Monday 5 August 2013

दिल्लीबाट सुशीलले भने– मंसिर ४ मा चुनाव हुन्छ हुन्छ (फोटाहरु विस्तृतमा)

दीपेश केसी
नयाँ दिल्ली, साउन २१ । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले चुनाव बहिष्कार गर्न खोज्नेहरू जनताबाट बहिष्कृत हुने बताउनुभएको छ । आइतबार साँझ नेपाली जनसम्पर्क समिति भारतद्वारा उहाँको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै चुनाव कसैले रोक्न नसक्ने बताउनुभयो ।
‘चुनाव बहिष्कार गर्न खोज्नेहरू आफै बहिष्कृत हुन्छन्,’ कोइरालाले भन्नुभयो,‘ मंसिर ४ मा चुनाव हुन्छ हुन्छ हुन्छ ।’ देशमा चुनावको माहोल बनिसकेको कोइरालाको भनाई थियो । गाउँ गाउँमा चुनावी अभियान तिव्र भइसकेको उल्लेख गर्दै चुनाव हुन नदिने षड्यन्त्रहरू असफल हुने स्पष्ट पार्नुभयो । चुनावका पक्षमा भारत, चीन, अमेरिका, यूरोपेली युनीयनलगायत अन्तर्राष्ट्रिय समूह देखिएको उहाँको भनाई थियो ।
आगामी चुनावमा नेपाली काँग्रेसले बहुमत ल्याई लोकतान्त्रिक संविधान लेख्ने बताउँदै भन्नुभयो,‘काँग्रेस नै राष्ट्रियता, प्रजातन्त्र र समाजवादको पक्षमा कटिवद्ध भएको एकमात्र पार्टी हो भन्ने जनताले बुझिसके ।’ कम्युनिष्टहरूले लामो समय जनतालाई भ्रममा पारेको भन्दै त्यसले देशलाई बर्बादीतर्फ धकेलेको तर्क गर्नुभयो । माओवादीले हिंसा मच्चाउँदा समेत काँग्रेसले अहिंसात्मक ढंगले सामना गरी देशमा शान्ति स्थापनाको ढोका खोलेको प्रसंग उल्लेख गर्नुभयो ।
कोइरालाको भ्रमणदलमा रहनुभएका नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले नेपाली काँग्रेसले आगामी चुनावमा बहुमत हासिल गर्ने बताउनुभयो । काँग्रेसले बहुमत नल्याएकाले संविधान बन्न नसकेको उहाँको भनाई थियो । सिंहले भन्नुभयो,‘नेपाली काँग्रेसले सत्ता चलाउँदा २०४७ सालको संविधान बन्यो, संविधानसभाको निर्वाचन सफल भयो ।’ देशलाई हाँक्न सक्ने क्षमता काँग्रेसमा मात्र रहेको सिद्ध भइसकेकाले काँग्रेसको पक्षमा जनलहर आएको बताउनुभयो । देशलाई संघीयतामा लाने निर्णय काँग्रेस नेतृत्वको सरकार हुँदा भएको स्मरण गराउँदै काँग्रेसलाई संघीयताविरोधी देखाउनुलाई भ्रमको खेतीको संज्ञा दिनुभयो । संविधान नबन्नुमा माओवादी जिम्मेवार रहेको बताउनुभयो ।
अर्का महामन्त्री कृष्णप्रसाद सिटौलाले असन्तुष्ट दलहरू चुनावमा आउने बताउनुभयो । मंसिर ४ मा चुनाव हुने निश्चित भइसकेकाले असन्तुष्टहरूलाई ल्याउने पहल भइरहेको उहाँको भनाई थियो । वार्ता अगाडि बढिसकेको उल्लेख गर्दै भन्नुभयो,‘लोकतन्त्रमा विश्वास गर्नेहरू सबै चुनावमा आउँछन् ।’ नेपाली काँग्रेसले जनवादी संविधान बनाउने षड्यन्त्रलाई असफल पारेको उल्लेख गर्नुभयो । माओवादीले जनताको नैसर्गिक अधिकार हनन गरी कम्युनिष्टहरूको जनवादी संविधान बनाउन खोज्दा समस्या आएको बताउनुभयो । अबको संविधान नेपाली काँग्रेसले लेख्ने बताउँदै त्यसलाई कसैले रोक्न नसक्ने बताउनुभयो । चुनावमा २४० क्षेत्रमा सबै दलहरूको प्रमुख प्रतिष्पर्धी काँग्रेस रहेको रिपोर्ट पाइसकेकाले ऐतिहासिक जीत हासिल गर्ने प्रष्ट पार्नुभयो ।
कार्यक्रममा नेतात्रयलाई स्वागत गर्दै नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले काँग्रेसको जित सुनिश्चित रहेको बताउनुभयो । प्रवासमा रहेका नेपालीहरू चुनावी अभियानमा जुटिसकेको र देश फर्केर खटिने जानकारी गराउनुभयो । समितिका सचिव धनपति सापकोटाले संगठनको निर्णयहरू सुनाउनुभएको थियो ।
कार्यक्रममा सयौंको संख्यामा नेपाली काँग्रेसका कार्यकर्ता, युवा, विद्यार्थीलगायत विभिन्न पेशामा सक्रियहरूको सहभागिता थियो । भारतको विभिन्न भागमा रहेका नेपालीहरूको उत्साहप्रद उपस्थिति देखेर नेताहरू उत्साही हुनुभयो । तरुण र विद्यार्थीको दस्ताले फूलमाला दिएर भव्य स्वागत गरेका थिए ।
भारत सरकारको निमन्त्रणामा सद्भाव भ्रमणका लागि कोइराला आइतबार साँझ दिल्ली आइपुग्नुभएको हो । उहाँले कँग्रेस आईकी अध्यक्ष सोनिया गान्धी, विपक्षी दलकी नेतृ सुष्मा स्वराज, उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादव, विहारका मुख्यमन्त्री नितिश कुमारलगायतका नेता तथा उच्च सरकारी अधिकारीहरूलाई भेट्ने कार्यक्रम छ ।









2 comments:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete

top sidebar ads

समाचार

समाचार

recent posts comments tab

Blog Archive