Thursday, 6 March 2014

अतित : कम्युनिस्टसँग नझुक्ने कम्युनिस्ट


मदन भण्डारी

..................................................................

कात्तिक २१ गतेको दिन थियो । पाँचौं महाधिवेशनको तयारी र बहस उत्कर्षमा पुगेको त्यो बेला 'दृष्टि'ले मदन कमरेडको अन्तर्वार्ता लिने निधो गर्‍यो । अन्तर्वार्ता लिखित थियो । र, २२ गते मदनले फोन गरेर सोध्नुभयो, 'कम्प्युटरमा गइसक्यो ?' गइसकेको कुरा थाहा पाएपछि भन्नुभयो, 'जहाँ-जहाँ 'बहुदलीय जनवाद' उल्लेख छ, त्यहाँ-त्यहाँ 'जनताको' थपिदिनुहोला ।' र, २६ गते 'कालिदासको क पढेर बहुदलीय जनवाद बुझन्िन' शीर्षकमा उक्त अन्तर्वार्ता छापिएको दिनदेखि उहाँद्वारा प्रस्तुत नेपाली क्रान्तिको कार्यक्रमको विधिवत नामकरण 'जनताको बहुदलीय जनवाद' रहन गयो ।
...........................................................

- किशोर श्रेष्ठ -
......................
फरासिलो स्वभावका हुनुहुन्थ्यो, उत्तर कोरियाली राजदूत आन हुई जोङ । उहाँमार्फत नै अघि बढाइएको हो, कमरेड मदन भण्डारीको सुरक्षार्थ रूपनारायण श्रेष्ठसहित केही साथीलाई तीनमहिने कमान्डो ट्रेनिङका निम्ति प्योङयाङ पठाउने प्रस्ताव । अफसोच, उक्त प्रस्तावले मूर्तरूप लिन नपाउँदै जेठ ३ गतेको कालो छाया नेपाली आकाशमा मडारिन पुग्यो । तत्कालीन प्रधानसेनापति गडुल शमशेरमार्फत दासढुंगा दुर्घटनाको अविश्वसनीय एवं अप्रत्यासित खबर प्राप्त हुनासाथ सोझै हान्निएँ म झम्सिखेलतिर काउन्सिलर किम वन गिलसमक्ष आक्रोश पोख्न ।
 'साम्राज्यवादीसँग लड्ने ठुल्ठूला कुरा गर्छौ तिमीहरू तर आज यस्तो स्थिति व्यहोर्नुपर्‍यो हामीले । किन ढिला गर्‍यौ ? किन झुटा आश्वासन दियौ ?' आवेगमा नजाने मैले के-के भनेँ । उनी केही बोल्न सकेनन् । राजदूतलाई पनि पछुतो लाग्यो होला सायद, त्यसैले उनले नेपाल राष्ट्रका आशालाग्दा नेता मदन-आश्रतिप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न आर्यघाट आउने हिम्मत गरेनन् । उनको ठाउँमा प्योङयाङले व्यांककस्थित अर्का राजदूतलाई सोझै काठमाडौं पठायो ।
टण्टलापुर घाम । मञ्च दुलहीसरि सिंगारिएको थियो र उहाँ शान्त तलाउरूपी त्यो मानव लहरलाई सम्बोधन गर्दै हुनुहुन्थ्यो । केही दिनदेखि राम्ररी सुत्न नपाएकाले आँखा रातो थियो, दाह्री बढेको र दिउँसोको चर्को घामले अनुहार पनि कालै भइसकेको थियो । लुगा मैला थिए, त्यसमाथि अबिरको बर्साले स्थिति झनै बिजोग थियो । एउटा महत्त्वपूर्ण काम सिध्याइएको खुसियालीमा कार्यकर्ता र नेताहरू दंगदास थिए तर मनभित्र अर्कै कुरा खेलिरहेको थियो, जसलाई त्यतिबेलै सार्वजनिक गर्नु सायद उहाँलाई उचित लागेन ।
