Saturday, 24 May 2014

नरेन्द्र मोदीको ‘आइ.के. गुजराल’ मार्ग

सन् ५० को सन्धिसहित भारतसँग नेपालको थुप्रै कार्यसूची अहिले पनि यथावत् छन्, जसबारे आजसम्म निर्णय हुन सकेको छैन । विवादित सीमानक्सा, सुपुर्दगी सन्धि, कालापानीबाट भारतीय फौज विस्थापन, भारतीय बजारमा नेपाली वस्तुव्यापारको सहजीकरण, बन्दरगाहको प्रयोगमा सहजताजस्ता विषय अझै हल हुन सकेका छैनन् ।

पर्शुराम काफ्ले  
pkaphle@gmail.com
 

नवनियुक्त भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसिया (नेपाल, बंगलादेश, पाकिस्तान, भुटान, मालदिभ्स, श्रीलंका र अफगानिस्तान) का समकक्षीलाई २६ मेमा नयाँदिल्लीमा हुने आफ्नो शपथग्रहणमा सहभागी हुन डाकेका छन् । भारतीय प्रधानमन्त्रीले सर्वथा नौलो प्रयोग गर्दै छन् यसपटक । यसको प्रारम्भिक सन्देश हो, अन्तर्राष्ट्रिय मुद्दा र क्षेत्रीय हितका विषयमा सार्क मुुलुकलाई साथमा लिएर मोदी अघि बढ्न चाहन्छन् । विशेषगरी मोदीले दक्षिण एसियामा भारतको वर्चस्व र आफ्नो नेतृत्व स्थापित गर्ने अवसरका रूपमा शपथग्रहण समारोहलाई सदुपयोग गर्न खोजेको देखिन्छ ।
भारतीय जनता पार्टीले सार्वजनिक गरेको विदेश नीतिमा ‘मुलुक पहिलो, विश्व भातृत्व’ भन्ने नारा दिएको छ । उसले ‘राजनीतिक स्थिरता, प्रगति र शान्ति दक्षिण एसियाको विकास र समृद्धिका लागि अत्यावश्यक’ रहेको उल्लेख गरेको छ । यो सैद्धान्तिक जगभन्दा पनि पर पुगेर उसले कांग्रेस नेतृत्वको सरकार छिमेकी मुलुकसँग मित्रवत् तथा सहयोगी सम्बन्ध स्थापित गर्न असफल भएको भन्दै बिजेपी नेतृत्वको सरकारले यसलाई करेक्सन गर्ने उल्लेख गरेको छ । के सम्बन्ध मजबुत पार्ने कडीकै रूपमा सार्कका प्रधानमन्त्रीलाई मोदीले शपथग्रहणमा बोलाएका हुन् ? मोदी पूर्वप्रधानमन्त्री आइके गुजरालभन्दा पनि छिमेकमैत्री बन्न लागेका हुन् ? यसका लागि केही समय प्रतीक्षा गर्नु पर्नेछ । मोदीको उदयसँगै आइके गुजराल डक्ट्रिनको सान्दर्भिकता भारतले महसुस गर्न लागेजस्तो देखिन्छ ।
गुजराल सन् १९९७ अप्रिलदेखि १९९८ मार्चसम्म भारतका प्रधानमन्त्री थिए, जसले नेपाल, बंगलादेश, भुटान, मालदिभ्स र श्रीलंकासँग समान लेनदेनका आधारमा होइन, भारतले बढी सद्भाव र विश्वाससाथ सहयोगी भूमिका निर्वाह गर्नुपर्ने मान्यता अघि सारेका थिए । यसबाहेक दक्षिण एसियाका कुनै पनि मुलुकले एक अर्काविरुद्ध आफ्नो भूमि प्रयोग गर्न दिनु नहुने, एक–अर्काको अन्तरिम मामिलामा हस्तक्षेप गर्नु नहुने, एक–अर्काको भौगोलिक अखण्डता र सार्वभौमिकताको सम्मान गर्नुपर्ने, शान्तिपूर्ण द्विपक्षीय वार्ताबाट छिमेकीसँगको विवाद समाधान गर्नुपर्ने मान्यता उनको थियो । भौगोलिक, जनसांख्यिक र आर्थिक रूपमा साना दक्षिण एसियाली छिमेकीप्रति सद्भाव राख्ने भारतीय प्रधानमन्त्री थिए उनी । नेपालको औपचारिक भ्रमणमा आउने हालसम्मकै पछिल्ला भारतीय प्रधानमन्त्री उनै थिए ।
