Saturday, 24 May 2014

नरेन्द्र मोदीको ‘आइ.के. गुजराल’ मार्ग

सन् ५० को सन्धिसहित भारतसँग नेपालको थुप्रै कार्यसूची अहिले पनि यथावत् छन्, जसबारे आजसम्म निर्णय हुन सकेको छैन । विवादित सीमानक्सा, सुपुर्दगी सन्धि, कालापानीबाट भारतीय फौज विस्थापन, भारतीय बजारमा नेपाली वस्तुव्यापारको सहजीकरण, बन्दरगाहको प्रयोगमा सहजताजस्ता विषय अझै हल हुन सकेका छैनन् ।

पर्शुराम काफ्ले  
pkaphle@gmail.com
 

नवनियुक्त भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसिया (नेपाल, बंगलादेश, पाकिस्तान, भुटान, मालदिभ्स, श्रीलंका र अफगानिस्तान) का समकक्षीलाई २६ मेमा नयाँदिल्लीमा हुने आफ्नो शपथग्रहणमा सहभागी हुन डाकेका छन् । भारतीय प्रधानमन्त्रीले सर्वथा नौलो प्रयोग गर्दै छन् यसपटक । यसको प्रारम्भिक सन्देश हो, अन्तर्राष्ट्रिय मुद्दा र क्षेत्रीय हितका विषयमा सार्क मुुलुकलाई साथमा लिएर मोदी अघि बढ्न चाहन्छन् । विशेषगरी मोदीले दक्षिण एसियामा भारतको वर्चस्व र आफ्नो नेतृत्व स्थापित गर्ने अवसरका रूपमा शपथग्रहण समारोहलाई सदुपयोग गर्न खोजेको देखिन्छ ।
भारतीय जनता पार्टीले सार्वजनिक गरेको विदेश नीतिमा ‘मुलुक पहिलो, विश्व भातृत्व’ भन्ने नारा दिएको छ । उसले ‘राजनीतिक स्थिरता, प्रगति र शान्ति दक्षिण एसियाको विकास र समृद्धिका लागि अत्यावश्यक’ रहेको उल्लेख गरेको छ । यो सैद्धान्तिक जगभन्दा पनि पर पुगेर उसले कांग्रेस नेतृत्वको सरकार छिमेकी मुलुकसँग मित्रवत् तथा सहयोगी सम्बन्ध स्थापित गर्न असफल भएको भन्दै बिजेपी नेतृत्वको सरकारले यसलाई करेक्सन गर्ने उल्लेख गरेको छ । के सम्बन्ध मजबुत पार्ने कडीकै रूपमा सार्कका प्रधानमन्त्रीलाई मोदीले शपथग्रहणमा बोलाएका हुन् ? मोदी पूर्वप्रधानमन्त्री आइके गुजरालभन्दा पनि छिमेकमैत्री बन्न लागेका हुन् ? यसका लागि केही समय प्रतीक्षा गर्नु पर्नेछ । मोदीको उदयसँगै आइके गुजराल डक्ट्रिनको सान्दर्भिकता भारतले महसुस गर्न लागेजस्तो देखिन्छ ।
गुजराल सन् १९९७ अप्रिलदेखि १९९८ मार्चसम्म भारतका प्रधानमन्त्री थिए, जसले नेपाल, बंगलादेश, भुटान, मालदिभ्स र श्रीलंकासँग समान लेनदेनका आधारमा होइन, भारतले बढी सद्भाव र विश्वाससाथ सहयोगी भूमिका निर्वाह गर्नुपर्ने मान्यता अघि सारेका थिए । यसबाहेक दक्षिण एसियाका कुनै पनि मुलुकले एक अर्काविरुद्ध आफ्नो भूमि प्रयोग गर्न दिनु नहुने, एक–अर्काको अन्तरिम मामिलामा हस्तक्षेप गर्नु नहुने, एक–अर्काको भौगोलिक अखण्डता र सार्वभौमिकताको सम्मान गर्नुपर्ने, शान्तिपूर्ण द्विपक्षीय वार्ताबाट छिमेकीसँगको विवाद समाधान गर्नुपर्ने मान्यता उनको थियो । भौगोलिक, जनसांख्यिक र आर्थिक रूपमा साना दक्षिण एसियाली छिमेकीप्रति सद्भाव राख्ने भारतीय प्रधानमन्त्री थिए उनी । नेपालको औपचारिक भ्रमणमा आउने हालसम्मकै पछिल्ला भारतीय प्रधानमन्त्री उनै थिए ।
गुजराल पहिलोपटक विदेशमन्त्री छँदा लन्डनको चादम हाउसमा सेप्टेम्बर १९९६ मा दिएको भाषण निकै चर्चित छ । विदेशमन्त्रीको दोस्रो कार्यकालमा उनले अघि सारेको मान्यता नै अन्तत: ‘गुजराल डक्ट्रिन’का रूपमा स्थापित भयो । आफ्नो मान्यता कार्यान्वयन भए दक्षिण एसियाका सबै मुलुक र पाकिस्तानसँग भारतको सम्बन्धसमेत सुमधुर हुने उनको अपेक्षा थियो । विशेषत: दक्षिण एसियामा चीन र पाकिस्तानको बढ्दो प्रभावबाट उत्पन्न चुनौती समाधान गर्ने रणनीतिक अस्त्रका रूपमा गुजराल डक्ट्रिनको व्याख्या हँुदै आएको छ ।
छिमेकी जनसंख्या, भूगोल र आर्थिक भोल्युमका हिसाबले साना भएकाले पारस्परिक वा बराबर लेनदेनका आधारमा होइन, भारतले नै बढी सद्भाव राख्नुपर्छ भन्ने मान्यता गुजरालले लागू गर्न खोजेका थिए । तर, उनी सफल भएनन् । भारतले छिमेकीहरूको सम्बन्धमा उदारता र सद्भाव देखाउनुपर्छ भन्नेमा गुजराल पछिसम्म दृढ थिए ।
१९९७ मा नेपाल आएका बेला गुजरालले काँकडभिट्टादेखि बंगलादेशको बन्दरगाहसम्म पुग्ने भारतको बाटो खुला गर्ने घोषणा गरेका थिए । उनी काठमाडौं आउँदासम्म तत्कालीन सत्ता गठबन्धन सकारात्मक थिएन । तर, बंगलादेशको बन्दरगाहसम्म जोड्ने १२ किलोमिटर लामो भारतीय बाटो नखुल्दा नेपाललाई अप्ठेरो परेको थियो । तर, बाटोको क्षेत्र नेपाल, भुटान, तिब्बत र बंगलादेश जोड्ने सिलिगुडी कोरिडोर वा ‘चिकेन नेक’का भारतको सुरक्षाका हिसाबले संवेदनशील क्षेत्र हो । गुजरालकै पालामा त्यहीँबाट बंगलादेशसम्मको बाटो खोल्ने निर्णय भएको थियो । त्यो निर्णयप्रति गुजरालले भारतका सुरक्षा निकाय, हार्डलाइनर बुद्धिजीवी एवं कतिपय राजनीतिक वृत्तबाट चर्को विरोध खेप्नुपरेको थियो ।
दबाब थेग्न नसक्दा उनले चाहेर पनि सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि पुनरावलोकन हुन सकेन । तत्कालीन परराष्ट्रसचिव कुमार ज्ञवाली, सहसचिव मुरारीराज शर्मासहित सन् १९९७ मा नयाँ दिल्लीमा सन्धि पुनरावलोकनका विषयमा द्विपक्षीय वार्ता भयो । तर, भारतीय पक्षले असजिलो महसुस गर्‍यो । विदेशमन्त्रीसमेत रहेका गुजरालले १३ दलीय सत्ता गठबन्धनको विरोध साम्य पार्न पनि सन्धितिर हात हाल्न सक्ने अवस्था थिएन । अन्तत: उनले नेपाली प्रतिनिधिमण्डलाई भने, ‘अहिले मैले सकिनँ । तर, म प्रतिबद्ध छु । नेपालका महाराजधिराजलाई यही कुरा सुनाइदिनू ।’ सन् ५० को सन्धिसहित भारतसँग नेपालको थुप्रै कार्यसूची अहिले पनि यथावत् छन्, जसबारे आजसम्म निर्णय हुन सकेको छैन । विवादित सीमानक्सा, सुपुर्दगी सन्धि, कालापानीबाट भारतीय फौज विस्थापन, भारतीय बजारमा नेपाली वस्तुव्यापारको सहजीकरण, बन्दरगाहको प्रयोगमा सहजताजस्ता विषय अझै हल हुन सकेका छैनन् ।
भारतमा दश वर्षपछि कांग्रेस सत्ताबाट बाहिरिएको र भारतीय जनता पार्टी सत्तामा आएको मात्र हो । त्यहाँको विद्यमान राजनीतिक प्रणालीमा कुनै फेरबदल आएको होइन । त्यस हिसाबले मोदीको उदय उथलपुथलकारी होइन, यो स्वाभाविक परिघटना हो । केबल चमत्कारपूर्ण तरिकाले सरकारको नेतृत्व परिवर्तन हुन लागेको मात्र हो । बलियो सरकार र स्थापित नेता सत्तामा पुगेको मात्र हो ।
नेपालमा व्यवस्था परिवर्तन (गणतन्त्र स्थापना) भएको एक दशक पनि पुगेको छैन । नेपाल दोस्रोपटक संविधान निर्माणमा व्यस्त छ । हाम्रा दलहरूको विदेश नीति (विशेषत: भारत र चीनलक्षित) स्पष्ट छैनन् । तिनै दल सरकारमा जाने हुनाले सरकार पनि अलमलमा पर्नु स्वाभाविकै हो । निर्वाचन घोषणापत्रमा सार्वजनिक भएका तीन ठूला दलको विदेशनीति हेराँै । एमाओवादीले ‘आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्दै र राष्ट्रिय शक्ति सञ्चय गर्दै वैदेशिक हस्तक्षेप र उत्पीडनका साङ्ला चुँडाल्दै जाने प्रगतिशील राष्ट्रवादको आधारमा राष्ट्रिय हितको संरक्षण गर्ने’ भनेको छ । उसले नयाँ संविधान प्रारम्भ भएको एक वर्षभित्रै विगतमा भारतसँग भएका सबै सन्धि–सम्झौता पुनरावलोकन गर्ने तथा राष्ट्रिय हितप्रतिकूल रहेका सन्धि–सम्झौता खारेज गर्ने तथा राष्ट्रिय हितअनुकूलका नयाँ सन्धि–सम्झौता गर्ने भनेको छ । भारतसँग ‘सन् १९५० को शान्ति तथा मैत्रीसन्धिलगायत राष्ट्रिय हितप्रतिकूल देखिएका सबै पुराना सन्धि–सम्झौताको पुनरावलोकन गरी तिनलाई आवश्यकताअनुरुप परिमार्जन गर्ने, खारेज गर्ने र नयाँ सम्झौता गर्ने कार्य सम्पन्न गरिने’ एमाओवादीको नीति छ । उसले प्रस्तावित संघीय व्यवस्थापिकाको दुई तिहाई बहुमतबाट शान्ति र मैत्री, सुरक्षा एवं सामरिक सम्बन्ध, नेपाल राज्यको सिमाना र राष्ट्रलाई व्यापक, गम्भीर वा दीर्घकालीन असर पर्ने प्राकृतिक स्रोत तथा त्यसको उपयोगको बाँडफाँडसम्बन्धी अन्य मुलुकसँग गरिएको सन्धि वा सम्झौताको अनुमोदन गर्नुपर्ने उल्लेख गरेको छ । एमाओवादीले कुशलतापूर्वक छिमेकीहरूसँग सम्बन्ध व्यवस्थापन गर्ने, नेपाल–भारत खुला सिमाना व्यवस्थित गर्ने, सीमा विवाद र अतिक्रमणका समस्या सत्यतथ्यका आधारमा र आपसी हितमा यथाशक्य छिटो कूटनीतिक पहलद्वारा समाधान गर्ने भनिएको छ ।
सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसले मुलुकलाई ‘विश्व समुदायको सक्षम र प्रतिष्ठित सदस्यका रूपमा स्थापित गर्ने’ छिमेकी भारत र चीनसँगको सम्बन्धलाई अन्तर्राष्ट्रिय सम्बन्धका मूल्य र मान्यताअनुरूप व्यावहारिक र वस्तुनिष्ठ आधारमा मैत्रीपूर्ण बनाइने, सार्कको सिर्जनात्मक रुपान्तरण गर्ने उल्लेख गरेको छ । एमालेले ‘राष्ट्रिय हित, स्वाधीनता र सार्वभौमसत्ता रक्षा गर्दै छिमेकी मित्र राष्ट्रसँग सुमधुर र सन्तुलित सम्बन्ध कायम गर्ने’ विदेश नीति अख्तियार गरेको छ । उसले ‘एक–अर्काका जायज चासो र सरोकारप्रति संवेदनशील हुने, नेपालको भूमि कुनै पनि मित्रराष्ट्रविरुद्ध प्रयोग हुन नदिने कुराको प्रत्याभूति गर्ने पनि उल्लेख गरेको छ । एमालेले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई थप प्रभावकारी बनाउने, भारतसँग ‘सीमासम्बन्धी समस्याको समाधान र सीमा–नाकाहरूको व्यवस्थापनका लागि प्रभावकारी कूटनीतिक पहल र द्विपक्षीय वार्ता प्रक्रिया अगाडि बढाउने’ नीति अख्तियार गरेको छ । उल्लेखित बुँदा हेर्दा तीन दलको विदेश नीति आफ्ना राजनीतिक आग्रह/पूर्वाग्रहबाट प्रभावित देखिन्छन् । छिमेकी भारत वा चीनसँगको सम्बन्धका केही मान्यतामा नकारात्मक भए पनि एमाओवादी स्पष्ट छ, कांग्रेस र एमाले भगवान् भरोसे देखिएका छन् ।
कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री सुशील कोइरालाले भारतीय समकक्षीको निम्तो शिरोपर गरेर दिल्ली जाने निर्णय गरेका छन् । भारतसँग राजनीतिक सम्बन्ध अभ्यासको यो अवसर रहे पनि कोइरालाको यो भ्रमणलाई चीन जाने बाटो खुला गर्ने अवसरका रूपमा हेरिएको छ । निकट भविष्यमा चीनको कुनमिङमा हुने विश्वव्यापार मेलामा जान कोइरालालाई आग्रह र दबाब उत्पन्न भएको छ तर पहिलो विदेश भ्रमण भारतबाट सुरु नगर्दा हुने त्रासदीबाट उनी पीडित छन् । उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई चीन पठाउने सुरसार कोइरालाको भारत भ्रमणले सम्भवत: फेरिन पनि सक्छ । भारत गएपछि कोइरालाले चीन जानुपर्ने बाध्यतालाई बुझेका छन् । मोदीको निम्ताले कोइरालालाई चीन जानका लागि अवसर जुटाइदिनु रामै्र संयोग मान्नुपर्छ ।
कोइरालाले भारत जाँदै गर्दा हेक्का राख्नुपर्ने हुन्छ कि भारतबाट डेढ दशकदेखि प्रधानमन्त्रीस्तरको नेपाल भ्रमण भएको छैन । चीनबाट अघिल्ला प्रधानमन्त्री एक दिनका लागि नै सही, आएर गएको अवस्थामा ‘विशेष सम्बन्ध’को चर्चा गर्ने भारतले प्रधानमन्त्रीलाई पठाएको छैन । हरेक मौसम परिवर्तनसँगै सरकार बदल्ने हाम्रो राजनीतिक परिपाटी वा सुरक्षासंयन्त्र नै नेपाल मामिला डिल गर्न काफी रहेको भारतीय यथार्थ वा अन्य जेसुकै कारणले भए पनि भारतबाट उच्चस्तरीय भ्रमण नहुनु विडम्बनापूर्ण छ । आगामी मंसिरमा सार्क शिखर सम्मेलनमा सहभागिताका लागि भारतीय प्रधानमन्त्री स्वाभाविक रूपमा आउनेछन्, जसरी अघिल्लोपटक अटलबिहारी बाजपेयी आएका थिए । तर, भारतीय प्रधानमन्त्रीको औपचारिक भ्रमणका लागि प्रधानमन्त्री कोइरालाले विशेष रूपमा पहल गर्नु जरुरी छ । मोदीले सार्कका समकक्षीलाई शपथग्रहणमा बोलाउनुको अर्थ उनी गुजरालले कोरेको विदेश नीतिको मार्ग पछ्याउन बाध्य छन् । त्यसर्थ उनको नेपाल भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारका लागि आजको अनिवार्य शर्त हो । त्यसबाहेक भारतसँग छलफल गर्नुपर्ने नेपालको राजनीतिक, आर्थिक र सुरक्षा चासोका मुद्दा त छँदै छन् । जे होस्, मोदीको गुजराल मार्ग स्वागतयोग्य छ ।