समारोह सकिएपछि सँगै फर्कियौँ । बागबजारस्थित पार्टी अफिस जाने बाटैमा हाम्रो अफिस थियो, एक तलामाथि । उहाँ सरासर अग्निशिखा र मेरो साझा कुर्सीमा गएर बस्नुभयो र भन्नुभयो, 'साह्रै भोक लाग्यो, लौ खाजा मगाऊँ ।' उहाँलाई मनपर्ने खाजा मःमः । खाजा खाँदै कुरा सुरु गर्‍यौँ । त्यो ०४९ साल माघ २० गते, एमालेको पाँचौँ महाधिवेशन समापनको दिन थियो ।
भोलिपल्टको 'दृष्टि' मा उहाँसँगको कुराकानी यसरी छापियो, 'टनकपुर मुद्दाका सम्बन्धमा नेपालका कम्युनिस्टले के गर्नुपर्छ र नेपालीहरूले के गर्नुपर्छ भन्ने सम्बन्धमा आफ्ना राय र विचार राख्न अरू साथी स्वतन्त्र छन् तर जसले जे भने पनि हामीले के गर्नुपर्छ, के गर्नुपर्दैन भन्ने कुराको फैसला गर्ने अधिकार भने हामीसँगै सुरक्षित छ ।' र, उहाँको यो भनाइ भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) का महासचिव हरिकिशनसिंह सुरजितप्रति लक्षित थियो । एमालेको महाधिवेशनमा आतिथ्य ग्रहण गर्न आउनुभएका सुरजितले अघिल्लो दिन सरकारी दैनिक 'गोरखापत्र'लाई अन्तर्वार्ता दिने क्रममा भन्नुभएको थियो, 'टनकपुर सम्झौता नेपालको हितमा छ र यो सम्झौतामा नेपालका कम्युनिस्टले नेपालको सरकार (गिरिजाप्रसाद) लाई सघाउनुपर्छ ।'
बनारसमा पढ्न बस्दा भारतीयले नेपालीमाथि थिचोमिचो गरेका घटनालाई आफ्नै आँखाले देखेकैले सायद उहाँको मनमा त्यो कुरा बिझेको थियो । त्यसैबेलादेखि नै हो उहाँले नेपाली जातिको स्वाभिमानको प्रतीक ढाकाटोपी लगाउन थाल्नुभएको । त्यो बानीलाई अन्तिम घडीसम्म छाड्नुभएन र भारतीयले पनि उहाँलाई पटक-पटक अपमानित गर्न छाडेनन् । भारतीय शासकवर्ग मात्र होइन, त्यहाँका कम्युनिस्ट पनि सानो देश नेपाललाई, त्यो देशमा बस्ने स्वाभिमानी जनतालाई हेप्न, निर्देशनको शैलीमा कुरा गर्न र आफ्नो बडेभैयापन देखाउन पछि हट्दा रहेनछन् भन्ने कुराको ज्वलन्त उदाहरण हुनुहुन्थ्यो- सुरजित । र, 'उहाँ' निरन्तर यो प्रवृत्तिको खिलाफमा हुनुहुन्थ्यो ।
अर्को घटना, ०४९ बैशाख २२ गतेको हो । त्यसदिन मदन कमरेड र म नयाँ दिल्लीस्थित भाकपा (माक्र्सवादी) को केन्द्रीय कार्यालयमा थियौं । त्यहाँ पनि ती भारतीय कम्युनिस्ट नेताले आधा घण्टासम्म मदन कमरेडलाई यसो गर्नू, उसो गर्नू भनेर कारिन्दालाई अह्राएजसरी कुरा गर्न थाले । मदनले ती नेताको प्रस्तुतिलाई मन पराउनुभएन । र, तत्काल प्रतिवाद गर्नुभयो । उनी तिनै भारतीय कम्युनिस्ट नेता हुन्, जसले माले-माक्र्सवादी एकीकरण हुनुअघि पोखरामा आयोजित माक्र्सवादीको राष्ट्रिय भेलामा यी दुई पार्टी मिलेर चुनाव लडे बढीमा चार सिटसम्म ल्याउने दाबी गरेका थिए । त्यो खबर सुनेर काठमाडौंमा मदन कमरेड मज्जाले हाँस्नुभयो ।
