Monday, 9 February 2015

संघीयतामा भारत र चीनको टक्कर

                                        
                                                      -कुमुद लोहनी-
................................................................................
मैले प्रचण्डलाई पनि भनेको छु कि तपाईँहरु फस्नुभयो । जातीय राज्य र एक मधेश एक प्रदेश बन्यो भने देश टुक्रिन्छ । त्यो अवस्थामा नेपालमा सीधासीधा चीन र भारतको टक्कर हुन्छ । यो कुरा युरोपियनहरुले चाहिरहेका छन् । नेपाललाई कमजोर पारेर यहाँको वेसमा टेकेर चीनको तिब्बत फुटाउने, अनि एकैसाथ भारतलाई पनि कमजोर पार्ने रणनीतिमा युरोपियनहरु छन् ।
.................................................
अब निकास साझा बनाउनुपर्छ । कसैलाई निषेध गरेर राजनीतिक निकास हुँदैन, देशमा उन्नति पनि हुँदैन । मेरो प्रस्ताब - राजालाई पनि सेरेमोनियल बनाएर ल्याइदिए हुन्छ ।
.....................................................................
नयाँ दिल्ली जाँदा मैले भारतीय जनता पार्टीका धेरै नेतासँग अन्तरंग कुराकानी गर्ने अवसर पाएँ । नेपालप्रति उनीहरुको दृष्टिकोणमा पहिलेका नेता र सरकारभन्दा आकास जमिनको फरक छ । केही गरौँ भन्ने अठोट लिएर म्यान अफ एक्सन नेताका रुपमा  भारतमा नरेन्द्र मोदी आएका छन् । भारतमा पनि धेरै पछि यस्ता राजनेता आएका छन् । उनको भारतप्रति मात्र होइन, नेपाल र नेपालीप्रति अगाध आस्था र विश्वास  निकै रहेको मैले अनुभूत गरेँ ।  हिजो त्यही भारतमा नेपालीहरु बहादुर, चौकीदार, कामदारका रुपमा स्थापित थिए । अहिले त्यो अवस्था छैन ।  अहिले नेपालीहरु शीर्ष भारतीय नेताका सल्लाहकारका रुपमा छन् । अधिकांश नेताका नेपाली सल्लाहकार छन् । नेताहरुले नेपालीलाई सम्मान दिएका छन् । यो हाम्रा लागि ठूलो अवसर हो ।
भारतसँग मिलेर हाम्रो प्राकृतिक श्रोतबाट उपलब्धी लिने यही समय हो । किनभने अहिले नेपालप्रति सकारात्मक राजनेता छन् । उनलाई सल्लाह दिने नेपालप्रति सकारात्मक व्यक्तिहरु छन् र स्वयम् नेपालीहरु न त्यहाँको नीतिनिर्माण तहमा प्रभाव राख्ने हैसियतमा छन् । अरु सबै कुरा छाडेर विकासमा जोड दिने हो भने देशको उन्नति गर्ने समय यही हो । त्यसकारण अहिले बुद्धिमतापूर्ण निर्णय गर्नेबेला भएको छ ।
नरेन्द्र मोदीले भनेका छन्, भारत सित्यैँमा हैन, पैसा तिरेर नेपालको विजुली लिन तयार छ । यसको मर्म हामीले बुझ्नुपर्छ । मोदी नेपाल भ्रमणमा पहिलोपटक आएपछि भारतप्रति नेपालीहरुको दृष्टिकोण परिवर्तन भयो । उहाँले गौतमबुद्ध जन्मेको देश भनिदिनुभया जुन रेकर्डेड भएको छ । भोलि भारतले बुद्ध दावा गर्न नमिल्ने अवस्था स्वयम् मोदीले बनाइदिनुभएको छ । उहाँले पशुपतिनाथ, माता जानकीको तारिफ गरिदिनुभयो । मिलेर काम गर्ने अवसर उहाँले सिर्जना गरिदिनुभएको छ । यो नेपालका लागि आउने बडो दुर्लभ अवसर हो । 