NAYAPATRIKA DAILY, Jeth 9, 2071
 

Friday, 16 May 2014

सैन्य कूटनीति र नेपाली सेना

पर्शुराम काफ्ले 
pkaphle@gmail.com
‘नेपाली सेनाको इतिहास’ पुस्तकको पृष्ठ ५७९ मा सैन्य कूटनीतिबारे अथ्र्याइएको छ, ‘वर्तमान विश्व परिवेशमा सुमधुर सम्बन्ध, सद्भाव र सहयोग अभिवृद्धि गर्नका लागि सेना–सेनाबीचको राम्रो सम्बन्ध हुनु अति आवश्यक छ । यसलाई सैन्य कूटनीति भनिन्छ । त्यसमा पनि नेपालको परिप्रेक्ष्यमा त यसले झनै महत्त्व राख्छ ।’

अन्तर्राष्ट्रियस्तरमा राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर एक देशका सेनाले अर्को देशको सेनासँग द्विपक्षीय तथा अन्तर्राष्ट्रिय सैन्य गठबन्धनसँग बहुपक्षीय सम्बन्ध स्थापित गरेका हुन्छन् । त्यही सम्बन्धको सिलसिलामा मुलुकको सैन्य स्वार्थ पूरा गर्ने कला वा चतुर्‍याइँ नै सैन्य कूटनीति हो । यसको दायरा मुलुकको परिभाषित/अपरिभाषित राष्ट्रिय स्वार्थले निर्देशित गरेको हुन्छ । विश्वमा प्रचलित सैन्य कूटनीतिको परिभाषा र यसको दायरालाई घरेलु परिप्रेक्ष्यमा हेर्दा नेपालमा यसको आयाम बिल्कुल भिन्न छ । नेपालमा परराष्ट्रनीतिको छातामुनि रहेर सैन्य कूटनीतिक अभ्यास हुँदै आएको छ ।

शीतयुद्ध र त्यसयता असंलग्न परराष्ट्रनीति आत्मसात गरेको नेपालले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो), वार्सा प्याक्टजस्ता अन्तर्राष्ट्रिय सैन्य संगठनमा राष्ट्रिय सेनालाई सामेल गराएन । अन्तर्राष्ट्रिय सैन्य शक्ति समीकरण वा गठबन्धनको कुनै एउटा पक्षमा समेत नेपाल नरहेको सन्दर्भमा सेना पनि असंलग्न रहँदै आएको छ ।

नेपालले सार्वभौमसत्ता जोगाउन वा भूभाग विस्तार गर्न विदेशी सेनासँग सन् १८५५ पछि लडेको छैन । तिब्बतसँगको युद्ध विसं १९१२ चैत १३ गते थापाथली सन्धिसँगै अन्त्य भयो । लगत्तै भारतमा सिपाही विद्रोह दबाउन सन् १८५७ मा नेपाली सेनाको संलग्नता, पहिलो र दोस्रो विश्वयुद्धमा बेलायतका पक्षमा नेपालको सैन्य संलग्नता तत्कालीन नेपालको सार्वभौमसत्ता र राणाशासन जोगाउने ‘चतुर्‍याइँ’ बाट निर्देशित थियो । सिपाही विद्रोह दबाएपछि बाँके, बर्दिया, कैलाली र कञ्चनपुर प्राप्ति भयो । सुगौली सन्धिपछि नेपालले विसं १९१४ मा भारतीय सिपाही विद्रोह विसं १९७१ देखि ७५ सम्म पहिलो विश्वयुद्ध, १९७४ मा बजिरिस्तानको लडाइँ, १९७६ मा अफगान युद्ध, विसं १९७६ देखि २००२ सम्म दोस्रो विश्वयुद्धमा सामेल भएको थियो । तर, दुईवटा विश्वयुद्धमा बेलायतका पक्षमा संलग्नता ‘नेपाली बहादुरीको लिलामी’ सरह पनि भएन । त्यसको घाउ अझै पुरिएको छैन ।

थापाथली सन्धिपछि ब्यारेकभित्र सीमित नेपाली सेना ०५८ देखि ०६२ सम्म माओवादीविरुद्ध परिचालित भयो । त्यसक्रममा अमेरिका, बेलायत, बेल्जियम, भारत, चीनबाट हतियार र सैन्य सहायता प्राप्त गर्‍यो । सन् १९५८ देखि राष्ट्रसंघीय शान्ति स्थापक मिसनमा विभिन्न भूमिकामा नेपाली सेना परिचालन हुँदै आएको छ । पछिल्लो आधा शताब्दीयता सेना आन्तरिक सुरक्षाका लागि प्रयोग हुँदै आएको छ । यतिवेला सेना बाह्य खतराको विश्लेषणसहित आन्तरिक सुरक्षाका लागि तैनाथ छ । यो अवस्थामा नेपालको सैन्य कूटनीति सेनाको आधुनिकीकरण, अन्तर्राष्ट्रिय शान्ति सेनामा थप सहभागिता, छिमेकी भारत र चीनका सेनासँग सुमधुर सम्बन्ध कायम गरी राष्ट्रिय अखण्डताको प्रत्याभूति, अन्तर्राष्ट्रिय तालिम आदन–प्रदान, उच्चस्तरीय भ्रमण आदन–प्रदान, सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन/गोष्ठी, बैठकको आयोजना, अन्तर्राष्ट्रिय सुरक्षा आयामबारे अनुभव आदन–प्रदान, प्रकोप नियन्त्रणमा सहकार्यजस्ता विषयमा केन्द्रित छ । सैन्य सहचारीमार्फत विकसित राष्ट्रले सैन्य कूटनीतिक दायरा विस्तार गरिरहेका छन् ।