अर्को घटना कोलकाताको हो । भाकपा (माले) को महाधिवेशनमा भाग लिने सिलसिलामा मदन कमरेड कोलकाता पुग्नुभएको थियो । बि्रगेड मैदानमा आयोजित एउटा विशाल आमसभालाई सम्बोधन गर्नुभयो । १६ गते मुख्यमन्त्री ज्योति बसुसँग उहाँकै कार्यकक्षमा भेट्ने कार्यक्रम बन्यो । पूर्वनिर्धारित कार्यक्रमअनुसार, भेट्न जाँदा बसुले मदन कमरेडलाई 'बसौं' पनि भन्नुभएन । बरु पटक-पटक उठ्ने, बाहिर जान खोज्ने काममात्र गरिरहनुभयो । अन्ततः मदन कमरेड आफैं निस्कनुभयो ।
आफूसँग असहमत हुने, आफ्नो निर्देशन नमान्ने र राष्ट्रिय हितको मात्र कुरा गर्नेहरूप्रति आफूलाई वरिष्ठ कम्युनिस्ट नेता हौं भन्नेहरूको यो व्यवहार साँच्चै तीतो थियो । कम्युनिस्ट इन्टरनेसनलले अर्काको देशको वस्तुस्थिति नबुझी निर्देशन दिँदा कोरिया र चीनमा विदेशी नेताहरूले हार खानुपरेको थियो र अन्ततः यिनै सब कारणले गर्दा कम्युनिस्ट इन्टरनेशनल नै बन्द हुन पुगेको थियो । ०४६ सालअघिसम्म पनि नेपालका कैयौं कम्युनिस्ट पार्टी भारत, रुस र चीनको इशाराअनुसार चल्ने गर्थे । नेपालीहरूको त्यही दास मनोवृत्तिले गर्दा विदेशीहरू अरु बढी हौसिँदै जान्थे ।
दशकौंसम्म बि्रटिस उपनिवेशमा बाँच्नेहरूले अरूमाथि पनि उपनिवेश लाद्न खोज्नु स्वभाविक कुरा हो, तर, आफूमाथिको अपमान सही, राष्ट्र, राष्ट्रियतालाई अपमानित हुन नदिनुचाहिँ सबैभन्दा महत्त्वपूर्ण पक्ष हो । मदन भण्डारीले हामीलाई हरदम त्यो पाठ सिकाएर जानुभएको छ । प्रचण्ड कमरेडले मदनबाट यो पक्ष नसिककेको देख्दा उदेक लाग्छ ।
विदेशीहरूले अरुमाथि निर्देशनात्मक व्यवहार गर्नु अर्काको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु हो, चाहे त्यो कांग्रेसले गरोस्, चाहे कम्युनिस्टले । आफ्नो खुट्टामा उभिनेहरूले सगरमाथा चुम्छन्, अरूको बैसाखीमा टेक्नेहरू भुइँको भुइँमै हुन्छन् । यसको प्रमाण खोज्न टाढा जानु पर्दैन । खुसीको कुरा- माले-माक्र्सवादी मिलेमा बढीमा चार सिट ल्याउँछन् भन्ने भारतीय कम्युनिस्ट पार्टीका ती नेताले नेपालमा माले-माक्र्सवादी एकीकृत भएको चौथो वर्षमै (०५१) एमालेले प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल र एक्लो सरकार बनाएको पनि देखे । र, नेपालमा विकसित यिनै घटनाक्रमको समेत प्रेरणाबाट भारतीय केन्द्रीय सत्तामा हँसिया-हथौडाको प्रवेश हुन थाल्यो ।
'अल्पमत' र मदनको सम्बन्ध
'म निष्फक्री र खुला छु । महाधिवेशनको फैसलाअनुसार सबैले काम गर्नुपर्छ । जिते काम गर्ने, नजिते एनजिओमा जाने पक्षमा म छैन । आफूले ठीक ठानेको कुरा नै बहुमतलाई ठीक हो भन्ने लाग्यो भने पनि ठीकै छ, होइन आफूलाई बेठीक लागेको कुरालाई बहुमतले ठीक ठान्यो भने त्यो पनि ठीकै छ । किनभने त्यत्तिमै आकाश खसिहाल्दैन, धर्ती उल्टिहाल्दैन । फेरि पाँच वर्षपछि महाधिवेशन हुन्छ । त्यो पाँच वर्षमा तय भएका नीतिहरू व्यवहारमा जान्छन्, तिनीहरूको सत्यताको जाँच हुन्छ । बहस, छलफल गर्ने, निष्कर्ष निकाल्ने, त्यो निष्कर्षलाई व्यवहारको कसीमा पुर्‍याउने र जाँच्ने चक्रवत् तरिकाबाट मान्छेको ज्ञान, संघर्ष सबै चिज अगाडि बढ्नेछ । त्यसैले मलाई आफ्नो मत विजयी होस् वा पराजयी कुनै फिकर छैन ।'
