बिपीको आत्मबोध, वर्तमानको नियती

-पर्शुराम काफ्ले- 
नेपाली राजनीतिका महानायक बिपी कोइराला घाँटीको क्यान्सर उपचारका लागि विदेश जाने तयारी गर्दा आफ्नो जीवनको भविश्यप्रति विश्वस्त थिएनन् । आफ्नो जिन्दगीको अन्तिम–अन्तिम क्षणमा र आफ्नो समग्र राजनीतिक जीवनको आत्मादेखि नै समीक्षा गर्ने क्रमममा बिपीले ८ जेठ २०३९मा गणेशराज शर्मासँग भनेका थिए– ‘मलाई यदि नेपाली जनताले श्रेय दिन खोज्छ भने.....एउटै कुरामा देओस् कि मैले देशभित्र देशको सामथ्र्यलाई बुझेको रहेछु र देशको सामथ्र्यलाई मैले मुखरित गर्ने कोसिस गरेको रहेछु ।’ (राजा, राष्ट्रियता र राजनीति, पेज १६०)  जीवनको अन्तिम क्षणमा मामुली मानिसले पनि जीवनमा गरेका गल्तीहरुप्रति प्रायश्चितसहित जीवनको यथार्थबोध ओकल्ने प्रयास गर्छ । बिपीले नेपालको तत्कालीन वर्तमान तथा सुदुर भविश्यका लागि बलियो प्रजातन्त्र र राजसंस्था अपरिहार्य रहेको यथार्थबोधबाट अन्तिम समयसम्म पनि बिचलित भएनन् ।  यी दुई बिषय नै मुलुककोे सामथ्र्य रहेको सन्देश दिएको दुई महिनापछि साउन ६, २०३९ मा बिपीको निधन भयो ।
बिपीले तत्कालीन घरेलु र बाह्य परिवेश, नेपालको छिमेक नीति एवं राष्ट्रिय हितका सम्बन्धमा व्यक्त गरेका ब्रह्मवाक्य यतिबेला पनि मुलुकको सामथ्र्य सिद्ध भएका छन् । अन्तिम क्षणमा आफ्नो राजनीतिक जीवनको समीक्षा गर्नेक्रमा बिपीले व्यक्त गरेका ‘अन्तिम ब्रह्मवाक्य’को सार के थियो भने नेपालमा बलियो प्रजातन्त्रसहित पहिचानका लागि राजसंस्था आवश्यक छ । डा. सशांक कोइराला र प्रकाश कोइरालाले ३२ बर्ष अघि पिताजीले व्यक्त गरेको त्यही राजनीतिक यथार्थको औचित्यलाई पछिल्लोपटक उजागर गरेर बहसको थालनी गरेका छन् । राजसंस्थाको समाप्ति मुलुकको जीवनका लागि ठूलो गल्ती भएको उनीहरुको ‘रियलाइजेसन’ले अहिले राजनीतिक बृत्तमा शीर्ष स्थान पाइरहेको छ । विशेष गरी डा. सशांकले नेपाली राष्ट्रियतालाई जोड्ने धागोका रुपमा राजसंस्थाको सान्दर्भिकताका पक्षमा अभिव्यक्ति दिएपछि कांग्रेस पंक्ति मौन छ भने सार्वजनिक जीवनका विभिन्न तह र तप्कामा मिश्रीत प्रतिक्रिया र चिन्तन सार्वजनिक भइनै रहेका छन् ।
बिपीले व्याख्या गरेको ३२ बर्षपछि आजका दिनमा पनि राजसंस्था मुलुकको सामथ्र्य हुनसक्छ कि सक्दैन भन्ने बहस भन्दा पनि विगतमा राजसंस्थाले निर्माण गरेको नेपाली राष्ट्रियताको धरातल मजबुत पार्ने गरी मुलुकको सामथ्र्य बढाउने भन्नेतिर चिन्तन मनन आज आवश्यक छ । 