सैन्य कूटनीति विशेष गरी परराष्ट्रनीति र सुरक्षा नीतिका उद्देश्य परिपूर्तिका लागि निर्देशित हुन्छ । परम्परागत रूपमा यसलाई सिभिलियन डिप्लोम्यासीको विपरीत अर्थमा लिइन्थ्यो भने अहिले त्यसकै अभिन्न अंगका रूपमा लिने गरिएको छ । सुरक्षाको बदलिँदो आयाम र परिभाषासँगै सैन्य कूटनीतिको पनि अवधारणा बदलिएको छ । नेपालमा स्पष्ट सुरक्षा नीति तय भएको छैन । राष्ट्रिय सुरक्षा परिषद् निष्प्रभावी छ । तर, सेनामार्फत सैन्य कूटनीतिको रफ्तार बाक्लिएको छ । मुलुकको परराष्ट्र मामिला सञ्चालन फितलो रहँदै आए पनि सामान्य अपवादबाहेक सैन्य कूटनीति मजबुत हुँदै गएको छ । सामरिक मामिला अध्येताहरूले यसलाई मुलुककै हितका रूपमा अथ्र्याएका छन् । नेपालको भौगोलिक अवस्थितिका कारण सेना अन्तर्राष्ट्रिय चासोको केन्द्रमा छ ।

सेनापतिको विदेश दौडाहा

प्रधानसेनापति गौरवशमशेर जबराले चीन, भारत, श्रीलंका, मालदिभ्स, मलेसियालगायत मुलुकको भ्रमण गरेर ती मुलुकका राष्ट्रिय सेनासँग हाम्रो सैन्य सम्बन्ध बलियो बनाएका छन् । भारतीय सेनासँग संस्थागत रूपमा भ्रातृत्वको सम्बन्ध छ । दुवै सेनापति एक अर्को मुलुकको सेनाका मानार्थ सेनापति रहँदै आएका छन् । २००९ सालमा भारतीय सैन्य अधिकारीले नेपाल आएर बनाइदिएकै सांगठनिक ढाँचामा नेपाली सेना आजसम्म चलिरहेको छ । भारतबाट हतियार र सामग्री सुचारु भइरहेको छ । भारतीय सेनासँग तालिम आदन–प्रदान र संयुक्त सैन्य अभ्यास र सगरमाथामा संयुक्त सैन्य आरोहण हुँदै आएको छ । दक्षिण एसियामा भुटान र अफगानिस्तानबाहेक पाँचवटै मुलुकका सेनासँग द्विपक्षीय सम्बन्ध छ । यसपालि श्रीलंका र मालदिभ्स पुगेर सेनापति राणाले सम्बन्धको डोरो बाँधेका छन् । करिब दुई लाख जनशक्ति रहेको अफगानिस्तान र १५ हजार जनशक्ति रहेको रोयल भुटान आर्मीसँग सैन्य सम्बन्ध गाँस्ने प्राथमिकता सम्भवत: जंगी अड्डाको हुनेछ ।

छिमेकी भारतबाट डेढ दशकयता उच्चस्तरीय राजनीतिक भ्रमण भएको छैन तर सेनापति तीनपटक नेपाल आइसकेका छन् । भारतसँग एकपक्षीय राजनीतिक भ्रमण (नेपालबाट मात्रै) भइरहेका सन्दर्भमा सेनाको तहमा भए पनि द्विपक्षीय उच्चस्तरीय भ्रमण भएको छ । यसलाई सकारात्मक नै मान्नुपर्छ । चीनबाट उच्चस्तरीय सैन्य र राजनीतिक भ्रमण भएका छन्, नेपालबाट पनि चीनमा त्यही स्तरको भ्रमण जारी छ ।

नेपालको सेना, प्रधानसेनापतिलाई छिमेकी तथा मित्रराष्ट्रका सेना र सैन्य नेतृत्वले उच्च महत्त्व दिँदै आएका छन् । पछिल्लोपटक नेपालमा स्थापित सैन्य तालिम केन्द्रमा विदेशी शिक्षार्थी आउने क्रम बढिरहँदा सेनाको अन्तर्राष्ट्रिय विश्वसनीयता स्वाभाविक रूपमा वृद्धि भइरहेको छ । पछिल्लोपटक मंसिरमा संविधानसभा निर्वाचनमा सेनाले निर्वाह गरेको भूमिकाको अन्तर्राष्ट्रिय सरोकारवालाले प्रशंसा गरिरहेका छन् । यसले सेनाको घरेलु र बाह्य विश्वसनीयतामा थप वृद्धि भएको छ ।

अढाई सय वर्षपहिले राष्ट्र एकीकरणका क्रममा आन्तरिक र बाह्य युद्धमा नेपाली सेना सामेल भयो । सुगौली सन्धिपूर्व ब्रिटिससँग भएका लडाइँका मोर्चामा नेपाल पराजित भयो । तर, पहिलो र दोस्रो युद्धमा उसले बेलायतका पक्षमा लड्यो । पराजित भए पनि नेपाली सेनाको बहादुरीलाई बेलायतले मान्यता दिँदै आयो र उसको सेनामा नेपाली युवाको भर्ती आजपर्यन्त चलिरहेको छ । परिवर्तित अवस्थामा यसको औचित्यबारे स्वाभाविक रूपमा प्रश्न पनि उब्जेको छ ।

गणतन्त्रपछि परिस्थिति बदलिएको छ । विस्तृत शान्ति–सम्झौताले साँघुरो पारेको सेनाको दायरा पुरानै अवस्थामा फर्केको छ । यो अवधिमा सेनाको भूमिका घरेलु र बाह्य रूपमा विवादित र परिपक्व दुवै रह्यो । संयुक्त राष्ट्रसंघीय मिसन अनमिनको बिदाइका लागि सेनाले गरेको लबिङ वास्तवमा विवादित कदम थियो । तत्कालीन सेनापति छत्रमानसिंह गुरुङ सन् २०११ मा अमेरिका भ्रमणमा जाँदा राष्ट्रसंघीय मुख्यालय पुगेर स्पष्ट पारेपछि राष्ट्रसंघ पनि विश्वस्त भयो । सबैभन्दा महत्त्वपूर्ण विषय एमाओवादी लडाकुहरूको समायोजन सेनाकै मोडालिटीका आधारमा सम्पन्न भयो र शान्ति प्रक्रियालाई गति दिन सेनाको सकारात्मक भूमिका रह्यो । समायोजनका वेला पद वर्गीकरणका सन्दर्भमा प्रधानसेनापति राणाले निर्वाह गरेको भूमिका परिपक्व र सराहनीय छ । प्रधानसेनापति रुक्मांगद कटवालको बर्खास्तगी प्रकरणले पनि सेनालाई विवादको चरमचुलीमा पुर्‍याएको थियो । समयले यसको घाउ पुरिएको छ । मुलुकको विदेश नीति स्पष्ट नभएको, राष्ट्रिय हित परिभाषित नभएको र यी मामलामा प्रमुख दल चारतिर मुख फर्काएर बसेको अवस्थामा सेनाको सक्रियताले कमसेकम मुलुकको इज्जत धान्ने प्रयत्न गरिरहेको छ ।

अमेरिकामा ‘लज्जा’

प्रधानसेनापति गौरवशमशेर राणाले सैन्य कूटनीतिक अभ्यास मजबुत पारे पनि उनको पछिल्लो अमेरिका भ्रमणको ढाँचा विवादमुक्त रहेन । वैशाख १३ देखि २९ सम्मको उनको अमेरिका भ्रमणको निम्ता र भेटवार्ताको स्तरले सेनापतिको हैसियतमाथि न्याय हुन सकेन । अमेरिकामा सेनापतिले मेजमानी पाए तर भ्रमण ‘उच्चस्तरीय’ भएन ।

प्रधानसेनापतिलाई अमेरिकी समकक्षीले बोलाएका होइनन् । नेपालस्थित अमेरिकी राजदूत पिटर डब्ल्यु बोडे र युएस आर्मी कम्बाइन्ड आर्मस सेन्टरका डेपुटी कमान्डिङ जनरल क्रिस्टोफर पी हग्सको संयुक्त निम्तामा उनी गएका थिए । हग्स राणाभन्दा दुई तह मुनि हैसियत भएका दुईतारे (मेजर जनरल) हुन् ।

राणा अमेरिका जाने दिन सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘काठमाडौंस्थित अमेरिकी महामहिम राजदूत मिस्टर पिटर डब्ल्यु बोडे तथा युएस आर्मी कम्बाइन्ड आम्र्स सेन्टरका डेपुटी कमान्डिङ जनरल क्रिस्टोफर पी हग्सको औपचारिक निमन्त्रणामा प्रधानसेनापति श्री गौरवशमशेर जवरा ०७१ वैशाख १३ गते राति अमेरिकातर्फ प्रस्थान गर्नुभएको छ ।’

उनीअघिका प्रधानसेनापति छत्रमान सिंह गुरुङको अमेरिका भ्रमणको पृष्ठभूमि हेरौँ । अमेरिकी सरकारको औपचारिक निमन्त्रणामा गुरुङ ०६७ चैत १२ गते त्यसतर्फ गएका थिए र विमानस्थलमा उनलाई बिदाइ गर्न अमेरिकी तत्कालीन राजदूत स्कट एच डेलिसी पुगेका थिए । त्यो वेला सेनाको विज्ञप्तिमा उल्लेख छ, ‘प्रधानसेनापति महारथी श्री छत्रमान सिंह गुरुङ अमेरिकी सरकारको औपचारिक निमन्त्रणामा आज मिति ०६७ चैत १२ गते अपराह्न त्यसतर्फ प्रस्थान गर्नुभयो ।’

गुरुङले चैत २१ गते पेन्टागनमा अमेरिकी सेनाप्रमुख जनरल जर्ज डब्ल्यु क्यासी तथा अमेरिकी सेनाको रणनीतिक योजना र नीति हेर्ने लेफ्टिनेन्ट जनरल चाल्स एच ज्याकोबसँग भेटवार्ता गरेका थिए । तर, राणालाई त्यो अवसर मिलेन ।

आफ्ना समकक्षीको निमन्त्रणामा मात्र सेनापतिको औपचारिक भ्रमण तय हुन्छ । तर, राणाले क्रमभंग गरिदिए । राणाले भविष्यमा अमेरिकी सेनाका क्याप्टेन र पेन्टागनका अधिकृतको निम्तामा हाम्रा भावी सेनापतिलाई अमेरिकाको औपचारिक भ्रमण गर्ने बाटो खुला गरिदिएका छन् । यसले नेपाल, नेपाली र सेनाको इज्जत होइन, लज्जा बढाइदिएको छ ।

राणाले प्रधानसेनापतिको मर्यादा नराखेको विषयमा सरोकारवालाले खोजी नगर्नु विडम्बना भएको छ । उनको भ्रमण स्वीकृत गर्नुअघि मन्त्रिपरिषद्ले यथेष्ट अध्ययन नगर्नु र रक्षासचिवले पनि वास्ता नगर्नु त्रुटिपूर्ण छ । बेलायत भ्रमणमा जाँदा प्रोटोकलमा कतै सम्झौता नगरेका तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाका सन्तान गौरवले त्यो बिरासत किन बिर्से ?