यस्तो हुनुहुन्थ्यो, मदन भण्डारी र यस्ता थिए, उहाँका विचार । जतिबेला नेकपा (एमाले) एक हप्तापछि सम्पन्न हुने महाधिवेशनको तयारीमा जुटिरहेको थियो र नेताहरूबीच विचारको तहमा पानी बाराबारको स्थिति थियो, त्यतिबेला अर्थात् माघ ५ गते उहाँ हामीसँग टेपवार्ता गर्दै हुनुहुन्थ्यो । उहाँको त्यो विचार 'म हारे पनि पार्टीमै रहन्छु' शीर्षकअन्तर्गत ७ गतेको अंकमा प्रकाशित भयो । सोही अंकमा कमरेड सिपी मैनालीको बहुदलीय जनवादको खण्डन गरिएको एउटा सैद्धान्तिक लेखसमेत छापिएको थियो ।
नेताहरूबीच गुटबन्दी थियो र आरोप-प्रत्यारोप अनि कटुता पनि थियो, तर मदन भन्ने गर्नुहुन्थ्यो- फरक मतलाई पार्टीको महाधिवेशनले यो ठीक छैन भनेर परास्त गर्‍यो भने त्यो फरकमत न परास्त भयो, फरक मतवाला त परास्त भएन नि ! फरकमतवाला कमरेडहरू पनि पार्टीका नेता हुन्, कार्यकर्ता हुन् र सदस्य हुन् । यसर्थ म त सबैलाई समेटेर लाने पक्षमा छु ।'
अहिले 'दृष्टि' पुरानो अवस्थामा छैन । यसमा तीनचोटि विभाजन आइसकेको छ र म पनि ०५१ माघदेखि 'दृष्टि' मा छैन । तर, मदन कमरेडले सहादत प्राप्त गर्नुभएको डेढ दशक नाघिसक्दा मैले आफू 'दृष्टि'मा कार्यरत रहँदाताकाका त्यस्ता प्रसंगलाई बिनापूर्वाग्रह यहाँ उल्लेख गर्नैपर्छ, जसले मदनको जीवनको अर्को पक्षलाई पनि राम्ररी उजागर गर्न सकोस् । त्यो हो- उदारता र सहिष्णुताको पक्ष । 

यस्तै एउटा प्रसंग-२०४९ मंसिर १ गते बुधबारको हो । बिहान सबेरै क्यामेराम्यान विजय सैंजु र म नक्सालस्थित मदनको डेरामा पुगेका थियौं, उहाँको फोटो खिच्न । कालो टोपी, खैरो कोट, प्यान्ट र स्वेटरमा हामीले चाहेअनुसार विभिन्न पोजमा उहाँको दुई रिल फोटो खिच्यौं । र्फकने बेला भन्नुभयो- 'सिपी र एम.सी. कमरेडको पनि फोटो खिच्नुहोला ।' हामी त्यहाँबाट सीधै मंगलबजार गयौं र बागबजारस्थित पार्टीको केन्द्रीय कार्यालय आइपुग्यौं । ती दुवै ठाउँमा गरी सिपी र कमरेड मोहनचन्द्रका अरु दुई रिल फोटो खिचेका थियौं । पछि महाधिवेशनको संघारमा 'सूर्य' मासिक छापिने भयो । केही साथी हुनुहुन्थ्यो, जो आवरणमा मदनको मात्र फोटो राख्न चाहनुहुन्थ्यो । यो कुरा सुनेपछि मदनले भन्नुभयो- 'त्यसो होइन, कभरमा तीनैजनाको फोटो राख्नु बेस हुन्छ ।' र, 'सूर्य' उहाँले भनेअनुसार नै छापियो । त्यतिबेला 'दृष्टि' एमालेको आधिकारिक अखबार थियो । यति हुँदाहुँदै पनि मदन कमरेडले हामीलाई कहिल्यै अल्पमतलाई त्यसमा ठाउँ नदिन निर्देशन दिनुभएन । यदि त्यस्तो निर्देशन हुन्थ्यो भने महाधिवेशनको पूर्वसन्ध्यामा सिपी कमरेडको लेख, अशोक राई र मोहनचन्द्रको अन्तर्वार्ता त्यसमा छापिने थिएन ।
