Sunday, 15 February 2015

कन्चनपुरमा चरा अनुसन्धान हुने

सिस्ने क्षेत्रको सीमसार, Photo : Pashupati Koirala
जैविक विविधता, वन्यजन्तु र सीमसार रहेको सो क्षेत्र जिल्ला वन अधिकृतले अधिकार प्रयोग गरेर घोषणा गरेको नेपालकै पहिलो अनुसन्धान क्षेत्र हो ।


पर्शुराम काफ्ले 
................................
कञ्चनपुरको कृष्णपुरस्थित सिस्ने क्षेत्रमा वासस्थान बनाएका चराहरुको अनुसन्धान हुने भएको छ ।  कृष्णपुर गाविस ३ र ४ को वन तथा सीमसारलाई जिल्ला वन कार्यालयले त्यही प्रयोजनका लागि अनुसन्धान क्षेत्र घोषणा गरेको छ । स्थानीयको लामो समयदेखि सो क्षेत्रलाई चरा अनुसन्धान केन्द्र स्थापना गर्न माग गर्दै आएका छन् ।
जिल्ला वन अधिकृत पशुपति कोइरालाले वन नियमावली २०५१ को दफा २३ बमोजिम ६ माघमा अनुसन्धानक्षेत्र घोषणा गरेको जानकारी दिए । ‘स्थानीय वासिन्दाले लामो समयदेखि सिस्ने क्षेत्रलाई विशेष गरी चरा अनुसन्धान केन्द्र बनाउन माग गरिरहेका थिए, मैले कानून बमोजिम त्यसका लागि सहज बनाइदिएको छु’ हाल काठमाडौंमा रहेका जिल्ला वन अधिकृत कोइरालाले भने, ‘अब त्यो क्षेत्रमा जैविक विविधता र वन्यजन्तुको अनुसन्धानका लागि विधिवत बाटो खुलेको छ । हामी त्यसका लागि पनि थप पहल गर्छौँ ।’ जिल्ला वन कार्यालयले वन नियमावली प्रयोग गरेर घोषणा गरेको यो पहिलो अनुसन्धान क्षेत्र रहेको पनि कोइरालाले बताए ।

कोइरालाका अनुसार मछेली खोलादेखि पश्चिम, वनरा खोलाको क्षेत्रदेखि पूर्व, चुरे क्षेत्रदेखि दक्षिण तथा जनहित महाकाली सामुदायिक वनदेखि उत्तरको सिमानालाई अनुसन्धान क्षेत्र तोकिएको छ । सो क्षेत्रमा विजयसाल, साल, नदी     तटिय वनहरु खयर सिसौको प्राकृतिक उपज एवं बाघसहित  विभिन्न प्रजातिका चराहरुको वासस्थान रहेको छ । ‘सो क्षेत्रमा प्राकृतिक रुपमा सिमसारहरु छन्,     जसको सम्बन्ध चुरे, भावर तथा तराइको तल्लो तट संग पनि प्रभाव क्षेत्र रहेको छ’ कोइरालाले भने ।
अहिलेलाई परीक्षणको रुपमा तथा अनुसन्धान चरणको रुपमा यो क्षेत्र तोकिएको तोकिएको हो । अब अनुसन्धान प्रयोजनका लागि कार्यमूलक रणनीतिगत कार्ययोजना तयार गर्ने तथा त्यसका लागि स्थानीय जनसहभागीता परिचालन गर्ने पनि कोइरालाले बताए ।  सिस्ने क्षेत्र चुरे, भावर र तराइको महत्वपूर्ण कोरिडोरका रुपमा रहेको छ जहाँ  सिसौ, खयर, विजयसालको प्रजातिहरु रहेका छन् । स्थानीयले विजयसाल संरक्षणका लागि वनलाई चरिचरन मुक्त र आगलागी नियन्त्रित क्षेत्रका रुपमा स्थापित गरिसकेका छन् ।
‘हामीले पहिलेदेखि नै अनुसन्धान केन्द्र बनाउन माग गर्दै आएका थियौँ, जिल्ला वनले कम्तिमा अनुसन्धान क्षेत्र बनाएर त्यसको पहल गरेको छ’ स्थानीय समाजसेवी महेशदत्त जोशीले भने, ‘प्रशस्त सिमसार क्षेत्र र घाँसे मैदानहरु भएको सिस्ने चरा र वन्यजन्तुको वासस्थान भएको हुनाले थप अनुसन्धान हुनु आवश्यक छ ।’ सो क्षेत्रमा एउटा पाटेवाघसमेत देखा परेको छ जसलाई जिल्ला वन कार्यालयले ट्रयाकिङ पनि गरिसकेको छ । सो क्षेत्रमा रहेका १९ वटा सामुदायिक वनले अनुसन्धान क्षेत्रका लागि सहयोगको बचन दिएका छन् । स्थानीय जोशीका अनुसार चराहरुको अनुसन्धान केन्द्र विधिवत स्थापना भए सो क्षेत्रको पर्यटन प्रबद्र्धनमा सहयोग पुग्नेछ ।

No comments:

Post a Comment

Global Mountain Biodiversity Assessment establishes first Asia hub in Kathmandu

  ICIMOD to host regional hub of prestigious global network in bid to increase scientific knowledge and policy responses to at-risk mounta...