राणा उनै हुन् जो पछिल्लोपटक भारत भ्रमणमा जाँदा चीनका बारेमा अनावश्यक टीकाटिप्पणी गरेर विवादमा आए । चीनले भारतमाथि आक्रमण गर्ने हैसियत राख्दैन भन्ने अभिव्यक्ति भारतीय पत्रकारलाई दिएका राणाले त्यसको औचित्य पुष्टि गर्नसक्ने कुरै थिएन । अमेरिका भ्रमणको सबैभन्दा उदेकलाग्दो पक्ष के हो भने राणाले अमेरिकी राजदूतसँग द्विपक्षीय वार्ता गरे । प्रोटोकलका हिसाबले प्रधानसेनापतिले राजदूतसँग द्विपक्षीय वार्ता गर्न सुहाउँदैन । सेनापतिले राजदूत भेट्न दूतावास वा कहीँ जान मिल्दैन, राजदूत स्वयम् जंगी अड्डा पुग्नुपर्छ ।

०५८ सालमा अमेरिकी विदेशमन्त्री कोलिन पावेल (अमेरिकी सेनाका पूर्वस्थलसेनाध्यक्ष) जंगी अड्डामै गएर तत्कालीन प्रधानसेनापति प्रज्ज्वल शमशेरलाई भेटेका थिए । प्रज्ज्वल शमशेर उनलाई भेट्न अमेरिकी दूतावास वा उनी बसेको होटल चहारेनन् । कुनै मुलुकका राजदूत र प्रधानसेनापतिको हैसियत एउटै हुँदैन भन्ने यथार्थ राणाले नबुझेको भन्न मिल्दैन ।

कमान्ड एन्ड स्टाफ कलेज फोर्ट लिभरवर्थ, कान्सासमा फोटो झुन्ड्याउने प्रयोजनका लागि सेनापति निम्त्याइएका थिए । तर, निम्ता जसरी आयो, त्यसलाई शिरोधार्य गरेर प्रधानसेनापतिले युद्धकार्य तथा व्यवस्था महानिर्देशकसम्मलाई पठाइदिएको भए उनको इज्जत जोगिन्थ्यो । प्रधासेनापतिको अमेरिका भ्रमणको नियत असल भए पनि भ्रमणको व्यवस्थापन र शैलीलाई जायज भन्न मिल्दैन । भावी प्रधानसेनापतिहरूले यसको गम्भीरतालाई अहिलेदेखि नै आत्मसात गर्नु जरुरी छ ।
PUBLISHED AT NAYAPATRIKA DAILY, JETH 2, 2071

Wednesday, 12 March 2014

चिनियाँ शैलीमा आउँदै भारतीय प्रधानमन्त्री

Koirala-Singh meeting at Delhi- File photo

नेपाल डोर अनलाइन
काठमाडौं । सन् २०१२, जनवरी १४ । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको चिमन्त्रणामा चिनियाँ प्रधानमन्त्री वेन जियावाओ पाँच घण्टे भ्रमणमा काठमाडौं आए । उच्चस्तरीय भेटवार्ता त्यही अबधिमा सम्पन्न भयो । तत्कालीन प्रधानमन्त्रीले लन्च खाए, शीर्ष नेतासँग गफगाफ गरे । नेपाल–चीन संयुक्त समझदारीपत्रमा हस्ताक्षर भयो । पाँच घण्टा बसेर चिनियाँ प्रधानमन्त्री कतारतिर लागे । 
दुई बर्षअघि चिनियाँ प्रधानमन्त्री जसरी आए, कार्यकाल सकिन लाग्दा भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंह पनि त्यही शैलीमा काठमाडौं आउने सन्देश दिएका छन् । फरक यत्ति हो, चिनियाँ प्रधानमन्त्री आउँदा राजधानी कफ्र्यु लागेसरह थियो । भारतीय प्रधानमन्त्री आउँदा सुरक्षा व्यवस्था कडा हुन्छ नै, राजधानीका कफ्र्यु नै लाग्ने सम्भावना हुँदैन । 
प्रधानमन्त्री सुशील कोइरालासँग विमस्टेक सम्मेलनका क्रममा म्यानमारमा गत साता भएको भेटमा सिंहले ‘छोटो समयका लागि भएपनि’ भ्रमण गर्ने इच्छा देखाएपछि दुवै मुलुुकको परराष्ट्रमन्त्रालय यसको गृहकार्यमा जुटेको छ । प्रधानमन्त्री कोइरालाले यसबारे एमाओवादी अध्यक्ष पुष्कमल दाहाल, एमाले अध्यक्ष झलनाथ खनाल र राप्रपा नेपालका अध्यक्ष कमल थापालाई जानकारी गराइसकेका छन् । 
भारतीय प्रधानमन्त्रीले नेपालमा औपचारिक भ्रमण नगरेको १६ बर्ष भएको छ । दुई कार्यकाल (दशबर्ष) व्यतित गरेर विदा हुन लागेका प्रधानमन्त्री सिंहले यसबीचमा नेपाल भ्रमण गरेका छैनन् । भारतीय प्रधानमन्त्रीको भ्रमण नहुँदा नेपाल–भारतबीच उच्चस्तरीय भ्रमणको असन्तुलन भएको टिप्पणि हुँदै आएको छ । 
‘भारतीय विदेशमन्त्री सलमान खुर्सिदले मसँग म्यानमारमा कुरा गर्दा छोटै समयका लागि भए पनि प्रधानमन्त्री सिंहले नेपाल भ्रमण गर्ने इच्छा राख्नुभएको बताउनुभएको थियो’ परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले नेपालडोर अनलाइनसँग भने, ‘व्यस्तता बढ्यो नै भने छोटो समय (केही घण्टा)का लागि पनि आउन सक्नुहुन्छ, तर हामीले सकभर कम्तिमा दुई दिने भ्रमणमा आउँदा उपयुक्त हुन्छ भनेका छौँ ।’ 
भारतीय समकक्षीलाई नेपाल भ्रमणमा आउन प्रधानमन्त्री कोइरालाले निर्वाचित भएलगत्तै निमन्त्रणा पठाइसकेका छन् । भारतीय प्रधानमन्त्रीले पनि कोइरालालाई निम्ता दिइसकेका छन् । प्रधानमन्त्री निकटस्थ स्रोतका अनुसार भारतीय प्रधानमन्त्रीलाई नेपालमा बोलाएर मात्रै कोइराला भारत जान चाहन्छन् । ‘हाम्रा प्रधानमन्त्रीहरु शुरुमा भारत जाने चलन रहेकोमा यसपटक प्रधानमन्त्रीज्यूले भारतीय समकक्षीलाई बोलाएर मात्रै आफू भारत जाने इच्छा राख्नुभएको छ’ कोइराला निकटस्थ स्रोतले भन्यो, ‘भारतमा निर्वाचनपछि अर्को सरकार गठन नभएसम्म प्रधानमन्त्री भारत भ्रमणमा जानुहुन्न ।’ यो कोइरालाका लागि सौभाग्य पनि हो । किनभने उनीअघिका प्रधानमन्त्रीहरु पहिल्यै निम्तोमान्न पुगिसकेका हुन्थे, कोइरालाले कम्तिमा भारतीय समकक्षीलाई स्वागत गरेपछि मात्रै भारत भ्रमणमा जाने अबसरको खोजी गरिरहेका छन् ।

एक शताब्दीपछिको उही 'बिजुली सपना'


पर्शुराम काफ्ले
................................

जलबिद्युत आयोजना निर्माण हुँदा आफ्नो अर्थतन्त्र उकासेको नजिकैको भुटानको अनुभवलाई सबै दलहरुले सकारात्मक शोचले आत्मसात गरेमा नेपालको भलाइ हुनेछ ।

........................................................................................ 

९६८ साल जेठ ९ गते सोमवार अपरान्ह ६ः३० बजेको साइतमा फर्पिङमा ५०० किलोवाट क्षमताको चन्द्रज्योति पावर हाउस उद्घाटन हुँदा नेपालले आफ्नो र समग्र एशियाकै शीर माथि पारेको थियो । तत्कालीन राजा पृथ्वी वीरविक्रम शाहले उद्घाटन गरेको पावरहाउसबाट उत्पादित बिजुलीको पहुँच सिंहदरबार र पशुपतिनाथ मन्दिरमा सीमित रहे पनि एशिया महादेशका तर्फबाट नेपालले पहिलोपटक पावर हाउसबाट बत्ति बाल्दै थियो । एक शताब्दी यता नेपालको पुगनपुग आधा जनसंख्याले  बिजुली बालिरहेको छ । बाँकी जनसंख्या बिजुलीको प्रतिक्षामा छ ।  
एशियाको पहिलो विरासत बोकेको एक शताब्दीमा नेपालले जम्मा एक हजार मेघावाट जलबिद्युत पनि उत्पादन गर्न सकेको छैन । तर नेपालको जलस्रोतबाट करिब ४३ हजार मेघावाट बिजुली उत्पादन गर्नसक्ने क्षमता जीवित छ । राष्ट्रिय योजना आयोगको पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म नेपालमा जम्मा ७ सय पाँच मेघावाट बिद्युत उत्पादन भएको छ । नेपाल बिद्युत प्राधिकरणको प्रयासमा चाससय ७३ मेघावाट उत्पादन भएको छ भने निजि क्षेत्रले २३२ मेघावाट जलबिद्युत उत्पादन गरेको छ । अहिलेसम्मको उत्पादन आन्तरिक खपत पूरा गर्न पनि अपुग छ । 
नेपालले  पछिल्लो एक शताब्दी राजनीतिक संक्रमण र उतारचढाबबाट गुजारेको छ । राजनीतिक अस्थिरताका कारण अन्य आर्थिक क्षेत्रमा जस्तै जलबिद्युत उत्पादनमा पनि अपेक्षित प्रगति हुन सकेको छैन । यो अबधिमा जलबिद्युत उत्पादनको रफ्तार रोकिएको भने छैन ।  नेपालमा बहुदलीय प्रजातन्त्रको पुनस्र्थापना (२०४६ साल)पछिको एक दशक अबधिमा  जलबिद्युत उत्पादनमा उल्लेख्य प्रगति भएको तथ्यांक छ । यो अबधि अघि र पछि पनि धीमा गतिमा प्रगति भइरहेको छ । नेपालको जलबिद्युत बार्षिकरुपमा औसत ६ मेघावाट मात्र बिजुली थपिएको छ । 
२०६२÷०६३को जनआन्दोलनको अबधिसम्म जम्मा ५५६ मेघावाट बिद्यूत उत्पादन भएको थियो । त्यसयता एक सय ४९ मेघावाट बिद्यूत थपिएको छ । नेपाललेभन्दा पछि बिजुली बालेको चीन अहिले विश्वका सबैभन्दा धेरै बिद्युत उत्पादन गर्ने क्यानाडा, अमेरिका, ब्राजिलको पछिपछि दौडिएको छ । छिमेकी भारतका बजारमा बिद्युत व्यापार गर्न सक्ने क्षमता बोकेको नेपालले यतिबेला चाहिँ आन्तरिक माग अनुरुपको बिद्युत आपूर्ति कसरी गर्ने भन्ने चिन्तामा छ । यतिबेला ऊर्जा संकट झेलिरहेको छिमेकी भारतले दिने भनेको दुईसय मेघावाट बिद्युत ल्याउने क्षमता (अन्तरदेशीय प्रशारण लाइन)समेत हामीसँग छैन । त्यसकारण वर्तमानमा हामीसँग अभाव धेरै छन् । तर राजनीतिक वातावरण बनिदिने हो भने हामीसँग प्रचुर सम्भावनाको भविश्य टाढा छैन । 
यतिबेला जलबिद्यूतमा सरकारको प्राथमिकता बढेको छ । सरकारले घोषणा गरेका राष्ट्रिय गौरबका १७ वटा विभिन्न परियोजनामा ४५६ मेघावाट क्षमताको माथिल्लो तामाकोसी, ७५० मेघावाट क्षमताको पश्चिम सेती र ६०० मेघावाट क्षमताको बुढी गण्डकी जलबिद्युत परियोजना पनि परेका छन् । माथिल्लो तामाकोसी आयोजना दु्रत गतिमा निर्माण कार्य भइरहेको छ । लगानीकर्ताको अलमलका कारण करिब ढेढ दशकसम्म बन्न नसकेको पश्चिम सेती निर्माणमा चिनियाँ कम्पनी थ्रि गर्जेजले लगानी गर्ने भएको छ । मुआब्जालगायतका बिषयमा सरकारले सहजीकरण गर्ने काम भइरहेको छ । यीवाहेक भारतीय लगानीमा माथिल्लो कर्णाली, अरुण तेस्रो आयोजना बन्ने पक्कापक्की भएको छ । पछिल्लोपटक भातीय लगानीकर्ता कम्पनी जीएमआरले माथिल्लो मस्र्याङदी २ जलबिद्युत आयोजनामा पनि लगानी गर्ने सम्झौता गरेको छ । राजनीतिक अबरोधका कारण माथिल्लो कर्णाली आयोजना शुरु हुन सकेको थिएन । राजनीतिक पार्टीको दृष्टिदोषका कारण नेपालले १८ बर्ष अघि अरुण तेस्रोको लगानीकर्ता गुमाउनुको पीडाबोध यतिबेला अधिकांश  दल र सरकोकारवालाले गरिरहेका छन् । 
जलबिद्युत आयोजनामा अबरोध उत्पन्न हुन नदिन राजनीतिक दलले नै प्रतिवद्धता जनाएका छन् । निजि क्षेत्रको उत्साह थपिएको छ । अन्तराष्ट्रिय ऊर्जा कम्पनी र दातृ निकायले पनि ठूला जलबिद्युत आयोजनामा लगानी गर्ने प्रतिवद्धता दोहो¥याएका छन् । 
राष्ट्रिय योजना आयोगले तयार गरेको तेह्रौँ योजना (सन् २०१३/१४ देखि २०१५/१६)को अबधारणापत्रमा सन् २०१५ सम्म थप ६६८ मेघावाट जलबिूत उत्पादन गर्ने र थप ५८४ मेघावाटका आयोजना शुरु गर्ने लक्ष्य राखिएको छ । त्यसबीचमाथप ४०० किलोमिटर लामो प्रशारण लाइन निर्माण गर्ने, बिद्युत चुवाहट २१ प्रतिशतमा झार्ने तथा राष्ट्रिय प्रणालीबाट ६५ प्रतिशत जनतालाई बिद्युत पु¥याउने सरकारी लक्ष्य छ । यदि यो लक्ष्य पूरा भएमा तीन हजार गाविसमा बिजुली पुग्नेछ ।
जलबिद्यूत आयोजना निर्माणमा उत्साहजनक वातावरण बनिरहे पनि त्यसमा बाह्य लगानी आकर्षित गर्ने राष्ट्रिय दृष्टिकोण बन्न सकेको छैन ।हरेक दलका बीचमा जलबिद्युत विकासबारे साझा धारणा आएमा सरकारको अदलीबदलीले आयोजना निर्माणमा कुनै अबरोध पार्नेछैन । जलबिद्युत क्षेत्रलाई राजनीतिक आग्रह र पूर्वाग्रहबाट मुक्त राख्न मात्र दलहरुले साझा प्रतिवद्धता जनाए भने उत्साहको वातावरण तयार हुनेछ । जलबिद्युत आयोजना निर्माण हुँदा आफ्नो अर्थतन्त्र उकासेको नजिकैको भुटानको अनुभवलाई सबै दलहरुले सकारात्मक शोचले आत्मसात गरेमा नेपालको भलाइ हुनेछ । एक शताब्दीपछिसम्म पनि नेपालीहरुले बिजुलीको सपना ‘आन्तरिक खपत पूरा गर्न’मा मात्र खर्चिएका छन् ।
pkaphle@gmail.com