योचाहिँ २०४८ मंसिर १६ गतेको कुरा हो । नक्सालको डेरामा मदन कमरेडले 'दृष्टि' लाई एउटा अन्तर्वार्ता दिनुभयो र मलाई भन्नुभयो- 'आजै गएर सिपीलाई भेट्नुहोस् र अन्तर्वार्ताको सार बताएर उहाँको प्रतिक्रिया पनि संकलन गर्नुहोस् ।' मैले त्यसै गरेँ । पर्सिपल्ट त्यो अन्तर्वार्ता छापियो, जसमा एउटा प्रश्नको उत्तर यस्तो थियो, 'कमिटीले महासचिव मदन होइन, अरु कोही हुनुपर्छ भन्यो भने त्यसमा मेरोसमेत सहमति रहनेछ, होइन, तैंले नै जिम्मा लिनुुपर्छ भन्ने फैसला गर्‍यो भने शीर निहुराएर त्यो निर्णयलाई मान्न र बोक्नका निम्ति पनि म तयार छु । यो मेरो भावना र अभ्यासको विरुद्ध कुनै ढंगले षड्यन्त्र, तिकडमबाजी र अनुचित खालका तौरतरिका प्रयोग गरेर कोही आउँछन् भने त्यस्तो बेला जस्ताको तस्तै टक्कर गर्नको निमित्त एकजना पार्टी सदस्यको हैसियतमा आफ्नो अधिकार प्रयोग गर्ने कुरा कुनै आश्चर्यको विषय हुने छैन ।' यो अन्तर्वार्ता 'मेरो भावनाविरुद्ध कसैले षड्यन्त्र गर्छ भने म टक्कर लिन तयार छु' शीर्षकमा प्रकाशित भएको थियो र समग्र अन्तर्वार्ता नपढिकन शीर्षकमात्र पढेर निश्कर्ष निकाल्नेहरूको निम्ति यो अत्यन्त चर्को अन्तर्वार्ता थियो । उक्त अन्तर्वार्तालाई लिएर पार्टीभित्र ठूलो विवाद उत्पन्न भयो । केन्द्रीय कमिटीको बैठकमै पनि चर्काचर्की पर्न थाल्यो । झलनाथ, सिपी र माधवलाई पनि यो प्रकरणमा मुछ्ने काम भयो । तर, मदन कमरेड नै यस्तो व्यक्ति हुनुहुन्थ्यो, जसले कसैलाई दोष दिनुभएन । बरु आफू एक्लै हुँदा पनि स्पष्टिकरण दिइनै रहनुभयो । उहाँलाई मैले माइक्रोक्यासेट हस्तान्तरण गरेँ । त्यो उहाँले सबैलाई सुनाउनुभयो । यदि मदनमा त्यस्तो सहिष्णुता नहुँदो हो त मलाई लाग्छ, त्यतिबेला उहाँमाथि औंला ठड्याउने धेरै जनाको महाधिवेशनमा पत्तासाफ भइसक्ने थियो ।
पार्टीका नीतिहरूको व्याख्या गर्दा कडाइसाथ, तार्किक शैलीमा र चेतावनीको भाषामा प्रस्तुत हुने मदनको बानी थियो । तर, व्यवहारको मामिलामा भने एमालेका नेतामध्ये सबैभन्दा नरम लाग्नुहुन्थ्यो । उहाँको कार्यकालमा अल्पमतमाथि जे जति 'दमन' भयो, ती सब उहाँलाई घेरेर बस्ने कडा स्वभावका मानिसहरूको काम थियो । मदनले हामीलाई छाडेर जानुभयो, तर उहाँलाई घेरेर बस्नेहरू अझै पार्टीभित्रै छन, ।
