Tuesday 20 August 2013

प्रहरीमा संरचना परिवर्तन नहुने

सुरेन्द्र सुवेदी

काठमाडौं (नेपालडोर) । नेपाल प्रहरीमा तत्काल संरचना परिवर्तन नहुने भएको छ । प्रहरी नेतृत्व अनिवार्य अवकास पाउनुअघि सांगठनिक संरचना नै परिवर्तन गरेर केही समय बहालमा रहन खोजे पनि गृहमन्त्रालय त्यसका लागि सहमत भएको छैन ।
प्रहरी महानिरीक्षक कुवेर सिंह राना आगामी कात्तिक २९ गते ३० वर्षे सेवाअवधि  पूरा गरेर अनिवार्य अवकास पाउँदैछन् । उनीसहितको नेतृत्वले प्रहरीमा एकजना महानिर्देशक र दुई जना महानिरीक्षक रहेको नयाँ संरचना गठनका लागि मन्त्रालयमा लबिङ गरिरहेको छ । आइजीपी राना, एआईजीहरु नवराज ढकाल, भीष्मराज प्रसाई, गंगा पाण्डे, बिनोद सिंहसमेत सात जनाले  एकै समयमा अबकास पाउँदैछन् ।
‘अहिलेको सरकार संविधानसभा निर्वाचन गराउन गठन भएको हो, त्यसकारण अहिले प्रहरी संगठनमा ठूलो परिवर्तन हुने गरी कुनै निर्णय हुँदैन, गृहमन्त्रालयका सहसचिव चुडामणि शर्माले भने, ‘प्रस्ताब भएजसरी अहिले नै  प्रहरी संगठनमा तत्काल महानिर्देशक पद्धति लागू हुँदैन ।’
प्रस्तावित महानिर्देशकको २ वर्ष, महानिरीक्षकको ३ वर्ष कार्यअवधि बनाउने गरी संगठनको संरचना परिवर्तन गर्नुपर्ने प्रस्ताब मन्त्रालयमा पुगिसकेको छ । यो प्रस्ताब कार्यान्वयन भए आइजीपी राना र एआइजी ढकाल तथा प्रसाईँको म्याद थपिने सम्भावना हुन्थ्यो । पहिलो संविधानसभा निर्वाचनपछि देश संघीयतामा जाने भएपछि प्रत्येक संघमा आइजीपी रहने र केन्द्रमा महानिर्देशक राख्नुपर्ने गरी ओमबिक्रम राणा आइजीका पालामा प्रहरीले सरकारलाई राय दिएको थियो ।
तर, पहिलो संविधानसभा निर्वाचनपछिका ६ वर्षसम्म प्रहरीको संरचना परिवर्तन गर्न कसैले पनि पहल गरेनन् ।  तर नेतृत्वको समय सकिन लाग्दा मात्रै परिवर्तनको कुरा उठाएकोमा आइजीपीप्रति ३४ जना डिआइजी र एसएसपीहरु रुष्ट छन् । डीआइजीभन्दा तल्लो तहका अधिकृतहरु अहिले नै  संगठनको संरचना परिवर्तनको पक्षमा छैनन् । किनभने यदि अहिले नै संरचना परिवर्तन भएमा नयाँ नेतृत्वका दाबेदारहरु अबसरबाट बञ्चित हुनेछन् । 
प्रहरी नेतृत्वले बढाएको पुरानो प्रस्ताब गृहमन्त्री माधवप्रसाद घिमिरे र सचिव नवीन घिमिरेले उक्त प्रस्तावलाई स्वीकार नगरेको स्रोतले बतायो । एकजना असन्तुष्ट डिआइजीले भने, ‘आइजीपी राना डिआइजी र एआइजीरहँदासम्म ३२ वर्षे प्राबधानको विरुद्धमा थिए, अहिले हामीलाई डिआइजीबाटै घर पठाउन उनी ३२ वर्षे खेलमा लागे । त्यो पूरा नभएपछि संरचना नै परिवर्तन गर्न लबिङ गरिरहेका छन् ।’ नेतृत्वले प्रहरी नियमावली २०४९ संशोधन गरी संगठनमा प्रहरी महानिर्देशक एक जना र २ जना महानिरीक्षको दरबन्दी पारित गर्न रानाले लविङ गरेका हुन् ।
भावी आइजीपीका दावेदार डिआइजीहरु उपेन्द्रकान्त अर्याल, सुरेन्द्रबहादुर साह, केदारप्रकास साउद, विज्ञानराज शर्मा, राजेन्द्रसिंह भण्डारीसमेत १६ जनाले प्रस्ताबित संरचना र ३२ बर्षे सेवाअबधि कायम गर्नुपर्ने प्रस्ताबको विरोध जनाउँदै आएका छन् ।
आइजीपी राना र उनकै ब्याची एआइजीहरुले नियतबस नै भावी नेतृत्वका दाबेदार डिआइजीहरुलाई क्षेत्रीय प्रहरी कार्यालयमा सरुवा गरेको असन्तुष्टहरुको दाबी छ । ‘हामीलाई जानाजान भावि नेतृत्वको सूचीबाट पाखा लगाएर आफ्नोअबधि बढाउनका लागि हामीलाई सरुवा गरिएको हो, अरु धेरै चलखेल हेडक्वार्टरबाट भएको जानकारी हामीसँग छ’ नाम नछाप्ने शर्तमा एकजना असन्तुष्ट डीआईजीले नेपालडोरसँग भने, ‘समय आएपछि सबै कुरा सार्वजनिक गर्छौँ ।’
गृहमन्त्रालय प्रहरी प्रशासन महाशाखा प्रमुख सहसचिव चूडामणी शर्माले प्रहरी संगठनमा तत्काल संरचना परिवर्तन नुहने बताए । उनले प्रहरी संगठनमा दूरगामी प्रभाव पर्ने निर्णय तत्काल नहुने पनि स्पष्ट पारे ।
भारत र सिंगापुरमा महानिर्देशक पद्धतिमा  प्रहरी संगठन सञ्चालन भइरहेको छ । प्रान्तमा प्रहरी प्रमुख आइजीपी रहने भएकोले ती मुलुकले केन्द्रमा महानिर्देशक राख्ने गरिएको छ ।
प्रहरी प्रवक्ता डिआइजी नवराज सिलवाल प्रहरी संगठनको संरचना परिवर्तन तत्काल असम्भव रहेको बताउछन् । संरचना परिवर्तनका लागि नेतृत्वबाट कुनै चलखेल नभएको उनको दाबी छ । ‘यो बजार हल्ला मात्रै हो, नेतृत्वबाट केही पहल भएको छैन’ सिलवालले भने ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete

top sidebar ads

समाचार

समाचार

recent posts comments tab

Blog Archive