Monday, 10 March 2014

नेपालको स्वास्थ्य र नयाँ शिक्षण अस्पताल

डा. मनोर डी.सैयद 
....................................
छिमेकी मुलुक भारतबाट बर्सेनी हजारौं विद्यार्थी चीनलगायतका मुलुकमा एमबीबीएस गर्न जाँदा रहेछन् । त्यो अर्बौंको बजारलाई हामीले नेपालमा तान्न सक्यौं भने आर्थिक रूपमा नयाँ आयाम थप्न सकिन्छ ।
...................................................................

विगत केही समयदेखि नेपालको स्वास्थ्य क्षेत्रमा भएका उतारचढावले विभिन्न अखबारका पानाहरू कोरिएका कुरा त सर्वविदितै छ । मेडिकल क्षेत्रमा भएको राजनीतिक हस्तक्षेप, विभिन्न बहानामा भएको आन्दोलन र पटक–पटक भएको आमरण अनशनसमेतले गर्दा नेपालको स्वास्थ्य क्षेत्र यस वर्ष निकै चर्चाको विषय रहन पुग्यो । गरिबीको रेखामुनि रहेको हाम्रो मुलुकमा हरेक क्षेत्र अस्तव्यस्त रहेको विषम परिस्थितिमा स्वास्थ्य क्षेत्रसमेत केही हदसम्म गञ्जागोल भएको कुरा सत्य हो । यसै सेरोफेरोमा रहेर वर्तमान परिस्थितिलाई केलाउने जमर्काे यहाँ गरिएको छ । 

विश्व स्वास्थ्य संगठन तथा विभिन्न निकायद्वारा प्रस्तुत हुने वार्षिक प्रतिवेदन हेर्ने हो भने नेपालको बालमृत्युदर कहाली लाग्दो नै छ । मातृमृत्युदर त विकसित मुलुकको तुलनामा हाम्रो मुलुकको दर अत्यन्तै दयनीय छ । तथापि पहिले भन्दा धेरै सुधार भएको छ । गरिबीको मार खेपिरहेका सर्वसाधारण नेपालीका लागि राजधानीमै खुलेका निजी संस्थाहरू कल्पनाबाहिरको विषय बनिसकेको छ । किनकि त्यहाँको उपचारमा लाग्ने शुल्क निकै चर्को छ । सरकारी निकायमा बिरामीको अत्याधिक चाप र जनशक्तिको कमी रहेको कुरा अब कुनै नौलो विषय रहने । 
मेरो गृहजिल्ला स्याङ्जाबाट काठमाडौं उपचार गराउन आएका बिरामीको फोन नआएको शायदै कुनै दिन होला र तिनीहरूको एउटै माग हुन्छ, वीर, टिचिङ जस्ता सरकारी र कम शुल्क लाग्ने अस्पतालमा बेड तथा आईसीयूका लागि भनसुन गरिदिनुप¥यो । यो अवस्थाले के इंगित गर्दछ भने अझै पनि सर्वसुलभ तरिकाले उपचार हुने अस्पतालको यो राज्यमा जरुरत छ । 
हाम्रो मुलुकबाट बर्सेनी सयौंको संख्यामा छिमेकी मुलुक तथा अति टाढा मरिसस् र युरोपका कुना काप्चासम्म एमबीबीएस अध्ययन गर्नका लागि विद्यार्थी जान्छन् । यसबाट प्रष्ट हुन्छ कि नेपालबाट अर्बौं रुपैयाँ बर्सेनी विदेशिएको छ जुन कुरा नेपाल जस्तो गरिब मुलुकका लागि अत्यन्तै दुःखदायी कुरा हो । 
विज्ञहरूद्वारा गरिएको अध्ययन मुताविक पनि नेपालमा करिब २६ हजार चिकित्सकको जरुरी छ । चीनका कतिपय मेडिकल कलेजमा त एउटै ब्याजमा ५० जनासम्म नेपाली विद्यार्थी रहेको कुरा हामीले थाहा पाएका छौं । अझै रोचक पक्ष त के छ भने छिमेकी मुलुक भारतबाट बर्सेनी हजारौं विद्यार्थी चीनलगायतका मुलुकमा एमबीबीएस गर्न जाँदा रहेछन् । त्यो अर्बौंको बजारलाई हामीले नेपालमा तान्न सक्यौं भने आर्थिक रूपमा नयाँ आयाम थप्न सकिन्छ । त्रिविबाट सम्बन्धन लिन चाहेका र पूर्णरूपले पूर्वाधार बनाएका मेडिकल कलेजलाई कानुन र मुताविकको अवसर दिनुपर्छ र पैसाको पहँुचलाई मात्र स्रोत बनाउन खोज्ने संस्थालाई त्यही मुताविक कारबाही गर्नु पदर्छ । 
नेपालको वर्तमान अवस्था र दिनानुदिन बढ्दै गएको चिकित्सक पलायनको अवस्था हेर्ने हो भने अझै १५ हजार चिकित्सकको खाँचो देखिन्छ र नयाँ मेडिकल कलेजले एक सय पाँच छात्रवृत्ति सिट दिँदा पनि बर्सेनी केही जेहेन्दार विद्यार्र्थी सित्तैमा नेपालमै एमबीबीएस चिकित्सक उत्पादन हुने अवस्था आउँछ जुन राष्ट्रकै लागि गौरव र खुशीको विषय हो । विगतमा त्रिवि तथा मेडिकल काउन्सिलद्वारा गल्ती भएर पुराना मेडिकल कलेजहरूलाई बढी सिट दिइएको रहेछ भने ती संस्थाको सिट संख्या घटाउने हिम्मत सम्बन्धित निकायले गर्नुपर्दछ र त्यसलाई हामी सबैले स्वागतयोग्य कदम भन्नुपर्दछ । 
अब आउने नयाँ मेडिकल कलेजमा फ्री सिटबाहेकको सिट विदेशबाट विद्यार्थी आएर पढ्न पाउनुपर्ने नीति राज्यले गर्नुपर्दछ । आज नेपालबाट फिलिपिन्स होइन कि फिलिपिन्सबाट नेपाल आएर एमबीबीएस पढ्न सक्ने वातावरण सिर्जना गर्नसक्ने अवस्था ल्याउन सम्बन्धित निकायले पहल गर्नपर्ने हुन्छ । होइन भने विदेशमा गएर जतिजना पनि एमबीबीएस पढ्न पाइन्छ तर नेपालमा थप मान्छेले पढ्न पाइँदैन वा पर्दैन भन्नु भनेको शिक्षा क्षेत्रमा समेत सिन्डिकेट प्रथा लगाउनु जस्तै हो । 
तर, नयाँ शिक्षण संस्थाहरू पनि पैसामुखी नभइकन पूर्णरूपले सेवामुखी हुन नितान्त जरुरी देखिन्छ र ती संस्थाले वीर र टिचिङ अस्पतालकै दरमा आईसीयू तथा अप्रेशन चार्ज लगाएर सेवा दिन सक्छन् भने सर्वसाधारणमा सजिलै स्वास्थ्यको पहँुच पुग्छ र देशको बिग्रेको स्वास्थ्य अवस्थालाई सुधार्न मद्दत पुग्दछ ।  
(लेखक चिकित्सक तथा मेडिकल क्षेत्रका विश्लेषक हुन्) 

Thursday, 6 March 2014

अतित : कम्युनिस्टसँग नझुक्ने कम्युनिस्ट


मदन भण्डारी

..................................................................

कात्तिक २१ गतेको दिन थियो । पाँचौं महाधिवेशनको तयारी र बहस उत्कर्षमा पुगेको त्यो बेला 'दृष्टि'ले मदन कमरेडको अन्तर्वार्ता लिने निधो गर्‍यो । अन्तर्वार्ता लिखित थियो । र, २२ गते मदनले फोन गरेर सोध्नुभयो, 'कम्प्युटरमा गइसक्यो ?' गइसकेको कुरा थाहा पाएपछि भन्नुभयो, 'जहाँ-जहाँ 'बहुदलीय जनवाद' उल्लेख छ, त्यहाँ-त्यहाँ 'जनताको' थपिदिनुहोला ।' र, २६ गते 'कालिदासको क पढेर बहुदलीय जनवाद बुझन्िन' शीर्षकमा उक्त अन्तर्वार्ता छापिएको दिनदेखि उहाँद्वारा प्रस्तुत नेपाली क्रान्तिको कार्यक्रमको विधिवत नामकरण 'जनताको बहुदलीय जनवाद' रहन गयो ।
...........................................................