वि.सं. २०३० को दशकतिर पश्चिम नेपालमा सशक्त ढंगबाट कार्यरत एउटा कम्युनिस्ट समूहको नाम 'मुक्तिमोर्चा' समूह हो र मदन कमरेड त्यसको एक हस्ती हुनुहुन्थ्यो । दिवंगत कमरेड जीवराज आश्रति, मोदनाथ प्रश्रति, सिद्धिनाथ ज्ञवाली, देवेन्द्र घिमिरे र भीमनारायण थारु पनि सोही समूहमा हुनुहुन्थ्यो । त्यतिबेला विशेषगरी पूर्वी नेपालमा क्रियाशील अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोअर्डिनेसन कमिटी (माले) अर्थात् को.के.ले मुक्तिमोर्चालाई २०३४ भाद्र १४ मा आफूमा समाहित गराएको थियो । ठूलाबडाको मिचाइ कति पीडादायक हुन्छ भन्ने कुरा यो घटनाबाट पनि मदनले अनुभूत गर्नुभएको थियो । यसैकारण पनि उहाँ अल्पमतप्रति कहिल्यै असहिष्णु हुनुभएन भन्ने म ठान्दछु ।
पाँच दिनपछि प्राणान्त
आश्रति खरो स्वभावको हुनुहुन्थ्यो र हामीसँग हाकाहाकी मेरो यति समाचार आओस् भन्ने माग राख्नुहुन्थ्यो । त्यतिबेला हिमालयन इन्स्िटच्युट फर डेमोक्रेसी -एचआइडी) नामक एउटा एनजिओ एमाले पंक्तिभित्र आतंकको पर्याय बन्न पुगेको थियो । प्राध्यापक मंगलसिद्धि मानन्धर र प्रकाशराज सापकोटाको अगुवाइमा खुलेको उक्त संस्थालाई अमेरिकी सहयोग प्राप्त थियो र उसले जिल्ला-जिल्लामा गएर राजनीतिक कार्यकर्ताको व्यक्तिगत विवरण संकलन गर्ने कार्यलाई युद्धस्तरमा सञ्चालन गरिरहेको थियो । त्यस कार्यमा एमालेकै तत्कालीन 'अल्पमत' पक्षका कार्यकर्ताको पनि व्यापक संलग्नता थियो । एक अर्थमा भन्ने हो भने कतिपयलाई रोजगारीका निम्ति त्यो राम्रो अवसर पनि थियो । एचआइडीले आफ्नो कामलाई सरल र सहजरूपमा सम्पन्न गर्न एमाले केन्द्रीय कार्यालयको तर्फबाट जिल्ला कमिटीहरूको नाममा एउटा पत्र प्राप्त गर्न सफल भयो । पत्रमा एचआइडीलाई सहयोग गर्न कार्यकर्तालाई निर्देशन दिइएको थियो ।
तर, त्यो कुरा संगठन विभाग प्रमुख क. जीवराज आश्रतिलाई मन परेन । उहाँले २०५० साल वैशाख २५ गते बागबजारस्थित तत्कालीन केन्द्रीय कार्यालयको आफ्नो कार्यकक्षमा तुरुन्त आउन मलाई निर्देशन दिनुभयो र आवश्यक दस्ताबेज उपलब्ध गराउँदै एउटा लेख तयार पार्ने जिम्मेवारी सुम्पनुभयो । १७ वर्ष जेलजीवन यापन गरेर निस्कनुभएका तत्कालीन कार्यालय सहायक मनकुमार गौतम पनि त्यहीँ हुनुहुन्थ्यो । दृष्टिको २८ गतेको अंकमा संयम शर्माको नामबाट 'होस गर्नोस्, तपाईंकहाँ पनि आउँदै छ हिड' शीर्षकमा आधा पेजको लेख छापियो । सोही अंकमा एमालेका सम्पूर्ण मातहत कमिटीहरूको नाममा एचआइडीसँग सतर्क रहन सूचना जारी गरिएको थियो । र, दुर्भाग्यको कुरा त्यसको ठीक पाँच दिनपछि दासढंुगामा कमरेड आश्रति र चीनबाट फर्किएको सातै दिनमा मदन संगै मारिनुभयो ।
