Wednesday 12 March 2014

चिनियाँ शैलीमा आउँदै भारतीय प्रधानमन्त्री

Koirala-Singh meeting at Delhi- File photo

नेपाल डोर अनलाइन
काठमाडौं । सन् २०१२, जनवरी १४ । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको चिमन्त्रणामा चिनियाँ प्रधानमन्त्री वेन जियावाओ पाँच घण्टे भ्रमणमा काठमाडौं आए । उच्चस्तरीय भेटवार्ता त्यही अबधिमा सम्पन्न भयो । तत्कालीन प्रधानमन्त्रीले लन्च खाए, शीर्ष नेतासँग गफगाफ गरे । नेपाल–चीन संयुक्त समझदारीपत्रमा हस्ताक्षर भयो । पाँच घण्टा बसेर चिनियाँ प्रधानमन्त्री कतारतिर लागे । 
दुई बर्षअघि चिनियाँ प्रधानमन्त्री जसरी आए, कार्यकाल सकिन लाग्दा भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंह पनि त्यही शैलीमा काठमाडौं आउने सन्देश दिएका छन् । फरक यत्ति हो, चिनियाँ प्रधानमन्त्री आउँदा राजधानी कफ्र्यु लागेसरह थियो । भारतीय प्रधानमन्त्री आउँदा सुरक्षा व्यवस्था कडा हुन्छ नै, राजधानीका कफ्र्यु नै लाग्ने सम्भावना हुँदैन । 
प्रधानमन्त्री सुशील कोइरालासँग विमस्टेक सम्मेलनका क्रममा म्यानमारमा गत साता भएको भेटमा सिंहले ‘छोटो समयका लागि भएपनि’ भ्रमण गर्ने इच्छा देखाएपछि दुवै मुलुुकको परराष्ट्रमन्त्रालय यसको गृहकार्यमा जुटेको छ । प्रधानमन्त्री कोइरालाले यसबारे एमाओवादी अध्यक्ष पुष्कमल दाहाल, एमाले अध्यक्ष झलनाथ खनाल र राप्रपा नेपालका अध्यक्ष कमल थापालाई जानकारी गराइसकेका छन् । 
भारतीय प्रधानमन्त्रीले नेपालमा औपचारिक भ्रमण नगरेको १६ बर्ष भएको छ । दुई कार्यकाल (दशबर्ष) व्यतित गरेर विदा हुन लागेका प्रधानमन्त्री सिंहले यसबीचमा नेपाल भ्रमण गरेका छैनन् । भारतीय प्रधानमन्त्रीको भ्रमण नहुँदा नेपाल–भारतबीच उच्चस्तरीय भ्रमणको असन्तुलन भएको टिप्पणि हुँदै आएको छ । 
‘भारतीय विदेशमन्त्री सलमान खुर्सिदले मसँग म्यानमारमा कुरा गर्दा छोटै समयका लागि भए पनि प्रधानमन्त्री सिंहले नेपाल भ्रमण गर्ने इच्छा राख्नुभएको बताउनुभएको थियो’ परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले नेपालडोर अनलाइनसँग भने, ‘व्यस्तता बढ्यो नै भने छोटो समय (केही घण्टा)का लागि पनि आउन सक्नुहुन्छ, तर हामीले सकभर कम्तिमा दुई दिने भ्रमणमा आउँदा उपयुक्त हुन्छ भनेका छौँ ।’ 
भारतीय समकक्षीलाई नेपाल भ्रमणमा आउन प्रधानमन्त्री कोइरालाले निर्वाचित भएलगत्तै निमन्त्रणा पठाइसकेका छन् । भारतीय प्रधानमन्त्रीले पनि कोइरालालाई निम्ता दिइसकेका छन् । प्रधानमन्त्री निकटस्थ स्रोतका अनुसार भारतीय प्रधानमन्त्रीलाई नेपालमा बोलाएर मात्रै कोइराला भारत जान चाहन्छन् । ‘हाम्रा प्रधानमन्त्रीहरु शुरुमा भारत जाने चलन रहेकोमा यसपटक प्रधानमन्त्रीज्यूले भारतीय समकक्षीलाई बोलाएर मात्रै आफू भारत जाने इच्छा राख्नुभएको छ’ कोइराला निकटस्थ स्रोतले भन्यो, ‘भारतमा निर्वाचनपछि अर्को सरकार गठन नभएसम्म प्रधानमन्त्री भारत भ्रमणमा जानुहुन्न ।’ यो कोइरालाका लागि सौभाग्य पनि हो । किनभने उनीअघिका प्रधानमन्त्रीहरु पहिल्यै निम्तोमान्न पुगिसकेका हुन्थे, कोइरालाले कम्तिमा भारतीय समकक्षीलाई स्वागत गरेपछि मात्रै भारत भ्रमणमा जाने अबसरको खोजी गरिरहेका छन् ।

No comments:

Post a Comment

top sidebar ads

समाचार

समाचार

recent posts comments tab

Blog Archive