- किशोर श्रेष्ठ -
......................
फरासिलो स्वभावका हुनुहुन्थ्यो, उत्तर कोरियाली राजदूत आन हुई जोङ । उहाँमार्फत नै अघि बढाइएको हो, कमरेड मदन भण्डारीको सुरक्षार्थ रूपनारायण श्रेष्ठसहित केही साथीलाई तीनमहिने कमान्डो ट्रेनिङका निम्ति प्योङयाङ पठाउने प्रस्ताव । अफसोच, उक्त प्रस्तावले मूर्तरूप लिन नपाउँदै जेठ ३ गतेको कालो छाया नेपाली आकाशमा मडारिन पुग्यो । तत्कालीन प्रधानसेनापति गडुल शमशेरमार्फत दासढुंगा दुर्घटनाको अविश्वसनीय एवं अप्रत्यासित खबर प्राप्त हुनासाथ सोझै हान्निएँ म झम्सिखेलतिर काउन्सिलर किम वन गिलसमक्ष आक्रोश पोख्न ।
 'साम्राज्यवादीसँग लड्ने ठुल्ठूला कुरा गर्छौ तिमीहरू तर आज यस्तो स्थिति व्यहोर्नुपर्‍यो हामीले । किन ढिला गर्‍यौ ? किन झुटा आश्वासन दियौ ?' आवेगमा नजाने मैले के-के भनेँ । उनी केही बोल्न सकेनन् । राजदूतलाई पनि पछुतो लाग्यो होला सायद, त्यसैले उनले नेपाल राष्ट्रका आशालाग्दा नेता मदन-आश्रतिप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न आर्यघाट आउने हिम्मत गरेनन् । उनको ठाउँमा प्योङयाङले व्यांककस्थित अर्का राजदूतलाई सोझै काठमाडौं पठायो ।
टण्टलापुर घाम । मञ्च दुलहीसरि सिंगारिएको थियो र उहाँ शान्त तलाउरूपी त्यो मानव लहरलाई सम्बोधन गर्दै हुनुहुन्थ्यो । केही दिनदेखि राम्ररी सुत्न नपाएकाले आँखा रातो थियो, दाह्री बढेको र दिउँसोको चर्को घामले अनुहार पनि कालै भइसकेको थियो । लुगा मैला थिए, त्यसमाथि अबिरको बर्साले स्थिति झनै बिजोग थियो । एउटा महत्त्वपूर्ण काम सिध्याइएको खुसियालीमा कार्यकर्ता र नेताहरू दंगदास थिए तर मनभित्र अर्कै कुरा खेलिरहेको थियो, जसलाई त्यतिबेलै सार्वजनिक गर्नु सायद उहाँलाई उचित लागेन ।
समारोह सकिएपछि सँगै फर्कियौँ । बागबजारस्थित पार्टी अफिस जाने बाटैमा हाम्रो अफिस थियो, एक तलामाथि । उहाँ सरासर अग्निशिखा र मेरो साझा कुर्सीमा गएर बस्नुभयो र भन्नुभयो, 'साह्रै भोक लाग्यो, लौ खाजा मगाऊँ ।' उहाँलाई मनपर्ने खाजा मःमः । खाजा खाँदै कुरा सुरु गर्‍यौँ । त्यो ०४९ साल माघ २० गते, एमालेको पाँचौँ महाधिवेशन समापनको दिन थियो ।
भोलिपल्टको 'दृष्टि' मा उहाँसँगको कुराकानी यसरी छापियो, 'टनकपुर मुद्दाका सम्बन्धमा नेपालका कम्युनिस्टले के गर्नुपर्छ र नेपालीहरूले के गर्नुपर्छ भन्ने सम्बन्धमा आफ्ना राय र विचार राख्न अरू साथी स्वतन्त्र छन् तर जसले जे भने पनि हामीले के गर्नुपर्छ, के गर्नुपर्दैन भन्ने कुराको फैसला गर्ने अधिकार भने हामीसँगै सुरक्षित छ ।' र, उहाँको यो भनाइ भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) का महासचिव हरिकिशनसिंह सुरजितप्रति लक्षित थियो । एमालेको महाधिवेशनमा आतिथ्य ग्रहण गर्न आउनुभएका सुरजितले अघिल्लो दिन सरकारी दैनिक 'गोरखापत्र'लाई अन्तर्वार्ता दिने क्रममा भन्नुभएको थियो, 'टनकपुर सम्झौता नेपालको हितमा छ र यो सम्झौतामा नेपालका कम्युनिस्टले नेपालको सरकार (गिरिजाप्रसाद) लाई सघाउनुपर्छ ।'
बनारसमा पढ्न बस्दा भारतीयले नेपालीमाथि थिचोमिचो गरेका घटनालाई आफ्नै आँखाले देखेकैले सायद उहाँको मनमा त्यो कुरा बिझेको थियो । त्यसैबेलादेखि नै हो उहाँले नेपाली जातिको स्वाभिमानको प्रतीक ढाकाटोपी लगाउन थाल्नुभएको । त्यो बानीलाई अन्तिम घडीसम्म छाड्नुभएन र भारतीयले पनि उहाँलाई पटक-पटक अपमानित गर्न छाडेनन् । भारतीय शासकवर्ग मात्र होइन, त्यहाँका कम्युनिस्ट पनि सानो देश नेपाललाई, त्यो देशमा बस्ने स्वाभिमानी जनतालाई हेप्न, निर्देशनको शैलीमा कुरा गर्न र आफ्नो बडेभैयापन देखाउन पछि हट्दा रहेनछन् भन्ने कुराको ज्वलन्त उदाहरण हुनुहुन्थ्यो- सुरजित । र, 'उहाँ' निरन्तर यो प्रवृत्तिको खिलाफमा हुनुहुन्थ्यो ।
अर्को घटना, ०४९ बैशाख २२ गतेको हो । त्यसदिन मदन कमरेड र म नयाँ दिल्लीस्थित भाकपा (माक्र्सवादी) को केन्द्रीय कार्यालयमा थियौं । त्यहाँ पनि ती भारतीय कम्युनिस्ट नेताले आधा घण्टासम्म मदन कमरेडलाई यसो गर्नू, उसो गर्नू भनेर कारिन्दालाई अह्राएजसरी कुरा गर्न थाले । मदनले ती नेताको प्रस्तुतिलाई मन पराउनुभएन । र, तत्काल प्रतिवाद गर्नुभयो । उनी तिनै भारतीय कम्युनिस्ट नेता हुन्, जसले माले-माक्र्सवादी एकीकरण हुनुअघि पोखरामा आयोजित माक्र्सवादीको राष्ट्रिय भेलामा यी दुई पार्टी मिलेर चुनाव लडे बढीमा चार सिटसम्म ल्याउने दाबी गरेका थिए । त्यो खबर सुनेर काठमाडौंमा मदन कमरेड मज्जाले हाँस्नुभयो ।
अर्को घटना कोलकाताको हो । भाकपा (माले) को महाधिवेशनमा भाग लिने सिलसिलामा मदन कमरेड कोलकाता पुग्नुभएको थियो । बि्रगेड मैदानमा आयोजित एउटा विशाल आमसभालाई सम्बोधन गर्नुभयो । १६ गते मुख्यमन्त्री ज्योति बसुसँग उहाँकै कार्यकक्षमा भेट्ने कार्यक्रम बन्यो । पूर्वनिर्धारित कार्यक्रमअनुसार, भेट्न जाँदा बसुले मदन कमरेडलाई 'बसौं' पनि भन्नुभएन । बरु पटक-पटक उठ्ने, बाहिर जान खोज्ने काममात्र गरिरहनुभयो । अन्ततः मदन कमरेड आफैं निस्कनुभयो ।
आफूसँग असहमत हुने, आफ्नो निर्देशन नमान्ने र राष्ट्रिय हितको मात्र कुरा गर्नेहरूप्रति आफूलाई वरिष्ठ कम्युनिस्ट नेता हौं भन्नेहरूको यो व्यवहार साँच्चै तीतो थियो । कम्युनिस्ट इन्टरनेसनलले अर्काको देशको वस्तुस्थिति नबुझी निर्देशन दिँदा कोरिया र चीनमा विदेशी नेताहरूले हार खानुपरेको थियो र अन्ततः यिनै सब कारणले गर्दा कम्युनिस्ट इन्टरनेशनल नै बन्द हुन पुगेको थियो । ०४६ सालअघिसम्म पनि नेपालका कैयौं कम्युनिस्ट पार्टी भारत, रुस र चीनको इशाराअनुसार चल्ने गर्थे । नेपालीहरूको त्यही दास मनोवृत्तिले गर्दा विदेशीहरू अरु बढी हौसिँदै जान्थे ।
दशकौंसम्म बि्रटिस उपनिवेशमा बाँच्नेहरूले अरूमाथि पनि उपनिवेश लाद्न खोज्नु स्वभाविक कुरा हो, तर, आफूमाथिको अपमान सही, राष्ट्र, राष्ट्रियतालाई अपमानित हुन नदिनुचाहिँ सबैभन्दा महत्त्वपूर्ण पक्ष हो । मदन भण्डारीले हामीलाई हरदम त्यो पाठ सिकाएर जानुभएको छ । प्रचण्ड कमरेडले मदनबाट यो पक्ष नसिककेको देख्दा उदेक लाग्छ ।
विदेशीहरूले अरुमाथि निर्देशनात्मक व्यवहार गर्नु अर्काको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु हो, चाहे त्यो कांग्रेसले गरोस्, चाहे कम्युनिस्टले । आफ्नो खुट्टामा उभिनेहरूले सगरमाथा चुम्छन्, अरूको बैसाखीमा टेक्नेहरू भुइँको भुइँमै हुन्छन् । यसको प्रमाण खोज्न टाढा जानु पर्दैन । खुसीको कुरा- माले-माक्र्सवादी मिलेमा बढीमा चार सिट ल्याउँछन् भन्ने भारतीय कम्युनिस्ट पार्टीका ती नेताले नेपालमा माले-माक्र्सवादी एकीकृत भएको चौथो वर्षमै (०५१) एमालेले प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल र एक्लो सरकार बनाएको पनि देखे । र, नेपालमा विकसित यिनै घटनाक्रमको समेत प्रेरणाबाट भारतीय केन्द्रीय सत्तामा हँसिया-हथौडाको प्रवेश हुन थाल्यो ।
'अल्पमत' र मदनको सम्बन्ध
'म निष्फक्री र खुला छु । महाधिवेशनको फैसलाअनुसार सबैले काम गर्नुपर्छ । जिते काम गर्ने, नजिते एनजिओमा जाने पक्षमा म छैन । आफूले ठीक ठानेको कुरा नै बहुमतलाई ठीक हो भन्ने लाग्यो भने पनि ठीकै छ, होइन आफूलाई बेठीक लागेको कुरालाई बहुमतले ठीक ठान्यो भने त्यो पनि ठीकै छ । किनभने त्यत्तिमै आकाश खसिहाल्दैन, धर्ती उल्टिहाल्दैन । फेरि पाँच वर्षपछि महाधिवेशन हुन्छ । त्यो पाँच वर्षमा तय भएका नीतिहरू व्यवहारमा जान्छन्, तिनीहरूको सत्यताको जाँच हुन्छ । बहस, छलफल गर्ने, निष्कर्ष निकाल्ने, त्यो निष्कर्षलाई व्यवहारको कसीमा पुर्‍याउने र जाँच्ने चक्रवत् तरिकाबाट मान्छेको ज्ञान, संघर्ष सबै चिज अगाडि बढ्नेछ । त्यसैले मलाई आफ्नो मत विजयी होस् वा पराजयी कुनै फिकर छैन ।'
यस्तो हुनुहुन्थ्यो, मदन भण्डारी र यस्ता थिए, उहाँका विचार । जतिबेला नेकपा (एमाले) एक हप्तापछि सम्पन्न हुने महाधिवेशनको तयारीमा जुटिरहेको थियो र नेताहरूबीच विचारको तहमा पानी बाराबारको स्थिति थियो, त्यतिबेला अर्थात् माघ ५ गते उहाँ हामीसँग टेपवार्ता गर्दै हुनुहुन्थ्यो । उहाँको त्यो विचार 'म हारे पनि पार्टीमै रहन्छु' शीर्षकअन्तर्गत ७ गतेको अंकमा प्रकाशित भयो । सोही अंकमा कमरेड सिपी मैनालीको बहुदलीय जनवादको खण्डन गरिएको एउटा सैद्धान्तिक लेखसमेत छापिएको थियो ।
नेताहरूबीच गुटबन्दी थियो र आरोप-प्रत्यारोप अनि कटुता पनि थियो, तर मदन भन्ने गर्नुहुन्थ्यो- फरक मतलाई पार्टीको महाधिवेशनले यो ठीक छैन भनेर परास्त गर्‍यो भने त्यो फरकमत न परास्त भयो, फरक मतवाला त परास्त भएन नि ! फरकमतवाला कमरेडहरू पनि पार्टीका नेता हुन्, कार्यकर्ता हुन् र सदस्य हुन् । यसर्थ म त सबैलाई समेटेर लाने पक्षमा छु ।'
अहिले 'दृष्टि' पुरानो अवस्थामा छैन । यसमा तीनचोटि विभाजन आइसकेको छ र म पनि ०५१ माघदेखि 'दृष्टि' मा छैन । तर, मदन कमरेडले सहादत प्राप्त गर्नुभएको डेढ दशक नाघिसक्दा मैले आफू 'दृष्टि'मा कार्यरत रहँदाताकाका त्यस्ता प्रसंगलाई बिनापूर्वाग्रह यहाँ उल्लेख गर्नैपर्छ, जसले मदनको जीवनको अर्को पक्षलाई पनि राम्ररी उजागर गर्न सकोस् । त्यो हो- उदारता र सहिष्णुताको पक्ष । 