अहिले सहजै राष्ट्रले निकास पाउने अवस्था छैन । एमाओवादीका नेता प्रचण्ड जातीयताका आधारमा संघीयता छाड्न सक्नुहुन्न । किनभने यो उहाँहरुले नै उचाल्नुभएको हो । उहाँहरु फस्नुभयो । मैले यो कुरा प्रचण्डलाई पनि भनेको छु कि तपाईँहरु फस्नुभयो । जातीय राज्य र एक मधेश एक प्रदेश बन्यो भने देश टुक्रिन्छ । त्यो अवस्थामा नेपालमा सीधासीधा चीन र भारतको टक्कर हुन्छ । यो कुरा युरोपियनहरुले चाहिरहेका छन् । नेपाललाई कमजोर पारेर यहाँको वेसमा टेकेर चीनको तिब्बत फुटाउने, अनि एकैसाथ भारतलाई पनि कमजोर पार्ने रणनीतिमा युरोपियनहरु छन् । यो अवस्थालाई प्रचण्डहरुले मध्यनजर गर्नुपर्छ ।
अब निकास साझा बनाउनुपर्छ । कसैलाई निषेध गरेर राजनीतिक निकास हुँदैन, देशमा उन्नति पनि हुँदैन । मेरो प्रस्ताब छ कि राजालाई पनि सेरेमोनियल बनाएर ल्याइदिए हुन्छ । भोलि राष्ट्रपतिका बिषयमा थेग्नै नसकिने बिबाद उत्पन्न हुन्छ । जस्तो, अहिले रामवरण यादब हुनुहुन्छ । भोलि प्रश्न उठ्छ, यादब हुन्छ भने झा किन नहुने, मुसहर किन नहुने, चमार किन नहुने ? राई, लिम्बु, झाँगड किन नहुने ? राजाले कम्तिमा सबै जातजातिलाई एउटा सुत्रमा राखेका त थिए । यो कुरा किन बिर्सने ? कार्यकारी अधिकार प्रधानमन्त्रीले लिए हुन्छ । बर्षमा केही रमक दिएर राजालाई राखिदिँदा देशमा सद्भाव बृद्धि हुन्छ भने किन नमान्ने ? वास्तवमा यो कुरा प्रचण्डले पनि मान्नुपर्छ, यदि राष्ट्र जोगाउने हो भने । 
बिपी कोइरालाले भारतमा सशस्त्र क्रान्तिको कुरा गर्नुभयो तर उहाँ मेलमिलापको मुद्दा लिएर स्वदेश आउनुभयो । देशको मूल्यमा उहाँ आउनुभएको हो । राष्ट्र रहेन भने कसरी प्रजातन्त्र रहन्छ ? विपीले लिएको अडान अहिले पनि सान्दर्भिक छ । नेपालमा विदेशीको चलखेल भएकै रहेछ । बेलायती राजदूतले धर्मका बारेमा बोले । त्यसकारण प्रचण्ड राजनेता हुनुपर्छ, एमाओवादी नेतामात्र होइन । सम्पन्न नेपाल बनाउन सबैले गल्ती सच्याउनुपर्छ ।
एउटा घटना यहाँ सान्दर्भिक होला । अमेरिकामा उपचारका लागि  जानुअघि बिपीले एकदिन मलाई घरमा बोलाउनुभयो । उहाँ खाटमा पल्टिनुयो, म कुर्शी तानेर बसेँ । ‘म तिमीलाई राजनीति सिकाउँछु,’ विपीले भन्नुभयो । २०३६ सालको जनमतसंग्रहमा बुहदलको हार भएपछिको प्रसंग हो यो । उहाँले भन्नुभयो, ‘हेर, मैले जानेर हार स्वीकार गरेको छु । राजालाई फाल्न मलाई समय लाग्दैन । सातदिनमा फाल्नसक्छु । मनमोहन अधिकारीहरु मसँग मिलेर आन्दोलन गर्न तयार छन् । तर म कम्युनिष्टहरुसँग सम्झौता गर्दिन । राजाले यो कुरा बुझेनन् । राजा महेन्द्रले पनि गल्ती गरे । इन्डिया हामीलाई सिध्याउन लागेको छ । हामी सिद्धिने वित्तिकै राजालाई समाप्त पार्न सजिलो छ । भारतमा रसियाको प्रभाव बढेर गएको छ । डिफेन्स प्याक्ट छ । राजालाई सिध्याउन नेताहरु लागेका छन् । गान्धी परिवारको सहानुभूति राजालाई छैन । हामीले बिष पियर भए पनि राजासँग सम्झौता गर्नेपर्छ । यसमा मात्रै राजाको पनि भविश्य छ, हाम्रो पनि पनि छ ।’ यो कुरा महसुस गर्ने बेला अब पनि भएन र ?
(लोहनी नेपाली कांग्रेसका महासमिति सदस्य हुन् । )

No comments:

Post a Comment

Global Mountain Biodiversity Assessment establishes first Asia hub in Kathmandu

  ICIMOD to host regional hub of prestigious global network in bid to increase scientific knowledge and policy responses to at-risk mounta...