नेपालको राष्ट्रियता र सम्बृद्धिका लागि आज अपनाउनुपर्ने वैदेशिक नीतिका बारेमा बिपीले तय गरेको गाइडलाईनतिर फेरि फर्किनुपर्ने आजको आवश्यकता हो ।  बिपीले भौतिक जीवनको अन्तिम क्षणमा व्यक्त गरेको ‘नेपाल–भारत–चीन’ सम्बन्धको उच्च प्राथमिकताको अनिवार्यतालाई उनका राजनीतिक उत्तराधिकारीहरुले वर्तमानमा महसुस गरेका छन् कि छैनन् भन्ने बारेमा पनि यतिबेला बहस गर्नुपर्ने भएको छ । संयोगबस कांग्रेस सभापति सुशील कोइराला नयाँ दिल्लीमा भएका कारण पनि यो बहसको सान्दर्भिकता थपिएको छ ।
बिपीले जीवनको ‘अन्तिम  सन्देश’ मा भनेका छन्, –‘हिन्दुस्तानसँग हाम्रो सबैभन्दा नजिकको सम्बन्ध रहनुपर्छ । हिन्दुस्तानसँग हाम्रो धेरै कुरामा मतभेद छ तर मतभेदले मनोवैज्ञानिक आधार लियो भने जुनसकै कुरामा पनि मतभेद देखिन्छ । ... त्यसलाई मनोवैज्ञानिक आधारबाट भन्दा राजनीतिक बुँदाबाट हे¥यौँ भने कुरा मिल्छ भन्ने लाग्छ ।’ उनले अझ स्पष्टरुपमा भनेका छन्, ‘ हामीहरु हाम्रो भूगोलले गर्दा या अरु कारणले गर्दा हिन्दुस्तानसँग धेरै कुरामा निर्भर हुनुप¥या छ र हिन्दुस्तानले पनि हामीमाथि निर्भर हुनुप¥या छ । त्यसो हुनाले अरु मुलुकको तुलनामा हिन्दुस्तानसँग् हाम्रो नजिकको सम्बन्ध रहन्छ । त्यस्तै चिनसँन्ग हाम्रो नजिकको सम्बन्ध रहन्छ । अमेरिका र रुससँग पनि हाम्रो सम्बन्ध रहन्छ तर तिनीहरु टाढाका हुन् ।’
बिपीले आफ्नो जीवनको उत्तरार्धमा पार्टीको परिधि बाहिर रहेर निकालेको फराकिलो निस्कर्ष पार्टीले अंगाल्न नसके कांग्रेस र मुलुककै भविश्य नरहने भविश्यवाणि गरेका थिए । अहिले संयोगबस मुलुकको राष्ट्रियता र कांग्रेसको भविश्य दुवै संकटमा छ । सैद्धान्तिकरुपमा कांग्रेस वा अमुक दल र मुलुकको भविश्यलाई एउटै तरिकाले हेर्न मिल्दैन किनभने कांग्रेस र मुलुक एक आपसमा परिपुरक हुनसक्दैनन्् । कुनै दलको भविश्य मुलुको राष्ट्रियताको आधारिशला बन्दैन । यद्यपि बिपीले आफ्नो तहबाट कांग्रेसको भविश्यप्रति गरेको चिन्ता अत्यन्तै स्वभाविक हो ।
बिपीले भनेका छन्– ‘मैले भनेको कुरोलाई पार्टीले मान्यो भने हाम्रो पार्टीको पनि भविश्य छ, नेपालको पनि भविश्य छ । यसलाई मानेनन् भने...अर्को बाटो लिए भने या कुनै विदेशीको मद्दत नभैकन हुँदैन भन्ने बाटो लिए..., मेलमिपालको जुन सैद्धान्तिक व्याख्या मैले ग¥या छु, त्यसलाई छाड्यो भने हाम्रो पार्टीको भविश्य छैन र देशको पनि कुनै भविश्य छैन ।’
बिपीका सांगठनिक उत्तराधिकारी कांग्रेस सभापति कोइराला यतिबेला नयाँ दिल्ली (भारत सरकार)ले दिएको उच्चस्तरीय सत्कार ग्रहणमा व्यस्त छन् । यतिबेला मुलुकका आन्तरिक राजनीतिक शक्तिहरुमा संविधान निर्माणको जग बसाल्ने सामथ्र्य कमजोर  भएका बेला कोइराला नयाँ दिल्लीको मेजमानीमा छन् । प्रजातन्त्र र मुलुकको वर्तमान संकटग्रस्त अवस्थामा छ । तत्कालीन राजनीतिक परिवेशका सन्दर्भमा यसअघि पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, शेरबहादुर देउवा र माधवकुमार नेपालले नयाँ दिल्लीबाट जे सन्देश र सुझाब ल्याए वा जे सन्देश उता प्रस्तुत गरे, अहिले कांग्रेस सुप्रिमोले लेनदेन गर्ने सन्देशमा कुनै तात्विक फरक छैन । किनभने लामो समयदेखि नेपाल–भारत सम्बन्धमा उत्पन्न जटिलता अथवा दुई मुलुकबीच बलियो मित्रता आवश्यक रहेको यथार्थमा कुनै पनि फेरबदल आएको छैन ।
यतिबेला राजसंस्था छैन तर उसको अनुपस्थितिमा मुलुकको राष्ट्रियता बलियो बनाउने आन्तरिक सामथ्र्य किन बढ्न सकेको छैन ? नेपालको हरेक राजनीतिक परिवर्तनको प्रबाहमा सहयोगी भूमिका निर्वाह गरेको छिमेकी मुलुकको तीर्थाटनमा गएका नेताको प्राथमिकता शक्तिआर्जनमा मात्र केन्द्रित छ । वर्तमान घरेलु परिवेशका सन्दर्भमा हेर्दा निर्वाचन सुनिश्चित गर्नेतिर शीर्ष नेताको प्राथमिकता नै छैन । राजनीतिको शीर्षासनमा बसेका मानिसहरु  आपसी निन्दा र भत्र्सनामा केन्द्रित छन् । आफ्नो सामथ्र्य बिस्तार गर्न नसकेका र अपरिहार्य घरेलु दायित्व निर्वाह गर्न नसकेका नेताले नयाँ दिल्ली गएर के कुरा गर्ने ? भारतमा रहेका सभापति कोइराला प्रष्ट छैनन् जसरी दाहाल, देउवा र नेपालहरु अस्पष्ट थिए । अहिले घरेलु राजनीतिक मुद्दाहरुको आन्तरिक व्यवस्थापन मुख्य प्राथमिकता हो कि कथित शक्ति आर्जनका लागि छिमेकको अनुचित प्रार्थना र बन्दना ? बिपीलाई आदर्श मान्न रुचाउने र उनलाई मार्गदर्शक ठान्ने कांग्रेसका शीर्ष नेताले जबाफ दिनुपर्छ । 
बिपीले व्याख्या गरेको नेपालको राष्ट्रियता र छिमेक नीतिबाट काग्रेस धेरै कोस टाढा छ । बरु, भर्खरै जन्मेको एउटा पार्टी जनता दलका उपाध्यक्ष एवं अन्तराष्ट्रिय मामिला र जलस्रोत विज्ञ अरुण कुमार सुवेदीले पंक्तिकारसँग भनेका छन्, ‘नेपालको विदेश नीतिमा छिमेकी र सात समुद्रपारी रहेका देशहरुबीच समदुरी सम्बन्ध कायम राख्नुपर्ने परम्परागत विदेश नीतिको सान्दर्भिकता सकिएको छ । त्यसबाट हामीले कुनै लाभ पाएनौँ, अब पनि पाउन सक्दैनौँ । अब पहिलो प्राथमिकताको घेरामा चीन र भारत, त्यसपछि मात्रै अमेरिका, युरोप, पाकिस्तान वा अरु मुलुकलाई राख्नुपर्छ । भारत र चीनलाई उच्च प्राथमिकता दिँदा अरु मुलुकसँग सम्बन्ध बिग्रिन्छ भने त्यसलाई कुनै परबाह गरिनु हुँदैन ।’ तर बिपीले भारत–चीनसँगको उच्च प्राथमिकताको कुरा गरिरहँदा घरेलु राजनीतिमा उनीहरुको प्रवेश बर्जित हुनुपर्ने अर्को यथार्थ पनि व्यक्त गरिरहेकै थिए ।  अहिले कांग्रेसले नै यो कुराको रियलाईजेसन गर्न सकेको छैन ।