यस्तै एउटा प्रसंग-२०४९ मंसिर १ गते बुधबारको हो । बिहान सबेरै क्यामेराम्यान विजय सैंजु र म नक्सालस्थित मदनको डेरामा पुगेका थियौं, उहाँको फोटो खिच्न । कालो टोपी, खैरो कोट, प्यान्ट र स्वेटरमा हामीले चाहेअनुसार विभिन्न पोजमा उहाँको दुई रिल फोटो खिच्यौं । र्फकने बेला भन्नुभयो- 'सिपी र एम.सी. कमरेडको पनि फोटो खिच्नुहोला ।' हामी त्यहाँबाट सीधै मंगलबजार गयौं र बागबजारस्थित पार्टीको केन्द्रीय कार्यालय आइपुग्यौं । ती दुवै ठाउँमा गरी सिपी र कमरेड मोहनचन्द्रका अरु दुई रिल फोटो खिचेका थियौं । पछि महाधिवेशनको संघारमा 'सूर्य' मासिक छापिने भयो । केही साथी हुनुहुन्थ्यो, जो आवरणमा मदनको मात्र फोटो राख्न चाहनुहुन्थ्यो । यो कुरा सुनेपछि मदनले भन्नुभयो- 'त्यसो होइन, कभरमा तीनैजनाको फोटो राख्नु बेस हुन्छ ।' र, 'सूर्य' उहाँले भनेअनुसार नै छापियो । त्यतिबेला 'दृष्टि' एमालेको आधिकारिक अखबार थियो । यति हुँदाहुँदै पनि मदन कमरेडले हामीलाई कहिल्यै अल्पमतलाई त्यसमा ठाउँ नदिन निर्देशन दिनुभएन । यदि त्यस्तो निर्देशन हुन्थ्यो भने महाधिवेशनको पूर्वसन्ध्यामा सिपी कमरेडको लेख, अशोक राई र मोहनचन्द्रको अन्तर्वार्ता त्यसमा छापिने थिएन ।
योचाहिँ २०४८ मंसिर १६ गतेको कुरा हो । नक्सालको डेरामा मदन कमरेडले 'दृष्टि' लाई एउटा अन्तर्वार्ता दिनुभयो र मलाई भन्नुभयो- 'आजै गएर सिपीलाई भेट्नुहोस् र अन्तर्वार्ताको सार बताएर उहाँको प्रतिक्रिया पनि संकलन गर्नुहोस् ।' मैले त्यसै गरेँ । पर्सिपल्ट त्यो अन्तर्वार्ता छापियो, जसमा एउटा प्रश्नको उत्तर यस्तो थियो, 'कमिटीले महासचिव मदन होइन, अरु कोही हुनुपर्छ भन्यो भने त्यसमा मेरोसमेत सहमति रहनेछ, होइन, तैंले नै जिम्मा लिनुुपर्छ भन्ने फैसला गर्‍यो भने शीर निहुराएर त्यो निर्णयलाई मान्न र बोक्नका निम्ति पनि म तयार छु । यो मेरो भावना र अभ्यासको विरुद्ध कुनै ढंगले षड्यन्त्र, तिकडमबाजी र अनुचित खालका तौरतरिका प्रयोग गरेर कोही आउँछन् भने त्यस्तो बेला जस्ताको तस्तै टक्कर गर्नको निमित्त एकजना पार्टी सदस्यको हैसियतमा आफ्नो अधिकार प्रयोग गर्ने कुरा कुनै आश्चर्यको विषय हुने छैन ।' यो अन्तर्वार्ता 'मेरो भावनाविरुद्ध कसैले षड्यन्त्र गर्छ भने म टक्कर लिन तयार छु' शीर्षकमा प्रकाशित भएको थियो र समग्र अन्तर्वार्ता नपढिकन शीर्षकमात्र पढेर निश्कर्ष निकाल्नेहरूको निम्ति यो अत्यन्त चर्को अन्तर्वार्ता थियो । उक्त अन्तर्वार्तालाई लिएर पार्टीभित्र ठूलो विवाद उत्पन्न भयो । केन्द्रीय कमिटीको बैठकमै पनि चर्काचर्की पर्न थाल्यो । झलनाथ, सिपी र माधवलाई पनि यो प्रकरणमा मुछ्ने काम भयो । तर, मदन कमरेड नै यस्तो व्यक्ति हुनुहुन्थ्यो, जसले कसैलाई दोष दिनुभएन । बरु आफू एक्लै हुँदा पनि स्पष्टिकरण दिइनै रहनुभयो । उहाँलाई मैले माइक्रोक्यासेट हस्तान्तरण गरेँ । त्यो उहाँले सबैलाई सुनाउनुभयो । यदि मदनमा त्यस्तो सहिष्णुता नहुँदो हो त मलाई लाग्छ, त्यतिबेला उहाँमाथि औंला ठड्याउने धेरै जनाको महाधिवेशनमा पत्तासाफ भइसक्ने थियो ।
पार्टीका नीतिहरूको व्याख्या गर्दा कडाइसाथ, तार्किक शैलीमा र चेतावनीको भाषामा प्रस्तुत हुने मदनको बानी थियो । तर, व्यवहारको मामिलामा भने एमालेका नेतामध्ये सबैभन्दा नरम लाग्नुहुन्थ्यो । उहाँको कार्यकालमा अल्पमतमाथि जे जति 'दमन' भयो, ती सब उहाँलाई घेरेर बस्ने कडा स्वभावका मानिसहरूको काम थियो । मदनले हामीलाई छाडेर जानुभयो, तर उहाँलाई घेरेर बस्नेहरू अझै पार्टीभित्रै छन, ।
वि.सं. २०३० को दशकतिर पश्चिम नेपालमा सशक्त ढंगबाट कार्यरत एउटा कम्युनिस्ट समूहको नाम 'मुक्तिमोर्चा' समूह हो र मदन कमरेड त्यसको एक हस्ती हुनुहुन्थ्यो । दिवंगत कमरेड जीवराज आश्रति, मोदनाथ प्रश्रति, सिद्धिनाथ ज्ञवाली, देवेन्द्र घिमिरे र भीमनारायण थारु पनि सोही समूहमा हुनुहुन्थ्यो । त्यतिबेला विशेषगरी पूर्वी नेपालमा क्रियाशील अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोअर्डिनेसन कमिटी (माले) अर्थात् को.के.ले मुक्तिमोर्चालाई २०३४ भाद्र १४ मा आफूमा समाहित गराएको थियो । ठूलाबडाको मिचाइ कति पीडादायक हुन्छ भन्ने कुरा यो घटनाबाट पनि मदनले अनुभूत गर्नुभएको थियो । यसैकारण पनि उहाँ अल्पमतप्रति कहिल्यै असहिष्णु हुनुभएन भन्ने म ठान्दछु ।
पाँच दिनपछि प्राणान्त
आश्रति खरो स्वभावको हुनुहुन्थ्यो र हामीसँग हाकाहाकी मेरो यति समाचार आओस् भन्ने माग राख्नुहुन्थ्यो । त्यतिबेला हिमालयन इन्स्िटच्युट फर डेमोक्रेसी -एचआइडी) नामक एउटा एनजिओ एमाले पंक्तिभित्र आतंकको पर्याय बन्न पुगेको थियो । प्राध्यापक मंगलसिद्धि मानन्धर र प्रकाशराज सापकोटाको अगुवाइमा खुलेको उक्त संस्थालाई अमेरिकी सहयोग प्राप्त थियो र उसले जिल्ला-जिल्लामा गएर राजनीतिक कार्यकर्ताको व्यक्तिगत विवरण संकलन गर्ने कार्यलाई युद्धस्तरमा सञ्चालन गरिरहेको थियो । त्यस कार्यमा एमालेकै तत्कालीन 'अल्पमत' पक्षका कार्यकर्ताको पनि व्यापक संलग्नता थियो । एक अर्थमा भन्ने हो भने कतिपयलाई रोजगारीका निम्ति त्यो राम्रो अवसर पनि थियो । एचआइडीले आफ्नो कामलाई सरल र सहजरूपमा सम्पन्न गर्न एमाले केन्द्रीय कार्यालयको तर्फबाट जिल्ला कमिटीहरूको नाममा एउटा पत्र प्राप्त गर्न सफल भयो । पत्रमा एचआइडीलाई सहयोग गर्न कार्यकर्तालाई निर्देशन दिइएको थियो ।
तर, त्यो कुरा संगठन विभाग प्रमुख क. जीवराज आश्रतिलाई मन परेन । उहाँले २०५० साल वैशाख २५ गते बागबजारस्थित तत्कालीन केन्द्रीय कार्यालयको आफ्नो कार्यकक्षमा तुरुन्त आउन मलाई निर्देशन दिनुभयो र आवश्यक दस्ताबेज उपलब्ध गराउँदै एउटा लेख तयार पार्ने जिम्मेवारी सुम्पनुभयो । १७ वर्ष जेलजीवन यापन गरेर निस्कनुभएका तत्कालीन कार्यालय सहायक मनकुमार गौतम पनि त्यहीँ हुनुहुन्थ्यो । दृष्टिको २८ गतेको अंकमा संयम शर्माको नामबाट 'होस गर्नोस्, तपाईंकहाँ पनि आउँदै छ हिड' शीर्षकमा आधा पेजको लेख छापियो । सोही अंकमा एमालेका सम्पूर्ण मातहत कमिटीहरूको नाममा एचआइडीसँग सतर्क रहन सूचना जारी गरिएको थियो । र, दुर्भाग्यको कुरा त्यसको ठीक पाँच दिनपछि दासढंुगामा कमरेड आश्रति र चीनबाट फर्किएको सातै दिनमा मदन संगै मारिनुभयो ।
मदन भण्डारी सोझो हुनुहुन्थ्यो र आफूले मन पराएका मानिसलाई उत्तिकै विश्वास गर्नुहुन्थ्यो । उहाँको यही सोझोपनको फाइदा उठाएर उतिबेला धेरैले स्वार्थसिद्ध गरेका छन् । एउटा सानो उदाहरण- त्यतिबेला चिनियाँ दूतावासले विभिन्न नेताका भाइ-छोरालाई सांस्कृतिक कोटाअन्तर्गत आफ्नो देशमा पढ्न पठाउने व्यवस्था मिलाएको थियो र मदन कमरेडको प्रयत्नमा काडमाडौं महानगरपालिका-१३ का जीवनराज मानन्धरको छोरालाई पनि त्यो अवसर प्राप्त भएको थियो । तर, त्यसमा एमालेकै एक जना नेताको आँखा पर्‍यो र मदन कमरेडलाई फकाएर त्यो नाम काटी उनै नेताकी छोरीलाई चीन पठाइयो । अर्को प्रसंगमा केही मानिसले मदन कमरेडलाई फेरि फसाइदिए । उनीहरूको लहैलहैमा लागेर उहाँले संस्कृत भाषाको अनिवार्यतासम्बन्धी एक प्रस्तावमा सही गरिदिनुभयो । त्यही कुरालाई लिएर राष्ट्रिय सभागृहमा ठूलो हंगामा हुँदा उहाँ हल छाडेर हिँड्न बाध्य हुनुभयो । पछि आफू प“mसेको कुरा महसुस भएपछि हस्ताक्षर फिर्ता लिने निर्णय गर्नुभयो ।
०४९ चैत दोस्रो सातातिरको कुरा हो । चिनियाँ कम्युनिस्ट पार्टीको निम्तोमा एमालेको दश सदस्यीय प्रतिनिधिमण्डल चीन जाने तयारी सुरु भयो । मदन टोलीमा पत्रकारलाई पनि लान चाहनुहुन्थ्यो । त्यहाँ पनि खेल सुरु भयो । एमालेको कुनै एक शीर्षस्थ नेताले उहाँलाई चुक्ली लगाइदिए, 'पत्रकारलाई लान हुन्न, आएर जम्मै कुरा लेखिदिन्छन्' पछि भ्रमण दलको अन्तिम नामावली तयार भयो । जसमा पत्रकारको कोटामा ती नेताको नाम थियो ।
मदन कमरेडले हामीलाई जहिले पनि 'दृष्टि' मा छापिने कुनै पनि लेख र समाचार कमजोर र गैरजिम्मेवार नहोस् भन्ने सुझाव र मन लगाएर काम गर्न प्रेरणा दिइ नै रहनुभयो । बहुदल आउनासाथ २०४७ सालको बैशाख १७ गते पार्टी प्रवक्ताको रूपमा पहिलो अन्तर्वार्ता दिएको दिनदेखि हामीबीच सुरु भएको पत्रकार र नेताबीचको सुमधुर साइनोमा कहिल्यै तिक्तता आउन दिनुभएन । हामीले बिराएर लेख्दा पनि सच्याउन सल्लाह दिनुहुन्थ्यो, गाली गर्नुहुन्थेन । २०४९ असार १० गतेको अंकमा भाषिक त्रुटिसहित समाचार छापियो । शीर्षक थियो- 'रानी दिल्ली गइन् ।' बुधबार बिहानै त्यो समाचार पढेर उत्तिखेरै हाम्रो कार्यालयमा फोन गरी भन्नुभयो, 'लेखाइ ठीक भएन । त्यही समाचारलाई शिष्ट र मर्यादित भाषामा प्रस्तुत गर्न सकिन्थ्यो ।'
०४९ भदौ ३ गतेको अंकमा 'सेनाद्वारा खबरदारी' शीर्षकअन्तर्गत अग्निजी र मेरो नाममा मुख्य समाचार छापियो । यसमा मदन कमरेडले आपत्ति नै त जनाउनुभएन, तर सेनाको संवेदनशीलतालाई बुझ्दै समाचारलाई आधिकारिक र चित्तबुझ्दो बनाउनेतर्फ आइन्दा आफ्नो ध्यान केन्दि्रत गर्नुपर्ने सुझाव रह्यो । त्यतिबेला बाढीपीडितहरूको उद्धारका नाममा सुरक्षा परिषद्को निर्णयबेगर तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भारतीय वायुसेनाको दुईवटा हेलिकोप्टर मगाउनुभएको थियो र शाही नेपाली सेनाले तिनलाई काठमाडौं विमानस्थलमै रोकेर राखेको थियो । सेना प्रधानमन्त्रीसँग सन्तुष्ट थिएन, अर्कातिर टनकपुर प्रकरण पनि चर्किरहेको बेला थियो त्यो । त्यस्तो स्थितिमा शाही नेपाली जंगी अड्डाले भर्खरै प्रकाशित गरेको ६६० पेजको किताब 'नेपालको सैनिक इतिहास' हाम्रो हात परेको थियो ।
त्यसकै आधारमा समाचार लेखेका थियौं । पुस्तकको प्रस्तावनामा भनिएको थियो, 'फौजको संगठन गर्दा विस्तारवादको परिकल्पना र विस्तारवादीको सहयोगका लागि प्रयोग हुने संरचना एकदम गरिएको थिएन ।' भनिरहनु नपर्ला, कुरा सुनिसकेपछि मदन कमरेडले हामीलाई गाली हैन, प्रशंसा गर्नुभयो ।
टनकपुर विवाद उत्कर्षमा पुगिरहेको र सर्वोच्च अदालतको फैसला सन्निकट रहेको बेला मदन कमरेड 'दृष्टि' को अतिरिक्तांक प्रकाशित होस् र त्यसले जनतालाई सुसूचित गर्न सकोस् भन्ने पक्षमा हुनुहुन्थ्यो । उहाँको सुझावअनुसार, २०४९ कात्तिक १५ गते शनिबार अतिरिक्तांक छापियो, जसमा तत्कालीन प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायले सरकार पराजित हुने संकेतसहित अन्तर्वार्ता दिनुभएको थियो । उता, २०५० सालको चैत ७ र ८ गते विराटनगरमा सम्पन्न हुने पत्रकार संघको १६ औं महाधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने सन्दर्भमा पनि उहाँले हामीलाई बोलाएर सरसल्लाह गर्नुभएको थियो । पार्टी केन्द्रीय कार्यालयमा भएको छलफलमा हिरण्यलाल श्रेष्ठ, प्रदीप नेपाल, शम्भु श्रेष्ठ, गोपाल थपलिया र म थियौं, रघुजी हुनुहुन्थेन । विराटनगर गइसक्नुभएको थियो । र, उहाँलाई आफूले टिकट पाउने कुरामा विश्वास पनि थिएन । तर, त्यही छलफलले उहाँलाई महासचिव बनाउने र कांग्रेसको छत्तीसे समूहसँग मिलेर चुनाव लड्ने निर्णय गर्‍यो । उक्त निर्णय सफलतापूर्वक कार्यान्वयन पनि भयो । तर, त्यसपछिका केही वर्ष हामीबीच त्यस्तो सरसल्लाह हुन सकेन र त्यसैकारण अपेक्षा गरिएजस्तो परिणाम पनि वषौर्ंसम्म हात लाग्न सकेन ।
यो पनि २०४९ सालकै कुरा हो । कात्तिक २१ गतेको दिन थियो । पाँचौं महाधिवेशनको तयारी र बहस उत्कर्षमा पुगेको त्यो बेला 'दृष्टि'ले मदन कमरेडको अन्तर्वार्ता लिने निधो गर्‍यो । अन्तर्वार्ता लिखित थियो । र, २२ गते मदनले फोन गरेर सोध्नुभयो, 'कम्प्युटरमा गइसक्यो ?' गइसकेको कुरा थाहा पाएपछि भन्नुभयो, 'जहाँ-जहाँ 'बहुदलीय जनवाद' उल्लेख छ, त्यहाँ-त्यहाँ 'जनताको' थपिदिनुहोला ।' र, २६ गते 'कालिदासको क पढेर बहुदलीय जनवाद बुझन्िन' शीर्षकमा उक्त अन्तर्वार्ता छापिएको दिनदेखि उहाँद्वारा प्रस्तुत नेपाली क्रान्तिको कार्यक्रमको विधिवत नामकरण 'जनताको बहुदलीय जनवाद' रहन गयो ।
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा राख्नुभएको यो लेख महत्वपूर्ण भएकोले उहाँको अनुमतिमा आभारसहित यहाँ साभार गरिएको हो । 

