Tuesday 9 January 2018

आदित्यनाथसँग वार्तापछि पूर्वराजा ज्ञानेन्द्र थप २ दिन लखनउमा, भारत सरकारको पोलिसि सिफ्ट ?

यसकारण ज्ञानेन्द्रलाई महत्व: पूर्व मेजर जनरल अशोक मेहता
मध्यपश्चिम र सुदुरपश्चिम नेपालको निजि भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग सोमवार डेढघण्टा वार्ता गरेका छन् । नेपालगञ्जबाट आइतवार लखनउ पुगेका पूर्वराजाले आदित्यनाथको सरकारी निवास ५ कालिदासमार्गमा सोमवार विहान ९ बजेदेखि साढे दश बजेसम्म भेटेका हुन् । मुख्यमन्त्री आदित्यनाथले आइतवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा विदेश राज्यमन्त्री जनरल भिके सिंहसँग पूर्वराजासँग तय भएको भेटवारे छलफल गरेका थिए ।
नेपालमा २०६५ सालमा गणतन्त्र स्थापनापछि पूर्वराजा ज्ञानेन्द्रले औपचारिकरुपमा भेटेका सबैभन्दा उच्च भारतीय अधिकारी आदित्यनाथ हुन् । आदित्यनाथले विगतमा लोकसभा सांसदका रुपमा पूर्वराजा ज्ञानेन्द्रसँग पटकपटक भेटवार्ता गरेका छन् । उनीहरुबीच पछिल्लो भेट २०७३ कात्तिक पहिलोसाता काठमाडौंमा भएको थियो । कात्तिक ४ देखि ६ सम्म काठमाडौंको वनकालीमा विश्वहिन्दु महासंघद्धारा आयोजित विराट हिन्दु सम्मेलनमा सहभागी हुन उनी काठमाडौं आएका थिए । त्यसबेला कार्यक्रममा पनि उनीहरु दुवैजना सँगै थिए भने आदित्यनाथले पूर्वराजासँग अलग्गै भेटवार्ता गरेका थिए ।  त्यसबेला शंकराचार्य वासुदेवानन्द र भाजपा नेता रघुनन्दन शर्मा पनि भेटवार्तामा साथै थिए । त्यसको एक बर्षअघि नवलपरासीको प्रतापपुरमा आयोजित कार्यक्रममा पनि पूर्वराजा ज्ञानेन्द्र र आदित्यनाथ सँगै थिए । दुवैजनाले हिन्दु सम्मेलनलाई सम्बोधन गरेका थिए ।
४५ मिनेट एक्लाएक्लै वार्ता
पटकपटक यसबीचमा दिल्ली भ्रमणमा जाँदा उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष अमित शाह, महासचिव राम माधवसँग भेटवार्ता गरेका थिए । तर, ती सबै भेटवार्ता सार्वजनिक भएका थिएनन् ।
स्रोतका अनुसार भेटवार्ताको शुरुवातमा विश्वहिन्दु महासंघका अध्यक्ष भरतकेशर सिंह पनि सहभागी थिए । ‘शुरुवातमा पूर्वराजासँग महासंघका अध्यक्ष सिंह, पूर्वराजाका स्वकीय सचिव सागर तिमल्सिना तथा आदित्यनाथका सेक्रेटरी र उत्तरप्रदेश सरकारका उच्च अधिकारी सहभागी थिए । औपचारिकतापछि दुवैजनाका बीचमा ४५ मिनेट एक्लाएक्लै कुराकानी पनि भयो’ भेटवार्ताबारे जानकार स्रोतले भन्यो । आदित्यनाथ अहिले पनि विश्वहिन्दु महासंघ अन्तराष्ट्रिय समितिका उपाध्यक्ष हुन् भने सिंह अध्यक्ष हुन् । महासंघको अन्तराष्ट्रिय समितिले नेपालमा हिन्दु राष्ट्र र राजसंस्था पुनर्वहाली हुनुपर्ने माग गर्दै आएको छ ।
