत र गतिशील राष्ट्रका रुपमा स्थापित गर्न सक्नेछन् भन्ने मेरो विश्वास छ । यस निम्ति सर्वप्रथम युवाहरुका निम्ति 'वैदेशिक' को सट्टा स्वदेशी रोजगारको ढोका खोल्न सक्नु पर्छ ।

१५. आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,

अन्त्यमा, म अघि भनेकै एउटा कुरा दोहोर्याकउन चाहन्छु - भूकम्प, महाभूकम्पहरु नेपाली भूमिका वास्तविकता हुन् । धरतीको यो वास्तविकता बुझेर, उसैसँग मिलेर हामीले हाम्रा निर्माण कार्य र बर-व्यवहार गर्न सक्नु पर्छ । यस अघिका भूकम्पबाट हामीले भूकम्प आएको बेलामा 'जो जहाँ छ, त्यहाँबाट भाग्नु पर्छ' भन्ने सिकेका थियौं । तर २०७२ सालको भूकम्पबाट हामीले धेरै कुरा सिक्नु, जान्नु छ । त्यसमध्ये मनन गर्नै पर्ने सबैभन्दा महत्वपूर्ण पाठ हो - "हामीलाई भूकम्पले थिच्ने होइन रहेछ, थिच्ने त हामीले नै बनाएका हाम्रा आफ्नै भौतिक संरचनाले रहेछ" । तसर्थ, भोलिका दिनमा भौतिक निर्माण गर्दा बाढी, पहिरो र हुरी बतास जस्ता वातावरणीय पक्षहरुलाई जस्तै भूकम्पलाई पनि ख्याल गरौं र महत्व दिऊँ । यो सालको भूकम्पले पैदा गरेको पीडा बिर्सौं तर यो सन्देश नविर्सौं ।

साथै, भूकम्प पछि स्वःस्फूर्त सिर्जना भएको राष्ट्रिय एकता र सद्‌भावबाट प्राप्त ऊर्जालाई नयाँ संविधान एवं नव नेपालको निर्माणमा उपयोग गरौं !

धन्यवाद !

सबै नेपालीको जय होस् ।
 

No comments:

Post a Comment

India's 'Laxman Rekha' against terrorism : Narendra Modi

  T he world has just witnessed the power of this slogan. Bharat Mata Ki Jai is not just a slogan, it is the oath of every soldier of the co...