Wednesday, 5 March 2014

सालझण्डीमा नेपाल–भारत सैन्य अभ्यास

काठमाडौं । नेपाल र भारतका सेनाबीच नेपाली सेनाको एकीकृत सैनिक तालिम केन्द्र, सालझण्डी, रुपन्देहीमा बुधवार (फागुन २१ गते) ‘एक्स सूर्य किरण–६’नामक सैन्यअभ्यास शुरु भएको छ । सैनिक विनय महानिर्देशक उपरथी भिक्टर राणाले उद्घाटन गरेको सैन्य अभ्यासमा नेपालका २०० जना र भारतीय सेनाका २५० जना सहभागी छन् । 
नेपाल र भारतका सेनाबीच सन् २०११ देखि संयुक्त सैन्य अभ्यास हुँदै आएको छ । नेपालमा आयोजना भएको यो तेस्रो अभ्यास हो । प्रतिविद्रोह तथा जंगल वारफेयर सम्बन्धि सैद्धान्तिक र व्यवहारिक कार्यक्रमहरु समाबेश गरी संचालन हुँदै आएको सैन्य अभ्यासको यो छैठौं संस्करण हो । अभ्यास चैत ४ गते सम्पन्न हुनेछ । 
शुरुमा भारतीय सेनाको काउन्टर इन्सर्जेन्सी एण्ड जंगल वारफेयर स्कूल मेजोरममा मार्च २०११ मा संयुक्त अभ्यास भएको थियो । त्यसयता हरेक बर्ष आयोजना हुँदै आएको छ । सन् २०१२ जुनमा भारतको चौवत्तिया उत्तराखण्डमा मा यस्तै सैन्यअभ्यास भएको थियो । त्यसपछि  भारतको पिथौरागढमा सेप्टम्बर–अक्टोबर २०१३ मा संयुक्त अभ्यास भएको थियो । नेपालले  प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालय, अमलेखगंजमा डिसेम्बर २०११ र डिसेम्बर २०१२ मा पनि संयुक्त अभ्यास  आयोजना गरेको थियो । 
‘यस संयुक्त अभ्यासमा फौजहरुले प्रतिव्रिदोह तथा जंगलमा गर्नुपर्ने युद्धकला सम्बन्धि प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा प्रयोग गर्ने अभ्यास गर्नेछन्’ सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ यस अभ्यासले नेपाली सेना र भारतीय सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान सैनिक संगठनको तल्लो निकायसम्म पु¥याउन सहयोग पुग्ने छ ।’  

Book Discussion “Seventy Years of Nepal-China Relations: A Model for Civilizational Friendship”

Kathmandu: The Nepal Institute for International Cooperation and Engagement (NIICE) organized a high-level seminar on the book discussion ti...