विहान ९ बजे मुख्यमन्त्री आदित्यनाथले पूर्वराजालाई निवासको बाहिरी गेटमै स्वागत गरेका थिए । हरेक दिन आदित्यनाथलाई भेट्न सर्वसाधारणको भीड लाग्ने गरे पनि सोमवार सर्वसाधारणसँगको भेटको कार्यक्रम रद्द भएको  थियो । भेटलगत्तै मुख्यमन्त्री आदित्यनाथले तीनवटा तस्वीर सार्वजनिक गरेका थिए । उनको ट्विटमा उल्लेख छ, ‘आज लखनउस्ति सरकारी आवासमा नेपालका पूर्वराजा श्री ज्ञानेन्द्र वीर विक्रम शाहजीले  भेट गर्नुभयो, उहाँलाई अंगवस्त्र र कुम्भको लोगो दिएँ ।’ एक बर्षपछि उत्तरप्रदेशको प्रयागमा कुम्भमेला आयोजना गर्न लागेका आदित्यनाथले पूर्वराजा ज्ञानेन्द्रलाई निमन्त्रणासमेत दिएका छन् । ज्ञानेन्द्र विहीवार नेपालगञ्ज हुँदै काठमाडौं फर्किने कार्यक्रम छ ।
धुलिखेलमा तय भयो भारत भ्रमण
निर्मल निवास स्रोतका अनुसार भारतीय राजदूत मञ्जिब सिंह पुरी र पूर्वराजाबीच धुलिखेलमा मंसिर पहिलोसाता भेट भएको थियो । मंसिर ६ देखि ९ सम्म द्धारिकाज रिसोर्टमा रहेका ज्ञानेन्द्रलाई भेट्न पुरी त्यहाँ पुगेका थिए । ‘त्यतिबेलै पूर्वराजाको यो भ्रमण तय भएको हो, भारत सरकारको पूर्ण तयारीसाथ उहाँलाई लखनउ बोलाइएको हो’ जानकार स्रोतले नयाँ पत्रिकासँग भन्यो । ‘ज्ञानेन्द्रको लखनउ भ्रमण दशैँ र तिहारको बीचमा नै हुने तयारी थियो, तर निर्वाचनको समय पारेर उनको भ्रमण गराउँदा राम्रो सन्देश जाँदैन भन्ने लागेपछि मंसिर पहिलो साता राजदूतले उहाँलाई भेटेर यो मिति तय गरेका हुन्’ जानकार स्रोतले भन्यो ।
धुलिखेलमा तय भएपछि पूर्वराजाको भारत भ्रमणबारे महासंघ अध्यक्ष भरतकेशर सिंहले पदाधिकारीसहित प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई  भेटेर जानकारी गराएका थिए । देउवा र ओलीले पूर्वराजालाई ग्रिन सिग्नल दिएको महासंघ स्रोतको भनाई छ । त्यसबेला देउवाले हिन्दु राष्ट्रको पक्षमा आफू रहेको तथा राजसंस्था हटाउन आफ्नो भूमिका नरहेको जबाफ महासंघ पदाधिकारीलाई दिएका थिए ।
यसकारण ज्ञानेन्द्रलाई महत्व दिइयो, पूर्व मेजर जनरल अशोक मेहता, नेपाल भारत सम्बन्धका जानकार
निर्वाचनमार्पmत वामपन्थी गठबन्धनको दुईतिहाई बहुमत आएपछि भारत सरकारले परिवर्तन गरेको नीतिका रुपमा मैले यो भेटवार्तालाई लिएको छु । जनमतबाट कम्युनिष्टहरुको यत्रो मत आउँदा जसरी भारतले समर्थन गरेको छ, जनमतसंग्रहमार्फत नेपालमा हिन्दु राष्ट्र वा राजसंस्थाको पुनर्वहाली हुने अवस्था आयो भने पनि भारतलाई आपत्ति हुँदैन भन्ने सन्देश हो यो । वामगठबन्धन सत्तामा पुग्न लाग्दा जुन प्रकारले पूर्वराजाले भातमा महत्व पाए, यो भारत सरकारको पोलिसि सिफ्ट हो । अब निर्वाचनमार्फत् हिन्दु राष्ट्र वा राजसंस्था कायम हुन्छ भने त्यो ढोका पनि खुला छ भन्ने सन्देश यो भेटले दिएको छ । तर, भारतले  राजसंस्थालाई होइन, हिन्दु राष्ट्रलाई मान्यता दिन्छ जस्तो मलाई लाग्छ ।




No comments:

Post a Comment

top sidebar ads

समाचार

समाचार

recent posts comments tab

Blog Archive