गुजराल पहिलोपटक विदेशमन्त्री छँदा लन्डनको चादम हाउसमा सेप्टेम्बर १९९६ मा दिएको भाषण निकै चर्चित छ । विदेशमन्त्रीको दोस्रो कार्यकालमा उनले अघि सारेको मान्यता नै अन्तत: ‘गुजराल डक्ट्रिन’का रूपमा स्थापित भयो । आफ्नो मान्यता कार्यान्वयन भए दक्षिण एसियाका सबै मुलुक र पाकिस्तानसँग भारतको सम्बन्धसमेत सुमधुर हुने उनको अपेक्षा थियो । विशेषत: दक्षिण एसियामा चीन र पाकिस्तानको बढ्दो प्रभावबाट उत्पन्न चुनौती समाधान गर्ने रणनीतिक अस्त्रका रूपमा गुजराल डक्ट्रिनको व्याख्या हँुदै आएको छ ।
छिमेकी जनसंख्या, भूगोल र आर्थिक भोल्युमका हिसाबले साना भएकाले पारस्परिक वा बराबर लेनदेनका आधारमा होइन, भारतले नै बढी सद्भाव राख्नुपर्छ भन्ने मान्यता गुजरालले लागू गर्न खोजेका थिए । तर, उनी सफल भएनन् । भारतले छिमेकीहरूको सम्बन्धमा उदारता र सद्भाव देखाउनुपर्छ भन्नेमा गुजराल पछिसम्म दृढ थिए ।
१९९७ मा नेपाल आएका बेला गुजरालले काँकडभिट्टादेखि बंगलादेशको बन्दरगाहसम्म पुग्ने भारतको बाटो खुला गर्ने घोषणा गरेका थिए । उनी काठमाडौं आउँदासम्म तत्कालीन सत्ता गठबन्धन सकारात्मक थिएन । तर, बंगलादेशको बन्दरगाहसम्म जोड्ने १२ किलोमिटर लामो भारतीय बाटो नखुल्दा नेपाललाई अप्ठेरो परेको थियो । तर, बाटोको क्षेत्र नेपाल, भुटान, तिब्बत र बंगलादेश जोड्ने सिलिगुडी कोरिडोर वा ‘चिकेन नेक’का भारतको सुरक्षाका हिसाबले संवेदनशील क्षेत्र हो । गुजरालकै पालामा त्यहीँबाट बंगलादेशसम्मको बाटो खोल्ने निर्णय भएको थियो । त्यो निर्णयप्रति गुजरालले भारतका सुरक्षा निकाय, हार्डलाइनर बुद्धिजीवी एवं कतिपय राजनीतिक वृत्तबाट चर्को विरोध खेप्नुपरेको थियो ।
दबाब थेग्न नसक्दा उनले चाहेर पनि सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि पुनरावलोकन हुन सकेन । तत्कालीन परराष्ट्रसचिव कुमार ज्ञवाली, सहसचिव मुरारीराज शर्मासहित सन् १९९७ मा नयाँ दिल्लीमा सन्धि पुनरावलोकनका विषयमा द्विपक्षीय वार्ता भयो । तर, भारतीय पक्षले असजिलो महसुस गर्‍यो । विदेशमन्त्रीसमेत रहेका गुजरालले १३ दलीय सत्ता गठबन्धनको विरोध साम्य पार्न पनि सन्धितिर हात हाल्न सक्ने अवस्था थिएन । अन्तत: उनले नेपाली प्रतिनिधिमण्डलाई भने, ‘अहिले मैले सकिनँ । तर, म प्रतिबद्ध छु । नेपालका महाराजधिराजलाई यही कुरा सुनाइदिनू ।’ सन् ५० को सन्धिसहित भारतसँग नेपालको थुप्रै कार्यसूची अहिले पनि यथावत् छन्, जसबारे आजसम्म निर्णय हुन सकेको छैन । विवादित सीमानक्सा, सुपुर्दगी सन्धि, कालापानीबाट भारतीय फौज विस्थापन, भारतीय बजारमा नेपाली वस्तुव्यापारको सहजीकरण, बन्दरगाहको प्रयोगमा सहजताजस्ता विषय अझै हल हुन सकेका छैनन् ।
भारतमा दश वर्षपछि कांग्रेस सत्ताबाट बाहिरिएको र भारतीय जनता पार्टी सत्तामा आएको मात्र हो । त्यहाँको विद्यमान राजनीतिक प्रणालीमा कुनै फेरबदल आएको होइन । त्यस हिसाबले मोदीको उदय उथलपुथलकारी होइन, यो स्वाभाविक परिघटना हो । केबल चमत्कारपूर्ण तरिकाले सरकारको नेतृत्व परिवर्तन हुन लागेको मात्र हो । बलियो सरकार र स्थापित नेता सत्तामा पुगेको मात्र हो ।
