Thursday, 11 January 2018

नयाँदिल्लीमा इपिजीको छैटौँ बैठक बस्दै, १९५० को सन्धि र सीमा व्यवस्थापनको मुद्दा टुंगिने

पर्शुराम काफ्ले काठमाडौं, २६ पुस
नेपाल र भारतबीचका सबै सन्धि–सम्झौता पुनरावलोकन गरी सुझाब दिन गठित प्रबुद्ध समूह (इपिजी)को छैटौँ बैठक बिहीबार नयाँदिल्लीमा बस्दै छ ।
बैठकमा १९५० मा हस्ताक्षरित नेपाल–भारत शान्ति तथा मैत्री सन्धि पुनरावलोकन तथा सीमा व्यवस्थापनको मुद्दा टुंग्याउने गरी नेपाल पक्षले प्रस्ताव पेस गर्दै छ ।
बैठकमा सहभागी हुन नेपालतर्फका संयोजक डा. भेषबहादुर थापा र सदस्यहरू नीलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय र डा. राजन भट्टराई बुधबार नयाँदिल्ली गएका छन् ।
भारतका तर्फबाट संयोजक भगतसिंह कोस्यारी तथा सदस्यहरू जयन्त प्रसाद, महेन्द्र पी. लामा र बिसी उप्रेती बैठकमा सहभागी हुँदै छन् ।
अघिल्लो बैठकमा बिरामी भएका कारण जयन्त प्रसाद सहभागी भएनन् । निवर्तमान सांसद भए पनि सरकारले अर्को निर्णय नगरेका कारण एमाले नेता डा. भट्टराई बैठकमा सहभागी हुन गएका छन् ।
‘यसपटक हामी १९५० को नेपाल–भारत सन्धि संशोधनसहित पुनरावलोकनको विषय टुंग्याउने गरी गएका छौँ, सीमा व्यवस्थापनका विषयमा पनि ठोस सहमतिमा पुग्ने अपेक्षा छ,’ इपिजीका एक सदस्यले नयाँ पत्रिकासँग भने ।
गत असोज २१ र २२ मा काठमाडौंमा बसेको इपिजीको पाँचौँ बैठकमा खुला सिमाना बन्द नगर्ने, तर आवतजावत अनुगमन गर्ने सहमति भएको थियो ।
सो बैठकमा नेपाल–भारत सिमानामा जनताको आवतजावत अनुगमन गर्ने संयन्त्र बनाउनुपर्नेमा सहमति भएको थियो ।
दिल्ली जानुअघि इपिजी संयोजक डा. भेषबहादुर थापाले सबै विषयमा छलफल हुने जानकारी दिए । ‘अहिलेसम्मका बैठक सौहार्दपूर्ण रूपमा सम्पन्न भएका छन्, सबै विषयमा खुलेर छलफल भएको छ र हामी समयमै प्रतिवेदन दिने गरी यसपटक पनि छलफललाई निरन्तरता दिनेछौँ,’ थापाले भने ।
सन्धिको धारा २, ५, ६ र ७ सच्याउनुपर्ने नेपाल पक्षको मागमा भारतीय टोली यसअघिको बैठकमा सकारात्मक रूपमा पेस भएको थियो । यसपटक इपिजी सदस्य आचार्यले सन्धिसहित नेपाल–भारत सिमाना व्यवस्थापनबारे नेपालको पछिल्लो अडान प्रस्तुत गर्नेछन् ।
सदस्य उपाध्यायले नेपाल–भारत डुबान नियन्त्रणबारे विगतमा झैँ प्रस्तुतीकरण गर्नेछन् भने सदस्य डा. भट्टाराईले व्यापार तथा पारवहनका विषयमा धारणा राख्नेछन् ।
सीमा नियमन गर्ने संयन्त्र गठन गर्नुपर्नेमा यसअघि नै दुवै पक्षको छलफलमा सहमति भएको एकजना सदस्यले बताए ।
इपिजीको छैटौँ बैठक २५ कात्तिकमा नयाँदिल्लीमा हुने सहमति भए पनि नेपाल र भारत दुवैतिर निर्वाचन भएका कारण दुई महिना ढिलो भएको हो ।
संयोजक थापाका अनुसार यससहित इपिजीका अब तीनवटा बैठक हुनेछन्, त्यसपछि दुवै टोलीले प्रतिवेदन लेख्नेछन् । दुवै पक्षले साझा प्रतिवेदन लेखेर आ–आफ्ना सरकारलाई बुझाउने कार्यादेश छ । इपिजीको कार्यकाल आगामी असार २१ गते सकिनेछ ।
इपिजीको पहिलो बैठक ०७३ असार २० र २१ मा काठमाडौंमा बसेको थियो । पहिलो बैठकको पहिलो एजेन्डा १९५० को शान्ति तथा मैत्री सन्धि थियो । पहिलो बैठक बसेदेखि इपिजीको कार्यकाल दुई वर्ष तोकिएको छ ।
०७३ असोज १८ र १९ मा दोस्रो बैठक दिल्लीमा भएको थियो । ०७३ चैत २३ र २४ गते तेस्रो बैठक काठमाडौंमा भएको थियो ।
इपिजीको चौथो बैठक ०७४ जेठ १५ देखि १७ सम्म भारतको देहरादुनमा भएको थियो । पाँचौँ बैठक ०७४ असोज २१ र २२ गते काठमाडौंमा बसेको थियो ।
source-
http://www.enayapatrika.com/2018/01/10/13907/
इनयाँपत्रिकाबाट

No comments:

Post a Comment

Global Mountain Biodiversity Assessment establishes first Asia hub in Kathmandu

  ICIMOD to host regional hub of prestigious global network in bid to increase scientific knowledge and policy responses to at-risk mounta...