मदन भण्डारी सोझो हुनुहुन्थ्यो र आफूले मन पराएका मानिसलाई उत्तिकै विश्वास गर्नुहुन्थ्यो । उहाँको यही सोझोपनको फाइदा उठाएर उतिबेला धेरैले स्वार्थसिद्ध गरेका छन् । एउटा सानो उदाहरण- त्यतिबेला चिनियाँ दूतावासले विभिन्न नेताका भाइ-छोरालाई सांस्कृतिक कोटाअन्तर्गत आफ्नो देशमा पढ्न पठाउने व्यवस्था मिलाएको थियो र मदन कमरेडको प्रयत्नमा काडमाडौं महानगरपालिका-१३ का जीवनराज मानन्धरको छोरालाई पनि त्यो अवसर प्राप्त भएको थियो । तर, त्यसमा एमालेकै एक जना नेताको आँखा पर्‍यो र मदन कमरेडलाई फकाएर त्यो नाम काटी उनै नेताकी छोरीलाई चीन पठाइयो । अर्को प्रसंगमा केही मानिसले मदन कमरेडलाई फेरि फसाइदिए । उनीहरूको लहैलहैमा लागेर उहाँले संस्कृत भाषाको अनिवार्यतासम्बन्धी एक प्रस्तावमा सही गरिदिनुभयो । त्यही कुरालाई लिएर राष्ट्रिय सभागृहमा ठूलो हंगामा हुँदा उहाँ हल छाडेर हिँड्न बाध्य हुनुभयो । पछि आफू प“mसेको कुरा महसुस भएपछि हस्ताक्षर फिर्ता लिने निर्णय गर्नुभयो ।
०४९ चैत दोस्रो सातातिरको कुरा हो । चिनियाँ कम्युनिस्ट पार्टीको निम्तोमा एमालेको दश सदस्यीय प्रतिनिधिमण्डल चीन जाने तयारी सुरु भयो । मदन टोलीमा पत्रकारलाई पनि लान चाहनुहुन्थ्यो । त्यहाँ पनि खेल सुरु भयो । एमालेको कुनै एक शीर्षस्थ नेताले उहाँलाई चुक्ली लगाइदिए, 'पत्रकारलाई लान हुन्न, आएर जम्मै कुरा लेखिदिन्छन्' पछि भ्रमण दलको अन्तिम नामावली तयार भयो । जसमा पत्रकारको कोटामा ती नेताको नाम थियो ।
मदन कमरेडले हामीलाई जहिले पनि 'दृष्टि' मा छापिने कुनै पनि लेख र समाचार कमजोर र गैरजिम्मेवार नहोस् भन्ने सुझाव र मन लगाएर काम गर्न प्रेरणा दिइ नै रहनुभयो । बहुदल आउनासाथ २०४७ सालको बैशाख १७ गते पार्टी प्रवक्ताको रूपमा पहिलो अन्तर्वार्ता दिएको दिनदेखि हामीबीच सुरु भएको पत्रकार र नेताबीचको सुमधुर साइनोमा कहिल्यै तिक्तता आउन दिनुभएन । हामीले बिराएर लेख्दा पनि सच्याउन सल्लाह दिनुहुन्थ्यो, गाली गर्नुहुन्थेन । २०४९ असार १० गतेको अंकमा भाषिक त्रुटिसहित समाचार छापियो । शीर्षक थियो- 'रानी दिल्ली गइन् ।' बुधबार बिहानै त्यो समाचार पढेर उत्तिखेरै हाम्रो कार्यालयमा फोन गरी भन्नुभयो, 'लेखाइ ठीक भएन । त्यही समाचारलाई शिष्ट र मर्यादित भाषामा प्रस्तुत गर्न सकिन्थ्यो ।'
०४९ भदौ ३ गतेको अंकमा 'सेनाद्वारा खबरदारी' शीर्षकअन्तर्गत अग्निजी र मेरो नाममा मुख्य समाचार छापियो । यसमा मदन कमरेडले आपत्ति नै त जनाउनुभएन, तर सेनाको संवेदनशीलतालाई बुझ्दै समाचारलाई आधिकारिक र चित्तबुझ्दो बनाउनेतर्फ आइन्दा आफ्नो ध्यान केन्दि्रत गर्नुपर्ने सुझाव रह्यो । त्यतिबेला बाढीपीडितहरूको उद्धारका नाममा सुरक्षा परिषद्को निर्णयबेगर तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भारतीय वायुसेनाको दुईवटा हेलिकोप्टर मगाउनुभएको थियो र शाही नेपाली सेनाले तिनलाई काठमाडौं विमानस्थलमै रोकेर राखेको थियो । सेना प्रधानमन्त्रीसँग सन्तुष्ट थिएन, अर्कातिर टनकपुर प्रकरण पनि चर्किरहेको बेला थियो त्यो । त्यस्तो स्थितिमा शाही नेपाली जंगी अड्डाले भर्खरै प्रकाशित गरेको ६६० पेजको किताब 'नेपालको सैनिक इतिहास' हाम्रो हात परेको थियो ।
