Monday, 10 March 2014

नेपालको स्वास्थ्य र नयाँ शिक्षण अस्पताल

डा. मनोर डी.सैयद 
....................................
छिमेकी मुलुक भारतबाट बर्सेनी हजारौं विद्यार्थी चीनलगायतका मुलुकमा एमबीबीएस गर्न जाँदा रहेछन् । त्यो अर्बौंको बजारलाई हामीले नेपालमा तान्न सक्यौं भने आर्थिक रूपमा नयाँ आयाम थप्न सकिन्छ ।
...................................................................

विगत केही समयदेखि नेपालको स्वास्थ्य क्षेत्रमा भएका उतारचढावले विभिन्न अखबारका पानाहरू कोरिएका कुरा त सर्वविदितै छ । मेडिकल क्षेत्रमा भएको राजनीतिक हस्तक्षेप, विभिन्न बहानामा भएको आन्दोलन र पटक–पटक भएको आमरण अनशनसमेतले गर्दा नेपालको स्वास्थ्य क्षेत्र यस वर्ष निकै चर्चाको विषय रहन पुग्यो । गरिबीको रेखामुनि रहेको हाम्रो मुलुकमा हरेक क्षेत्र अस्तव्यस्त रहेको विषम परिस्थितिमा स्वास्थ्य क्षेत्रसमेत केही हदसम्म गञ्जागोल भएको कुरा सत्य हो । यसै सेरोफेरोमा रहेर वर्तमान परिस्थितिलाई केलाउने जमर्काे यहाँ गरिएको छ । 