राजनीतिक आशिर्वादका लागि यात्रारत रहेका वा नरहेका कांग्रेस नेताले महात्मा गान्धीले बिपीलाई भनेका निम्न कुराहरु ध्यानपूर्वक अध्ययन गर्नु जरुरी छ । गान्धीको निधन हुनुभन्दा दुई दिन अघि २८ जनवरी १९४८ मा दिल्लीको विरला हाउसमा बिपीले गान्धीसँगै दिन बिताएका थिए । बिपीले गान्धीसँग केही मद्दत मागेका थिएनन् तर मद्दत माग्न बिपी आएको भान भएका गान्धीले भनेछन्, ‘म तिमीलाई मद्दत गर्न सक्दिन । जब मेरा आफ्नै मानिसहरु मेरा कुरा सुन्दैनन् भने तिमी कसरी अपेक्षा गर्छौ कि तिम्रा राणा प्रधानमन्त्रीहरु मेरा कुरा सुन्छन् ।’ पशुपति शमशेर राणाका हजुरबुबा मोहन शमशेर नेपालका प्रधानमन्त्री हुँदाको कुरा हो यो । पाकिस्तानलाई ५५ करोड सहायता गर्न गान्धीले जोडबल गर्दा जवाहरलाल नेहरु र बल्लभ भाइ पटेलले नमानेपछि सरकारविरुद्ध अनसनमा बसेकै बेला नाथुराम गोड्सेले गान्धीको हत्या गरेको थियो ।
अहिले भारत आफ्नै आन्तरिक र बाह्य समस्यामा जुध्नुपरेको छ । माओवादीदेखि पृथकतावादी आन्दोलन झेलिरहेको भारतले तेलंगना अलग राज्य बनाउने राजनीतिक सहमतिपछि गोर्खाल्याण्ड आन्दोलनको अर्को दबाब भोगिरहेको छ । जम्मु काश्मिरमा पाकिस्तानी सैनिकसँग हुने भारतीय सैनिकको जबाफी गोली हानाहानदेखि चिनियाँ सेनाको प्रवेशसम्मको समस्यामा भारत छ । भुटान भारतको अर्को टाउको दुखाइ बनिरहेको छ । यो बेला नेपालको आन्तरिक राजनीतिक मिलापत्रका लागि भारतले गर्ने सहयोग के हो ? अर्को १२ बुँदे दिल्ली सहमति ? नेताहरुको अपेक्षा के हो, भारतले गर्ने सहयोगको चाहना के हो ? खुलेको छैन ।
बिपीको निधन भएको तीन दशकपछि राजसंस्थाको समाप्तिबाहेक केही परिवर्तन भएको छैन । जनताको आवश्यकता र समस्या बढेको छ, त्यसको समाधान गर्ने मुलुकको सामथ्र्य झन पुड्को हुँदैछ । नेताहरु निन्दा र भत्र्सनाको जगमा प्रजातन्त्रको बृक्ष पल्लबित गर्न खोजेका छन् ।
वास्तबमा राजतन्त्रले पैदा गरेको भ्याकुमको पूर्वानुमान गर्न नेताहरु असफल हुँदा त्यसको असर मुलुकको राष्ट्रियतामा ठोक्किन पुगेको छ । बिपीले मुलुकको तत्कालीन र दीर्घकालिन राष्ट्रिय सामथ्र्यका आधारहरु बुझेका थिए र त्ससको इमान्दारीपूर्वक यथार्थ व्याख्या गरिदिए । आज कांग्रेसकै नेताले जानाजान मुलुकको आन्तरिक मुद्दा समाधान गर्ने नेतृत्वदायी भूमिकाबाट च्युत भएर छिमेकीको निर्णाकत्व स्वीकार गर्न हवाइजहाज चढ्नुपर्ने आवश्यक थिएन ।
pkaphle@gmail.com


Major part of this article has been published in TARUN WEEKLY, 21 Shrawan, 2070.

Comments

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Importance of Pharm. D study in Nepal

Climate and Clean Air Coalition (CCAC) meets in Kathmandu to tackle air pollution

डा.भट्टराई, 'क्रान्ति'को कार्यकाल कति हो ?