त्यसकै आधारमा समाचार लेखेका थियौं । पुस्तकको प्रस्तावनामा भनिएको थियो, 'फौजको संगठन गर्दा विस्तारवादको परिकल्पना र विस्तारवादीको सहयोगका लागि प्रयोग हुने संरचना एकदम गरिएको थिएन ।' भनिरहनु नपर्ला, कुरा सुनिसकेपछि मदन कमरेडले हामीलाई गाली हैन, प्रशंसा गर्नुभयो ।
टनकपुर विवाद उत्कर्षमा पुगिरहेको र सर्वोच्च अदालतको फैसला सन्निकट रहेको बेला मदन कमरेड 'दृष्टि' को अतिरिक्तांक प्रकाशित होस् र त्यसले जनतालाई सुसूचित गर्न सकोस् भन्ने पक्षमा हुनुहुन्थ्यो । उहाँको सुझावअनुसार, २०४९ कात्तिक १५ गते शनिबार अतिरिक्तांक छापियो, जसमा तत्कालीन प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायले सरकार पराजित हुने संकेतसहित अन्तर्वार्ता दिनुभएको थियो । उता, २०५० सालको चैत ७ र ८ गते विराटनगरमा सम्पन्न हुने पत्रकार संघको १६ औं महाधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने सन्दर्भमा पनि उहाँले हामीलाई बोलाएर सरसल्लाह गर्नुभएको थियो । पार्टी केन्द्रीय कार्यालयमा भएको छलफलमा हिरण्यलाल श्रेष्ठ, प्रदीप नेपाल, शम्भु श्रेष्ठ, गोपाल थपलिया र म थियौं, रघुजी हुनुहुन्थेन । विराटनगर गइसक्नुभएको थियो । र, उहाँलाई आफूले टिकट पाउने कुरामा विश्वास पनि थिएन । तर, त्यही छलफलले उहाँलाई महासचिव बनाउने र कांग्रेसको छत्तीसे समूहसँग मिलेर चुनाव लड्ने निर्णय गर्‍यो । उक्त निर्णय सफलतापूर्वक कार्यान्वयन पनि भयो । तर, त्यसपछिका केही वर्ष हामीबीच त्यस्तो सरसल्लाह हुन सकेन र त्यसैकारण अपेक्षा गरिएजस्तो परिणाम पनि वषौर्ंसम्म हात लाग्न सकेन ।
यो पनि २०४९ सालकै कुरा हो । कात्तिक २१ गतेको दिन थियो । पाँचौं महाधिवेशनको तयारी र बहस उत्कर्षमा पुगेको त्यो बेला 'दृष्टि'ले मदन कमरेडको अन्तर्वार्ता लिने निधो गर्‍यो । अन्तर्वार्ता लिखित थियो । र, २२ गते मदनले फोन गरेर सोध्नुभयो, 'कम्प्युटरमा गइसक्यो ?' गइसकेको कुरा थाहा पाएपछि भन्नुभयो, 'जहाँ-जहाँ 'बहुदलीय जनवाद' उल्लेख छ, त्यहाँ-त्यहाँ 'जनताको' थपिदिनुहोला ।' र, २६ गते 'कालिदासको क पढेर बहुदलीय जनवाद बुझन्िन' शीर्षकमा उक्त अन्तर्वार्ता छापिएको दिनदेखि उहाँद्वारा प्रस्तुत नेपाली क्रान्तिको कार्यक्रमको विधिवत नामकरण 'जनताको बहुदलीय जनवाद' रहन गयो ।
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा राख्नुभएको यो लेख महत्वपूर्ण भएकोले उहाँको अनुमतिमा आभारसहित यहाँ साभार गरिएको हो । 

No comments:

Post a Comment

top sidebar ads

समाचार

समाचार

recent posts comments tab