विश्व स्वास्थ्य संगठन तथा विभिन्न निकायद्वारा प्रस्तुत हुने वार्षिक प्रतिवेदन हेर्ने हो भने नेपालको बालमृत्युदर कहाली लाग्दो नै छ । मातृमृत्युदर त विकसित मुलुकको तुलनामा हाम्रो मुलुकको दर अत्यन्तै दयनीय छ । तथापि पहिले भन्दा धेरै सुधार भएको छ । गरिबीको मार खेपिरहेका सर्वसाधारण नेपालीका लागि राजधानीमै खुलेका निजी संस्थाहरू कल्पनाबाहिरको विषय बनिसकेको छ । किनकि त्यहाँको उपचारमा लाग्ने शुल्क निकै चर्को छ । सरकारी निकायमा बिरामीको अत्याधिक चाप र जनशक्तिको कमी रहेको कुरा अब कुनै नौलो विषय रहने । 
मेरो गृहजिल्ला स्याङ्जाबाट काठमाडौं उपचार गराउन आएका बिरामीको फोन नआएको शायदै कुनै दिन होला र तिनीहरूको एउटै माग हुन्छ, वीर, टिचिङ जस्ता सरकारी र कम शुल्क लाग्ने अस्पतालमा बेड तथा आईसीयूका लागि भनसुन गरिदिनुप¥यो । यो अवस्थाले के इंगित गर्दछ भने अझै पनि सर्वसुलभ तरिकाले उपचार हुने अस्पतालको यो राज्यमा जरुरत छ । 
हाम्रो मुलुकबाट बर्सेनी सयौंको संख्यामा छिमेकी मुलुक तथा अति टाढा मरिसस् र युरोपका कुना काप्चासम्म एमबीबीएस अध्ययन गर्नका लागि विद्यार्थी जान्छन् । यसबाट प्रष्ट हुन्छ कि नेपालबाट अर्बौं रुपैयाँ बर्सेनी विदेशिएको छ जुन कुरा नेपाल जस्तो गरिब मुलुकका लागि अत्यन्तै दुःखदायी कुरा हो । 
विज्ञहरूद्वारा गरिएको अध्ययन मुताविक पनि नेपालमा करिब २६ हजार चिकित्सकको जरुरी छ । चीनका कतिपय मेडिकल कलेजमा त एउटै ब्याजमा ५० जनासम्म नेपाली विद्यार्थी रहेको कुरा हामीले थाहा पाएका छौं । अझै रोचक पक्ष त के छ भने छिमेकी मुलुक भारतबाट बर्सेनी हजारौं विद्यार्थी चीनलगायतका मुलुकमा एमबीबीएस गर्न जाँदा रहेछन् । त्यो अर्बौंको बजारलाई हामीले नेपालमा तान्न सक्यौं भने आर्थिक रूपमा नयाँ आयाम थप्न सकिन्छ । त्रिविबाट सम्बन्धन लिन चाहेका र पूर्णरूपले पूर्वाधार बनाएका मेडिकल कलेजलाई कानुन र मुताविकको अवसर दिनुपर्छ र पैसाको पहँुचलाई मात्र स्रोत बनाउन खोज्ने संस्थालाई त्यही मुताविक कारबाही गर्नु पदर्छ । 
नेपालको वर्तमान अवस्था र दिनानुदिन बढ्दै गएको चिकित्सक पलायनको अवस्था हेर्ने हो भने अझै १५ हजार चिकित्सकको खाँचो देखिन्छ र नयाँ मेडिकल कलेजले एक सय पाँच छात्रवृत्ति सिट दिँदा पनि बर्सेनी केही जेहेन्दार विद्यार्र्थी सित्तैमा नेपालमै एमबीबीएस चिकित्सक उत्पादन हुने अवस्था आउँछ जुन राष्ट्रकै लागि गौरव र खुशीको विषय हो । विगतमा त्रिवि तथा मेडिकल काउन्सिलद्वारा गल्ती भएर पुराना मेडिकल कलेजहरूलाई बढी सिट दिइएको रहेछ भने ती संस्थाको सिट संख्या घटाउने हिम्मत सम्बन्धित निकायले गर्नुपर्दछ र त्यसलाई हामी सबैले स्वागतयोग्य कदम भन्नुपर्दछ । 
अब आउने नयाँ मेडिकल कलेजमा फ्री सिटबाहेकको सिट विदेशबाट विद्यार्थी आएर पढ्न पाउनुपर्ने नीति राज्यले गर्नुपर्दछ । आज नेपालबाट फिलिपिन्स होइन कि फिलिपिन्सबाट नेपाल आएर एमबीबीएस पढ्न सक्ने वातावरण सिर्जना गर्नसक्ने अवस्था ल्याउन सम्बन्धित निकायले पहल गर्नपर्ने हुन्छ । होइन भने विदेशमा गएर जतिजना पनि एमबीबीएस पढ्न पाइन्छ तर नेपालमा थप मान्छेले पढ्न पाइँदैन वा पर्दैन भन्नु भनेको शिक्षा क्षेत्रमा समेत सिन्डिकेट प्रथा लगाउनु जस्तै हो । 
तर, नयाँ शिक्षण संस्थाहरू पनि पैसामुखी नभइकन पूर्णरूपले सेवामुखी हुन नितान्त जरुरी देखिन्छ र ती संस्थाले वीर र टिचिङ अस्पतालकै दरमा आईसीयू तथा अप्रेशन चार्ज लगाएर सेवा दिन सक्छन् भने सर्वसाधारणमा सजिलै स्वास्थ्यको पहँुच पुग्छ र देशको बिग्रेको स्वास्थ्य अवस्थालाई सुधार्न मद्दत पुग्दछ ।  
(लेखक चिकित्सक तथा मेडिकल क्षेत्रका विश्लेषक हुन्) 

2 comments:

  1. Yesto sakaratmak soch ka saath agadi badhema nepal ma arthik Bikash huna sakcha hola

    ReplyDelete

नेपालकी प्रथम महिला राजदुत विन्देश्वरी रहिनन्

पर्शुराम काफ्ले    (नयाँ पत्रिका दैनिकमा १८ पुस २०८१ मा प्रकाशित)  नेपालको पहिलो महिला राजदूत तथा परराष्ट्र सेवाकै पहिलो महिला अधिकृत बिन्दे...