नेपालमा व्यवस्था परिवर्तन (गणतन्त्र स्थापना) भएको एक दशक पनि पुगेको छैन । नेपाल दोस्रोपटक संविधान निर्माणमा व्यस्त छ । हाम्रा दलहरूको विदेश नीति (विशेषत: भारत र चीनलक्षित) स्पष्ट छैनन् । तिनै दल सरकारमा जाने हुनाले सरकार पनि अलमलमा पर्नु स्वाभाविकै हो । निर्वाचन घोषणापत्रमा सार्वजनिक भएका तीन ठूला दलको विदेशनीति हेराँै । एमाओवादीले ‘आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्दै र राष्ट्रिय शक्ति सञ्चय गर्दै वैदेशिक हस्तक्षेप र उत्पीडनका साङ्ला चुँडाल्दै जाने प्रगतिशील राष्ट्रवादको आधारमा राष्ट्रिय हितको संरक्षण गर्ने’ भनेको छ । उसले नयाँ संविधान प्रारम्भ भएको एक वर्षभित्रै विगतमा भारतसँग भएका सबै सन्धि–सम्झौता पुनरावलोकन गर्ने तथा राष्ट्रिय हितप्रतिकूल रहेका सन्धि–सम्झौता खारेज गर्ने तथा राष्ट्रिय हितअनुकूलका नयाँ सन्धि–सम्झौता गर्ने भनेको छ । भारतसँग ‘सन् १९५० को शान्ति तथा मैत्रीसन्धिलगायत राष्ट्रिय हितप्रतिकूल देखिएका सबै पुराना सन्धि–सम्झौताको पुनरावलोकन गरी तिनलाई आवश्यकताअनुरुप परिमार्जन गर्ने, खारेज गर्ने र नयाँ सम्झौता गर्ने कार्य सम्पन्न गरिने’ एमाओवादीको नीति छ । उसले प्रस्तावित संघीय व्यवस्थापिकाको दुई तिहाई बहुमतबाट शान्ति र मैत्री, सुरक्षा एवं सामरिक सम्बन्ध, नेपाल राज्यको सिमाना र राष्ट्रलाई व्यापक, गम्भीर वा दीर्घकालीन असर पर्ने प्राकृतिक स्रोत तथा त्यसको उपयोगको बाँडफाँडसम्बन्धी अन्य मुलुकसँग गरिएको सन्धि वा सम्झौताको अनुमोदन गर्नुपर्ने उल्लेख गरेको छ । एमाओवादीले कुशलतापूर्वक छिमेकीहरूसँग सम्बन्ध व्यवस्थापन गर्ने, नेपाल–भारत खुला सिमाना व्यवस्थित गर्ने, सीमा विवाद र अतिक्रमणका समस्या सत्यतथ्यका आधारमा र आपसी हितमा यथाशक्य छिटो कूटनीतिक पहलद्वारा समाधान गर्ने भनिएको छ ।
सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसले मुलुकलाई ‘विश्व समुदायको सक्षम र प्रतिष्ठित सदस्यका रूपमा स्थापित गर्ने’ छिमेकी भारत र चीनसँगको सम्बन्धलाई अन्तर्राष्ट्रिय सम्बन्धका मूल्य र मान्यताअनुरूप व्यावहारिक र वस्तुनिष्ठ आधारमा मैत्रीपूर्ण बनाइने, सार्कको सिर्जनात्मक रुपान्तरण गर्ने उल्लेख गरेको छ । एमालेले ‘राष्ट्रिय हित, स्वाधीनता र सार्वभौमसत्ता रक्षा गर्दै छिमेकी मित्र राष्ट्रसँग सुमधुर र सन्तुलित सम्बन्ध कायम गर्ने’ विदेश नीति अख्तियार गरेको छ । उसले ‘एक–अर्काका जायज चासो र सरोकारप्रति संवेदनशील हुने, नेपालको भूमि कुनै पनि मित्रराष्ट्रविरुद्ध प्रयोग हुन नदिने कुराको प्रत्याभूति गर्ने पनि उल्लेख गरेको छ । एमालेले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई थप प्रभावकारी बनाउने, भारतसँग ‘सीमासम्बन्धी समस्याको समाधान र सीमा–नाकाहरूको व्यवस्थापनका लागि प्रभावकारी कूटनीतिक पहल र द्विपक्षीय वार्ता प्रक्रिया अगाडि बढाउने’ नीति अख्तियार गरेको छ । उल्लेखित बुँदा हेर्दा तीन दलको विदेश नीति आफ्ना राजनीतिक आग्रह/पूर्वाग्रहबाट प्रभावित देखिन्छन् । छिमेकी भारत वा चीनसँगको सम्बन्धका केही मान्यतामा नकारात्मक भए पनि एमाओवादी स्पष्ट छ, कांग्रेस र एमाले भगवान् भरोसे देखिएका छन् ।
कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री सुशील कोइरालाले भारतीय समकक्षीको निम्तो शिरोपर गरेर दिल्ली जाने निर्णय गरेका छन् । भारतसँग राजनीतिक सम्बन्ध अभ्यासको यो अवसर रहे पनि कोइरालाको यो भ्रमणलाई चीन जाने बाटो खुला गर्ने अवसरका रूपमा हेरिएको छ । निकट भविष्यमा चीनको कुनमिङमा हुने विश्वव्यापार मेलामा जान कोइरालालाई आग्रह र दबाब उत्पन्न भएको छ तर पहिलो विदेश भ्रमण भारतबाट सुरु नगर्दा हुने त्रासदीबाट उनी पीडित छन् । उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई चीन पठाउने सुरसार कोइरालाको भारत भ्रमणले सम्भवत: फेरिन पनि सक्छ । भारत गएपछि कोइरालाले चीन जानुपर्ने बाध्यतालाई बुझेका छन् । मोदीको निम्ताले कोइरालालाई चीन जानका लागि अवसर जुटाइदिनु रामै्र संयोग मान्नुपर्छ ।
कोइरालाले भारत जाँदै गर्दा हेक्का राख्नुपर्ने हुन्छ कि भारतबाट डेढ दशकदेखि प्रधानमन्त्रीस्तरको नेपाल भ्रमण भएको छैन । चीनबाट अघिल्ला प्रधानमन्त्री एक दिनका लागि नै सही, आएर गएको अवस्थामा ‘विशेष सम्बन्ध’को चर्चा गर्ने भारतले प्रधानमन्त्रीलाई पठाएको छैन । हरेक मौसम परिवर्तनसँगै सरकार बदल्ने हाम्रो राजनीतिक परिपाटी वा सुरक्षासंयन्त्र नै नेपाल मामिला डिल गर्न काफी रहेको भारतीय यथार्थ वा अन्य जेसुकै कारणले भए पनि भारतबाट उच्चस्तरीय भ्रमण नहुनु विडम्बनापूर्ण छ । आगामी मंसिरमा सार्क शिखर सम्मेलनमा सहभागिताका लागि भारतीय प्रधानमन्त्री स्वाभाविक रूपमा आउनेछन्, जसरी अघिल्लोपटक अटलबिहारी बाजपेयी आएका थिए । तर, भारतीय प्रधानमन्त्रीको औपचारिक भ्रमणका लागि प्रधानमन्त्री कोइरालाले विशेष रूपमा पहल गर्नु जरुरी छ । मोदीले सार्कका समकक्षीलाई शपथग्रहणमा बोलाउनुको अर्थ उनी गुजरालले कोरेको विदेश नीतिको मार्ग पछ्याउन बाध्य छन् । त्यसर्थ उनको नेपाल भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारका लागि आजको अनिवार्य शर्त हो । त्यसबाहेक भारतसँग छलफल गर्नुपर्ने नेपालको राजनीतिक, आर्थिक र सुरक्षा चासोका मुद्दा त छँदै छन् । जे होस्, मोदीको गुजराल मार्ग स्वागतयोग्य छ ।

NAYAPATRIKA DAILY, Jeth 9, 2071
 

No comments:

Post a Comment

Global Mountain Biodiversity Assessment establishes first Asia hub in Kathmandu

  ICIMOD to host regional hub of prestigious global network in bid to increase scientific knowledge and policy responses to at-risk mounta...