Thursday, 4 January 2018

किन आए जाम्बियाका सेनापति ?



काठमाडौं, २० पुस 

जाम्बियाको सेनाका कमान्डर लेफ्टिनेन्ट जनरल पाउल मिहोभा आफ्नै रुचीमा नेपाल भ्रमणमा आएका छन् । यही मितिमा केन्याका सेनापतिको भ्रमण गराउने जंगी अड्डाको तयारी थियो । तर, दिल्लीस्थित जाम्बियाका सैनिक सहचारीले उनको सेनापतिको इच्छा लिखितरुपमा नै राखेपछि प्रधानसेनापतिले बोलाएका हुन् । उनले विहीवार नेपाली सेनाको विश्व शान्ति कार्यको अनुभवबारे चासो राखेका छन् ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग बिहीबार भएको भेटमा उनले नेपाली सेनाले अफ्रिकी मुलुकलगायत विभिन्न देशको शान्ति कार्यमा गरेको अनुभव जाम्बियाका लागि पनि प्रेरणादायी रहने बताए । नेपाल भ्रमण गर्ने पाउल अफ्रिका महादेशकै पहिलो सेनापति हुन् ।

बुधबार राति काठमाडौं आएका कमान्डर पाउलले बिहीबार जंगीअड्डामा प्रधानसेनापति क्षत्रीसँग औपचारिक भेटवार्ता गरेका थिए ।

‘युएन अन्तर्गतको शान्ति स्थापना कार्यमा नेपाली सेनाको अनुभवका बारेमा उहाँहरूमा चासो छ, पिस किपिङमा जाम्बियाको सेना पनि संलग्न छ,’ भेटवार्ताबारे सैनिक प्रवक्ता सहायकरथी गोकुल भण्डारीले भने, ‘यही सन्दर्भमा उहाँहरूको कुराकानी भएको छ ।’

सात दिने औपचारिक सद्भावना भ्रमणमा रहेका उनले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र रक्षामन्त्री भीमसेनदास प्रधानसँग बेग्लाबेग्लै शिष्टाचार भेट गरेको पनि प्रवक्ता भण्डारीले जानकारी दिए ।
जाम्बियाका सेनापतिको भ्रमण नेपालमा अफ्रिका महादेशबाटै भएको सैनिक नेतृत्वको पहिलो औपचारिक भ्रमण हो ।

स्रोतका अनुसार केन्याका प्रधानसेनापतिको भ्रमण गराउने कोशिश भए पनि जाम्बियाका सेनापतिकै इच्छामा यो भ्रमण आयोजना गरिएको हो ।

कमान्डर पाउललाई सेनाले शुक्रबार बिहान विश्वको सर्वोच्च शिखर सगरमाथा देखाउन माउन्टेन फ्लाइटमा लैजाँदैछ । शुक्रबारै टोखास्थित नेपाली सेनाको कमान्ड एन्ड स्टाफ कलेज, पाँचखालस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय शान्तिकार्य तालिम केन्द्रको भ्रमण गर्ने छन् ।

शनिबार पोखरा भ्रमण गर्ने उनले आइतबार चितवनस्थित राष्ट्रिय निकुन्जको भ्रमण गर्नेसमेत कार्यक्रम तय भएको छ । उनको सम्मानमा बिहीबार साँझ सांस्कृतिक कार्यक्रमसहित प्रधानसेनापति क्षत्रीले जंगीअड्डामा रात्रिभोज आयोजना गरे ।

No comments:

Post a Comment

Book Discussion “Seventy Years of Nepal-China Relations: A Model for Civilizational Friendship”

Kathmandu: The Nepal Institute for International Cooperation and Engagement (NIICE) organized a high-level seminar on the book discussion ti...